प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पाँच दलीय सत्ता गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताएका छन्।
वाम लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै उनले ठूलो संघर्षपछि प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशीसहितको संविधानको रक्षा गर्न गठबन्धन बनेको बताए।
प्रधानमन्त्री देउवाले भने, 'नेपालको संविधान सच्चा मानेमा समावेशी छ। तसर्थ संविधानको रक्षा गर्नु हाम्रो पहिलो दायित्व हो। संविधानले भूगोललगायत सबै वर्ग, क्षेत्र र समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ। यस्तो व्यवस्था विश्वमा विरलै पाइन्छ।'
संविधानअनुसार सबैले आफ्नो हकअधिकारका लगि आवाज उठाउने समावेशी जनताको प्रतिनिधि थलो सबै तहका सरकारमा बनेको उनले बताए। यसलाई भोलिका दिनमा अझ समृद्ध र परिष्कृत रूपमा अघि बढाउन सके सच्चा मानेमा संविधान कार्यान्वयन हुने उनको भनाइ थियो।
प्रधानमन्त्री देउवाले गठबन्धन आवश्यकताले बनेको बताउँदै भने, 'यो अपरिहार्य थियो, छ र रहनेछ।'
स्थायी शान्ति र लोकतन्त्र, कसैले खोस्न नसक्ने तथा लोकतन्त्र कसैले हटाउन नसक्ने संविधानको रक्षा गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
निर्वाचनको तयारीका लागि देशभर सम्पन्न भएका गठबन्धनका प्रादेशिकस्तरीय भेलामा अत्यन्त स्वःस्फूर्त जनताको सहभागिता रहेको देखिएको उल्लेख गर्दै उनले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण बनेको बताए।