आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पा जिल्ला कारागारमा रहेका ७७ कैदीबन्दीले मतदान गर्न पाउने भएका छन्।
जिल्ला कारागारामा दुई सय ७७ कैदीबन्दी भए पनि ७७ जनाले मात्र मतदान गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन्।
सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो।निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।
पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन्। सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ।
निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ।
देशभरबाट कम्तीमा ३ हजारको हाराहारीमा कैदीबन्दीले मतदान गर्नेछन्। तर निर्वाचन कसूरमा सजाय पाइरहेका कैदीलाई भने मतदानमा रोक लगाइएको छ। कारागारमा कैदीबन्दी बढी भए पनि मतदाता नामावलीमा नाम नभएकै कारण न्यूनले मात्रै मतदानमा सहभागी जनाउने जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए।