सेतोपाटी निर्वाचन विश्लेषण
तपाईंले चेस खेल्नुभएको छ? नखेल्नु भए पनि चेसबारे पक्कै सुन्नुभएको होला। चेसमा राजा, मन्त्री, हात्ती, घोडा, उँट र प्युसाहरू हुन्छन्।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर २ को स्थिति हेर्ने हो भने ठ्याक्कै चेसको झल्को आउँछ। यहाँ चुनावी प्रतिस्पर्धामा ओर्लिएका उम्मेदवारहरू चेसका गोटीजस्ता देखिन्छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका धवलशमशेर राणालाई स्थानीयहरू 'राजा' भनेर सम्बोधन गर्छन् भने भर्खरै मन्त्री पदबाट हटेका जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार मोहम्मद इश्तियाक राईलाई 'मन्त्री' भन्छन्।
यो चेस खेलमा राजालाई 'चेक' दिन र मन्त्रीको चाल रोक्न कयौं अन्य उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन्।
बाँके-२ को निर्वाचन क्षेत्र आफैं पनि कुनै चेसबोर्ड भन्दा कम छैन। यहाँका धेरैजसो बस्तीमा हिन्दु र मुस्लिमको मिसमास बसोबास छ। त्यसैले यो निर्वाचन क्षेत्रलाई धार्मिक रूपले संवेदनशील मानिन्छ।
डुडुवा गाउँपालिका र २३ वटा वडा रहेको नेपालगन्ज उपमहानगरपालिकाका १६ र १७ नम्बर वडा बाहेकका सबै वडा बाँके क्षेत्र नम्बर २ मा पर्छ।
कुल ९७ हजार ८ सय ९ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ७४ हजार हिन्दु र २३ हजार मुस्लिम मतदाता रहेको स्थानीय राजनीतिक दलका नेताहरू बताउँछन्। यसको झलक हरेक चोक र चौराहामा देखिन्छ जहाँ कि मन्दिर छन् कि मस्जिद। धेरै हिन्दुहरूले आफ्नो घरमा पहेँलो त्रिकोणात्मक झन्डा राखेका छन् भने मुस्लिमहरूका घरमा चन्द्रमा अंकित हरियो झन्डा देखिन्छ।
सेतोपाटीले पछिल्ला केही दिनमा बाँके-२ मा पर्ने डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगर गरी १ सय ७१ जना मतदातालाई प्रत्यक्ष भेटेर उनीहरूसँग मंसिर ४ मा हुने निर्वाचनबारे कुराकानी गरेको छ। मतदाताको कुरा सुन्दा नेपालगन्जको चुनावी चेसबोर्डमा यसपालि 'राजा' र 'मन्त्री' बीच 'काँटेका टक्कर' को स्थिति देखिन्छ।
मधेसमा दुई प्रतिस्पर्धीबीच कुनै विषयमा कडा टक्कर हुने भयो भने त्यसलाई 'काँटेका टक्कर' भन्ने चलन छ।
हामीले कुराकानी गरेका १७१ मतदातामध्ये ५६ जना अर्थात् ३२.७४ प्रतिशतले धवलशमशेर राणालाई मत दिने बताएका छन् भने ५५ जना अर्थात् ३२.१६ प्रतिशतले मोहम्मद इश्तियाक राईलाई भोट दिन्छु भनेका छन्।
सत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणालाई मत दिन्छु भन्नेहरू १० जना मात्र भेटिएका छन्। यो हामीले कुराकानी गरेका मतदाताको ५.८४ प्रतिशत हो।
हामीले कुराकानी गरेका १७१ मध्ये ३१ जना मतदाताले कसलाई मत दिने भनेर अझै टुंगो नगरिसकेको बताए।
त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नमा मत हाल्छु भन्ने ९ जना भेटिए भने स्वतन्त्र उम्मेदवारी दिएका इरफान अहमद शेखको डोजर चुनाव चिह्नमा मत हाल्छु भन्ने ६ जना मतदाता पनि हामीले भेट्यौं।
यसबाहेक हामीले कुराकानी गरेका १७१ मतदातामध्ये ४ जनाले अन्य विभिन्न उम्मेदवारलाई भोट दिने बताए।
हेर्नुहोस् पाइचार्टमा
बाँके-२ मा यसअघि २०६४ र २०७४ को निर्वाचनमा मोहम्मद इश्तियाक राई विजयी भएका थिए। उनलाई कडा टक्कर दिइरहेका धवलशमशेरले २०५४ र २०७४ साल गरी दुई पटक नेपालगन्ज उपमहानगर हाँकिसकेका छन्। उनी २०७० सालमा राप्रपाबाट चुनाव लडे पनि नेपाली कांग्रेसका सुशील कोइरालासँग पराजित भएका थिए।
अब हामी बाँके-२ मा अघिल्लो निर्वाचनसँग तुलना गर्दा कसको मत कतातिर सर्दैछ भन्ने स्थिति हेरौं।
हामीले भेटेका १७१ मतदातामध्ये धवलशमशेरलाई रोज्ने ५६ जना सबै राप्रपाका नियमित मतदाता होइनन्। तीमध्ये ७ जनाले मात्र विगतमा राप्रपालाई मत दिएको बताए। त्यसबाहेक पहिले कांग्रेसलाई मत दिएका १४ जना र एमालेलाई दिएका १४ जनाले यसपालि धवलशमशेरलाई मत दिन्छु भनेका छन्।
त्यस्तै ११ जना नयाँ मतदाता धवलशमशेरको पक्षमा देखिए भने पहिला कसलाई दिएको याद छैन भन्ने ५ जनाले धवललाई रोज्ने उल्लेख गरे। पहिले इश्तियाक राईलाई मत दिएका ५ जनाले पनि यसपालि धवलशमशेरलाई दिने बताएका छन्।
बाँके-२ मा राप्रपालाई नेकपा एमालेको समर्थन छ। यस आधारमा पहिले एमालेलाई भोट दिएका मतदाताले यसपालि धवलशमशेरलाई दिन्छु भन्नु स्वाभाविक हो। तर एमालेजत्तिकै संख्यामा कांग्रेसको भोट पनि धवलशमशेरलाई जाने स्थिति देखिन्छ। इश्तियाक राईको केही भोट पनि धवलशमशेरले तान्ने स्थिति छ।
नेपालगन्ज उपमहानगर वडा नम्बर १४ मा कपडा पसल राखेका परमानन्द भट्टले पहिले कांग्रेसलाई भोट दिएका थिए। यसपटक उनले धवलशमशेरलाई दिने सोच बनाएका छन्।
'यसपटकको मत धवल राजालाई दिने हो,' भट्टले भने, 'जनताको सेवा गरेको मान्छे हो।'
अर्कातिर जसपाका मोहम्मद इश्तियाक राईलाई भोट हाल्छु भनेका ५५ मतदातामध्ये ३० जनाले अघिल्लो निर्वाचनमा पनि उनैलाई मत दिएको बताए। यसबाहेक ११ जना नयाँ मतदाता र पहिले कांग्रेसलाई भोट हालेका दुई र एमालेलाई हालेका दुई जनाले पनि यसपालि इश्तियाकलाई मत दिने उल्लेख गरे। इश्तियाकलाई रोज्ने अन्य १० जना मतदाताले भने पहिले कसलाई दिएको सम्झना छैन भनेका छन्।
यहाँ धवलशमशेर र इश्तियाक राईको स्थिति दाँज्ने हो भने हामीले भेटेका नयाँ मतदातामा दुवैप्रति बराबर आकर्षण देखिन्छ। जहाँसम्म अर्को पार्टीको भोट तान्ने सवाल छ, त्यो मामलामा धवलशमशेर अगाडि छन्। उनले राप्रपालाई समर्थन गरेको एमाले मात्र होइन, कांग्रेसको भोट पनि इश्तियाक राईले भन्दा धेरै तान्ने स्थिति देखिन्छ।
यसले एकातिर नेपालगन्जमा धवलशमशेरको व्यक्तिगत लोकप्रियता देखाउँछ भने अर्कातिर गत स्थानीय निर्वाचनमा यो क्षेत्रको वडा स्तरमा सबभन्दा धेरै मत ल्याएको गठबन्धनका उम्मेदवार सुदीपनरसिंह राणा कति गुमनाम छन् भन्ने पनि देखाउँछ।
इश्तियाक राईले भने आफ्नो पुरानो भोट बैंक धेरै हदसम्म जोगाएर राखेको देखिन्छ। नेपालगन्जको राँझा विमानस्थलनजिकै वडा नम्बर २० मा कपडा सिलाइ सञ्चालन गरिरहेका मेहबुब शेखले पहिलेजस्तै यसपालि पनि मोहम्मद इश्तियाकलाई मत दिने बताए।
'इश्तियाक सहरी विकास मन्त्री भएपछि यहाँका पाँच वटा बाटो पिच भएका छन्,' उनले भने, 'नगरभरी सडक बत्ती बलेको छ। काम गरेको मान्छेलाई भोट दिने हो।'
सत्ता गठबन्धनका उम्मेदवार सुदीपनरसिंह राणाका हकमा भने उनले आफ्नै पार्टी कांग्रेसको सबै भोट नपाउने देखिन्छ। हामीले कुराकानी गरेका मतदातामध्ये पहिले कांग्रेसलाई भोट हालेका धेरै जना यसपालि धवलशमशेरको पक्षमा देखिए। गठबन्धनका राणालाई मत दिन्छु भन्ने १० जनामध्ये ८ जनाले आफू कांग्रेसको सक्रिय कार्यकर्ता रहेको बताएका थिए।
त्यस्तै माओवादी केन्द्रका दुई जना मतदाताले मात्र गठबन्धनका राणालाई मत दिने बताए भने एकीकृत समाजवादीका कोही पनि मतदाता उनको पक्षमा हामीले भेटेनौं।
हामीले भेटेका धेरै मतदाताले गठबन्धनका उम्मेदवार राणाको नामै नसुनेको जवाफ दिएका थिए।
नेपालगन्ज उपमहानगर वडा नम्बर ६ मा पुस्तक पसल चलाउँदै आएकी ३० वर्षीया सिर्जना चौधरीले कांग्रेसको उम्मेदवारबारे खासै नसुनेको बताइन्।
'२०७४ मा कांग्रेसलाई भोट हालेको हो। यसपटक भने कांग्रेसको उम्मेदवारबारे खासै थाहा छैन,' चौधरीले भनिन्, 'धवलले मेयर हुँदा राम्रो काम गरेका हुन्। त्यसैले उनलाई केन्द्रमा पुर्याए थप राम्रो गर्लान् भन्ने लागेको छ।'
कांग्रेस उम्मेदवारको अलोकप्रियताको केही फाइदा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि पाउने स्थिति छ। हामीसँगको कुराकानीमा स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्नलाई भोट हाल्छु भनेका ९ जनामध्ये ५ जनाले यसअघि कांग्रेसलाई मत दिएका थिए। यसबाहेक दुई जना एमालेका र बाँकी दुई जना नयाँ मतदाता छन्।
रोचक कुरा के छ भने, घन्टी चुनाव चिह्नमा भोट हाल्छु भन्ने अधिकांश मतदाताले उक्त पार्टीबाट उम्मेदवार बनेका विनोद अग्रहरिको नाम बताउन सकेनन्। यसले उम्मेदवार नचिने पनि दलहरूबाट असन्तुष्ट मतदाताको केही भोट घन्टीले पाउने स्थिति देखिन्छ।
नेपालगन्ज उपमहानगर वडा नम्बर २० की भीमकुमारी गुरूङले पुराना दलका नेताहरूबाट आश मरेकाले रवि लामिछानेको पार्टीको घन्टी चिह्नलाई भोट हाल्ने सोच बनाएको बताइन्।
'जसले जिते पनि हामीलाई खाना र कपडा दिने होइनन्। आफ्नो दु:ख आफैं सहनुपर्छ,' उनले भनिन्, 'यहाँ छेवैमा एउटा घर लड्यो। हामीले घर बनाउन टिन देऊ न भनेर कांग्रेस नेताहरूलाई भन्यौं तर वास्ता गरेनन्। हामीलाई त टोलमा कांग्रेस भन्नै लाज भयो। अलिकति सहयोग गरेको भए हाम्रो पनि कांग्रेस भन्ने औकात हुन्थ्यो। त्यसैले यसपटक भोट फेरेर स्वतन्त्र पार्टीलाई दिने सोच बनाएका छौं।'
परम्परागत राजनीतिक दलहरूबाट दिक्क भएका केही मतदातालाई डोजर चिह्न पाएका स्वतन्त्र उम्मेदवार इरफान अहमद शेखले पनि आकर्षण गरेको देखिन्छ। सिके राउतको पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका इरफान डोजरमाथि उभिएर बजार परिक्रमा गर्दै चुनाव प्रचार गरिरहेका छन्।
वडा नम्बर १४ का ६० वर्षीया अलि मोहम्मद शेखले यसपटक डोजरमा मतदान गर्ने बताए।
'एक बोरा मल ल्याउँदा प्रहरीले बोर्डरमा घुस खान्छ, लात्ती हान्छ। हाम्रो यो समस्या दलहरूले कहिल्यै सुनेनन्, कहिल्यै बुझेनन्,' शेखले भने, 'इरफानले भ्रष्टाचार रोक्छु भनेका छन्। त्यसैले यसपालि उनैलाई भोट दिने हो।'
अब हामी अनिर्णित मतदाताहरूबारे चर्चा गरौं।
हामीले कुराकानी गरेका १७१ मतदातामध्ये ३१ जनाले कसलाई मत दिने भनेर अझै टुंगो नगरिसकेको बताएका छन्। ती ३१ जनामध्ये पहिले कांग्रेसलाई भोट दिएको भन्नेहरू सबभन्दा धेरै १४ जना छन्। चुनावको दिनसम्म ती १४ जना सबैले कांग्रेसलाई नै भोट हाल्लान् कि अरूतिर छरिएलान्?
हामीले बाँके-२ का गाउँ, टोल र बस्तीहरूमा मतदातालाई प्रत्यक्ष भेटेर गरेको कुराकानीका आधारमा भन्दा अरूतिर छरिने सम्भावना नै बढी देखिन्छ। यसले गठबन्धनका कांग्रेस उम्मेदवार सुदीपनरसिंह राणालाई थप कमजोर बनाउन सक्छ। अहिलेसम्म टक्करका उम्मेदवार धवलशमशेर र मोहम्मद इश्तियाकमध्ये कांग्रेसको भोट जसले बढी तान्यो, उसैको पल्ला भारी हुने देखिन्छ।
नेपालगन्ज उपमहानगरको स्थानीय तह निर्वाचन परिणाम हेर्ने हो भने यहाँको सबभन्दा ठूलो दल नेपाली कांग्रेस हो। सत्ता गठबन्धनका वडाध्यक्षहरूले पाएको मत २४ हजार ९ सय २८ छ। तर अहिले प्रतिनिधिसभा निर्वाचनमा सत्ता गठबन्धनप्रतिको यही आकर्षण यहाँ देखिन्न।
नेपालगन्जको बिपी चोकमा चामलको स्टोर भएका आकाश गुप्ताले स्थानीय निर्वाचनमा कांग्रेसलाई नै मत दिएका थिए। तर यसपटक उनी धवलशमशेरलाई दिने बताउँछन्।
'व्यापारमा पछिल्लो समय मन्दी आइरहेको छ। यताका धेरै मान्छेले पारि रूपैडिया गएर सरसामान ल्याउने भएकाले यहाँ व्यापार हुनै छाड्यो,' गुप्ताले भने, 'यो स्थिति रोक्न नाकामा कडाइ गर्ने व्यक्ति चुनियोस् भन्ने हाम्रो चाहना हो। विगतमा दुई पटक जसपाका मोहम्मद इश्तियाक राईले चुनाव जिते पनि उनले बोर्डरमा कडाइ गर्न सकेनन्। त्यसैले यसपटक धवलशमशेरलाई भोट दिने हो।'
त्रिभुवन विश्वविद्यालयबाट रिटायर्ड प्राध्यापक डा. जनार्दन आचार्य पनि कांग्रेसप्रति मतदाताको विकर्षण देखेर आफू अचम्भित भएको बताउँछन्।
'संगठनका हिसाबले नेपाली कांग्रेस बाँकेमा बलियो छ तर यसपालि कांग्रेसको धेरै मत धवलशमशेर र इश्तियाकबीच बाँडिने देखिन्छ। जसले बढी तान्न सक्छ, उसले चुनाव जित्ने वातावरण बनेको छ,' आचार्यले भने, 'कांग्रेसका उम्मेदवार सुदीपनरसिंह राणा पार्टीभित्र राम्रै मानिए पनि उनी धवलशमशेर र इश्तियाकको तुलनामा त्यति लोकप्रिय व्यक्ति होइनन्। त्यसले पनि गठबन्धनका उम्मेदवार तुलनात्मक रूपमा कमजोर देखिन्छन्।'
कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दल बाँकेका अध्यक्ष वीरेन्द्र शाहले गठबन्धनका उम्मेदवारलाई तयारीको समय नपुगेको बताए।
'उम्मेदवारी घोषणा हुने अन्तिम समयसम्म जसपाका मोहम्मद इश्तियाक राई नै गठबन्धनबाट उम्मेदवार बन्ने अनुमान गरिएको थियो। यहाँ उनकै हल्ला व्यापक भइसकेको थियो। आखिरमा जसपा गठबन्धनबाट हट्यो र कांग्रेसको उम्मेदवारलाई चुनावी तयारीको निम्ति समय पुगेन,' उनले भने, 'इश्तियाक गठबन्धन बाहिरबाट उम्मेदवार बने पनि हाम्रा मतदाताहरू उनकै पछि लाग्दा समस्या भयो।'
बाँके-२ को निर्वाचनमा हिन्दु र मुस्लिम मत प्रस्ट विभाजन हुन सक्ने संकेत पनि देखिएका छन्।
हामीले कुराकानी गरेकामध्ये दुई जना मुस्लिम मतदाताले मात्र धवलशमशेरलाई भोट दिने बताए। तीमध्ये वडा नम्बर ४ मा भेटिएका हनिफ मोहम्मदले १२ वर्षदेखि धवलशमशेरको पुरानो घरमा भाडामा पसल राख्दै आएका थिए। धवलले अरूभन्दा कम भाडा लिइरहेका कारण पनि आफ्नो मत उनैलाई जाने हनिफको भनाइ छ।
नेपालगन्जका रैथाने समुदायमा मत परिवर्तनको मात्रा निकै कम रहेको प्राध्यापक आचार्यको भनाइ छ।
'यहाँका मुस्लिम र हिन्दु दुवैले धेरैजसो व्यक्ति हेरेर मतदान गर्छन्,' उनले भने, 'पछिल्लो समय धार्मिक मत अझ एकीकृत हुँदै गइरहेको छ। हिन्दु महासंघका नाममा होस् वा मुस्लिम संगठनका नाममा, धार्मिक मत एकठाउँ केन्द्रित हुने क्रम बढेको छ। मतदाताहरू त्यसैअनुसार आ-आफ्नो समूहमा विभक्त छन्। यसले पार्टीभन्दा पनि आफ्नो धर्मअनुसार मतदान गर्ने प्रवृत्तिलाई बढावा दिइरहेको छ।'
२०२२ सालदेखि विभिन्न पहाडी जिल्लाबाट बसाइँ सरेर आएका समुदायको मत भने प्राय: विभाजित हुने गरेको आचार्यले बताए।
हामीले भेटेका केही मुस्लिम मतदाताले इश्तियाकलाई 'आफ्नो बिरादरी' को भएकाले मत दिन लागेको बताएका थिए। त्यस्तै धवलशमशेरलाई मत दिन्छु भन्नेहरूले राप्रपालाई जिताएर 'हिन्दु राष्ट्रको अवधारणा जगाउने' प्रतिक्रिया दिए।
२०७४ को निर्वाचनमा विजयी हुँदा मोहम्मद इश्तियाक राईले २१ हजार ५ सय ७५ मत ल्याएका थिए। त्यति बेला नेकपा एमाले र माओवादी गठबन्धनबाट उठेका पशुपति दयाल मिश्रले १५ हजार ९ सय ५१ मत र राप्रपा-नेपाली कांग्रेसको गठबन्धनबाट राप्रपाका ओमप्रकाश आजादले ११ हजार ६ सय २२ मत ल्याएका थिए। उक्त निर्वाचनमा ५४ हजार २ सय ७३ मत सदर भएको थियो।
गत निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन पन्छाएका मोहम्मद इश्तियाक राई यसपटक सत्ता गठबन्धन र विपक्षी गठबन्धनसँग भिड्दैछन्। उनको पार्टी जसपा अन्तिम समयमा सत्ता गठबन्धनबाट बाहिरिएको थियो।
जसपाले देशका अघिकांश ठाउँमा एमालेसँग गठबन्धन गरे पनि नेपालगन्जमा एमालेले सघाउन मानेन। राप्रपासँग पहिले नै गठबन्धन गरेको एमालेले राप्रपाका तीन उम्मेदवार झापामा राजेन्द्र लिङ्देन, रूपन्देहीमा दीपक बोहरा र बाँकेमा धवलशमशेर राणालाई छाड्ने सहमति गरेको थियो।
त्यसैले धेरै ठाउँमा एमाले-जसपा गठबन्धन बने पनि इश्तियाकको क्षेत्रमा एमालेले राप्रपालाई सघायो। यसरी सत्ता गठबन्धबाट उछिट्टिएर इश्तियाक अन्तिम समयमा दुई गठबन्धनबीच एक्लै परे।
हुन त इश्तियाकसँग पाँच वर्षअघि पनि दुई गठबन्धनसँग लडेर चुनाव जितेको अनुभव छ। यसपालि पनि उनले दुई फरक गठबन्धन बनेर त्रिपक्षीय चुनाव भयो भने आफूले सहजै जित्ने आकलन गरेका थिए। सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका राणा बलियो भएका भए उनको आकलन सही हुने थियो भन्ने यहाँका मतदातासँग कुरा गर्दा थाहा हुन्छ।
तर सत्ता गठबन्धनका उम्मेदवार राणाप्रति जनतामा आकर्षण नभएपछि उनको भोट तान्न धवल र इश्तियाकबीच प्रतिस्पर्धा छ। इश्तियाकलाई भन्दा धवललाई नै कांग्रेसको धेरै भोट जाने सम्भावना छ।
आफ्नो तुलनामा कांग्रेसको केही धेरै मत मात्र धवललाई गए पनि इश्तियाकलाई जित्न कठिन हुन्न। किनभने, उनको पहिलेदेखिकै आफ्नो मत धेरै हदसम्म सुरक्षित छ। तर धवलले कांग्रेसको मत धेरै नै ताने भने चुनावको परिणाम इश्तियाकको विपक्षमा पनि जान सक्छ।
राजा र मन्त्रीको यो टक्करमा आफूलाई चाहिने मात्रामा जसले कांग्रेसको मत तान्छ, उसैले अर्कोलाई 'चेक मेट' दिने छ।
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल