झापा-३ बाट लगातार दोस्रोपटक विजेता बनेर संसद यात्रा निश्चित गरेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले यसपटक व्यक्तिगत सफलता त दोहोर्याए नै, पार्टीको आकार पनि पहिलेभन्दा धेरै गुणा बढाउन सफल भएका छन्।
बिहीबार आएको झापा-३ को अन्तिम चुनावी मत परिणामअनुसार ४० हजार ६ सय ४८ मत पाएर आफ्नो संसद यात्रा दोहोर्याउँदा उनले कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई त्यो सफलताबाट रोके।
राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका सिटौला यसपटक ३७ हजार ३ सय ७२ मतसहित दोस्रो बने। उनीहरूको मतान्तर ३ हजार २ सय ७६ छ। अघिल्लो चुनावमा लिङ्देनले १३ हजार ४ सय ४३ मतले सिटौलालाई हराएका थिए।
२०७४ को निर्वाचनमा पनि लिङ्देन झापा-३ बाट प्रत्यक्ष निर्वाचित सांसद भएका थिए। तर कमल थापाको नेतृत्वमा रहेको राप्रपा त्यस बेला राष्ट्रिय दल बन्न सकेन। थापा आफैं पनि मकवानपुरमा हारेका थिए। कुल सदर मतको तीन प्रतिशत मत कटाएर थ्रेसहोल्ड पार गर्न नसक्दा संसदमा लिङ्देन एक्लैले राप्रपाको प्रतिनिधित्व गरे।
पछिल्लो समय भने राप्रपाको पुरानो छवि कायाकल्प गर्न लिङ्देन सफल रहे।
'पूर्वपञ्चहरूको पार्टी' भनेर आलोचित हुँदै आएको राप्रपा नेतृत्वमा जसै उनी उदाए, पुराना पञ्चहरूकै दललाई पनि उनले 'नयाँ' दलका रूपमा 'रिब्रान्डिङ' गर्न सफल भए। झापा-३ मा उनले पाएको मत र राष्ट्रिय पार्टी बन्ने गरी देशभरबाट पाइरहेको मतले त्यही संकेत गर्छ।
राजनीतिशास्त्रका विद्यार्थी अनुप सापकोटा वैचारिक रूपमा अनुदार बन्दै गए पनि नेतृत्व परिवर्तनलाई मतदाताले राप्रपाको रूपान्तरण ठानेको बताउँछन्। 'नेपालमा दक्षिणपन्थको सबभन्दा ठूलो प्रवक्ता दल नै राप्रपा हो,' उनले भने, 'तर नेतृत्वमा आएको बदलावले मतदातालाई यो दल नौलोजस्तो लाग्यो।'
उनले राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले पाएको मतलाई आक्रोशको मत भएको पनि बताए।
सापकोटाले भनेजस्तै अवस्था मैदानमा थियो। चुनावअघि स्थलगत रिपोर्टिङका लागि झापा-३ पुगेको सेतोपाटी टिमले भेटेका मतदातामध्ये राप्रपालाई मत दिन्छु भन्नेहरू दुईवटा कारणले लिङ्देनलाई भोट दिने बताउँथे।
पहिलो, यस क्षेत्रमा उनले गरेको विकास। दोस्रो, उनको दल नयाँ भएका कारण।
'हामी त योपटक नयाँलाई भोट दिने,' चुनावअघि झापा-३ मा उनलाई भोट दिने तयारी गरेका मतदाताले हामीसँग भनेका थिए, 'योपालि राजेन्द्र लिङ्देनलाई दिने हो।'
पुरानै पार्टीलाई पनि 'नयाँ' जस्तो देखाउने सफलताको उत्कर्ष पार्टीको पछिल्लो महाधिवेशन थियो, जसमा कुनै बेला लिङ्देनले अभिभावक नै मान्ने कमल थापालाई अध्यक्षमा हराएका थिए। राप्रपामा लिङ्देनको उदयलाई अन्य दलका युवा नेताहरूले पार्टीमा भएको पुस्तान्तरणका रूपमा हेरेका थिए।
पार्टी अध्यक्षमा हारेपछि राप्रपा नेपाल ब्युँताएर यो चुनावमा सूर्य चिह्नबाट लडेका थापा मकवानपुरमा पराजित मात्रै भएनन्, उनको पाटी आकारसमेत ग्रहण नगर्ने अवस्थामा पुग्यो। थापाले नै अघि बढाएका लिङ्देनको भने प्रभाव झनै बढेर त्यसको परिणाम मतमार्फत देखा परेको छ।
पार्टी अध्यक्ष हुनुअघि महामन्त्री रहेका लिङ्देनले प्रतिनिधिसभाको पहिलो पाँचवर्षे कार्यकालमा कहिले गणतन्त्र र संघीयताविरोधी अभिव्यक्ति दिएर अनि कहिले 'भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो' भन्दै भावुक कुरा गरेर ताली पाउँदै आएका थिए। कांग्रेस महाधिवेशनमा 'नेता गाउँमा आए जनताले चोर आएको भन्छन्' भन्दै कांग्रेस कार्यकर्ताकै पनि समर्थनको ताली पाएका थिए।
ठूला दलका नेताहरू एकपछि अर्को विवादमा फस्दै गएका बेला सत्ताको स्वाद चाख्नै नपाएका लिङ्देन भने आलोचनात्मक प्रस्तुतिका कारण स्थापित बन्दै गए। ज्ञानेन्द्र शाही, रविन्द्र मिश्रजस्ता सामाजिक सञ्जाल र सार्वजनिक वृत्तमा चर्चित अनुहारलाई पार्टीमा समेटेपछि राप्रपा झनै मुखर देखिन र सुनिन थाल्यो। भलै मिश्रलाई भने काठमाडौं-१ का मतदाताले अनुमोदन गरेनन्। तर जुम्लाबाट शाही, बाँकेमा धवलशमशेर, मकवानपुरका दिपक सिंह र झापा-३ मा लिङ्देनलाई मतदाताले संसदको ढोका खोलिदिएका छन्।
संघीयता, धर्म निरपेक्षता र गणतन्त्र नरूचाउने एउटा समूहको आकर्षण बनेका लिङ्देन आफैं लिम्बू समुदायका सदस्य हुन्। आदिवासी जनजाति समुदायका सदस्य उनले आफ्नै समुदायले पाउने आरक्षणको विपक्षमा पनि उभिएर आरक्षण विरोधीहरूको पनि समर्थन बटुल्दै गए।
उनको लोकप्रियताको ग्राफ कसरी उकालो लागेको रहेछ, अहिलेसम्म उनका सहयोगीहरूले प्रत्यक्षमा दर्ता गरेको जित र समानुपातिकमा आइरहेको मतले देखाइरहेको छ।
यो स्टोरी तयार पार्दासम्म लिङ्देन अध्यक्ष रहेको दल राप्रपाले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ वटामा जित दर्ता गरेको छ भने दुई ठाउँमा अग्रता कायम राखेको छ।
अहिलेको चुनावी सफलताको संकेत आफूहरूले स्थानीय चुनावताकै पाइसकेको राप्रपाका नेताहरू बताउने गर्छन्। 'छोटो तयारीमा स्थानीय चुनावमा जाँदा पनि सफलता हात पार्दा उत्साही छौं,' वैशाखको स्थानीय चुनावलगत्तै अध्यक्ष लिङ्देनले भनेका थिए, 'यही सफलतामा टेकेर आउँदो चुनावमा जान्छौं र सफलता हात पार्छौं।'
२०७४ को स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरसहित ५ वटा स्थानीय तहको प्रमुख जितेको राप्रपाले यसपटक उपमहानगर त गुमायो तर तीन नगरपालिका जितेको थियो। काठमाडौंको शंखरापुर, कपिलवस्तुको शिवराज र झापाको दमक नगरपालिका थपेको उसले यसपटक प्रत्यक्षतर्फ सिट संख्या थपेको छ नै, समानुपातिकबाट पनि सिट थप्ने निश्चित भएको छ।
चुनावअघि झापा-३ मा मतदाता भेटेपछि हामीले लेखेका थियौं, '२०७४ को निर्वाचनमा लिङ्देनले ४४ हजार ६ सय १४ अर्थात् साढे ५६ प्रतिशत मत पाएका थिए भने सिटौलाले ३१ हजार १ सय ७१ अर्थात् साढे ३९ प्रतिशत मत ल्याएका थिए। यो क्षेत्रमा पार्टीको बलियो सांगठनिक उपस्थिति भएका र राष्ट्रिय राजनीतिमा चिनिएका नेता भएकाले सिटौला र लिङ्देनका समर्थक र विरोधी उस्ताउस्तै छन्।'
त्यस बेला हामीले कुराकानी गरेका मतदाताको रूझान हेरेर हामीले लेखेका थियौं, 'झापा–३ मा यसपालि लिङ्देनले २०७४ मा पाएको मत चुहिँदै गएको र सिटौलाले उनीसँगको मतान्तर घटाउँदै केही मत आफ्नो पक्षमा थपिरहेको देखिन्छ। तर सिटौलाले चुनाव जित्ने गरी आफ्नो मत बढाउन सकेका छन् वा छैनन् त्यो मुख्य प्रश्न हो। हामीले कुरा गरेका मतदाताको रुझान हेर्दा कसलाई मत दिने भन्ने अहिलेसम्म निर्णय गरिनसकेका मतदाता नै अन्तिम मतपरिणाममा निर्णायक हुनेछन्।'
अन्ततः अघिल्लो चुनावमा १३ हजार ४ सय ४३ मतले पराजित सिटौला यसपटक लिङ्देनसँग मतान्तर घटाउन सफल रहे। तर त्यो जितका लागि पर्याप्त भएन। सिटौलाको असफलता लिङ्देनको सफलता दोहोरिने महत्वपूर्ण राजनीतिक घुम्ती बन्यो।
अहिलेको चुनावमा प्राप्त भएको सफलतालाई अध्यक्ष लिङ्देनले 'पार्टीप्रतिको बढ्दो जनविश्वास र भरोसा' भएको बताए। 'हाम्रो पार्टीले लिएको सुस्पष्ट अडान र विचार नै हाम्रो सफलताको कडी हो,' उनले सेतोपाटीसँग भने, 'हामीले राखेका अडानहरू अनुमोदन भएका छन्।'
चुनावी जितपछि सरकारमा सामेल हुने–नहुनेबारे बोल्नु अहिले हतारो हुने भन्दै लिङ्देनले थपे, 'सत्ता हाम्रो मुख्य प्राथमिकता होइन। हामी सत्ताकेन्द्रित राजनीतिमा लाग्ने छैनौं।'
पञ्चायत कालमा राष्ट्रवादी विद्यार्थी मण्डलको झापा नेतृत्वमा रहेका राजेन्द्र लिङ्देन मेची क्याम्पसमा राम थापा मारिँदा त्यो घटनाका मुख्य आरोपितमध्ये थिए। उनले उक्त घटनामा आफ्नो संलग्नता सधैं अस्वीकार गर्दै आएका छन्। २०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले गरेको 'कू' पछि उनी जिविस झापाको मनोनित सभापति थिए। लोकतन्त्र स्थापनापछि उनी लामो समय गुमनामजस्तै रहे।
२०५६ मा सिटौलाविरूद्ध चुनाव लडेका उनी त्यस बेला तेस्रो भए। पहिलो संविधानसभा चुनावमा उनी उठेनन्। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा झापा-३ मा उनी सिटौलाका मुख्य प्रतिस्पर्धी बन्दै दोस्रो भए। २०७४ मा आइपुग्दा उनलाई चिट्ठा परेझैं भयो। वाम गठबन्धनको साथमा उनले सिटौलालाई पराजित गरे।
राजावादी लिङ्देन त्यहीँ चुनावी जितको बलमा निरन्तर राजनीतिक प्रगति उन्मुख बन्दै गए। यसपटक पनि एमाले अध्यक्ष केपी ओलीलाई झापा-५ मा सघाउने सर्तमा राप्रपालाई झापा-३ मा एमालेले सघायो।
र, उनी अघिल्लोपटकको दाँजोमा साँघुरो अन्तरले भए पनि यसपटक फेरि विजेता बने।