काठमाडौं क्षेत्र नम्बर ३ मा सोमबार बिहानदेखि मात्रै मतगणना सुरू हुने भएको छ। सर्वदलीय बैठकले सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने प्रारम्भिक सहमति जुटाइसकेको निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन्।
'सर्वदलीय बैठकमा सोमबारदेखि मात्रै मतगणना सुरू गर्ने भन्ने प्रस्ताव आएको छ। उहाँहरूले नै हामी भोलिपल्टबाट मात्रै मतगणना गर्न मञ्जुर छौं भन्नुभएको छ। त्यसैअनुरुप हामीले भोलि नै गर्ने भनेर खाका बनाइसकेका छौं,' निर्वाचन अधिकृत शाहीले भनिन्।
अहिले मतपेटिका बुझ्ने काम भइरहेको पनि निर्वाचन अधिकृत शाहीले जानकारी दिइन्। मतपेटिका बुझिसकेपछि अहिले ९ बजे फेरि सर्वदलीय बैठक बस्ने र मतगणना सुरू गर्नेबारे अन्तिम निर्णय गरिने उनको भनाइ छ । काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना नारायणटारस्थित चामुण्डा माविमा हुँदैछ।