बर्दियाको राजापुर नगरपालिकाकी बिष्णा महतारा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा पहिलो पटक मतदान गर्दै छिन्। पूर्ण दृष्टिविहीन महतारालले आफ्नो तर्फबाट मतपत्रमा स्वस्तिक छाप लगाइदिने सहयोगी कसलाई बनाउने भन्ने टुंगो लगाएकी छैनन्।
‘वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा त मेरो एकाघरको सदस्य लिएर मतदानमा सहभागी भएकी थिएँ, अहिले कसलाई लिने भन्ने निश्चित भएको छैन,’ उनले भनिन्, ‘मंसिर ४ गते नै मेरो मत कसले हालिदिने भन्ने निर्णय होला।’
मतपत्रमा अर्कैले छाप लगाइदिने भएपछि बिष्णालाई आफूले चाहेकै ठाउँमा आफ्नो मत खस्छ भन्नेमा पूर्ण विश्वास भने छैन।
‘हामीजस्ता पूर्ण दृष्टिविहीनले पनि एकाघरको सदस्य वा नभए मतदान अधिकृतमार्फत् नै मतदान गर्ने भन्ने व्यवस्था छ, यस्तो अवस्थामा हामीले चाहेकै ठाउँमा मत जान्छ भन्ने ग्यारेन्टी भएन नि त,’ उनी भन्छिन्, ‘तैपनि उहाँहरूको विकल्प नै भएपछि विश्वास गर्नुको पनि त विकल्प छैन, बरू मतदाताले इच्छाएको व्यक्ति भन्ने भइदिए हुन्थ्यो।’
विद्युतीय माध्यमबाट मतदान गर्ने व्यवस्था सरकारले गरेको भए आफूजस्तै दृष्टिविहीनलाई आफूले रोजेको ठाउँमा मत जानेमा ढुक्क हुने वातावरण मिल्ने उनी बताउँछिन्।
कैलालीको लम्कीचुहा नगरपालिका-७ का बसन्त जैसी पनि पूर्ण दृष्टिविहीन मतदाता हुन्। उनी आफूले चाहेको व्यक्तिलाई स्वस्तिक छाप लगाउन लिन नपाउने भएपछि आफूले चाहेको दल वा उम्मेदवारलाई नै मत खसेकोमा पूर्ण विश्वस्त हुन नसकिने बताउँछन्।
‘मानौं मैंले एकाघरको कोहीलाई मेरो मत खसालिदिन लिएँ भने मेरोभन्दा उसको छनोटमा मत खस्ने सम्भावना अधिक हुन्छ किनभने उसको हातमा स्वस्तिक छाप हुने भएकाले पावरजति ऊसँगै हुन्छ,’ जैसीले भने, ‘मजस्ता मतदाताको शक्ति भोट हाल्दिने अर्को व्यक्तिलाई हस्तान्तरण गर्दा उसले सही सदुपयोग गर्छ भन्ने ग्यारेन्टी त छैन नि, तै पनि ५०-५० मा हामीले विश्वास गर्नुपर्छ।’
पूर्ण दृष्टिविहीन मतदाताहरूलाई सहजताका लागि विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याउनुपर्ने आवश्यकता उनले पनि औंल्याए।
‘कि त हामीजस्ता मतदातालाई आफ्नो एकाघरको व्यक्ति वा मतदान अधिकृतमार्फत् मत खसाल्ने व्यवस्थाको साटो आफूले विश्वास गरेको वा इच्छाएको व्यक्ति भनेर राखिनुपर्छ,’ जैसीले भने, ‘नत्र त इभिएमको व्यवस्था गर्नैपर्छ।’
यसका अलावा ब्रेललिपीमा मतपत्र बनाउन सकिएमा पनि दृष्टिविहीनलाई सहज हुने उनले बताए।
उनी भन्छन्, ‘ब्रेललिपीमा मतपत्र भयो भने गोप्य बुथसम्म दृष्टिविहीन मतदातालाई पुर्याइदियो भने उसले छामेर आफूले इच्छाएको चुनाव चिन्हमा स्वस्तिक छाप लगाउन सक्छ।’
अहिले पनि निर्वाचन प्रणाली र कानुनी जटिलता भएकाले दृष्टिविहीनका लागि ‘मतदान गर्नका लागि उसले इच्छाएको एकाघरको वा निर्वाचन अधिकृत’ को ठाउँमा उसले ‘इच्छाएको व्यक्ति’ राख्नुपर्ने नेत्रहीन युवा संघ सुर्खेतका अध्यक्ष शेरबहादुर वली बताउँछन्।
देशमा प्रविधिको युग चलिरहेकाले सरकारले विद्युतीय भोटिङ मेसिनको व्यवस्था गर्नुपर्ने उनले बताए। अहिलेको व्यवस्थाअनुसार दृष्टिविहीनहरूले शंकाकै बीच आफ्नो मत खसाल्नुपरेको उनले बताए।
‘म पूर्ण दृष्टिविहीन छु, मेरै परिवारका सदस्यमा फरक विचार र आस्था भएका मान्छे हुन सक्छन्। मेरो विचार अलग हुन सक्छ। उहाँहरूले भोट हाल्दिँदा कुनमा हाल्यो मैले देख्दिनँ,’ वलीले भने, ‘यसकारण हाम्रो मतको सही सदुपयोग हुन सकेको छैन। यसमा हामीले नै इच्छाएको मान्छेले भोट हाल्दिन मिल्ने व्यवस्था भएको भए पनि अलि विश्वास गर्न सकिन्थ्यो।’
उनले निर्वाचनको बेला गरिने सूचना तथा प्रचारप्रसार प्रणाली पनि अपांगतामैत्री हुनुपर्ने बताए।
‘मैले नै सूचना पाउनका लागि रेडियोबाट सुन्नुको विकल्प छैन, निर्वाचन सामग्री पनि हामी लक्षित छैनन्,’ उनले भने, ‘हामीजस्ता पूर्ण दृष्टिविहीनहरूका लागि ब्रेलमा हुनुपर्थ्यो। सांकेतिक भाषा बुझ्नेहरूका लागि चित्रात्मक हुनुपर्छ।’
उनले दलहरुका घोषणापत्र पनि औपचारिकता निभाउने खालका मात्र भएको बताए। ती घोषणापत्र दृष्टिविहीनहरूलाई अरूले पढेर सुनाएको भरमा विश्वास गर्नुपर्ने अवस्था रहेको वलीले बताए।
‘देश बनाउने र नीति बनाउने राजनीतिक दलहरूले घोषणापत्र पनि सबैले पढ्न सक्नेगरी सुधार गर्नुपर्यो नि!’ उनले भने।