निर्वाचनमा खटिएका कर्मचारीलाई मतदान शिक्षा अभाव हुँदा झापामा सर्वसाधारणले दु:ख पाउन थालेका छन्।
झापामा कर्मचारीकै कारण दुइटा मतदान केन्द्रमा मतदान प्रक्रिया स्थगित हुँदा मतदाता अन्यौलमा परेका छन्।
मत दिएर जाऊँ कि त्यतिकै फर्केर घर जाऊँ भन्ने अन्यौल मतदातामा देखिएको छ। दुई घन्टासम्म मतदान स्थगित हुँदा मतदाता बेचैन भएका छन् ।
खेतमा धानका बिटा लगाउन छाडेर मतदान गर्न बालनिकुञ्ज मावि आएकी धर्मकला पौडेल आक्रोशित हुँदै भनिन्, ‘काम छोडेर मतदान गर्न आएकी हुँ। कर्मचारीले लापारबाही गर्छन भने मेरो के दोष? खेतमा खेतला छन्। लामो समय पर्खन सक्दिनँ। छिटो हुन्छ भने मतदान गर्छु। होइन भने मेरो काम बिताउँदिनँ, म गएँ।’
गौरीगञ्जस्थित गौरी प्राविको मतदान केन्द्रमा मतदान स्थगित गरिएको छ।
उक्त केन्द्रमा प्रदेश सभाको मत पत्र प्रतिनिधि सभाको मतपेटिकामा खसालेपछि मतदान स्थगित भएको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताए।
उनका अनुसार सो केन्द्रमा प्रदेश सभाको मतपत्र प्रतिनिधि सभाको बाकसमा मात्र होइन संघीय संसदको मतपत्रमा स्वस्तिक छाप लगाएर मतदाताले प्रदेश सभाको बाकसमा खसालिदिएका छन्।
स्थानीय भन्छन, ‘यो मतदाताको लापारबाही होइन, कर्मचारीको गल्ती हो।’
निर्वाचनमा खटिने कर्मचारीलाई आयोगले निर्वाचनसम्बन्धी शिक्षा दिएकै हो। कुन मतपत्र कुन बाकसमा खसाउने भन्ने मतदातामा अन्यौल भएको स्थानीय रामबहादुर दाहालले बताए।
उनले भने, ‘न त उम्मेदवारले सिकाए न त निर्वाचनमा खटिने कर्मचारीले नै।’
यस अघि शिवसताक्षीको बाल निकुञ्ज माध्यमिक विद्यालयको एउटा मतदान केन्द्रमा पनि २ घन्टा मतदान स्थगित भएको थियो। अहिले सो केन्द्रमा मतदान सुरू भएको छ। प्रत्यक्षतर्फको मतपत्र समानुपातिक तर्फको मतपेटिकामा मतदाताले खसालेपछि उक्त केन्द्रमा मतदान स्थगित भएको थियो। खसेका मतपत्रलाई रद्ध गर्ने सहमति पछि मतदान सुचारू भएको स्थानीय अमृतबहादुर कार्कीले बताएका छन्।
कर्मचारीको गल्तीका कारण मतदाताले दु:ख व्यहोर्नु परेको स्थानीय मतदाताले बताएका छन्। मतदान केन्द्रमा खटिने कर्मचारी चनाखो नहुँदा समस्या आएको निर्वाचन कार्यालय झापाले स्वीकार गरेको छ।