भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि दाङमा धमाधम मतदान स्थल निर्माण भइरहेका छन्।
जिल्लाका १५३ मतदान स्थल र ४६५ वटा मतदान केन्द्र तोकिएको छ। जिल्लाका सबै मतदान केन्द्रमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा मतदान केन्द्र धमाधम निर्माण कार्य जारी छ।
निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र निष्पक्ष बनाउन स्थानीय स्तरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरी मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित मावि सेन्टरमा मतदान केन्द्र निर्माणमा खटिएकी संगीता सुबेदीले जानकारी दिइन्।
मतदान स्थलमा सरसफाइदेखि डोरी तानेर मतदानका लागि बुथ केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताइन्।
मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जिल्ला भरका सबै मतदान केन्द्र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र दिउँसो सम्म सबै ठाउँमा काम पुरा हुने जानकारी दिए।
जिल्लामा निर्वाचनका लागि ३ हजार ७ सय २० कर्मचारी खटिएका छन्।
त्यस्तै करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए। निर्वाचनका लागि नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन गरिएको छ।
रेग्मीले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको बताए। जिल्लाका पाँच मतदान केन्द्रमा महिलाहरू मात्रै खटिएका छन्। मतदान अधिकृत, साहयक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र अधिकांश सुरक्षाकर्मी सबै महिला खटाइएका छन्।
घोराही उपमहानगरपालिका वडा नं. १८ को आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क) मा महिला कर्मचारी मात्रै खटिएका छन्।
मतदान अधिकृत, कर्मचारी र सुरक्षाकर्मी सबै महिला मात्रै खटाइएको निर्वाचन अधिकृत इन्दु बसेलले बताइन्।
यो मतदान केन्द्रमा ९५२ मतदाता छन्। सोही मतदानस्थलको (ख) मतदान केन्द्रमा उर्मीला तिमिल्सिना मतदान अधिकृतको रुपमा खटिएकी छन्।
त्यस्तै घोराही–१७ को प्रावि हरिद्वारको (ग) मतदान केन्द्रमा खिमा भुसाल मतदान अधिकृतका रुपमा खटिएकी छन्।
यहाँ ७४८ मतदाता छन्। घोराही – १७ कै गोरक्ष रत्ननाथ माध्यामिक विद्यालय चौघेराको (क) मतादान केन्द्रमा मोतीकुमारी विश्वकर्मा मतदान अधिकृतका रुपमा खटिएकी छन्। जहाँ ८१२ जना मतदाता छन्।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको सेन्टर माध्यामिक विद्यालयको ८ वटा मतदान केन्द्र मध्य (ङ) मतदान केन्द्रको नेतृत्वदेखि सम्पूर्ण कर्मचारीहरू महिला खटिएका छन्। यो मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीदेखि स्वयमसेविका सबै महिला रहेको मतदान अधिकृत मन्जु शर्माले बताइन्।
जिल्लाका मुख्य मतदान अधिकृत कृपासुर कार्कीले निर्वाचनको सम्पूर्ण तयारी पुरा भइसकेको जानकारी दिए।
दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाता छन्। जिल्लामा राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।