नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारबारे पूर्वमा धेरै किस्सा चर्चित छन्। त्यही मध्येको एउटा हो, रेडियो नेपालसँग जोडिएको प्रसंग।
२०४८ सालको निर्वाचनपछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। कोइराला मन्त्रिपरिषदमा सञ्चार राज्यमन्त्रीको भूमिका गच्छदारले पाए। आफ्नै क्षेत्रका नेता मन्त्री भएपछि उनका मतदाता अनेक आशा र माग लिएर उनलाई भेट्न जान्थे।
त्यही क्रममा एकजना कांग्रेस कार्यकर्ता आफ्नो छोरालाई लिएर गच्छदार भेट्न गएछन्। उनले भनेछन्- मन्त्रीजी, यो मेरो छोरो गायक बन्ने भन्छ, रेडियो नेपालमा यसलाई गायक बनाइदिन पर्यो।
आफ्नै कार्यकर्ताले यसो भनेपछि गच्छदारले उनलाई निवेदन लेख्न लगाए। सोही निवेदनमा रेडियो नेपालका प्रमुखलाई सम्बोधन गर्दै गच्छदारले तोक लगाएछन्, ‘निज निवेदकलाई गायक बनाइदिनू।’
धेरै कांग्रेस नेताहरूले ठट्टा गर्दै सुनाउने यो प्रसंग तथ्यमा आधारित हो कि कटाक्ष मात्रै भन्ने यकिन छैन। तर, २०४६ को परिवर्तनपछि अधिकांश समय सत्ता र शक्तिको शीर्षस्थानमा रहेका उनलाई शक्ति दुरूपयोगको बात सधैं लाग्यो।
यसपटक सातौं पटक चुनावी मैदानमा रहेका गच्छदार यतिबेला पनि त्यही शक्ति दुरूपयोगकै मुद्दाले घेरिएका छन्। बालुवाटारको ललिता निवास प्रकरणबारेको मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ।
त्यसो त सधैंजसो विवादकै बीचमा उनले चुनाव लड्दै आए। जतिसुकै विवादले घेरिए पनि सुनसरीका मतदाताले भने उनलाई सधैं अनुमोदन गर्दै आएका छन्।
दलीय रूपमा बरू उनी अस्थिर रहे। मतदाताले भने उनलाई रोज्ने मामिलामा आफूलाई सधैं स्थिर नै राखे। आफूले लामो समय व्यतित गरेको कांग्रेस छोडेर उनी मधेशी जनाधिकार फोरममा गए, त्यसपछि फोरम लोकतान्त्रिक बनाए। फेरि कांग्रेसमै पुगे। यसरी निरन्तरजसो पार्टी फेरिरहँदा पनि उनको क्षेत्रका मतदाताले भने मन र मत बदलेनन्। उनैलाई जिताइरहे।
सधैंका चुनावी विजेता गच्छदारले यसपालि सातौं पटक उही सफलता दोहोर्याउलान् कि उनको विरासत भत्केला?
मंसिर ४ मा हुने सुनसरी-३ को चुनावी लडाइँले यसको निर्धारण गर्नेछ। जसका लागि उनलाई तेस्रो पटक चुनौती दिन तयार छन्, एमालेकी भगवती चौधरी। थारू बहुल क्षेत्र सुनसरी-३ मा सोही समुदायका दुई नेताबीचको तेस्रो भीडन्त यसपटक रोचक हुने देखिन्छ।
यसअघिका हरेकजसो निर्वाचनमा ‘पैसाको खोलो बग्ने’ क्षेत्रका रूपमा चिनिएको यो क्षेत्रमा यसपटक पनि उस्तै दृश्य देखिने अनुमान मतदाता लगाउँछन्।
‘यहाँ दुबै उम्मेदवार पैसावाला भनेर चिनिन्छन्,’ दुहबी-३ का युवा शंकर राजवंशीले भने, ‘पैसा खर्च धेरै हुन्छ यहाँ। उनीहरूले खोलै बगाउने गरेका छन्।’
लामो समय सत्ताभोग गरेका गच्छदार र दुहबीमा लघुवित्त चलाइरहेकी भगवती दुबैलाई ‘पैसावाल’ ठान्ने मतदाताको एउटा पंक्ति चुनावी परिणाममा ‘पैसा नै निर्णायक बन्ने’ अनुमान लगाउँछन्। यद्यपि दलका नेता-कार्यकर्ता भने त्यसलाई अस्वीकार गर्छन्। विशुद्ध राजनीतिक लडाइँ हुने उनीहरूको दाबी मतदाता भने पत्याउँदैनन्।
‘पैसा खर्च गर्छु, खोलो बगाउँछु भनेर त कुन पार्टी र नेताले भन्छ र?,’ विराटनगरमा स्नातक पढिरहेका दुहबीकै अर्का युवा निशान्त रायले भने, ‘भन्ने एउटा र गर्ने अर्को हो। हाम्रो क्षेत्रमा पैसाको ठूलो चलखेल हिजो पनि भएको थियो, यसपालि पनि हुन्छ।’
विवादास्पद छविः दुबैको चुनौती
स्थानीय मतदाताहरूका अनुसार यसपटक मुख्य प्रतिष्पर्धामा रहेका गच्छदार र चौधरी दुबैको सार्वजनिक छवि राम्रो छैन। दुबैका लागि आफ्नै व्यक्तिगत छवि मुख्य चुनौती हुने देखिन्छ।
यसअघिका दुई निर्वाचनमा गच्छदारलाई बलियो चुनौती दिएकी चौधरीको क्रेज अघिल्ला दुई निर्वाचनभन्दा घटेको यहाँका मतदाताको बुझाइ छ। यसअघिका दुईटा निर्वाचन लड्दा चौधरीलाई स्थानीय समुदायले आफ्नो सहयोगीका रूपमा बुझेका थिए। खासगरी फरवार्ड लघुवित्त संस्थामार्फत् उनले क्षेत्रका धेरैलाई ऋण दिलाएकी थिइन्। सर्वसाधारणलाई उद्यमशीलतासँग जोड्न सघाएकी थिइन्।
लघुवित्तको चर्को ब्याजदर र त्यही ब्याज असुल्न चौधरी आफैं अध्यक्ष रहेको संस्थाले लिएको कठोर नीतिले धेरैलाई पीडित बनाएको सर्वसाधारणको बुझाइ छ।
‘पहिले भर्खरै संस्थाले कारोबार सुरू गरेको थियो, सबैलाई राम्रै होला जस्तो लागेको थियो,’ दुहबीका शंकरले भने, ‘अहिले लघुवित्तको ब्याज र असुल्न भगवती चौधरीले देखाएको कठोरताले धेरैलाई पीडित पारेको छ। उहाँ ‘ब्याज’ कै पर्यायजस्तो हुनुभएको छ।’
यसबाहेक सानो ठाउँमा निरन्तर आकाशिँदै गएको उनको आर्थिक हैसियतले पनि उनीतिर प्रश्न उठाउने गरेको शंकरको भनाइ छ।
नेपाली राजनीतिका विवादास्पद पात्रमा गणना हुने गच्छदारप्रति पनि धेरै आशा नभएको मतदाताको भनाइ छ।
‘यतिका लामो समय शक्तिमा रहेका विजय गच्छदार दर्जनौ पटक मन्त्री, उपप्रधानमन्त्री भए। क्षेत्रका लागि के गरे?’, गएको स्थानीय निर्वाचनबाट भोट हाल्न थालेका निशान्तले भने, ‘अघिल्लो पटक जितेपछि त भ्रष्टाचार मुद्दाले सांसद पद नै गयो। अब फेरि जित्नेबित्तिकै पद जाने होला।’
यसरी यी दुबै प्रतिष्पर्धी आ-आफ्नै छविले चुनौतीमा छन्। यद्यपि उनीहरूलाई चुनौती दिने तेस्रो शक्तिशाली उम्मेदवार कोही नभएको यहाँका सर्वसाधारणको बुझाइ छ।
दुबै प्रतिष्पर्धीले यही छविलाई भोट माग्ने मुख्य अस्त्र बनाएका छन्। भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका गच्छदारले जिते फेरि पनि उनको पद जाने भन्दै एमाले पंक्ति अब परिवर्तन ल्याउनु पर्ने नारा लगाइरहेका छन् भने कांग्रेसहरू वित्तीय संस्थामार्फत् सर्वसाधारणलाई दुःख दिनेलाई क्षेत्र सुम्पिन नहुने बताइरहेका छन्।
यसबाहेक आफ्नै दलभित्रको असन्तोष व्यवस्थापन पनि दुबैका लागि अर्को चुनौती हुने देखिन्छ।
गठबन्धन, निरन्तर जितको विरासत, बलियो व्यक्तिगत प्रभाव र समुदायगत भोटको फाइदामा रहेका गच्छदारसँग स्थानीय निर्वाचनपछि पुराना कांग्रेस असन्तुष्ट छन्। गच्छदारलाई पुराना फोरम लोकतान्त्रिकका कार्यकर्तालाई मात्रै अवसर दिएको आरोप छ।
‘उहाँले स्थानीय चुनावमा फोरम पृष्ठभूमिकालाई मात्रै च्याप्नुभयो,’ सुनसरी-३ का एक कांग्रेस कार्यकर्ताले भने, ‘त्यसले सधैँ कांग्रेसमै रहेकाहरुलाई असन्तुष्ट पारेको छ।’
२०७४ को स्थानीय चुनावमा बर्जु गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी भएको थियो। यसपटक कांग्रेस पृष्ठभूमिकालाई उम्मेदवार बनाउनु पर्ने माग उच्च थियो। गच्छदारले फोरम पृष्ठभूमिकै व्यक्तिलाई टिकट दिए। परिणामतः यो पटक एमालेले विजेता बन्यो।
गढी गाउँपालिकामा पनि उस्तै भयो। २०७४ मा कांग्रेसले जितेको गाउँपालिकामा यसपटक गच्छदारले फोरम पृष्ठभूमिकै उम्मेदवार अघि सार्दा कांग्रेस पृष्ठभूमिका धेरैले एमालेलाई सघाए। गढी पनि एमालेले जित्यो।
२०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, ०५१ र ०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए। २०६४ मा मधेशी जनअधिकार फोरम र २०७० मा मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी भएका थिए। २०७४ मा कांग्रेसबाट विजयी भएका गच्छदार अहिले पनि उम्मेदवार बनेका छन्। यसपटक पुराना कांग्रेसहरूको असन्तोष गच्छदारको मुख्य चुनौती हुनसक्छ।
स्थानीय ठाउँमै बसेर निरन्तर जनतामाझ काम गरेकी भगवतीका लागि पनि आन्तरिक असन्तोष चुनौतीका रूपमा खडा छ। कुनैबेला ज्यादै कमजोर संगठन भएको एमालेलाई क्षेत्रमा बलियो बनाएको जस भगवतीलाई नै छ।
त्यसक्रममा उनले अन्य दलबाट धेरै कार्यकर्ता एमालेमा भित्र्याएकी छन्। गएको स्थानीय चुनावमा त्यही नयाँ र पुरानो एमालेबीच वडादेखि पालिकाका विभिन्न तहमा टिकटको हानथाप चल्यो। नयाँले टिकट पाउँदा पुराना एमाले बिच्किने, पुरानाले टिकट पाउँदा नयाँ रिसाउने क्रम यहाँ धेरै चल्यो। भगवतीले नयाँ र पुराना एमाले व्यवस्थापन गर्न नसकेको बुझाइ कार्यकर्ताको छ। यसर्थ आन्तरिक असन्तोष चिर्दै पार्टी मत सुरक्षित पार्ने र विपक्षी मत तान्नुपर्ने बाध्यता दुवै उम्मेदवारलाई छ।
यस्तो छ गणित
गच्छदारको निरन्तर जितको रेकर्ड मात्रै होइन, गएको स्थानीय चुनावको गणितले पनि यहाँ प्रतिष्पर्धा तीव्र हुनेवाला देखाउँछ। दुबै पक्षका नेताहरू आफ्नै उम्मेदवार सजिलै जित हात पार्ने दाबी गरिरहेका भेटिन्छन्।
‘चुनावमा प्रतिष्पर्धा त भइहाल्छ’, कांग्रेस क्षेत्रीय सभापति मेहदी हुसेनले भने, ‘गठबन्धन, अहिलेसम्म गरेको कामको आधारले विजय गच्छदारको जित निश्चित छ।’
एमाले नेताहरू भने शक्तिको आडमा धाँधली गरेर यसअघिका दुइटा चुनाव गच्छदारले जितेको आरोप लगाउँछन्। २०७४ को नतिजाप्रति असन्तोष जनाउँदै भगवतीले अदालतमा मुद्दा नै दायर गरेकी छन्। तर, संसद्को कार्यकाल सकिएर अर्को चुनाव लागिसक्दा पनि यो मुद्दा किनारा लाग्न सकेको छैन।
‘अहिलेसम्म कांग्रेसले धाँधली गरेर चुनाव जितेको हो’, बर्जु गाउँपालिकाका अध्यक्षसमेत रहेका एमाले नेता जीवछ रायले भने, ‘सधैँ धाँधली गरेर कहाँ हुन्छ र, यसपटक हामी चुनाव ठूलो मतान्तरले जित्दैछौं।’
२०७४ मा वामगठबन्धनकी चौधरीलाई कांग्रेसका गच्छदारले ३२१ मतले पराजित गरेका थिए। गच्छदारले ३८ हजार ९७२ मत ल्याउँदा भगवतीले ३८ हजार ६५१ मत पाएकी थिइन्। गणनामा गडबड गरेको भन्दै नतिजा लगत्तै भगवती अदालत गएकी थिइन्।
यो निर्वाचन क्षेत्रमा इटहरी उपमहानगरपालिका ६, ७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरेर १० वटा वडा पर्छन्। सुनसरी क्षेत्र नम्बर ३ मा गढी गाउँपालिका सबै वडा, दुहबी नगरपालिकाका सबै वडा, बर्जु गाउँपालिकाको सबै वडा र इनरुवा नगरपालिकाको वडा नं.७ पर्छ।
पछिल्लो स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारले पाएको मत हेर्दा यो क्षेत्रमा एमाले र जसपाको गठबन्धन सत्ता गठबन्धनभन्दा केही मतले अघि छ।
गत चुनावमा एमाले वडाध्यक्ष उम्मेदवारले ३५ हजार ५३ मत पाएका थिए भने जसपा उम्मेदवारले ५ हजार ५१६ मत ल्याएका थिए। कांग्रेसका वडाध्यक्षहरूले ३३ हजार ५७१, माओवादी केन्द्रले ३ हजार ८०० र नेकपा (एकीकृत समाजवादी) ले ६२६ मत पाएका थिए। राप्रपाका वडाध्यक्षहरूले भने ३ हजार ३३१ मत ल्याएका थिए।