प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन मतदानको प्रतीक्षामा रहेका मतदातालाई आज आइतबार मौसम कस्तो होला भन्ने चासो हुनसक्छ।
देशभरको मौसम सामान्यतया सफा रहने भएकाले ढुक्कसँग मतदान गर्न पाइने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् गंगा नगरकोटीले आइतबार देशैभरको मौसम सामान्यतया सफा रहेको जानकारी दिइन्। 'आज देशभरको मौसम सफा छ। हिमाली भू–भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ, तर त्यति धेरै असर हुने देखिँदैन,' उनले भनिन्।
हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। प्रदेश १, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ। सोही प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।
आइतबार काठमाडौंको न्यूनतम तापक्रम आठ दशमलव आठ र अधिकतम तापक्रम २२ दशमलव ४ डिग्री सेल्सियस रहेको छ।