नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा गठबन्धनलाई कुनै पनि शक्तिले पराजित गर्न नसक्ने बताएका छन्।
जनकपुरधाममा धनुषा निर्वाचन क्षेत्र नम्बर–२ द्वारा मंगलबार आयोजित पार्टीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई कुनै शक्तिले हराउन नसक्ने दाबी गरेका थिए।
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दास बनाउन खोजेपछि आफूहरुले विद्रोह गरेको बताएका थिए।
संविधान रक्षा, स्थायी सरकार र राष्ट्रिय विकासका लागि पाँच दलीय गठबन्धन अवधारणा अघि सारिएको उनको भनाइ थियो।
जनताले २०७४ को निर्वाचनमा कम्युनिष्ट पार्टीलाई दुई तिहाई बहुमत दिए पनि ओलीले कुनै काम गर्न नसकेको उनले आरोप लगाएका थिए। ‘गठबन्धन संविधानको रक्षाका लागि बनेको हो’, उनले भने।