नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का २०४८ देखि २०५६ सम्मका तीन वटा आम निर्वाचनमा सुर्खेतबाट सांसद बने।
२०६४ र २०७० को संविधान सभा सदस्य निर्वाचनमा पनि उनी सांसद बने। ०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिक प्रणालीबाट सांसद बनेको खड्का ०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए।
संघीयतापछि पहिलो पटक भएको २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमार्फत् भने उनको छैटौं संसद यात्रामा ‘ब्रेक’ लाग्यो। निर्वाचनमा उनी मात्र होइन सुर्खेतको अर्को एउटा प्रतिनिधि सभा र चारवटै प्रदेश सभा निर्वाचनमा कांग्रेस पराजित भयो।
त्यो हारसँगै एकातिर पहिलो पटक खड्काको आफ्नै संसद यात्रा रोकियो भने अर्कातिर प्रदेशभरि नै एउटा प्रदेश सभाबाहेक कुनै पनि सिटमा कांग्रेसले जित्न सकेन। चुनावको उक्त नतिजाले प्रदेशभर दलको अग्रज नेता मानिने खड्काको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्यो। उनलाई कसैले दोष दिन भने सकेनन्। त्यतिबेला कांग्रेस हार्नुको कारण एमाले र माओवादी बीचको चुनावी तालमेललाई मुख्य कारण मानियो।
पाँच वर्षपछि उपसभापति खड्का सुर्खेत-१ मा २०७४ को नतिजा उल्ट्याउन चाहन्छन्। उनीसँग प्रतिष्पर्धा गर्न पाँच वर्षअघिको चुनावमा निर्वाचित भएका नेकपा (एमाले) का ध्रुवकुमार शाही मैदानमा उत्रिएका छन्।
सुर्खेत-१ मा खड्का र शाहीमध्ये कसको पल्ला भारी छ भन्नेबारे दलहरूका आ-आफ्ना विश्लेषण छन्।
०७४ को निर्वाचनमा माओवादी र एमाले एक ठाउँमा उभिएर चुनाव लड्दा शाही गठबन्धनका एकल उम्मेदवार थिए। शाहीले ३६ हजार ७५९ मत ल्याएर जित्दा खड्काले ३३ हजार ३७७ मत पाएका थिए।
अहिलेको निर्वाचनमा भने कांग्रेस उपसभापति खड्का तीन दलबीचको गठबन्धनबाट एकल उम्मेदवार छन्।
नेपाली कांग्रेस सुर्खेतका सचिव देवकुमार सुवेदी खड्काले यसपालि कमब्याक गर्ने पाँच वटा आधार प्रस्तुत गर्छन्। उनका अनुसार गठबन्धनबाट एकल उम्मेदवार, स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई आएको मत, गएको स्थानीय तहको चुनावका बेला बिग्रिएको सांगठनिक सुधार, गठबन्धनबीच इमानदारपूर्वक सहकार्य र देशको नेतृत्व खड्काले लिन सक्ने सम्भावना उनले जित्ने आधार हुन्।
गएको स्थानीय तह निर्वाचनमा सुर्खेतमा गठबन्धनकै सहमतिमा उम्मेदवार बनेका कांग्रेसको नेता तथा कार्यकर्ताले हार व्यहोरेका छन्। यसको कारण नेपाली कांग्रेस भित्रकै फरक समूहले बेइमानी गरेको चर्चा हुने गरेको छ। त्यसलाई अहिले सुधार गरिसकिएको सचिव सुवेदी बताउँछन्।
‘अहिले सुर्खेत लगायतका अधिकांश निर्वाचन क्षेत्रमा गठबन्धन दलका नेता र कार्यकर्ताबीच इमानदारिताका साथ सहकार्य भएको छ, अर्कोतिर भोलिका चुनावपछि सम्भवतः कर्णालीबाटै देशको नेतृत्व पाउने सम्भावना देखिएकाले पनि मतदाता उहाँ (खड्का) लाई जिताउँछन्,’ सुवेदीले भने।
कांग्रेसका उपसभापति भइसकेपछि खड्कालाई उनको क्षेत्रमा सम्भावित प्रधानमन्त्रीको रूपमा चर्चामा ल्याउने गरिएको छ। तर खड्का भने आफूलाई त्यो ठाउँमा राखेर चुनावी प्रचार गर्दैनन्।
वारेसनामामार्फत् उम्मेदवारी दिएपछि पहिलो पटक गृहजिल्ला आएका खड्काले आफ्नो पत्रकार सम्मेलनमा भनेका थिए, ‘मैले अब कुनै पनि मन्त्रालयको जिम्मेवारी लिन्न भनेर धेरै वर्षअघि नै घोषणा गरिसकेको छु, त्यसभन्दा माथिको कुरा जनता, भगवान र भाग्यको भरोसामा छ पनि भनेको छु।’
एमाले उम्मेदवार शाही गएको कार्यकालमा आफूले गरेका कामको आधारमा जनताले फेरि विजयी बनाउने बताउँछन्।
‘पहिलो कार्यकालमा भौतिक पूर्वाधारका कामहरू सुरूआत गरिएको छ, ती जनता केन्द्रित र महत्वपूर्ण छन्। त्यो मेरो एक उपलब्धी हो,’ उनले भने।
आफ्नो क्षेत्रमा पालिकाका मेयर र अध्यक्षको मतलाई आधार मान्दा एमालेको मत धेरै हुने उनको तर्क छ।
‘अहिले मतदाताले युवा प्रतिनिधित्व खोजेका छन्। जनताको यो आकांक्षाअनुसार प्रतिनिधित्व मेरो प्रतिस्पर्धीले गर्न सक्नुहुन्न,’ उनले भने।
एमाले सुर्खेतका सचिव कविन्द्रकुमार केसी पनि खड्काका प्रतिस्पर्धी शाहीले जित्ने केही आधार भएका बताउँछन्। सिद्धान्तविपरीत बनेको गठबन्धन, दलहरू भित्रको अन्तरपार्टी असन्तुष्टि, गठबन्धन दलका कार्यकर्ताको अराजक शैलीलगायत कारणले मतदाताले शाहीलाई संसदमा पठाउने उनको दाबी छ।
विगतदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेका खड्का कांग्रेसको १२ औं महाधिवेशनबाट सहमहामन्त्री र १३ औं महाधिवेशनबाट महामन्त्री मनोनित भएका थिए। २०७४ को निर्वाचनमा सांसद पराजित भइसकेपछि उनलाई महामन्त्री पद मिलेको हो।
खड्काले गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।
एमालेका शाही तत्कालीन गाविस अध्यक्ष हुँदै एमालेको जिल्ला अध्यक्षको जिम्मेवारी पनि सम्हालेका नेता हुन्। अहिले उनी एमालेको कर्णाली प्रदेश कमिटीमा सचिवालय सदस्य छन्।
गएको स्थानीय तहको निर्वाचनको मतपरिणाम आधार मान्ने हो भने खड्कालाई शाहीभन्दा सहज हुने देखिन्छ।
सुर्खेत-१ मा सिम्ता गाउँपालिका, चिङ्गाड गाउँपालिका, लेकवेशी नगरपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाका १५ र १६ नम्बर वडा पर्छन्।
यी पालिकामा वडाध्यक्षहरूले पाएको मतलाई जोड्दा कांग्रेसको ३४ हजार १ सय ४५ मत छ भने माओवादीको ४ हजार ८ सय ८२ मत छ।
यो क्षेत्रमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले ३१ हजार ८ सय २१ मत पाएका थिए।