झुप्रा खोलाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र लेकवेशी नगरपालिकाको सीमाना छुट्याउँछ। खोलापारि लेकवेशी पर्छ, खोलावारि वीरेन्द्रनगर।
लेकवेशी–१० तर्फको फराकिला खेतभन्दा वारिपट्टि वीरेन्द्रनगर–११ मा पर्ने एउटा सानो सुकुम्बासी बस्ती छ। जस्तापाताले छाएका कच्ची घर छन्, जग्गा भनेको छेउको आँगन मात्र। तरकारी लगाईएको आँगन र घर पनि उनीहरू कसैको नाममा छैनन्।
यो बस्तीमा २७ घरधुरी छन्। झण्डै डेढ सय जनसंख्या भएको बस्तीमा ७० जनासँग मतदाता परिचयपत्र छ। उनीहरूले यसपालि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका उम्मेदवारहरूलाई मौखिक प्रतिबद्धताका आधारमा मात्र मत नदिने बताएका छन्
स्थानीय तहको निर्वाचनपछि उक्त बस्तीमा आउँदो निर्वाचनका लागि मत माग्न अहिलेसम्म कोही उम्मेदवार गएका छैनन्।
‘अब हुने निर्वाचनका लागि हामीलाई मत दिनुस् भनेर कोही पनि अहिलेसम्म आउनुभएको छैन, अब आउनेबेला भयो होला,’ स्थानीय निर्मला गन्दर्भले भनिन्, ‘उहाँहरूलाई केही समय यतै राखेर यहाँको समस्या समाधानका लागि लिखित प्रतिबद्धता नै गरेर पठाउने विचार छ।’
२०५४ सालदेखि बसेको यो सुकुम्बासी बस्तीको नाम ‘बालुवाटार’ हो। त्यतिबेला खोलाको छेउमा बालुवा धेरै हुने र बस्तीका मानिसहरु परिवार पाल्न बालुवामै निर्भर हुने भएकाले नाम बालुवाटार राखिएको हो।
बस्तीमा ६ महिनाअघि दुई वटा संस्थाले सहयोग गरेका छन्। एउटा संस्थाले बस्तीमा बिजुली पुर्याईदिएको छ भने अर्को संस्थाले दुई वटा खाने पानीका धारा बनाईदिएको छ। त्यसबाहेक यो गाउँमा अरू कुनै सुविधा छैन।
‘बस्तीमा सडक पुगेको छैन, तत्कालै लैजानुपर्ने गरि कोही बिरामी परिहाले भने बोकेरै मुख्य सडकमा लैजानुपर्छ,’ निर्मलाले भनिन्, ‘तत्कालै एम्बुलेन्स मात्र चल्न सक्ने सडक भईदिएको भए पनि भर हुन्थ्यो।’
बस्तीमा बाल विकास कक्षासमेत छैन। जसका कारण स-साना बालबालिका आधा घण्टा उकालो हिँडेर धुलियाबीटमा भएको विद्यालयमा पुग्ने गरेका छन्। कतिपय बालबालिका त हिँड्न नसकेरै विद्यालय नियमित जाँदैनन्।
‘टाढा भएपछि कतिपय साना बालबालिका विद्यालय जाँदैनन्, कोही बाटोबाटै फर्किन्छन्। बा-आमाले सबैलाई बोकेर पुर्याउन पनि भ्याउँदैनन्,’ निर्मलाले भनिन्।
बालुवाटारका मतदातालाई हिँडेर स्कुल जान नसक्ने साना बालवालिकाका लागि बाल विकास केन्द्रको स्थापना गर्ने, सामान्य भए पनि बस्तीसम्म सडक पुर्याईदिने, आफूहरूको बस्तीलाई लालपूर्जासहित स्थायी बनाईदिने, बेरोजगारी समस्या समाधान गरिदिने नेताको खाँचो छ।
‘हरेक चुनावमा नेताहरू भोट माग्दै आउँछन्, बस्तीका सबै समस्या समाधान हामी गर्दिन्छौं भन्छन् तर पछि अर्को चुनावसम्म फर्केर आउँदैनन्,’ निर्मला भन्छिन्, ‘अब पनि चुनाव आईरहेको छ, अब त हाम्रा समस्या समाधान नहुने भए भोट नहाल्ने हो कि जस्तो पनि लागिरहेको छ।’
२०५४ को आम निर्वाचनदेखि हालसम्मका हरेक निर्वाचनमा मतदान गरेको बालुवाटारका रंगवीर गन्दर्भले भोट माग्न आउने सबै उम्मेदवारबाट जग्गाको लालपूर्जा दिलाईदिने बचन पाए। अहिले पनि यहीँ कुरा आउने उम्मेदवारले बोल्ने उनलाई पक्का छ।
अहिलेको निर्वाचनमा उम्मेदवारले बोलेका भरमा भोट नदिने रंगवीरले बताए।
‘हामीले यहाँ आएदेखि हरेक निर्वाचनमा मतदान गरेका छौं, भोट माग्न आउनेजतिले यो बस्तीलाई व्यवस्थित गर्दिन्छौं भनेर गए पनि पछि फर्किएनन्,’ उनले भने, ‘यहाँ बेरोजगारीको एकातिर समस्या छ, सडकको सुविधा छैन, बालुवा निकाल्न पनि ढुक्कले पाइँदैन। अब यी समस्या समाधान गर्ने पक्का नभए भोट नहाल्ने सोच बनाएको छु।’
रंगवीरका अनुसार अहिले बालुवाटारमा बसेको बस्तीका मानिसहरू पहिले सडक किनारमा बसेका थिए। पछि सडक विस्तार गर्दा सरकारले उठाएपछि खोला छेउमा झरेको हो। सामुदायिक बन भएकाले त्यहाँबाट पनि उठ्न भनेपछि संयुक्त रुपमा समुदाय नै वन कार्यालयमा पुग्यो। त्यसबेला केही सर्तमा त्यहाँ बस्न दिईयो।
‘पहिले नेताले दिएका कुनै पनि आश्वासन पूरा भएनन्, यो बालुवाटारलाई सूर्यटार बनाईदिन्छौं भन्ने नेता पनि आए,’ स्थानीय विनोद बैगारले भने, ‘भोट फुत्काएर गएपछि वास्ता गरेनन्, अब त हाम्रो भन्ने भन्दा पनि यहाँको बस्तीलाई व्यवस्थित गराउन सक्ने राम्रोलाई भोट दिने हो।’
कुनै बेला गाउँमा भत्किएपछि स्थानीयले बनाउन नसकेको सेफ्टी ट्यांकी बनाउन सहयोग गर्ने बाचा गरेको उम्मेदवार नै जितेपछि फर्केर नआएको गुनासो उनले गरे। चुनावका बेला आउने हरेक उम्मेदवारले बस्तीलाई स्थायी र व्यवस्थित गर्ने बाचा गरेर पछि नफर्किएको बैगारले बताए।
यहीँ बस्तीबाट २०५४ सालदेखिका हरेक निर्वाचनमा मतदान गर्दै आएका भुवनसिंह रोकाय पनि हुन्। अहिलेको प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि मत माग्न आउने उम्मेदवारले कुनै पनि तरिकाबाट बस्तीको समस्या समाधान गर्ने ग्यारेण्टी गरे मात्र मतदानमा सहभागी हुने योजा उनले बनाएका छन्।
‘यहाँको आम्दानीको स्रोत बालुवा हो, बालुवा बन्द भएको समय भारतकै भर पर्नुको विकल्प छैन,’ टोल विकास समितिका अध्यक्षसमेत रहेका रोकायले भने, ‘यस्तो समस्या त भोट माग्न आउँदा बुझेर गएकाहरूले जितेर गएपछि समाधान गर्नु पनि पर्यो नि।’
बालुवाटारमा रोकाय, मगर र गन्दर्भ समुदाय बस्छन्। कसको पुर्ख्यौली कहाँ हो भन्ने कसैलाई थाहा छैन। त्यहाँ घर भएकाहरुले वार्षिक भूमिकर (तिरो) भने तिर्दै आएका छन्।
विगतका कयौं निर्वाचनमा त्यहाँ पुगेर आश्वासन मात्र बाँडेका राजनीतिक दलका उम्मेदवारका लागि यस पटक पनि आफ्ना एजेण्डा भजाउनेमध्येको एक बस्ती ‘बालुवाटार’ बन्ने स्थानीयलाई आशंका छ।