नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताएका छन्।
हुम्लामा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनका साझा उम्मेदवार छिरिङ्ग डम्डुल लामालाई मन्त्री बनाउने विश्वास दिलाए।
प्रदेशसभा (२) का उम्मेदवार जीवनबहादुर शाही पनि कर्णाली प्रदेशको पुनः मुख्यमन्त्री बन्ने सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले सातै प्रदेश र सङ्घमा गठबन्धनकै सरकार बन्ने दाबी गरे।
यस्तै, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले हुम्लाको उत्तर पश्चिमसम्म सडक सञ्जालले जोड्ने बताए।
गठबन्धन सरकारले हुम्लाको हिल्सालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने उनले विश्वास दिलाए।
उनले भने, 'कर्णालीको विकास र रोजगारी सिर्जना गर्नेका लागि निर्वाचन संघीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गठबन्धनको सरकार सञ्चालन हुनेछ।'
कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यातायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका दश वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले बताए।