नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङले आइतबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन्।
स्याङ्जा क्षेत्र नम्बर २ को प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका नेता गुरूङले स्याङ्जासहित देशभर नै कांग्रेसको पक्षमा उत्साहजनक जनलहर रहेकाले कांग्रेस पहिलो पार्टीका रूपमा संसदमा उपस्थित हुने बताए।
रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्याङ्जाका मतदानस्थलहरूमा पुग्दा कांग्रेसको पक्षमा मतदाताहरू सकारात्मक रहेको पाएको उल्लेख गरे।
'स्याङ्जाका केही ठाउँमा सामान्य विवाद, झैझगडाहरू भएका छन्। असामान्य केही पनि भएको छैन र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ,' उनले भने, 'स्याङ्जामा जस्तै देशैभर मतदाताहरूमा कांग्रेस पार्टीप्रति यही खालको सकारात्मक उत्साह र परिणाम छ भन्ने विश्वासमा छु, त्यसैले संसदमा नेपाली कांग्रेसले पहिलो पार्टीका रूपमा उपस्थिति जनाउँछ।'