मधेस प्रदेशको राजधानी सहरको मुख्य भाग नै धनुषा-३ मा पर्छ।
यो क्षेत्रले धेरैको चासो तान्ने कारण हो, यहाँ बेलाबेला दलहरूका चर्चित उम्मेदवार चुनावी प्रतिस्पर्धा हुन्छ।
यसअघि यहाँ कांग्रेसका नेता विमलेन्द्र निधि र लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो तत्कालीन राष्ट्रिय जनता पार्टीबाट चुनाव लडेका थिए।
सर्लाही-२ मा २०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचन हरेका महतोले २०७४ मा जनकपुर पुगेर निधिलाई हराए।
अहिले निधिको पार्टी र महतोको पार्टी एउटै गठबन्धनमा छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका छन्, लोसपाका अनिल झा।
आफूले २०७४ सालमा जितेको यो क्षेत्र यसपालि महतोले अनिल झालाई छोडिदिएका छन्। उनी चुनाव लड्न फेरि सर्लाही फर्किएका छन्।
सत्ता गठबन्धनले धनुषा ३ मा उम्मेदवार बनाएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता झा रौतहटका स्थायी बासिन्दा हुन्। २०७४ सालको निर्वाचनमा अनिलले रौतहट-१ बाट कांग्रेसका कृष्ण यादवलाई पराजित गरेका थिए।
झाले एमालेकी जुली महतोसँग प्रतिस्पर्धा गर्नुपर्ने छ। महतो यसअघि पनि सांसद र मन्त्री भइसकेकी व्यक्ति हुन्। दोस्रो संविधान सभामा निधिसँग चुनाव हारेकी महतो २०७४ मा भने समानुपातिक सांसद थिइन्। यसपालि उनी प्रत्यक्षमै चुनाव लड्न चाहेपछि उनलाई यो क्षेत्रबाट एमालेले सर्वसम्मत सिफारिस गरेको थियो।
धनुषा-३ मा नगराइन नगरपालिका, मुखियापट्टी मुसहरनिया गाउँपालिका र धनौजी गाउँपालिका सिंगै छन्। जनकपुरधाम उपमहानगरका र विदेह नगरपालिकाका एकएक वटा वडा पनि यस क्षेत्रमा छन्।
स्थानीय तह निर्वाचनमा जनकपुरधाम उपमहानगर प्रमुखमा कांग्रेसका बागी उम्मेदवार विजयी भएका थिए।
नगराइन र धनौजीका प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए। मुखियापट्टी मुसहरनियाँमा जसपा र विदेहमा एमालेले जितेका थिए।
यस निर्वाचन क्षेत्रका वडाहरूका वडाध्यक्षमा १९ वटामा कांग्रेसका, ११ वटामा एमालेका, ४ वटामा जसपाका, तीन वटामा लोसपाका र एउटामा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका थिए।
वडाध्यक्षका उम्मेदवारले पाएको कुल मत कांग्रेसको २२ हजार ४२८, एमालको १७ हजार ९६, लोसपाको ८ हजार ७६३, जसपाको ८ हजार २४३, एकीकृत समाजवादीको ३ हजार ७१३ र माओवादीको ६५६ थियो।
उक्त मतअनुसार सत्ता गठबन्धनसँग ३५ हजार ५३० मत छ। एमाले र जसपा गठबन्धनको कुल २५ हजार ३३९ मत छ।
यसरी हेर्दा सत्ता गठबन्धन १० हजार १९१ मतले अगाडि छ।
स्थानीय चुनावमा यो क्षेत्रभरिका वडाअध्यक्षले पाएको मत अनुसारनै यसपालि पनि मतदान भयो भने सत्ता गठबन्धनलाई यहाँ चुनाव जित्न सहज हुनेछ।
तर यहाँका कतिपय मतदाता स्थानीय तहको र संसदीय निर्वाचनको मतदानको प्रवृत्ति एकै नहुने बताउँछन्।
राजनीतिक विश्लेषक रोशन जनकपुरीका अनुसार स्थानीय निर्वाचनको मतको आधारमा सत्ता गठबन्धनका उम्मेदवार झा बलिया देखिए पनि उनकासामु कडा चुनौतीहरू छन्।
जनकपुरी भन्छन्, ‘गठबन्धनको उम्मेदवार हुनु झाको सबैभन्दा बलियो पक्ष हो तर उनी यहाँ नयाँ अनुहार हुन्। गत चुनावमा एउटा लहर थियो, अन्य फ्याक्टरहरू पनि थिए। महतोजी (राजेन्द्र महतो) ले जिते तर यसपालि परिस्थति फरक छ।’
प्रतिस्पर्धी दलले झालाई ‘बाहिरिया उम्मेदवार’ भनेर प्रचार गर्न थालेका छन्। मतदान नजिकिँदै जाँदा यो नारा अझै चर्को बन्दै जाने कतिपयको अनुमान छ।
जनकपुरीका अनुसार गठबन्धनका घटक दलको मतमा बढी निर्भर हुनु पर्ने अवस्था नै झाको कमजोर पक्ष पनि हो।
यस क्षेत्रमा कांग्रेस नेता विमलेन्द्र निधिको भूमिका महत्वपूर्ण र करिब निर्णायक हुने जनकपुरीको विश्लेषण छ। उनी भन्छन्, ‘निधिको भूमिकामा भर पर्छ। उनी निष्क्रिय भए भने जुली महतोलाई फाइदा पुग्छ।’
महतो भने यही क्षेत्रमा परिचित अनुहार हुन। यो उनका लागि लाभको पक्ष भएको जनकपुरीले बताए।
जुली आफ्नो निर्वाचन क्षेत्रमा एक वर्ष अघिदेखि निरन्तर सक्रिय छिन्। महिला मतदातमा उनीप्रति बढी आकर्षण देखिन्छ।
जनकपुरीका अनुसार यही क्षेत्रबाट एकपटक पराजित भएकी हुनाले यसपालि उनीप्रति सहानुभूति पनि छ।
जनकपुरीको विचारका चुनावमा जातीय फ्याक्टरले पनि काम गर्छ। यस हिसाबले पनि महतो लाभमा छिन्।
प्रदेश सभाका लागि सत्ता गठबन्धनले ‘क’ लोसपाका परमेश्वर साह र ‘ख’ मा कांग्रेसका रामसरोज यादवलाई उम्मेदवार बनाएको छ। रामसरोज यसअघि पनि प्रदेश सभा सदस्य थिए।
एमाले–जसपाले प्रदेश सभातर्फ ‘क’ मा दीपेन्द्र ठाकुर र ‘ख’ मा जितेन्द्र यादवलाई उम्मेदवार बनाएका छन्।
सत्ता गठबन्धनका नेताहरू महतोको स्थिति विचार गरेर प्रभावकारी ढंगले चुनावको तयारीमा लागेको बताउँछन्।
सत्ता गठबन्धनका प्रदेश सभा सदस्य परमेश्वर यस यस क्षेत्रमा कहिल्यै पनि कम्युनिस्टको जित नभएको बताउँछन्।
उनले भने, ‘अनिलजीले लामो समयदेखि मधेशको राजनीतिमा काम गर्नुभएको छ। गएको चुनावमा यहाँ हाम्रै जितेको हो। यसपालि ठूला दलसँग गठबन्धन छ। हाम्रो जित निश्चित छ।’
महतोको पनि यस्तै दाबी छ।
‘म सधैँ यहाँका जनताको दुःखसुखमा साथै छु। जनताको विश्वास जितेकी छु। हामी अत्यधिक मतले जित्छौँ,’ उनले भनिन्।
महतोका पति रघुवीर महासेठ एमालेबाटै धनुषा क्षेत्र नम्बर ४ मा उम्मेदवार छन्। यसअघि दुबै जना प्रतिनिधि सभा सदस्य थिए।
उनीहरूमाथि परिवारवाद चलाएको आरोप छ। जुली यस्तो आरोपको खण्डन गर्छिन्। उनले आफू २०४६ सालदेखि सक्रिय राजनीतिमा रहेको र आन्दोलनमा खटेको जिकिर गरिन्। आफ्ना पति पनि लामो समयदेखि राजनीतिमा सक्रिय रहेको उनले बताइन्।