विभिन्न राजनीतिक दलका उम्मेदवारहरूले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिँदैनन्।
जितेर गएपछि आफ्नै दुनो सोझ्याउने काम मात्र नेताहरूले गरेको उनीहरूको भनाइ छ।
नेताहरूले आफ्ना चुनावी वाचा पूरा नगर्दा भने महिला मतदाता असन्तुष्ट छन्। वर्षाैंदेखि प्रत्येक चुनावमा विकास निर्माणका योजना ल्याएर गाउँलेको जीवन नै परिवर्तन गर्ने आश्वासन दिने गरेको महिला बताउँछन्।
रोजगार, शिक्षा, स्वास्थ्य, विद्यालय, सडक लगायतको सुविधा मिल्ने र गाउँमा विकासको लहर ल्याउनेजस्ता नारा प्रत्येक चुनावका बेला हुन्छ तर उक्त आश्वासन नारामा सीमित हुने गरेको उनीहरूको गुनासो छ।
पहिलेको भन्दा केही फरक भए पनि, केही परिवर्तन आए पनि अझ धेरै सकारात्मक परिवर्तनको खाँचो रहेको मतदाता बताउँछन्।
दलका उम्मेदवार फेरि पनि आश्वासनको पोको लिएर घरदैलोमा पुग्न थालेका छन्।
आफू जिते, गाउँ-गाउँमा सडक, स्वास्थ्य, खानेपानी, सिँचाइ, विद्यालयलगायत सबैमा आश्वासन फेरि दोहोर्याइरहेका छन्। निर्वाचन नजिकिएपछि गाडीमा आ–आफ्ना दलका झण्डा फहराउँदै उम्मेदवार गाउँ पस्न थालेका छन्।
पर्सा पकाहा मैनपुरकी सरस्वतीदेवीले नेताहरूले जितेको भोलिपल्टदेखि नै विकासको लहर चलाउने भनिए पनि त्यो अनुसारको कार्य कमै मात्रामा गरेको देखेका बताइन्।
'नाला, सडक, विद्यालय लगायतमा अझ सुधार हुन बाँकी छ। फेरि विभिन्न आश्वासन लिएर नेताहरू घरदैलोमा आइरहेका छन्', उनले भनिन्, 'विश्वास गर्नुको विकल्प छैन तर यसपालि सोचेर मात्रै विकास गर्ने, गरिबलाई हेर्ने व्यक्तिलाई भोट दिने निर्णयमा छु।'
पर्साकी परवानीपुरकी सोनमती देवी भन्छिन्, 'गाउँमा भोट माग्न आउँदा वर्षाैंवर्षको चिनजान भएको जस्तो अपनत्व देखाउने गरेको भए पनि जितेपछि गुहार माग्न जाँदा चिन्दिनँ भन्छन्। घर बनाइदिने, एक घर एक रोजगारीको व्यवस्था गर्ने भनेर गए तर केही गरेनन्।'
यतिबेला गाउँदेखि सहरसम्म उम्मेदवार भोट माग्ने चटारोमा छन्। चुनाव जित्नका लागि मधेश प्रदेशमा राजनीतिक दलहरूले चुनावी गठबन्धन गरेर अगाडि बढेका छन्।
निर्वाचनको मिति नजिकिँदै गर्दा मधेस प्रदेशका राजनीतिक दलका उम्मेदवारहरू आ–आफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रमा केन्द्रित गर्न थालेका छन्।
लाउड स्पिकर, कार्यकर्तासहित भोट माग्दै जनताका घरदैलोमा उम्मेदवार पुग्न थालेका छन्।
ग्रामीण भेगका किसानलाई भने चुनावले नछोएको पर्सा विन्दसिनीका ७० वर्षीय हरिशङ्कर प्रसाद बताउँछन्। उनी भन्छन्, 'नेताहरू आफ्नो जरूरी परेको बेलामा मात्र आउँछन् अनि त्यसपछि कोही आउँदैनन्। हेर्नुस् न केही विकास भएको छैन हाम्रो गाउँमा। खेती किसानीका लागि खाद, सिँचाइ सबै महँगो भइसक्यो। हाम्रो समस्या बुझिदिने कोही भएनन्।'
स्थानीय अर्का बासिन्दा राजेश कुर्मी भन्छन्, 'युवाका लागि रोजगारीको अवसर नहुँदा गाउँका अधिकांश युवाहरू यत्तिकै भौंतारिनु परेको वा बाध्यताले बिदेसिनु बाहेकको विकल्प छैन। गरिबका बालबालिकाको लागि त न गुणस्तरीय विद्यालय छ न त औषधि उपचारका लागि गुणस्तरीय स्वास्थ्य चौकी नै।'
पछिल्लो समय चुनावमा पढे लेखेका राम्रा व्यक्ति पनि उम्मेदवारको रूपमा देखा पर्दा केही आशा पलाएको उनको भनाइ छ।
पहिले निर्वाचनका बेला गरेका कुलहरू कुनै पूरा नभएपछि यसपटक पनि विकासको नारा फलाक्दै हिँडेका नेता तथा उम्मेदवारका कुरामा धेरैले खासै चासो देखाएको पाइँदैन।
सडक विस्तार, शिक्षामा सुधार, स्वास्थ्य तथा रोजगारीमा पहुँच, खानेपानी, फोहोर व्यवस्थापन लगायतका विकासका कुनै काम नभएको महिला मतदाताहरूको गुनासो रहेको छ।
गाउँ-गाउँमा मतदाता शिक्षाको पनि अभाव रहेको देखिन्छ। प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारलाई के कसरी कस्तो मतपत्रमा मतदान गर्ने हो भन्ने तरिका पनि सिकाउन अझै उम्मेदवार र तिनका प्रतिनिधिहरू नआएको उनीहरू बताउँछन्। पर्सामा पुरुष एक लाख ९४ हजार नौ सय चार, महिला एक लाख ५१ हजार आठ र अन्य १६ गरी कुल तीन लाख ४५ हजार नौ सय २८ मतदाता रहेका छन्।