२०६४ को पहिलो संविधान सभा निर्वाचनअघि नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले विश्वप्रकाश शर्मालाई सोधेका थिए, ‘तिमी समानुपातिक सूचीमा बस्छौ त?’
गिरिजाबाबुसँग निकट रहेका शर्माले त्यसबेला भनेका थिए, ‘म समानुपातिकमा बस्दिनँ गिरिजाबाबु, कि प्रत्यक्षमा लड्छु, कि प्रतिक्षा गर्छु।’
नेपाल विद्यार्थी संघलाई सफल नेतृत्व दिएर बिदा भएका शर्माले त्यसबेला झापाको कांग्रेस कार्यक्रममै भनेका थिए, ‘मलाई समानुपातिकमा बस्न पार्टी सभापतिले भन्नुभएको छ। तर, म पाए प्रत्यक्ष लड्छु, नभए प्रतिक्षा गर्छु।’
अहिले कांग्रेस महामन्त्रीसमेत रहेका शर्मालाई मुलुकको प्रत्यक्ष निर्वाचित संसद् सदस्य भएर सिंहदरबार प्रवेश गर्न भने झन्डै १५ वर्ष प्रतीक्षा गर्नुपर्यो। यसअघि दुई पटक चुनावी असफलता भोगेको झापा १ बाट ठूलो अन्तरको जित दर्ता गर्दै शर्मा अन्ततः प्रतिनिधि सभा सदस्य चुनिएका छन्।
तेस्रो प्रयासमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुने क्रममा शर्माले ३९६२४ मत पाउँदा एमालेका अग्नि खरेलले २५३४९ मत पाए।
२०७० मा शर्मा यही क्षेत्रमा एमालेका रवीन कोइरालासँग पराजित भएका थिए। त्यसबेला विजेता बनेका कोइरालालाई पहिलो माला लगाएर बधाई दिएका शर्माले २०७४ मा पनि उही नियति भोगे। वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीले जित्दा पनि कार्कीलाई पहिलो माला लगाइदिने शर्मा नै थिए।
यसपटक भने शर्मा आफैंले विजयी माला पहिरिएका छन्। विनयी राजनीतिज्ञका रूपमा परिचित शर्माले उही शैलीमा भने, ‘यो केवल मेरो या गठबन्धनको मात्रै जित होइन, झापा-१ का समस्त जनताको जित हो।’
नेपाल विद्यार्थी संघको सभापति भएका बेला उनले उपसभापति बनाएका गगन थापालाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने घोषणा चुनावअघि नै गरेका शर्माले जितपछि पनि सोही वाचा दोहोर्याएका छन्। काठमाडौं-४ मा गगन विजेता बनेलगत्तै शर्माले उनलाई बधाई दिने क्रममा सामाजिक सन्जालमा लेखेका थिए, ‘जसलाई मैले संसदीय दलको नेता हुँदै प्रधानमन्त्रीमा प्रस्ताव गर्नुछ।’
पछिल्लो स्थानीय चुनावको मत परिणामअनुसार झापा-१ मा सत्ता गठबन्धनका सबै दलको मत मिसाउँदा पनि एमाले एक्लै ९ हजार हाराहारी मतले अगाडि थियो। तर, त्यो गणितीय सम्भावना उल्ट्याउँदै शर्मा विजेता बनेका छन्।
पार्टीभित्र निरन्तर चुलिँदै गएको आफ्नो सफलता र बढ्दो प्रभावका बलमा प्राप्त लोकप्रिय मत, यसअघि दुई पटक पराजित भएर पनि क्षेत्रमा सक्रिय रहेको सहानुभूतिको मत, विभाजित वाम मतको फाइदा तथा क्षेत्रबासीले नचिनेका प्रतिष्पर्धी उम्मेदवार लगायतका कारण शर्माले यसपटक सजिलै चुनाव जितेका हुन्।
यसबाहेक स्थानीय चुनावताका चुलिएको कांग्रेसभित्रैको अन्तरविरोधको शर्माले गरेको व्यवस्थापन पनि उनले चुनाव जित्ने बलियो आधार बन्यो।
‘कांग्रेस अहिले जतिको एकढिक्का र सक्रिय यसअघि कहिल्यै देखिएको थिएन’, कांग्रेस कार्यकर्ता मन्जु बस्नेतले भनिन् ‘पार्टी र गठबन्धनको एकताबद्ध प्रयास, मतदाताको भरोसाले यसपटक सहज जित सम्भव भयो।’
कुनैबेला वामपन्थीहरूको बलियो किल्ला मानिने झापा- १ मा निर्वाचित हुने शर्मा कांग्रेसका दोस्रो व्यक्ति हुन्। यसअघि एमाले विभाजित भएका बेला २०५६ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङ निर्वाचित भएका थिए। बाँकी सबै चुनावमा वामपन्थी उम्मेदवार नै निर्वाचित भएका थिए।
२०४८ मा यो क्षेत्र झापा-३ मा पर्थ्यो। त्यसबेला एमालेका राधाकृष्ण मैनालीले कांग्रेसका चक्रप्रसाद बास्तोलालाई पराजित गरका थिए। २०५१ को मध्यावधि निर्वाचनमा एमालेकै देवीप्रसाद ओझाले कांग्रेसका गोपालकुमार बस्नेतलाई हराउँदा २०५६ मा कांग्रेसका नरेन्द्रविक्रम नेम्वाङले जितेका थिए।
२०६४ को पहिलो संविधानसभामा माओवादीका धर्म घिमिरेले जितेको क्षेत्रमा ०७० मा एमालेका रवीन कोइरालाले शर्मालाई नै हराएका थिए। २०७४ मा शर्मा वाम गठबन्धनका माओवादी उम्मेदवार राम कार्कीसँग पराजित भएका थिए।
यसपटक भने वाम दलहरू माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धनको साझा उम्मेदवार बनेर शर्माले संसदीय यात्रा निश्चित गरेका छन्। चुनाव अघिको एक कार्यक्रममा शर्माले भनेका थिए ‘तीन पटकमा त राँगो छिन्छ भन्छन्। मेरो चुनावी राँगो कसो नछिन्ला?’ नभन्दै तेस्रो प्रयासमा उनको संसदीय परीक्षाको असफलतामा ब्रेक लागेको छ।