जेलमा रहेका पूर्वसांसद रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले यसपालि कैलाली र बर्दियाको चुनावी नतिजामा उलटपलट गरिदिएको छ।
कैलालीमा नागरिक उन्मुक्ति पार्टी सबैभन्दा ठूलो दल बनेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फका ५ मध्ये ३ सिट उसैले जितेको छ। समानुपातिकमा पनि उसले अहिलेसम्म सबैभन्दा धेरै मत पाएको छ। उन्मुक्ति पार्टी २६ हजार मतसहित पहिलो हुँदा दोस्रोमा रहेको नेपाली कांग्रेसले १३ हजार मत मात्र पाएको छ।
स्थानीय चुनावमा पूर्वी कैलालीको टीकापुर आसपासका चार पालिका जितेको उन्मुक्ति पार्टी यसपालि पूर्व र पश्चिमतिर फैलिएको छ।
२०७४ सालको चुनावमा राजपाबाट रेशम चौधरीले चुनाव जितेको क्षेत्रमा अहिले उनकी पत्नी तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी भएकी छिन्।
प्रतिनिधि सभा मात्र होइन प्रदेश सभा पनि उन्मुक्ति पार्टीले नै जित हात पारेको छ। प्रदेश १मा नागरिक उन्मुक्तिका कैलाश चौधरीले १५ हजार १०१ मतले विजयी भएका छन्। उनीसँग मुख्य प्रतिस्पर्धामा माओवादीका दीर्घ सोडारी र राप्रपाका भीमबहादुर बम थिए। २०७४ मा यहाँ राजपाका कृष्ण चौधरीले १२ हजार १८४ मतसहित विजयी भएका थिए।
यस्तै प्रदेश सभा २ मा लक्ष्मणकिशोर चौधरी ११ हजार ११८ मतले विजयी भएका छन्। उनीसँग पनि मुख्य प्रतिस्पर्धामा अघिल्लो पटक चुनवा जितेका नेपाली कांग्रेसका रणबहादुर रावल र एमालेका द्वारिकाप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा थिए। २०७४ मा यहाँ कांग्रेसका रणबहादुर रावलले जितेका थिए।
कैलाली २ मा प्रतिनिधि सभातर्फ उन्मुक्ति पार्टीका अरूण चौधरीले २१ हजार ८ सय ७१ मत ल्याएर माओवादी र एमाले दुबैलाई हराउँदै विजयी भएका छन्। २०७४ मा यहाँबकाट एमालेका झपट रावल २५ हजार २५७ मत ल्याएर विजयी भएका थिए।
यो क्षेत्रको एउटा प्रदेश सभा पनि उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले जितेका छन्।
कैलाली ३ मा २०७४ मा माओवादीका गौरीशंकर चौधरी २४ हजार ८६२ मतसहित विजयी भएका थिए। अहिले नागरिक उन्मुक्ती पार्टीका गगांराम चौधरीले एमाले र माओवादीलाई हराउँदै २३ हजार १२० मतसहित विजयी भएका छन्।
यहाँ प्रदेशतर्फ १ मा २०७४ मा माओवादीका वीरमान चौधरी १५ हजार ८ सय ७३ मतसहित विजयी भएका थिए। अहिले यहाँ उन्मुक्ति पार्टीका घनश्याम चौधरीले १३ हजार ९२३ मतसहित विजयी भएका छन्।
यस्तै प्रदेश सभा २ मा पहिला एमालेका अमरबहादुर साउँद ११ हजार ८ सय ७७ मतसहित विजयी भएका थिए। अहिले उन्मुक्ति पार्टीका खुसीराम डगौरा थारू ७ हजार ५३९ मतसहित विजयी भएका छन्।
पूर्वी कैलालीमा पर्ने १,२ र ३ निर्वाचन क्षेत्र मात्र होइन कर्णाली पारिको बर्दिया २ मा पनि उसैका उम्मेदवारले जित हात पारेका छन्।
बर्दिया २ मा स्वतन्त्र उम्मेदवार बनेका लालवीर चौधरीले चुनाव जितेका छन्। उनी रेशम चौधरीका बुवा हुन्। सुरूमा उक्त क्षेत्रमा रेशमले उम्मेदवारी दिएका थिए। आफ्नो उम्मेदवारी खारेज हुने ठानेर उनले बुवालाई स्वतन्त्र उम्मेदवारी दिन लगाएका थिए। नभन्दै त्यस्तै भयो। रेशम चुनाव लड्न पाएनन् तर त्यो सिट नागरिक उन्मुक्ति पार्टीकै पोल्टामा पर्यो।
नागरिक उन्मुक्ति पार्टीको उदयमा २०७२ भदौ ७ मा भएको टीकापुर हत्याकाण्ड एउटा घुम्ती हो।
उक्त हत्याकाण्डमा मुछिएपछि फूलबारी एफएमका सञ्चालकसमेत रहेका रेशम चौधरी भूमिगत भए। भूमिगत हुँदै उनले प्रतिनिधि सभामा उम्मेदवारी दिए। चुनावी प्रचार नै नगरीकन उनले चुनाव जिते।
चुनाव जिते पनि उनी संसद छिर्न पाएनन्। जिल्ला अदालतदेखि सर्वोच्च अदालतसम्मले उनलाई दोषी ठहर गरेपछि उनी जेलमा छन्। रेशमलाई छुटाउन राजपाले धेरै प्रयास गर्यो तर सफल भएन। उनको रिहाइको माग संसद बैठकमा उठ्थ्यो तर सुनुवाइ हुन सकेन।
यहीबीचमा मधेस केन्द्रीत दुई दल राजपा र संघीय समाजवादी फोरमबीच एकता भएर जसपा बन्यो। जसपा सरकारमा पनि गयो तर रेशम रिहा हुन सकेनन्। पछि फेरि जसपा फुटेर लोसपा बन्यो। त्यतिबेला जेलमै रहेका रेशमले पनि सनाखत गरेका थिए।
गत वैशाखको चुनावअघि भने रेशमले आफ्नी पत्नीको नाममा नयाँ दल खोले। पहिलो चुनावमै उनको नागरिक उन्मुक्ति पार्टीले टीकापुरसहित आसपासका चार पालिका जितेर तरंग ल्यायो। अब त्यो तरंग बानेश्वरको संसद भवनसम्म पुग्ने भएको छ।
टीकापुरको तरंग बानेश्वरसम्म पुग्नेगरी जनताले आफूहरूलाई मत दिनुका पछाडि एजेन्डाहरू कारण रहेको उन्मुक्ति पार्टीका नेताहरू बताउँछन्।
नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी अहिलेको चुनावमा कैलाली १ ख बाट प्रदेश सभा सदस्य पदमा निर्वाचित भए। उनले टीकापुर घटना राजनितिक घोषणा गर्नुपर्ने र यसै घटनामा जेल परेका सबैलाई रिहा गर्नुपर्ने मुद्दा जनताले मन पराएर जिताएको बताए।
‘माग मुद्दामा अहिलेसम्म हामी एक छौं, मुद्दा छोडेका छैनौं, जनताको बोली बोलिरहेका छौं। त्यसैले हामीलाई भोट आयो,’ चौधरीले भने।
उनले पार्टीले लिएको लक्ष्य अहिले सफल नभएको बताए। पहिलो चरणमा चुनावमा होमिएको यो पार्टी आगामी दिनमा सफल हुने विश्वास उनलाई छ।
अबको पाँच वर्षमा रेशम चौधरी र टीकापुर घटनामा कारगारमा रहेका अरू बन्दीलाई छुटाउन पहल गर्ने नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारको भनाइ छ।
‘राजबन्दीको रिहाइका सरकारले नै गर्ने हो। यो निर्णय पनि सरकारले गरेको देखिन्छ। यसलाई अक्षरश: पूरा गर्न पहल गर्नेछौं,’ चौधरीले भने।
नागरिक उन्मुक्ति पार्टीले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनालाई राजनीतिक घटनाका रूपमा लिनु पर्ने माग गर्दै आएको छ। माओवादी र अरू केही राजनीतिक दलहरूले ज्यानै जाने गरी गरेका आन्दोलनसरह नै यो घटनालाई लिनुपर्ने उनीहरू भन्दै आएका छन्।
‘अरू दलले गरेका आन्दोलनलाई जसरी राजनीतिक घटनाका रूपमा लिए, त्यसैगरी यसलाई लिनुपर्छ भनेको कुरा जनतामा राख्यौं। यो कुरा जनताले मन पराएर हामीलाई भोट दिएका छन्,’ उनले भने।
नागरिक उन्मुक्ति पार्टीले खास गरी तराईका थारू समुदायको सहानुभुति पाएको हो। थारूको मात्र नभई विभेदमा पारिएका जोसुकै समुदायलाई राज्यबाट न्याय पाउनुपर्छ भन्ने यो पार्टीको मुद्दामा गैरथारूको पनि समर्थन पार्टीका नेताहरू बताउँछन्।
उन्मुक्ति पार्टीले विकास शहरकेन्द्रीत मात्र होइन दूर-दराजमा ग्रामीण क्षेत्रमा पनि पुग्नुपर्ने आवाज पनि उठाउने गरेको चौधरीले बताए।
‘राज्यले जनताको म्यान्डेडलाई मान्यता दिनुपर्छ,’ उनले भने,‘ कुनै एक विशेष समुदायको मात्र राजनीति हुँदैन, सबै समुदायले हामीलाई भोट दिएका छन्।’
पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ गैरथारूकी छोरी र थारुकी बुहारी हुन्। अहिले नागरिक उन्मुक्ति पार्टीमा थारू मात्रै नभई सबै समुदायबाट पदाधिकारी र उम्मेदवार पनि रहेकाले पनि यो एक समुदाय मात्रैको पार्टीमा सीमित नरहेको चौधरीको दाबी छ।
संसदमा रेशम चौधरीलाई रिहा गर्ने मुद्दा मात्र नभई उनलाई प्रतिनिधि पात्रका रूपमा लिएर अरू बन्दीलाई रिहा गर्न आवाज उठाउने यो पार्टीको लक्ष्य छ।
‘रेशमजी जनताबाट पनि अनुमोदित हुनु भइसक्यो, अरू राजबन्दीलाई पनि रिहाइ गरिनुपर्छ। धेरैलाई आजीवन घर फर्कने वातारण छैन, यो मुद्दा खारेजी गर्नुपर्ने भन्ने हाम्रो मुख्य एजेन्डा हो,’ उनले भने।
कतिपयले यो मुद्दापछि नागरिक उन्मुक्ति पार्टी हराउँछ कि रहिरहन्छ भन्नेमा आशंका भने गरेका छन्।
चौधरीले भने यो हराउनलाई निर्माण गरिएको पार्टी नभएको दाबी गरे।
‘माग मुद्दा पूरा नभएसम्म हराउँदैन। हामी आफ्नो मुद्दाबाट विचलन हुँदैनौं। त्यसैले यो पार्टी हराउँदैन,’ उनले भने।