आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि प्रचार सामग्री, पार्टीका झन्डा, चुनाव चिन्ह अंकित लोगो छाप्न व्यवसायीलाई भ्याई नभ्याई छ।
निर्वाचन आयोगले यसअघिनै टिसर्ट, तुल, ब्यानर क्यापजस्ता सामग्रीमा रोक लगाएपछि झन्डाले बढी स्थान पाएको हो। निर्वाचन क्षेत्र र चुनावी सभाहरू झन्डाले सजिएका छन्।
उम्मेदवारको लोकप्रियता देखाउने माध्यम बनेका यी झन्डा बनाउन व्यवसायीलाई भ्याई नभ्याई छ।
सय मिटर कपडाबाट सानो झन्डा ७ सयदेखि ८ सयवटासम्म बन्छन्। यो भनेको १० इञ्च लम्बाइ र १८ इञ्च चौडाइ हो। त्यस्तै, मध्यम झन्डा (१८ लम्बाइ, २० चौडाइ) ३ सयदेखि ४ सयवटा बन्छन्। ठूला झन्डा भने करिब २ सय वटा बन्ने व्यवसायी बताउँछन्। ठूलाको लम्बाइ २० र चौडाइ ३० इञ्च हुन्छ। डेढ मिटरका झन्डा २० देखि ३० वटा मात्र बन्छन्।
बागबजारस्थित प्रिन्टिङ प्रेस व्यवसायीका अनुसार बढी झन्डा अर्डर गर्नेमा कांग्रेस, एमाले र माओवादी उम्मेदवार छन्। जिल्लाका आधारमा मोरङ, काठमाडौं, झापा, रुपन्देही, सुनसरी, कैलाली, धनुषा, सर्लाही र बारामा बढी खपत हुन्छन्।
हेर्नुहोस् तस्बिरहरू