२०७४ को प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का आफ्नै निर्वाच क्षेत्रबाट उम्मेदवार बनेका थिए।
कांग्रेसभित्र तत्कालीन सहमहामन्त्री रहेका खड्का सुर्खेतको पूर्वी क्षेत्रका बलिया उम्मेदवार मानिन्छन्।
२०७४ को निर्वाचनमा नेकपा एमाले र माओवादीबीच गठबन्धन भएको थियो।
गठबन्धनबाट एमालेका ध्रुवकुमार शाही उम्मेदवार थिए। बलिया उम्मेदवारका रूपमा हेरिने खड्काले गठबन्धनसँग एक्लै चुनाव लड्दा पनि जित्ने अपेक्षा धेरैको थियो।
तर गठबन्धनबाट साझा उम्मेदवार बनेका शाहीले खड्काको संसदीय यात्रामा पहिलोपटक 'ब्रेक' लगाइदिए। त्यतिबेला शाहीले ३६ हजार ७५९ मत ल्याएर जित्दा खड्काले ३३ हजार ३७७ मत पाएका थिए।
लगातार पाँचपटक सांसद भएर सुर्खेतको पूर्वी क्षेत्रको प्रतिनिधित्व गरिरहेका खड्काको त्यतिबेलाको छैटौ संसद यात्रामा ब्रेक लागेको थियो।
२०७४ मा उनको त्यो हारसँगै एकातिर पहिलो पटक आफ्नै संसद यात्रा रोकियो भने अर्कातिर प्रदेशभरि नै एउटा प्रदेश सभाबाहेक कुनै पनि सिटमा कांग्रेसले जित्न सकेन।
चुनावको नतिजाले प्रदेशभर दलको अग्रज नेता मानिने खड्काको नेतृत्व क्षमतामाथि नै प्रश्न उठ्यो। उनलाई कसैले दोष दिन भने सकेनन्।
त्यतिबेला खड्काको यात्रामा ब्रेक लाग्नुमा एमाले र माओवादी बीचको चुनावी तालमेललाई मुख्य कारण मानियो।
अहिलेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट कांग्रेस उपसभापति खड्काले गठबन्धनका कारण आफ्नो २०७४ मा रोकिएको संसद यात्रालाई फेरि ‘कमब्याक’ गारएका छन्।
अहिले उनको संसद यात्रा कमब्याकमा पनि गठबन्धन नै एउटा माध्यम बनेको छ।
अहिले कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन छ। कर्णालीमा भने तीनवटा दलमात्र गठबन्धनभित्र समावेश छन्।
यो पटक पनि खड्काका मुख्य प्रतिस्पर्धी ध्रुवकुमार शाही नै थिए।
अघिल्लो पटक गठबन्धनबाट चुनाव लडेका शाही यो पटक गठबन्धनसँग एक्लै चुनाव लडेका हुन्।
अघिल्लोपटक ३ हजार ३८२ मतान्तरले खड्कालाई पराजित गरेका शाही यसपटक आफू ११ हजार ६१९ मतान्तरले पराजित भए।
अहिले खड्काले ४२ हजार ६०७ मत पाएर विजयी भएका छन्। शाहीले ३० हजार ९८८ मत पाएका छन्।
यो पटक खड्काको छैटौं संसद यात्रा हो। उनी विगतमा २०४८, २०५१ र २५६ को आम निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद थिए। २०५६ पछि एकैपटक २०६४ मा भएको संविधान सभा सदस्य निर्वाचनमा भने उनी समानुपातिक प्रणालीमार्फत् सांसद बने।
२०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा उनी फेरि प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए।
विगतदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्दै आएका खड्का कांग्रेसको १२ औं महाधिवेशनबाट सहमहामन्त्री र १३ औं महाधिवेशनबाट महामन्त्री मनोनित भएका थिए।
२०७४ को निर्वाचनमा सांसद पराजित भइसकेपछि उनलाई महामन्त्री पद मिलेको हो।
खड्काले गृह मन्त्रालय, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय लगायतका विभिन्न मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए।
अहिले उनलाई देशको नेतृत्व गर्ने नेताका रूपमा हेरिएको छ। खड्काले भने अब आफू मन्त्री नबन्ने र त्यसभन्दा माथि जाने कुरा शिर्ष नेतृत्व र जनताको हातमा हुने बताउँदै आएका छन्।