प्रतिनिधि सभामा कास्कीका ३ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले क्षेत्र नम्बर १, एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले ३ पाएका छन्। प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये तीन वटा माओवादी केन्द्र र तीन वटा कांग्रेसले बाँडेका छन्।
यसरी सिट बाँडफाँट गरेर चुनावमा होमिएको सत्ता गठबन्धनका लागि सबभन्दा ठूलो चुनौती बनेका छन्, बागी उम्मेदवार। कास्कीका तिनै क्षेत्रमा तीन जना बागी पनि उठेका छन्।
प्रतिनिधि सभामा कास्की- २ मा गठबन्धनका आधिकारिक उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का श्रीनाथ बराललाई चुनौती दिन नेपाली कांग्रेसका पुराना नेता महादेव गुरूङले बागी उम्मेदवारी दिएका छन्।
कास्की–३ मा नेकपा माओवादी केन्द्रका रामजी बराल ‘जीवन’लाई माओवादी जनयुद्धमा बुबा र आमा दुबै गुमाएकी अनिता भुत्र्यालले बागी उम्मेदवारी दिएकी छिन्।
यस्तै, कास्की-१ प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपक कोइरालाविरूद्ध नेपाली कांग्रेसका विश्वराज पौडेल बागी उठेका छन्।
गठबन्धनका उम्मेदवारविरूद्ध उठेका यी बागी उम्मेदवार आधिकारिक उम्मेदवारभन्दा कमजोर छैनन् भन्ने चर्चा यहाँ सुनिन्छ।
गठबन्धनबाट एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवारविरूद्ध बागी उम्मेदवार उठेका छन्। कांग्रेसका उम्मेदवारविरूद्ध भने बागी उम्मेदवार छैनन्।
कास्कीमा गठबन्धन गर्दा कांग्रेस र माओवादीले बराबरी सिट बाँडेको कांग्रेस कार्यकर्तालाई मन परेको देखिन्न।
‘कुनै संगठनात्मक संरचनासमेत नभएको माओवादीलाई कांग्रेस हाराहारी सिट दिनु गलत थियो,’ कांग्रेसका एक नेताले भने, ‘यसको पटाक्षेप निर्वाचन परिणाममा देखिन सक्छ।’
कास्की- १ को ‘क’ मा प्रदेश सभामा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार कोइरालाविरूद्ध उम्मेदवारी दिएका पौडेलले कांग्रेसजनको भावनालाई प्रतिनिधित्व गरेर आफूले उम्मेदवारी दिएको बताए।
‘कास्कीमा कांग्रेस बराबर माओवादी कहिल्यै पनि छैन,’ उनले भने, ‘हँसिया हतौडामा भोट दिएर सुदृढ कांग्रेस नहुने भएकाले मैले उम्मेदवारी दिएको हुँ।’
कास्की- २ मा प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालविरूद्ध उभिएका कांग्रेस नेता महादेव पनि आफ्नो उम्मेदवारी कांग्रेस जोगाउनका लागि भएको बताउँछन्।
‘माओवादीले मेरो क्षेत्रका धेरै जना नेताहरूको हत्या गरेका छन्, उनीहरूले नै मलाई उम्मेदवार बन्न प्रेरणा दिएका हुन्,’ उनले भने।
प्रतिनिधि सभा सदस्यका लागि कास्की-३ मा गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी नेता रामजी बरालविरूद्ध शहिद परिवारकी अनिता भुत्र्याल पनि पार्टीभित्रका मनोमानीका विरूद्ध उम्मेदवारी दिएको बताउँछिन्।
नेताहरूले शहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्गलगायतलाई उपेक्षा गर्यो,’ उनले भनिन्, ‘भ्रष्टाचार र व्यक्तिवादविरूद्ध मैले उम्मेदवारी दिएँ।’
कास्कीका तीन क्षेत्रमा उठेका यी तीन जना बागी उम्मेदवारलाई व्यवस्थापन गर्न गठबन्धन असफल देखिएको छ। उनीहरूलाई मनाउन शीर्ष नेताहरूले अनेक प्रलोभन र आश्वासन दिएका थिए। तर उनीहरू मानेनन्। उनीहरुको विगत बलियो भएका कारण गठबन्धन उम्मेदवारलाई पराजित गर्न सक्ने हैसियत राख्ने गठबन्धनकै नेताहरूको आशंका छ।
जनयुद्धमा आमाबुवा गुमाएकी अनिता
कास्की-३ मा बागी उम्मेदवार बनेकी अनिताका बुबा २०६१ सालमा एसएलसी परीक्षाको नतिजा पर्खिरहेकी थिइन्। त्यतिबेला माओवादी भूमिगत थियो। २०५१ सालदेखि नै भूमिगत उनका बुबा राजविक्रम भुत्र्याल ‘काका’ गण्डक क्षेत्रका इन्चार्ज थिए।
एलएलसी नतिजा आएपछि अनिताका आमा सीता भूमिगत श्रीमानलाई भेट्न फेवातालको मुहान पामेतर्फ गइन्। छोरीलाई एसएलसीपश्चात स्टाफ नर्स पढाउने उनको धोको थियो। पोखराको केही जग्गा बेचेर छोरी पढाउने र ऋण तिर्न श्रीमानसँग सल्लाह गर्न सीता भूमिगत श्रीमान भेट्न पुगेकी थिइन्।
तत्कालीन सेना उनको घरमै डेरा जमाएर बसेको थियो। घरको ल्याण्डलाइन नम्बरमा फोन गरेर भेट्न जाँदा सेना पछि लागेको सीताले थाहा पाइनन्। उनलाई र उनका श्रीमानलाई सेनाले पामेमा कब्जामा लिएर २०६१ वैशाख ३१ गते हत्या गरेको अनिताले बताइन्।
‘मेरो बुबालाई आत्मसमर्पण गर, केही हुँदैन भनेर सेनाले भनेको रहेछ,’ उनले भनिन्, ‘बुबाले कुनै हालतमा आत्मसमर्पण गर्दिनँ भनेपछि हत्या गरेछन्।’
बुबा आमाको हत्या भएपछि अनिताले तीन जना बहिनी र एक जना भाइको हेरचाह र शिक्षादिक्षामा ध्यान दिनुपर्यो। भूमिगत कालदेखि हालसम्मै माओवादीका उच्च नेताहरू पोखरा आउँदा उनकै घरमा बस्ने खाने गरेका थिए। काठमाडौं जाँदा अनिता पनि प्रचण्ड निवास निर्बाध आउजाउ गर्थिन्।
जब निर्वाचनको मिति घोषणा भयो, अनिताले सशस्त्र युद्धका शहिद, बेपत्ता, घाइते र अपाङ्गका प्रतिनिधित्व गर्नुपर्ने र उनीहरूका समस्या समाधान गर्न नेतृत्वसमक्ष माग राखिन्। पटक-पटक अध्यक्ष प्रचण्डलाई भेटेर समस्या सुनाइन्। तर कसैले पनि चासो दिएनन्।
दशैं, तिहारलगायत चाडपर्वका अवसरमा माओवादीले पोखराको शहिद पार्कमा चियापान कार्यक्रम राख्यो, त्यहाँ माओवादी महासचिव देव गुरूङ पनि सहभागी थिए। शहिद परिवारका तर्फबाट कुरा राख्न नपाएपछि अनिता पार्टी महासचिव गुरूङको गाडीमा बसेर भनिन्, ‘शहिद परिवार, घाइते, अपाङ्ग लगायतको समस्या समाधान गर्नुपर्यो।’
गाडीमा अनिताले उठाएका सवालमा गुरूङले नमीठो जवाफ फर्काए। गुरूङको जवाफ उदृत गर्दै उनले भनिन्, ‘हाम्रो शहिद परिवार मात्र १७ हजार छन्, कतिका कुरा सम्बोधन गर्न सकिन्छ? भन्नुभयो, त्यसपछि म छाँगाबाट खसें।’
महासचिव गुरूङले यस्तो जवाफ फर्काएपछि अनिताले बागी उम्मेदवार बन्ने सोच राखेकी थिइन्। उनले उठाएका सवालमा ध्यान दिने भन्दै पटक-पटक प्रचण्डले फोन गरे। जिल्ला र प्रदेशका नेताहरूले भेटेर उम्मेदवारी फिर्ता लिन सुझाए। माओवादी उम्मेदवार रामजीले पनि उनलाई भेटेर उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरे।
प्रचण्डदेखि जिल्लाका नेतासम्मले उम्मेदवारी निष्क्रिय पार्न गरेको आग्रहमा उनले एउटा प्रस्ताव गरिन्। शहिद परिवार, बेपत्ता परिवार, घाइते, अपाङ्ग लगायतका समस्या समाधान गर्न सार्वजनिक रूपमा लिखित प्रतिबद्धता गर्न आग्रह गरिन्। प्रचण्डले फोन गर्दा पनि उनले यसो गर्न सुझाइन्।
उनले राखेका प्रस्ताव अध्यक्ष प्रचण्डदेखि जिल्लाका नेतासम्मले अस्वीकार गरे।
‘चुनावका बेला हाम्रो मन जित्न पनि त सार्वजनिक रूपमा हाम्रा समस्या समाधान गर्छु भन्न सकेनन्,’ उनले भनिन्, ‘मैले मेरो व्यक्तिगत समस्या उठाएको होइन, माओवादी आन्दोलनमा सहभागी हुँदाका पीडा सम्बोधन गर्न मात्र भनेकी थिएँ।’
व्यक्तिगत रूपमा आफूलाई कुनै पनि समस्या नरहेको अनिताको दाबी छ। पोखरामा औषधी व्यवसाय र बुटिक व्यवसाय सञ्चालन गरेकी उनले आफूलाई आर्थिक रूपमा कुनै समस्या नरहेको बताइन्।
‘व्यक्तिगत रूपमा मलाई समस्या छैन। तर शहिद, बेपत्ता, घाइते, अपाङ्ग परिवारलाई भेट्ने हो भने उनीहरूका समस्या र दु:ख सहन सक्ने खालका छैनन्,’ उनले भनिन्, असह्य भएर नै मैले पार्टीकै उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवारी दिएँ।’
कास्की-२ मा कांग्रेसबाट जित्ने महादेव एक्ला
कास्की-२ मा सत्ता गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालविरूद्ध उठेका कांग्रेस नेता महादेव गुरूङ प्रभावशाली नेता हुन्। नेपाली कांग्रेसको राजनीतिमा ५२ वर्ष बिताएका गुरूङ २०४८ सालको निर्वाचनमा एमाले कार्यकर्ताको आक्रमणमा परेर घाइते भएका थिए।
त्यतिबेला कांग्रेस उम्मेदवार रहेका गुरूङ घाइते भएपछि चुनावी अभियानमा हिँड्न सकेनन्। पोखरामा उपचार असम्भव भएपछि उनलाई तत्कालीन कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाले काठमाडौं लगेर उपचारको व्यवस्था मिलाएका थिए। चुनावभरि अस्पताल बसेका गुरूङलाई त्यतिबेला एमाले नेता सोमनाथ अधिकारी ‘प्यासी’ले हराए।
प्रतिनिधि सभा सदस्य उम्मेदवारमा टिकट पाएका नेतालाई स्थानीय निर्वाचनमा टिकट नदिने मापदण्ड कांग्रेसले त्यतिबेलै बनाएको थियो। उक्त मापदण्ड महादेवका हकमा लागु भएन। चुनावमा एमालेले मरणासन्न कुटपिट गरेको भन्दै तत्कालीन कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईले उनलाई स्थानीय निर्वाचनमा टिकट दिए। चुनाव जितेर जिल्ला विकास समितिका सभापति बने।
जिल्ला विकासको सभापति हुँदा महादेवले लेकसाइडदेखि पामे जाने मोटरबाटो बनाउन १२ लाख विनियोजन गरे। त्यतिबेला गिरिजाप्रसाद प्रधानमन्त्री भइसकेका थिए। लेकसाइडबाट पामे जाने बाटो बनाउँदा फेवाताल पुरिने भन्दै सरकारले रोकिदियो। महादेवले जनश्रमदानबाट बाटो बनाएरै छाडे।
२०५६ सालको निर्वाचनमा कास्की-२ बाट प्रतिनिधि सभा सदस्यका लागि महादेवले फेरि टिकट पाए। उनी चुनाव जितेर पर्यटन राज्यमन्त्रीसमेत भए।
‘त्यतिबेला मलाई जनताले न्याय दिएका थिए,’ उनले भने, ‘अहिले पनि मलाई न्याय जनताले दिनेछन्।’
कास्की–२ को निर्वाचनमा त्यसयता महादेवले टिकट पाएनन्। उक्त क्षेत्रबाट २०५६ पछि कांग्रेसका कुनै पनि उम्मेदवारले चुनाव जितेका छैनन्। यसपालिको निर्वाचनमा आफू उम्मेदवारको आकांक्षी नै नरहेको महादेवको दाबी छ।
‘समानुपातिकतर्फ साथीहरूले मेरो नाम राख्नुभएको रहेछ,’ उनले भने, ‘शेखर कोइरालाका तर्फबाट समानुपातिकमा मेरो नाम १ नम्बरमा गएपछि सभापति शेरबहादुर देउवाले कुनै हालतमा हुँदैन भनेर काट्नुभएछ।’
राजनीति भ्रष्टाचार गर्ने थलोमा परिणत भएको भन्दै उनले यसका विरूद्ध आवाज उठाउन आफूले उम्मेदवारी दिएको बताए।
‘म पनि जिल्ला विकासको सभापति, सांसद र मन्त्री भएको व्यक्ति हुँ,’ कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका महादेवले भने, ‘मेरो र अरू मन्त्री, सांसदहरूको सम्पत्ति हेरौं न, कहाँबाट आयो त्यत्रो पैसा ।’
बागी उम्मेदवारी दिएपछि सभापति देउवासँग कुरा भएको उनले बताए।
'मैले सभापतिज्यूलाई आफूले सत्ता र स्वार्थका लागि राजनीति नगरेको अन्यायविरूद्ध उम्मेदवारी दिएको देउवालाई बताएँ,' उनले भने, 'उम्मेदवारी फिर्ता लिन वा निष्कृय पार्न भन्नुभएको थियो। ठाडै अस्वीकार गरिदिएँ।'
एकीकृत समाजवादीले गठबन्धनबाट पाएको एउटा सिटमा पनि कांग्रेसकै बलियो उम्मेदवार बागी उठेपछि समाजवादी अध्यक्ष माधव नेपाल पनि चिन्तित छन्। कार्यकर्तालाई प्रशिक्षण दिन पोखरा आएका बेला नेपालले महादेवलाई भेट्न बोलाए। उम्मेदवारी फिर्ता लिन आग्रह गरे।
‘माधव नेपालले मेरो कुरा बुझ्नुहुन्छ भनेर भेट्न गएँ।
‘तपाईं केपी ओली पीडित हुनुहुन्छ, म शेरबहादुर पीडित हुँ,’ उनले नेपालसँगको कुराकानी उद्धृत गर्दै भने, ‘मेरो समस्या उहाँले समाधान गर्न नसक्ने र उहाँको समस्या मैले समाधान गर्न नसक्ने अवस्था भएपछि भेटघाट नै औचित्यहीन बन्न पुग्यो ।’
विद्यार्थी राजनीतिबाट आएका विश्वराज
कास्की-१ प्रदेश सभा ‘क’ मा गठबन्धनका तर्फबाट माओवादी उम्मेदवार दीपक कोइरालाविरूद्ध उठेका विश्वराज पौडेल कांग्रेसका युवा कार्यकर्ता हुन्। पोखरा महानगर–२७ का कार्यवाहक वडा सभापति रहेका पौडेल वैशाख ३० को स्थानीय निर्वाचनमा केन्द्रीय प्रचार प्रसार समितिमा थिए।
नेपाल विद्यार्थी संघ कास्कीका पूर्वअध्यक्षसमेत रहेका पौडेलको पारिवारिक पृष्ठभूमिमा कांग्रेस राजनीति छ। उनकै परिवारका एक सदस्य हुन्, २०७२ मा आफ्नै पार्टी कार्यकर्ताबाट हत्या गरिएका नेपाली कांग्रेस कास्कीका नेता रामजी पौडेल ‘बादल’।
उक्त हत्याकाण्डपश्चात कास्कीमा कांग्रेस कमजोर भएको केही नेताहरूको विश्लेषण छ। कांग्रेस राजनीतिमा असल र सरल भनेर चिनिएका बादल हत्याकाण्डपश्चात पार्टीले सम्झनासमेत नराखेको भन्दै उनका परिवारका केही सदस्य अन्य दलमा आवद्ध भइसकेका छन्। बादलकै पारिवारिक सदस्य पौडेल भने कांग्रेसकै राजनीतिमा सक्रिय छन्।
‘कांग्रेसको एजेण्डाअनुसार कांग्रेस चल्न सकेन, बिपीको आदर्श बिर्सियो,’ उनले भने, ‘अत्याचारका विरूद्ध न्यायका लागि कसै न कसैले आवाज उठाउनुपर्थ्यो, मैले त्यो जोखिम मोलेर उम्मेदवारी दिएँ।’
उम्मेदवारी फिर्ता लिन अनेक प्रलोभन आए पनि आफूले इमान्दारिताका लागि काम गरेको भन्दै कुनै प्रलोभनमा नफस्ने बताए। ‘कांग्रेसका जोसकुै उम्मेदवार भए पनि मेरो समर्थन रहन्थ्यो,’ उनले भने, ‘मेरो एजेण्डा कांग्रेस जोगाउने हो, अरू केही छैन।’
एमालेलाई फाइदा
सत्ता गठबन्धनका उम्मेवारविरूद्ध उठेका यी तीन जना बागीका कारण एमाले उम्मेदवारलाई फाइदा हुने देखिन्छ। तर उनीहरू एमालेलाई फाइदा पुर्याउने उद्देश्य नराखेको बताउँछन्।
‘एमालेसँग हाम्रो कुनै साइनो छैन,’ कास्की-२ का बागी महादेवले भने, ‘चुनाव हामीले जित्छौं, गठबन्धन र एमालेलाई हराउँछौं।’
२०५६ सालमा कास्की-२ बाट महादेव निर्वाचित भएपछि माओवादी युद्धका कारण लामो समय चुनाव भएन। २०६४ सालमा भएको संविधान सभा निर्वाचनमा उक्त क्षेत्रबाट एमालेका दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित भए। त्यसपछि २०७० को दोस्रो संवधान सभा र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि अधिकारी नै निर्वाचित भए।
पर्यटन मन्त्रीका हुँदा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएपछि उनकी श्रीमती एमाले केन्द्रीय सदस्य विद्या भट्टराई उक्त क्षेत्रबाट निर्वाचित भइन्। अहिले फेरि भट्टराई एमालेकी उम्मेदवार छिन्।
यस्तै, कास्की-३ मा २०७४ मा तत्कालीन एमाले-माओवादी गठबन्धनका तर्फबाट जगत विश्वकर्मा प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उक्त क्षेत्रबाट अहिले एमाले कास्कीको अध्यक्षमा पराजित नेता दामोदर पौडेल ‘बैरागी’ उम्मेदवार छन्।
यस्तै, कास्की-१ प्रदेश सभा ‘क’ मा पनि २०७४ मा एमाले-माओवादी गठबन्धनबाट दीपक कोइराला प्रदेश सांसद निर्वाचित भएका थिए। गठबन्धनबाट अहिले पनि माओवादीका कोइराला उम्मेदवार छन्। उक्त क्षेत्रमा एमाले संगठन विभाग प्रमुख खगराज अधिकारी प्रदेश सांसदका उम्मेदवार छन्।
अघिल्लो निर्वाचनमा एमाले-माओवादी मिलेर कास्कीका ९ वटा क्षेत्रमध्ये ८ वटा क्षेत्रमा जित्न सफल भएका थिए। यसपालि एमाले एक्लो मात्र छैन, एउटा हिस्सा चोइटिएर एकीकृत समाजवादीमा समावेश छन्। यसरी बनेको गठबन्धनले एमालेलाई सहजै हराउन सक्ने अनुमानमा बागी उम्मेदवारले ‘ब्रेक’ लगाइदिएका छन्।
‘कास्कीमा गठबन्धनकै मत अगाडि छ, स्थानीय निर्वाचनको नतिजाले पनि त्यो देखाउँछ,’ कास्की कांग्रेसका एक नेताले भने, ‘कहीँ हार भएछ भने बागी उम्मेदवार निर्णायक बन्ने देखिन्छ।’