प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत गोरखाको उत्तरी क्षेत्रका मतपेटिका सङ्कलन जारी रहेको छ।
जिल्लाका चुमनुब्री गाउँपालिकामा रहेका मतदान केन्द्रका मतपेटिका ल्याउन हेलिकप्टर पठाउने तयारी गरिएको छ।
उत्तरी भेगको मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याउन मुख्य निर्वाचन अधिृकत कार्यालयले आयोगमा सिफारिस गरेको छ।
आज बेलुकासम्म मतपेटिका ल्याइने तयारी छ। क्षेत्र नम्बर १ अन्तर्गतका भीमसेनथापा, सहिदलखन र आरुघाट गाउँपालिकाको मतपेटिका आइतबार राति नै सदरमुकाम ल्याइसकिएको छ।
क्षेत्र नम्बर १ का मतपेटिका सदरमुकामस्थित जिल्ला समन्वय समितिको हलमा राखिएको छ। क्षेत्र नम्बर १ को गणना त्यहीँ हुनेछ।
क्षेत्र नम्बर २ को मतपेटिका सङ्कलन भइसकेको छ। क्षेत्र नम्बर २ को लक्ष्मी बजारस्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने सो क्षेत्रका सहायक निर्वाचन अधिकृत शिव रेग्मीले बताए।