कात्तिक १७ अघिसम्म चुनावी सभामा रोक लगाउने निर्वाचन आयोगको निर्देशनलाई चतुरर्याइँपूर्वक अवज्ञा गरिरहेका दलहरूले कतै प्रशिक्षणका नाममा अनि कतै शुभकामना अदानप्रदानका नाममा चुनावी कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।
सातै प्रदेशमा यस्तै कार्यक्रमका लागि जुटेको सत्ता गठबन्धनका नेताहरू शनिबार विराटनगरमा भेला भएका थिए। यसक्रममा गठबन्धनका शीर्ष नेताहरु आफ्नै कार्यकर्ताले भोट ‘क्रस नगर्ने’ चिन्ताबाट त्रस्त देखिए।
खासगरी टिकट वितरणमा देखिएको असन्तोष, एउटा दलले दाबी गरेको क्षेत्र भागबण्डामा अर्को दललाई परेको विषयले शीर्ष नेताहरुलाई त्रस्त पारेको सहजै बुझ्न सकिन्थ्यो। त्यसैले विराटनगरमा सबै नेताहरु एउटै मुद्दामा केन्द्रीत भए। सबैको एकै आग्रह थियो ‘चिन्हको चिन्ता नलिनुस्, जसको भागमा परेको छ, उसैलाई भोट दिनुस्।’
आन्तरिक बैठकहरुमा ‘भोट क्रस नहुने’ चिन्ता जाहेर गरिसकेका शीर्ष नेताहरुले शनिबार विराटनगरमा यहीँ एकसुत्रीय चिन्ता जाहेर मात्रै गरेनन्, यस्तो अवस्था आउन नदिन कार्यकर्तालाई निर्देशन पनि दिए।
‘संयुक्त भेला’ नाम दिएर विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न आएका गठबन्धनका सबैजसो नेताले ‘जुनसुकै चुनाव चिन्हलाई पनि आफ्नै ठानेर मतदान गर्न’ आग्रह गरेका छन्। यसले नेताहरु भोट क्रस नहुने चिन्ताले पिरोलिएको प्रष्ट बताउँथ्यो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपा सहभागी भए पनि गठबन्धनको प्रदेश १ को कार्यक्रममा लोसपा र जनमोर्चा नेताहरू उपस्थित थिएनन्। दुवै दलको उति प्रभाव नरहेको प्रदेशमा गठबन्धनको मुख्य प्रतिष्पर्धा एमाले नेतृत्वको अर्को ‘गठबन्धन’ सँग हुँदैछ, जसलाई गठबन्धन भन्न एमाले–जसपा र दुवै राप्रपाले मानेका छैनन्।
सत्ता गठबन्धनका नेताहरुले चिन्हका पछि नलाग्न भन्दै कार्यकर्तालाई विश्वस्त तुल्याउन १२ बुँदे समझदारीदेखि शान्ति प्रक्रिया, संविधान निर्माण र केपी ओलीले गरेको संसद् विघटनको घटनासम्मलाई दृष्टान्त बनाए।
पालैपालो बोलेका सबै नेताले यस्तो एकैखाले आग्रह गर्न छुटाएनन्। एकीकृत समाजवादीका प्रदेश १ अध्यक्ष बलदेव चौधरीले ‘स्वागत मन्तव्य’ बाट सुरु गरेको यस्तो अनुनय प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवासम्मले जारी राखे।
यस्तो अनुरोध गर्ने क्रममा सबैभन्दा धेरै ताली पाउने वक्ता थिए, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। एक दलका कार्यकर्ता–समर्थकले अर्को दलको चुनाव चिन्हमा मतदान नगर्ने हुन् कि भन्ने चिन्ताले उनी सबैभन्दा चिन्तित देखिन्थे। त्यसैले उनले अहिलेको गठबन्धन ‘१२ बुँदे सहमतिको, शान्ति प्रक्रियाको र संविधान निर्माणकर्ताहरुकै निरन्तरता’ भएको बताए।
उनले आफूले शान्ति प्रक्रियामा हस्ताक्षर गरेकै दिन रुखमा भोट हालिसकेको बताउँदै भने, ‘मैले रूखमा त्यहीँ दिन भोट हाल्दा गिरिजाबाबुले पनि हँसिया हथौडामा भोट हाल्नुभएको थियो।’
प्रदेशभरीबाट भेला भएका गठबन्धन दलका नेताहरुलाई दाहालले आश्वासनसमेत दिए। गठबन्धनको बहुमत आए त्यसको आडमा प्राप्त हुने ‘अवसरै–अवसर’ सम्झेर गठबन्धन दलको चिन्हमा मत दिन उनले फकाए। ‘अहिले टिकट नपाएर मलिन भएका साथीहरू हाम्रो बहुमत आए राजनीतिक नियुक्ति तथा राजदूतमा अवसरै अवसर हुनेछ। आएन भने यो सब जान्छ। यो कुरा बुझेर लाग्नुहोला,’ उनले भने।
उनले नियुक्तिको आश्वासन दिइरहँदा हलमा हाँसो गुन्जिएको थियो भने रूखमा भोट हालिसकेको बताउँदा हलमा तालीको पर्रा छुटेको थियो।
उनीअघि बोल्ने क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो ‘चट्टानी अडान’ कै कारण काँग्रेस अहिले सत्तासीन बनेको ‘गुन नबिर्सन’ अनुनय गरे। त्यहीँ गुन सम्झेर अघि बढ्न उनले काँग्रेस कार्यकर्ताहरुलाई अनुरोध गरे।
‘हामीले ठूलो साहस गरेर र चट्टानी अडान देखाएको र प्रचण्डजीहरुले सहयोग गरेकै कारण केपीलाई पछार्न सम्भव भएको हो’, नेपालले भने ‘यो गुन नबिर्सनुस्।’
आफूअघिका सबै वक्ताले उस्तै चिन्ता प्रकट गरेपछि कार्यक्रममा सबैभन्दा छोटो बोलेका प्रधानमन्त्री देउवाले पनि उही चिन्तामै केन्द्रीत रहेर आफ्ना कुरा राखे। गठबन्धनबारे कुनै पनि दुविधामा नरहन कार्यकर्तालाई आग्रह गर्दै उनले भने ‘हामीले एक अर्काको चुनाव चिन्हमा भोट हालौँ। कुनैपनि हालतले गठबन्धनले जित्नुपर्छ।’
शेखरसितसमेत आफ्नो कुनै समस्या नरहेको भन्न देउवाले विराटनगरकै मन्च प्रयोग गरे। ‘शेखरजी यहीँ हुनुन्छ, हामी मिलिसक्यौं, पार्टी मिलिसक्यो गठबन्धन मिलिसक्यो’ देउवाले भने। यसअघि शेखरले मोरङको एउटा चुनावी कार्यक्रममा ‘देउवा र म मिलिसक्यौं, वडामा तपाइँहरु किन झगडा गर्नुहुन्छ, मैले बुझेको छैन’ भनेका थिए।
शनिबार आयोजित कार्यक्रम मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छ। सुरुमै बोलेका डा. शेखर कोइरालाले आफ्नो क्षेत्रमा सबै नेतालाई स्वागत गर्दै गठबन्धनको औचित्यमाथि प्रकाश पारे। यसअघि गठबन्धनको कडा आलोचना गर्दै आएका शेखर स्वयम्ले यसपटक भने गठबन्धन चुनावपछि सम्मै कायम हुने बताए। ‘गठबन्धन बिना सरकार बन्नै सक्दैन , हामीले संविधान त्यस्तै बनायौ। एमालेले यसलाइ डिरेल गरेर रेलको पट्रीबाट बाहिर लग्यो । हामीले ट्रर्याकमा ल्यायौ । असल शासन दिन, संविधानको रक्षाका लागि हो गठबंधन । यो गठबन्धन चुनाव पछिसम्म कायम रहनेछ’ शेखरले भने।
काँग्रेस नेता कृष्ण्ढाप्रसाद सिटौलाले पनि चिन्ह र दलमा अलमल नगर्न आह्वान गरेका थिए। हामीले गठबन्धन गरेको सहमती सहकार्य र एकताका लागि हो । ‘रुकुम रोल्पामा काँग्रेसले विजयको झन्डा फहराउँदैछ । जबकि त्यहाँ एक्लै माओवादी जित्ने अवस्थामा थियो। सहमति , एकता र सहकार्यका लागि प्रचण्डले त्याग गर्नुभएको छ’, उनले भने ‘हामी काँग्रेसले, गठबनधनका सबै दलले यो कुरा बुझ्न पर्छ।’
काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि यो बेलामा को कसको उम्मेदवार भनेर नहेर्न बरु गठबन्धनको उम्मेदवार भनेर हेर्न आग्रह गरे। ‘हाम्रो सिद्धान्त अलग होला । जनता, देश र परिवर्तनप्रतिको साझा दायित्व हो भनेर बुझ्नुस’, उनले भने।