प्रतिनिधि सभा निर्वाचनको मुखैमा सेतोपाटीसँग कुरा गर्दै मोरङका एमाले नेता विनोद ढकालले भनेका थिए ‘योगेन्द्रजी ५ बाट चुनाव लड्नुहुन्छ, म ४ बाट तयारी गर्दैछु।’
अध्यक्ष केपी शर्मा ओलीनिकट मानिएका नेता ढकालले आफूले रोजेकै क्षेत्रबाट टिकट पाए। तर, जारी मतगणनामा उनी माओवादीका अमनलाल मोदीसँग ठूलो अन्तरले पछाडि छन्।
पार्टीका प्रदेश सचिव ढकालले क्षेत्र नम्बर ५ बाट उठ्ने बताएका योगेन्द्र मण्डलले भने टिकट नै पाएनन्। अध्यक्ष ओली स्वयंले चुनावको तयारी थाल्न भनेर योगेन्द्रलाई भनेका थिए।
सबै चुनावी तयारी पूरा गरिसकेका मण्डलले अन्तिम समयमा टिकट पाएनन्। कारण थियो, एमाले र जसपाको एक्कासी बनेको गठबन्धन।
एमाले र जसपाको तालमेलका क्रममा मोरङको ५ नम्बर क्षेत्र जसपाको भागमा परेपछि एमाले-जसपाको तर्फबाट जसपाका मोरङ अध्यक्ष राजक्मार यादव उम्मेदवार बने। सत्ता गठबन्धनबाट २०७४ मै जितेका माओवादी नेता शिवकुमार मण्डल उम्मेदवार बने।
उम्मेदवारी मनोनयन दर्ताको अघिल्लो दिन राती अबेरसम्म पनि पार्टीका नेताहरूले उनलाई टिकट आइसकेको बताइसकेका थिए। तर, मनोनयन दर्ताको दिन बिहान मोरङ ५ जसपाका लागि छाड्नु पर्ने भएपछि मण्डलले आफ्ना साथीहरूसँग सल्लाह गरे। एमाले वृत्तकै उनका साथीहरूले विद्रोह गर्न भने, उनले स्वतन्त्र उम्मेदवारी दिए।
अन्ततः पार्टीबाट विद्रोह गर्ने उनको कदमलाई मोरङ ५ का मतदाताले भने अनुमोदन गरिदिए। सत्ता गठबन्धन र एमाले-जसपा गठबन्धनका दुई जना उम्मेदवारलाई पछि पार्दै उनले संसद् यात्रा सुरू गरेका छन्।
मण्डलले २१ हजार ८ सय २० मत पाए भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४ सय ८६ मत पाए।
मतदातामाझ स्थापित चुनाव चिन्हहरू जसपाको ढल्केको छाता र माओवादीको हँसिया हतौडा उनका प्रतिष्पर्धीहरूको चिन्ह थियो। उनले चाहेको सूर्य चिन्हबाट चुनाव लड्न पाएनन्। उनलाई आयोगले दिएको चिन्ह थियो चापाकल। नचिनिएको चुनाव चिन्हबाटै प्रभावशाली जित दर्ता गरेर मन्डलले आफ्नो लोकप्रियता प्रमाणित गरेका छन्।
‘यो जितलाई एकदमै स्वाभाविक रूपमा लिएको छु’, सेतोपाटीसँग कुराकानीका क्रममा उनले भने, ‘हाम्रोमा राजनीति धेरै भयो। विकास र परिवर्तन भएन। जनताले खोजेको मुख्य कुरा यही हो। अब त्यसका लागि प्रयास गर्ने जिम्मेवारी मलाई मतदाताले दिएका छन्।’
मोरङ धनपालथान गाउँपालिका २ का ५१ वर्षीय मण्डल दुई वर्षअघिसम्म राजनीतिक रूपमा सक्रिय थिएनन्। जीवन विकास समाज नामक चर्चित लघुवित्त संस्थाका संस्थापक अध्यक्ष उनी सोही संस्थामार्फत् महिला समूह बनाएर सामाजिक काममा सक्रिय थिए।
२५ वर्षयता सोही संस्थामार्फत मोरङ ५ सहित देशका २७ जिल्लामा पुगिरहेका उनलाई एमाले नेताहरुले संसदमा ठाउँ दिने वचन दिएर पार्टीमा भित्र्याएका थिए। लगत्तै उनलाई प्रदेश कमिटीमा राखेका थिए। आइएनजिओसमेत चलाइरहेका उनलाई एमालेलाई आर्थिक भरथेग गर्ने गरेको जस पनि जान्छ। त्यसो त लघुवित्तमार्फत् सर्वसाधारणको ढाड सेकेको भनेर उनको आलोचना पनि हुने गरेको छ। तर, स्थानीय मतदाताले त्यो आरोपलाई आफ्नो मतमार्फत् खण्डन गरिदिएका छन्।
माओवादी, कांग्रेस र जनता समाजवादी पार्टीको संगठन रहेको क्षेत्रमा एमालेको संगठन मण्डलले नै विस्तार गरेका थिए। तर, चुनावको मुखैमा टिकट खोसिएपछि उनले बागी उम्मेदवारी दिए।
यद्यपि उनी आफूलाई बागी भन्न रुचाउँदैनन्।
‘म स्वतन्त्र हुँ’, उनले भने ‘म स्वतन्त्र भएकै कारण जनताले जिताएका हुन्।’
महेन्द्र मोरङ कलेजबाट बिएस्सीको अध्ययन पूरा गरेका मन्डलले जीवन विकासमार्फत् स्थानीयबासीलाई ऋण दिने, अस्पताल सञ्चालन गरेर २० रुपैयाँ शुल्क लिएर विशेषज्ञ चिकित्सकबाट उपचार गराउने काम गरिरहेका छन्।
‘उहाँले गरिरहेको सामाजिक कामको बलमा उहाँले जित हात पार्नुभएको हो,’ एमाले कार्यकर्ता अनिल मण्डलले भने, ‘पार्टीले उहाँमाथि गरेको अन्याय पनि जनताले नसहेका हुन्।’
चुनाव जितेपछि स्वतन्त्र नै रहने कि पार्टीमा फर्किने?
यो प्रश्नमा उनले घुमाउरो उत्तर दिए।
‘म पार्टीका लागि राजनीतिमा आएको होइन’, उनले थपे ‘ म चाहन्थें कोही न कोही परिवर्तनका लागि आउनुपर्छ। म पार्टीका लागि राजनीतिमा आएकै थिइनँ। परिणाम दिनलाई नियत चाहिन्छ। नियतले भिजन बनाउँछ, भिजनले क्रियाकलाप हुन्छ र त्यसले परिणाम दिन्छ। म यसैका लागि आएको हुँ। संसारमा नेपालमा जस्तो राजनीति कहीँ हुँदैन। त्यसैले क्षेत्रको विकासको खाका तयार नगरेसम्म स्वतन्त्र रहन्छु।’
जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चिया पसलमा उनले यसो भनिरहँदा उनलाई घेरेर बसेका समर्थकहरुले भने, ‘अब हामी उहाँलाई कुनै पार्टीमा जान दिन्नौं। सधैं काम लगाउने तर टिकट नदिने पार्टीमा किन फर्कने? हामी पनि पुरानो एमाले हो। तर, अब हामीले पनि छाड्यौं।’
समर्थकहरुले यसो भनेपछि हो हो भन्दै समर्थन जनाउनेहरू त्यहाँ थपिए। र, मण्डलले उनीहरूलाई शान्त पार्दै थपे, ‘म भविष्यमा के गर्छु भन्ने कुरा सामूहिक छलफलबाट निष्कर्ष निकाल्छु। मेरा अभियन्ताहरूले के भन्नुहुन्छ। त्यसमा निर्भर हुन्छ।’
उनले आफ्ना समर्थकहरूलाई अभियन्ता भन्न थालेका रहेछन्।
‘पार्टीमा कार्यकर्ता हुन्छन्, हामी स्वतन्त्रको अभियन्ता र शुभचिन्तक हुन्छन्’, उनले अबको योजना सुनाए, ‘ हामी अब योजनाबद्ध काममा खटिनेछौं। हामी विजय जुलुस निकाल्ने छैनौं। जितको खुसी काम गरेर थाल्नेछौं। शुक्रबार हामी सामूहिक काम गरेर जीतको खुसी मनाउनेछौं। जुलुस गरेर होइन।’