सेतोपाटी चुनावी विश्लेषणः दाङ- २
दाङको घोराही उपमहानगरपालिकाबाट बंगलाचुली गाउँपालिका जाने बाटोमा पर्छ धाइरेकुट्टी गाउँ। कालोपत्रे गरिएको भए पनि उप्किएर जीर्ण भएको सडकको छेवैमा छ ५० वर्षीया गोमा भुसालको घर।
गोमाको घर अगाडीबाट हिजोआज छिनछिनमा निर्वाचन प्रचारका लागि दर्जनौं गाडी धूलो उडाउँदै गुड्छन्। तर गोमाले यसपटकको निर्वाचनबारे खासै वास्ता राखेकी छैनन्। कांग्रेसलाई सधैं मत दिँदै आएकी गोमालाई यसपालि दाङ-२ बाट प्रतिनिधि सभामा सो दलको उम्मेदवार नभएकोमा खल्लो लागेको छ।
'हामीले अहिलेसम्म कांग्रेसलाई बाहेक अन्त भोट दिएका थिएनौं। यसपटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको छ। माओवादीलाई भोट हाल्न मेरो त हातै जान्न,' गोमाले भनिन्।
माओवादीले सशस्त्र युद्धका बेला उनको परिवारलाई दिएको दु:ख गोमाले अहिलेसम्म भुलेकी छैनन्।
'मेरो श्रीमान प्रहरीमा जागिरे भएका बेला माओवादीले घरमा बम झुन्ड्याइदिए। मध्यरातमा आएर कयौं पटक तर्साए। कति सताए भनिसाध्य छैन,' उनले भनिन्।
आफूले भोट दिँदै आएको दलको उम्मेदवार नभएपछि उनी यसपालि राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिने निर्णयमा पुगेकी छन्। गोमाका छोराले पनि उनलाई घन्टी चिह्नमा भोट दिन सुझाएका छन्।
विगतमा कांग्रेसलाई मत दिँदै आएका गोमा जस्तै कैयन मतदाता यसपटक दाङ- २ मा माओवादी र कांग्रेसको गठबन्धनसँग खुसी छैनन्। मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधि सभामा माओवादीकी रेखा शर्मालाई नेपाली कांग्रेसले समर्थन गरेको छ।
कांग्रेसलाई मत दिने गरेका कतिपय मतदाता भने गठबन्धनकी उम्मेदवार रेखालाई नै जिताउने पक्षमा छन्।
धाइरेकुट्टीबाट अलिकति अगाडिको सिस्नेखोला तरेपछि पालुथान पुगिन्छ। चिया पिइरहेका दुई मतदातालाई हामीले आगामी निर्वाचनका उम्मेदवारहरूबारे सोध्यौं। हामीले जिज्ञासा राख्न नपाउँदै ५९ वर्षीय दमाकान्त शर्माले यसपटक गठबन्धनकी उम्मेदवार रेखालाई मत दिने बताए।
आफू कांग्रेसका सदस्य भए पनि गठबन्धनकी उम्मेदवार रेखाले आफ्नो क्षेत्रको विकास गर्छिन् कि भन्ने आश रहेको उनले उल्लेख गरे।
'हाम्रो घरको काम गरिदिनुपर्ने होइन। विकास गरिदेऊ भनेको त हो,' दमाकान्तले भने, 'कसैले केही गरेनन्। यसपटक अब रेखा शर्मालाई हेरौं।'
दमाकान्तको छेवैमा बसेका सहोदार भाइ ५६ वर्षका हेमलाल आचार्यले भने आफू एमालेको सदस्य भएकाले एमाले उम्मेदवारलाई नै मत दिने बताए।
'शंकर पोखरेल राष्ट्रियस्तरका नेता हुन्,' हेमलालले भने, 'शंकर पोखरेलले यो क्षेत्रमा काम गर्न सक्छन्।'
हामी यो निर्वाचन क्षेत्रका धेरै ठाउँ पुगेर मतदातासँग कुरा गर्दा नेकपा एमालेका महासचिव एवं पूर्व मुख्यमन्त्री शंकर पोखरेल र नेकपा माओवादी केन्द्रबाट मन्त्री भइसकेकी रेखा शर्माबीच दाङ-२ मा यसपटकको निर्वाचनमा कडा टक्करको स्थिति देखिएको छ।
तर टक्करका बीचमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इञ्जिनियर विशाल अधिकारीको 'इन्ट्री' ले यहाँको निर्वाचन थप रोचक बनाएको छ।
पछिल्लो केही दिनमा हामीले दाङको बंगलाचुली गाउँपालिका, तुलसीपुर उपमहानगरपालिकाका-१६, १७, १८ र १९ का वडा र घोराही उपमहानगरपालिकाको यो निर्वाचन क्षेत्रमा पर्ने सबैजसो वडामा पुगेर २ सय ५९ मतदातासँग कुरा गरेका छौं।
तीमध्ये सबभन्दा धेरै, अर्थात ७३ जना (२८.१ प्रतिशत) मतदाताले सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मालाई रोज्ने बताए। त्यस्तै ७१ जनाले (२७.४ प्रतिशत) नेकपा एमालेका उम्मेदवार शंकर पोखरेललाई प्रतिनिधि सभाको सांसदका लागि मत दिने बताए।
दाङ- २ मा तेस्रो शक्तिका रूपमा यसपटक रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुने देखिएको छ। हामीले कुराकानी गरेमध्ये ४८ जना (१८.५ प्रतिशत) मतदाताले यसपटक उक्त पार्टीको चुनाव चिह्न घन्टीमा आफूहरूले मत दिने उल्लेख गरे। त्यस्तै राप्रपालाई १३ जना (५.१ प्रतिशत) र ५ (१.९ प्रतिशत) जनाले अन्य दललाई रोज्ने बताए।
हामीले भेटेमध्ये ४९ (१८.९ प्रतिशत) मतदाताले अझै कसलाई मत दिने निर्णय नगरिसकेको बताए। यसरी टुंगो नभएको बताउने अधिकांश मतदाता थारू समुदायका थिए। त्यस्तै २०७४ सालको निर्वाचनमा कांग्रेसलाई मत दिएका केही मतदाताले पनि यसपटक कसलाई मत दिने भन्ने टुंगो नभएको बताए।
पाइचार्ट
दाङ- २ मा यसपटकको निर्वाचनको ताजा विश्लेषण गर्नुअघि यो क्षेत्रको अहिलेसम्मको राजनीतिक अंकगणित हेरौं।
राजनीतिक शक्ति सन्तुलनका आधारमा हेर्ने हो भने नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र दाङमा हाराहारीको शक्ति देखिन्छन्। २०७४ सालमा समानुपातिकतर्फ एमालेले २२ हजार ८ सय ६९ मत र कांग्रेसले २२ हजार ९२ मत पाएका थिए। त्यस्तै माओवादीले अलिकति थोरै, १७ हजार ५ सय ८४ मत ल्याएको थियो। २०७४ को निर्वाचनमा ६९ हजार ४ सय ८५ मत खस्दा वाम गठबन्धनका उम्मेदवार कृष्णबहादुर महराले ४० हजार ४२ मत ल्याएर विजयी भएका थिए। अर्थात दुई शक्ति एक ठाउँमा आउनेबित्तिकै नतिजा त्यतातर्फ ढल्किएको विगतको इतिहास छ। यसपटक पनि हाराहारीका दुई पार्टी कांग्रेस र माओवादी गठबन्धन बनाएर निर्वाचनमा छन्।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचन परिणामका आधारमा हेर्ने भने नेकपा एमालेले साख र इज्जत जोगाएको ठाउँ नै दाङ हो। एमालेले यहाँको घोराही र तुलसीपुर उपमहानगरमा जीत निकाल्दा देशभर अन्य कुनै पनि महानगरपालिकामा जित हात पार्न सकेन। गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेले दुवै उपमहानगरको मेयर पदमा जित हात पार्यो।
यहाँ स्थानीय तहमा कांग्रेस-माओवादीले गठबन्धन गरेको भए पनि कांग्रेसको धेरै मत माओवादीमा 'ट्रान्सफर' हुन सकेन। बरू असन्तुष्ट कांग्रेसी मतदाताको मत तानेर एमालेले घोराही उममहानगरमा मेयर पद जितेको थियो। तर वडागत मत जोड्ने हो भने यो क्षेत्रमा एमालेभन्दा गठबन्धन नै बलियो देखिन्छ। कांग्रेसको मत तानेर मेयर पदमा जीत हात पारेकाले एमालेका कार्यकर्ता यो निर्वाचनमा पनि उत्साही छन्।
अहिलेको दाङ- २ मा घोराही उपमहानगरका १, २, ३ र ५ बाहेकका सबै वडा पर्छन्। त्यसैले मेयरमा एमालेका नरूलाल चौधरीले निकालेको जस्तै जीत शंकर पोखरेलले निकाल्ने एमाले कार्यकर्ताको विश्वास छ। पोखरेलले कांग्रेसको कति मत तान्न सक्छन् र अहिलेसम्म अनिर्णीत देखिएको थारू समुदायको मत कति तान्न सक्छन्, उनको जीत त्यसमै निर्भर गर्छ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको दाङमा 'इन्ट्री' सँगै प्रमुख दलहरूको उल्लेख्य मत यस दलका उम्मेदवारले तान्ने देखिन्छ। यसले कुन दललाई कति असर गर्छ, दाङ-२ को निर्वाचनमा विश्लेषण गर्नुपर्ने अर्को महत्वपूर्ण पाटो हो।
माओवादीसँगको गठबन्धनमा असन्तुष्ट कांग्रेसका धेरै मतदाताले यसपटक रवि लामिछानेको पार्टीलाई मत दिने बताएका छन्। घन्टीमा भोट दिने बताएका ४८ मतदातामध्ये २१ जनाले विगतमा आफूहरूले कांग्रेसलाई मत दिएको बताए। यहाँ घन्टीले कांग्रेसको मात्रै भोट काट्ने भने होइन। विगतमा एमालेलाई मत दिएका ८ जना र माओवादीका उम्मेदवारलाई दिएको बताउने ५ मतदाताले पनि आउँदो निर्वाचनमा घन्टी रोज्ने बताए।
घोराही नगरपालिकाको वडा नम्बर १५ र १४ को बजार क्षेत्र र वडा नम्बर १० को नारायणपुर क्षेत्रका मतदाताको रोजाइमा घन्टी धेरै परेको देखिन्छ। गत स्थानीय तह निर्वाचनमा वडा नम्बर १४ मा एमाले विजयी भएको थियो भने बाँकी दुइटा वडामा कांग्रेस विजयी भएको थियो।
घन्टी प्रतिस्पर्धामा आउनुको अर्को कारण नयाँ मतदाताको रोजाइ हो। हामीले कुराकानी गरेका मतदातामध्ये पहिलो पटक मतदान गर्न लागेका १० जनाले यसपटक घन्टी रोज्ने बताए।
'यसपटक त घन्टी बजाउने हो,' वडा नम्बर १५ मा भेटिएका मतदाता अच्युत सुवेदीले भने, 'मेरो पहिलो भोट हो। खाली बूढापाकालाई मात्र कति भोट दिनु!'
वडा नम्बर १० मा भेटिएकी एक महिलाले श्रीमान कांग्रेसको प्रचारप्रसारमा खटिएकाले आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दै आफ्नो भोट भने घन्टीमा जाने बताइन्।
'श्रीमान घन्टी हार्छ, भोट किन खेर फाल्नु भन्नु हुन्छ,' ती महिलाले भनिन्, 'भोट त अहिलेसम्म खेर गइरहेको थियो। हामीले यत्रो वर्ष भोट दिएर पनि उनीहरूले कुनै विकास गरेनन्। सडकको धूलो खाएर बस्नुपरेको छ।'
कांग्रेसलाई मत दिएकाले मात्र होइन, २०७४ को निर्वाचनमा वाम गठबन्धनलाई मत दिएको बताउने मतदाता पनि घन्टीमा उभिएका छन्।
'पहिला वाम गठबन्धनमा मत दिएको हो,' वडा नम्बर १६ का मतदाता माधव वलीले सेतोपाटीसँग भने, 'यसपालि घन्टीलाई मत दिने हो।'
घन्टीलाई मत दिने बताएका अन्य चार मतदाताले विगतमा आफूहरूले कसलाई मत दिएको भन्ने खुलाएनन्।
घन्टीले यहाँ एमालेभन्दा कांग्रेसको मत धेरै लैजान्छ भन्ने प्रष्टै देखिन्छ। सत्ता गठबन्धनकी उम्मेदवार रेखा शर्मालाई हराउने गरी लैजान्छ कि लैजाँदैन, मुख्य प्रश्न त्यो हो।
हामीसँगको कुराकानीमा कांग्रेसलाई पहिले मत दिएका ३८ जनाले यसपालि रेखालाई मत दिने बताए भने २१ जनाले घन्टीलाई। यसरी हेर्दा कांग्रेसको बहुमत भोट रेखालाई जाने देखिन्छ। तर कांग्रेसबाट ट्रान्सफर हुने यो मत जितका लागि पर्याप्त हो वा होइन, अहिल्यै भन्न सकिन्न।
स्थानीय तहको मत परिणामलाई आधार मान्ने हो भने घन्टीले धेरै मत काटेको अवस्थामा रेखाका लागि यो निर्वाचन सहज छैन। गत स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका वडाध्यक्ष उम्मेदवारहरूको कुल मत ३६ हजार एक सय ४६ छ भने एमालेका वडाध्यक्ष उम्मेदवारको मत ३३ हजार ५९३ छ। रेखाका लागि कांग्रेसको मत आफूतिर तान्न चुनौतीपूर्ण देखिएको छ। तर माओवादी कार्यकर्ताहरू विगतमा मेयर पदमा मतपत्र जटिल भएको र कांग्रेसको चुनाव चिह्न मतपत्रमा छापिएका कारण घोराहीमा मात्र १० हजार मत बदर भएकाले त्यो तथ्यांकलाई आधार मान्न तयार छैनन्। घन्टीले मत काटेको अवस्थामा समेत रेखालाई असर नपर्ने उनीहरूको तर्क छ।
'स्थानीय तहमा मतपत्र जटिल थियो। तल-माथि मत दिनुपर्थ्यो। त्यो बदर मत धेरै गठबन्धनको थियो,' वडा नम्बर १० का हुमबहादुर खड्काले भने, 'यसपटक मतपत्र सजिलो छ। त्यो बदर मत मात्र घटाउन सक्यो भने गठबन्धन सजिलै अघि जान्छ।'
कांग्रेसको असन्तुष्ट मत स्थानीय निर्वाचनमा जस्तो एमालेलाई जानुभन्दा घन्टीलाई जानु राम्रो हुने र त्यसले रेखालाई फाइदा हुने माओवादी केन्द्रका कतिपयको दाबी छ।
माओवादीसँग गठबन्धन मन नपराएका कांग्रेसीको मत एमाले उम्मेदवार शंकर पोखरेलभन्दा पनि घन्टीमा जाने देखिन्छ। असन्तुष्ट कांग्रेसी मतको ठूलो हिस्सा एमालेलाई जाने अवस्था भएको भए पोखरेलको जीत सुनिश्चित हुन्थ्यो।
रेखालाई मत दिन्छु भनेहरूमा कांग्रेसका ३८ मतदाताबाहेक माओवादीलाई मत दिएका २१ जना छन्। पहिलो पटक मत खसाल्न लागेका ४ मतदाता, एकीकृत समाजवादीका २ र जनमोर्चाका २ मतदाताले पनि यसपटक रेखालाई मत दिने बताएका छन्। बाँकी ६ जनाले भने पहिला कसलाई मत दिएको भन्ने खुलाएनन्।
रेखालाई मत दिन्छु भन्ने एक जना पनि एमाले मतदाता हामीले भेटेनौं। बरू एकीकृत समाजवादीबाट माओवादीलाई समर्थन गर्ने एक मतदाताले भने महिला प्रतिनिधित्वका लागि रेखालाई मत दिने बताइन्।
'रेखा शर्मा भनेको कानुन बनाउने ठाउँमा आवाज उठाउने मान्छे हो,' वडा नम्बर १४ कि गोमा पाण्डेले भनिन्, 'महिलाहरूले चुनावमा टिकट पाएका छैनन्। टिकट पाएको ठाउँमा उपस्थिति बढाउन भए पनि जिताउनु पर्छ।'
हामीले कुरा गरेका मतदातामध्ये बंगलाचुली गाउँपालिका र वडा नम्बर १६ मा रहेका रोल्पाबाट झरेकाहरूले धेरैले रेखा शर्मालाई मत दिने बताए। माओवादी कार्यकर्ताहरू नयाँ उम्मेदवार भएकाले रेखाले दाङको विकास गर्ने दाबीसाथ प्रचार गरिरहेका छन्।
अब कुरा गरौं, शंकर पोखरेलबारे।
नेकपा एमालेका महासचिव रहिसकेका शंकर पोखरेल यसपटक दाङ-२ मा जीत निकाल्ने भरपुर प्रयासमा छन्। यो निर्वाचनमा एमालेका मतदातालाई अन्त जानबाट रोक्न उनले निकै जोडबल गरिरहेका छन्।
हामीले कुरा गरेमध्ये शंकरलाई मत दिने बताएका ७१ मतदातामध्ये ५३ मतदाताले आफूहरू विगतदेखि नै एमालेसँग जोडिएको बताए। त्यसबाहेक कांग्रेसबाट समेत यो निर्वाचनमा शंकरलाई केही मत आउने अवस्था छ। विगतमा कांग्रेसलाई मत दिएका ९ मतदाताले यसपटक शंकर पोखरेललाई मत दिने बताए।
'शंकर पोखरेलले प्रदेशको राजधानी दाङमा ल्याए,' वडा नम्बर ६ का ४० वर्षीय बमबहादुर घर्तीमगरले भने, 'कांग्रेसका शेरबहादुर देउवाले बुटवलमा राजधानी तोकेका थिए। तर कांग्रेसका कुनै पनि नेताले ल्याउन सकेनन्। त्यसैले राष्ट्रियस्तरको नेता भएकाले म उनलाई मत दिन्छु।'
यसले पनि घन्टीको उम्मेदवार नभएको भए कांग्रेसको थप मत पोखरेललाई जान्थ्यो कि भन्ने देखाउँछ।
एमाले कार्यकर्ताहरूले शंकर पोखरेललाई राष्ट्रियस्तरको नेताका रूपमा ब्रान्डिङ गरिरहेका छन्।
'केपी ओली बूढा छन्। ओलीले केही गरी काम गर्न नसक्ने भए भने पोखरेल फ्याट्टै प्रधानमन्त्री पनि हुन सक्छन्,' वडा नम्बर १५ का पारस भण्डारीले भने, 'दाङका लागि खुमबहादुर खड्कापछि कोही नेता छ भने शंकर पोखरेल हुन्।'
हामीले भेटेका मध्ये पहिलोपटक मतदान गर्न लागेका ३ जनाले पनि शंकरलाई मत दिने बताए। त्यसबाहेक उनलाई मत दिने बताएका ६ जनाले भने आफूले विगतमा कसलाई मत दिएको भन्ने खुलाएनन्।
अन्तिम मत परिणाममा दाङ- २ मा कसले जित्छ भन्ने प्रश्नमा आजका दिनमा सम्भवतः सबभन्दा निर्णायक दाङ-२ मा रहेको थारू समुदायको मत हो।
दाङमा झन्डै ३० हजार थारू समुदायका मतदाता छन्। उनीहरू निकै कम मात्रामा पार्टी राजनीतिमा सक्रिय छन्। हामीले भेटेका ४९ मतदाताले यो निर्वाचनमा कसलाई मत दिने भन्ने टुंगो गरिनसकेको बताएका छन्। यसरी टुंगो नभएको बताउनेमा सबैभन्दा धेरै विगतमा कांग्रेसको समर्थक रहेका १९ मतदाता छन्। त्यस्तै विगतमा एमालेलाई मत दिएका १० र माओवादीलाई दिएका ९ मतदाता पनि अनिर्णीत छन्।
थारू समुदायमा झुरूप्प बस्ती रहेका ठाउँमा बैठक गरेरै कसलाई मत दिने तय हुने गरेको छ।
घोराहीको वडा नम्बर ९ को पर्सेनीमा भेटिएका कालिराम चौधरीले मत कसलाई दिने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको बताए।
'अहिले कुनै छलफल भएको छैन,' कालिरामले भने, 'हाम्रो टोलमा ३० देखि ४० घर छ। बैठक बसेर हामी कसलाई हाल्ने कुरा गर्छौं।'
कालिराम जस्तै वडा नम्बर १७ कि मतदाता सीता चौधरीले पनि गाउँमा सल्लाह गरेर मात्र मत दिने बताइन्।
'स्थानीय निर्वाचनमा सल्लाह गरेर सूर्यमा दिएको हो,' सीताले भनिन्, 'अहिले कुरा भएको छैन।'
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले घोराहीको मेयरमा नरूलाल चौधरीलाई उठाएको थियो। थारूहरूको बस्ती रहेको पचुर्खा चैनपुरका थारू समुदायका धेरैले स्थानीय तहमा नरूलाललाई मत दिएको उल्लेख गरे।
थारूहरूमा एमालेका नरूलाल चौधरीको राम्रो प्रभाव रहेकाले उनले थारू मत एमालेमा आकर्षित गर्न सके शंकर पोखरेलका लागि संसदको ढोका खुल्नेछ।
अर्कोतिर दाङ जिल्लामा अरू दुई जना प्रभावशाली थारू नेता छन्। एमालेकी शान्ता चौधरी र गठबन्धनका उम्मेदवार तथा सहरी विकासमन्त्री मेटमणि चौधरी दाङ- १ बाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गर्दै छन्। यिनीहरूको प्रभावले थारू समुदायको मत बराबर बाँडियो भने पोखरेललाई चुनाव जित्न सहज हुने छैन।
रेखा शर्माका लागि कांग्रेसको मत आफूतर्फ तान्नु जति महत्वपूर्ण छ, यो निर्वाचनमा जीतका लागि एमालेका लागि थारूहरूको मत तान्नु उति नै महत्वपूर्ण देखिन्छ।
दुई पक्षीयबाट त्रिपक्षीय प्रतिस्पर्धामा बदलिएका कारण यो निर्वाचनमा दुवै उम्मेदवारलाई आफ्नो दलको मत एकीकृत पार्नु पनि चुनौतीपूर्ण छ।
अंकगणितीय रूपमा हेर्दा दाङ- २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता मत खसाल्न योग्य छन्।
तर सामान्यतया यो क्षेत्रमा ६६ देखि ७० प्रतिशतसम्म मत खस्ने गरेको छ। यसरी हेर्दा झन्डै ८५ देखि ९० हजार मत यो निर्वाचन क्षेत्रमा खस्ने आकलन गर्न सकिन्छ। दुई पक्षीय प्रतिस्पर्धाको अवस्थामा कुनै पनि उम्मेदवारलाई जीत निकाल्न झन्डै ४५ हजारभन्दा धेरै मत ल्याउनुपर्ने अवस्था थियो।
तर त्रिपक्षीय प्रतिस्पर्धाको अवस्थाका कारण अब जीत निकाल्न कुनै पनि उम्मेदवारले ३५ देखि ३७ हजार जति मत ल्याए पुग्ने अवस्था देखिन्छ। यस्तोमा रेखाका लागि कांग्रेसको मत र शंकरका लागि स्थानीय निर्वाचनमा जस्तै थारू मत आफ्नोतर्फ तान्नु जीतका लागि अत्यावश्यक देखिन्छ।
सेतोपाटी निर्वाचन विश्लेषणः
सेतोपाटी निर्वाचन विश्लेषणः ७- काठमाडौं ६ मा कांग्रेस-एमालेका उम्मेदवारभन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल अगाडि
सेतोपाटी निर्वाचन विश्लेषणः ६ - कमल थापा दुईतिरबाट चेपुवामा
सेतोपाटी निर्वाचन विश्लेषणः ५ - राजेन्द्र लिङ्देनको भोट चुहिइरहेको र कृष्ण सिटौलाको थपिँदै गएको झापा-३ मा को बलियो?
सेतोपाटी निर्वाचन विश्लेषणः ४ - चुनाव आइसक्यो, काठमाडौं-१ अझै अनिर्णीत
सेतोपाटी निर्वाचन विश्लेषणः ३ - बाँके-२ मा राजा र मन्त्रीबीच 'काँटेका टक्कर'
सेतोपाटी निर्वाचन विश्लेषण: २- चितवन-२ मा रवि लामिछाने निर्वाचित हुने सम्भावना प्रबल
सेतोपाटी निर्वाचन विश्लेषण: १- एमालेका सुरेन्द्र पाण्डे 'रेड जोन' मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा