दाङमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको माहोल तात्न थालेको छ।
उम्मेदवारहरू दसैंअघि देखिको निरन्तर वर्षाका कारण डुबानमा परेका बस्तीका मतदातासमक्ष विकासका योजना सुनाउन थालेका छन्।
किसानलाई भने धान बाली भित्र्याउने धमाधमले छोएको छ। उम्मेदवारहरू खेतबारीमै पुग्न थालेका छन्।
जिल्लाको कुन क्षेत्रमा को कति बलियो र कसको सम्भावना कति छ भन्ने विश्लेषण र अनुमान सुरू भएको छ। यसको आधार भने वैशाख अन्त्यमा भएको स्थानीय तह निर्वाचनको मत परिणम नै रहेको छ।
उम्मेदवारको लोकप्रियता र मतदाताको झुकावका आधारमा पनि विश्लेषण हुन थालेको छ।
क्षेत्र नम्बर १ मा चार वटा स्थानीय तह छन्। लमही नगरपालिकासहित गढवा, राजपुर र राप्ती गाउँपालिका यो क्षेत्रमा छन् ।
राप्ती र गढवा लुम्बिनी प्रदेशको राजधानी तोकिएका गाउँपालिका हुन्। यो निर्वाचन क्षेत्रमा कुल एक लाख ३४ हजार ७०३ जना मतदाता छन्। मतदान स्थल ५१ र मतदान केन्द्र १५२ वटा छन्।
दाङ-१ मा प्रतिनिधि सभाका लागि एक स्वतन्त्रसहित १२ जनाको उम्मेदवारी परेको छ।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी उम्मेदवार छन्। उनी संघीय सरकारका सहरी विकास मन्त्री हुन्। नेकपा एमालेबाट शान्ता चौधरी मैदानमा छिन्।
एमालेले टिकट नदिएपछि गंगा चौधरी सत्गौवा ‘हाम्रो नेपाली पार्टी’ बाट उम्मेदवार बनेकी छन्। नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरीको उम्मेदवारी परेको छ।
मुख्य प्रतिस्पर्धा यी चार उम्मेदवारका बीच नै हुने अनुमान छ। यो थारू बहुल क्षेत्र हो, चारै जना थारू समुदायका हुन्।
कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काको क्षेत्र भएकाले यहाँ कांग्रेसको जग निकै बलियो मानिन्छ।
गत स्थानीय निर्वाचनमा यस निर्वाचन क्षेत्रका पालिकाहरूमा प्रमुख दलहरू एक्लाएक्लै प्रतिस्पर्धामा थिए। चार पालिकामध्ये नेपाली कांग्रेस उम्मेदवारले राजपुरमा अध्यक्ष, उपाध्यक्ष र लमही नगरपालिकामा प्रमुख र उपप्रमुख जितेका थिए।
राप्ती गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष जितेका थिए। गढवा गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष जितेका थिए।
लमहीमा एमालेले कुनै पनि वडामा वडाध्यक्ष जित्न सकेन। कांग्रेस सबै पालिकामा एक्लै प्रतिस्पर्धामा थियो।
गत वैशाखको चुनावमा यो क्षेत्रमा पर्ने वडाहरूमा वडाध्यक्ष उम्मेदवारले पाएको मतलाई आधार मान्ने हो भने सत्ता गठबन्धन निकै अगाडि देखिन्छ। यहाँ कांग्रेसले २९ हजार ७५७, माओवादी केन्द्रले १९ हजार २७६, एकीकृत समाजवादीले २ हजार ३४१ र राष्ट्रिय जनमोर्चाले २ हजार ५९६ कुल मत पाएका थिए। यस आधारमा सत्ता गठबन्धनको पक्षमा कुल मत ५० हजार ३६७ छ।
नेकपा एमालेको २७ हजार २५ मात्रै छ। सत्ता गठबन्धन एमालेसँग २३ हजार ३४२ मतले अगाडि छ।
एमाले उम्मेदवार शान्ताले आफू जनताका माझमा रहेकोले आफ्नो जित पक्का रहेको दाबी गरिन्। स्थानीय तहको मतदानको हिसाब संसदीय निर्वाचनमा नमिल्ने उनको भनाइ छ।
‘जनता हामीसँग छन्। गठबन्धनसँग उनीहरूका कार्यकर्तामात्रै छन्,’ उनले भनिन्, ‘अर्काको खुट्टाको भर गरेकाहरूले पार लगाउँदैनन्।’
शान्ताले आफ्नो मुख्य प्रतिस्पर्धा मेटमणिसँग हुने अनुमान गरिन्। चुनौती स्वीकार गरेर अघि बढेको पनि उनले बताइन्।
शान्ता दोस्रो पटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछिन्।
मेटमणि २०७४ सालको निर्वाचमा सोही क्षेत्रबाट एमालेका उम्मेदवार थिए, उनी विजयी भए। अहिले उनी एकीकृत समाजवादीमा छन्।
पूर्वसांसद गंगा पनि प्रत्यक्षतर्फ पहिलो पटक उम्मेदवार बनेकी हुन्। उनले ‘लौरो’ चिह्न पाएकी छन्। उनले चुनावी माहोल आफ्नो पक्षमा रहेको र आफू नै विजयी हुने दाबी गरिन्।
उनले भनिन्, ‘म जहाँ पुगे पनि मतदाताले तपाईंजस्तो नेतालाई टिकट नदिएर पार्टीले गल्ती गर्यो भन्नुभएको छ। मलाई मतदान गर्न युवा पुस्ता आतुर छन्।’
उनले पनि आफ्नो मुख्य प्रतिस्पर्धा मेटमणिसँगै हुने बताइन्।
गंगाले आफ्नो पार्टी नयाँ भए पनि आफू जनतामाझ परिचित रहेको र विगतमा संसदमा निर्वाह गरेको भूमिका नै आफ्नो जितको मुख्य आधार रहेको जिकिर गरिन्।
सत्ता गठबन्धनका मेटमणिले भारी मतले आफू विजयी हुने दाबी गरे। उनले करिब ९६ हजार मत खस्ने, करिब ८ हजार मत बदर हुने र कुल ८८ हजार जति मत सदर हुने अनुमान गरे।
‘हाम्रो बलियो गठबन्धन छ। सधैँ जनताको पक्षमा काम गरेको छु। तपाईं आफैं बुझ्नुहोस्, यहाँ मेरा विरूद्धमा एक जनाको पनि गुनासो छैन। म रातदिन जनताको सेवामा छु,’ उनले भने।
नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार सुरेन्द्रले ‘ढकिया’ चिह्न पाएका छन्। उनले आफ्नो चुनाव चिह्नले थारू जातिको पपि र कलाको प्रतिनिधित्व गर्ने बताए।
सुरेन्द्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीका सहोदर दाइ हुन्।
२०७४ सालमा पनि सुरेन्द्र प्रतिनिधि सभाका लागि उम्मेदवार थिए। उनले करिब १४ सय मत पाएका थिए।
दाङ-१ मा प्रतिनिधि सभातर्फका १२ उम्मेदवारमध्ये नेपाली कांग्रेस (बिपी) बाट अशोक खड्का, नेपाल मजदुर किसान पार्टीबाट गणेशभक्त खर्बुजा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराज पाठक, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढा मगर उम्मेदवार छन्।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहटबाट रूक्मणि चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी, मंगोल नेसनल अर्गनाइजेसनबाट शोभाराम बुढा छन्। चन्द्रमणि न्यौपाने स्वतन्त्र उम्मेदवार छन्।