कर्णालीका १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा गठबन्धनभित्र माओवादीलाई एक सिट घाटा लागेको छ।
नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) लाई गठबन्धनले फाइदा गराएको छ।
यसपटक एक्लै चुनावी मैदानमा उत्रिएको नेकपा एमाले कर्णाली प्रदेशमा शून्य भएको छ।
१२ वटा निर्वाचन क्षेत्रमध्ये भागबण्डा गर्दा नेकपा माओवादीले सबभन्दा धेरै ५ वटा सिट लिएको थियो। नेपाली कांग्रेसले ४ र नेकपा (एस) ले ३ सिट लिएका थिए।
माओवादीले आफूलाई भाग परेकामध्ये चार वटा निर्वाचन क्षेत्र मात्र जितेको छ।
माओवादीले रूकुम-पश्चिम, जाजरकोट, कालिकोट र हुम्लामा जितेको छ।
आफ्नो भागमा परेको जुम्लामा भने माओवादीले गुमाएको छ। जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले प्रतिनिधिसभा सदस्य जितेका छन्।
गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी गोमा गौतम कुँवरलाई पराजित गर्दै राप्रपाका ज्ञानेन्द्र शाहीले जित हात पारे।
पहिलोपटक चुनाव लडेका ३१ वर्षीय शाही गठबन्धनलाई हराउने बलिया उम्मेदवार सावित भए।
गठबन्धनका उम्मेदवार कुँवर र शाहीबीच १० हजार ८६० मतान्तर छ। शाहीले २२ हजार ८ सय १९ मत पाए। कुँवरले ११ हजार ९ सय ५९ मत पाइन्।
जुम्लाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेकपा एमालेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत पाएका छन्।
रूकुम पश्चिममा उम्मेदवार बनेका अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ३९ हजार ५४९ मतसहित निर्वाचित भएका छन्। एमालेका नन्दराम देवकोटले १२ हजार ९ सय ६१ मत ल्याएका छन्।
माओवादीका अर्का उपमहासचिव शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनी एमालेका निरजप्रसाद आचार्यलाई ९ हजार ३१ मतान्तरले पराजित गर्दै 'ह्याट्रिक' गर्न सफल भएका छन्।
बस्नेतले ३४ हजार १५१ मत पाए भने आचार्यले २५ हजार १२० मत पाए। बस्नेतले यसअघि ०७० र ०७४ मा संसदीय चुनाव जितेका थिए।
कर्णाली प्रदेशका पूर्वमख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। आफ्ना प्रतिद्वन्द्वीलाई ८ हजार ६४ मतान्तरले पछि पार्दै शाही निर्वाचित भएका हुन्।
गठबन्धनबाट उम्मेदवार बनेका शाहीले २४ हजार ४७४ मत पाएका छन्।
एमालेका उम्मेदवार नगिन्द्र शाहीले १६ हजार ४१० मत पाएका छन्।
हुम्लाबाट माओवादीका छिरिङ डम्डुल लामा (कार्चेन) प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका लामा १४ हजार ३७१ मतसहित निर्वाचित भएका हुन्।
लामाका प्रतिस्पर्धी दल रावलले ९ हजार ५१६ मत ल्याएका छन्।
प्रतिनिधि सभा सदस्यमा निर्वाचित लामा यसअघि कर्णाली प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका थिए। उनी ६ महिनाका लागि गैरसांसद मन्त्री बनेका हुन्।
नेपाली कांग्रेसले गठबन्धन गर्दा भाग पाएका चारवटै निर्वाचन क्षेत्र जितेको छ।
दैलेख–२ मा नेपाली कांग्रेसका दिक्पालकुमार शाही १५३ मत बढी ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले २० हजार १५८ मत ल्याउँदा एमालेका लक्ष्मीप्रसाद पोख्रेलले २० हजार ५ मत ल्याएका छन्।
सुर्खेत–१ मा कांग्रेस उपसभापति पुर्णबहादुर खड्का निर्वाचित भएका छन्। एमालेका ध्रुवकुमार शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गर्दै खड्का प्रतिनिधि सभा सदस्य बनेका हुन्।
खड्का ४२ हजार ६०७ मतसहित निर्वाचित हुँदा एमालेका शाहीले ३० हजार ९८८ मत पाएका छन्।
सुर्खेत–२ मा कांग्रेसका हृदयराम थानी विजयी भएका छन्। थानी ३४ हजार ६२५ मतसहित निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका सुर्खेत अध्यक्ष अमृतकुमार बिसीले २९ हजार ५५८ मत प्राप्त गरे।
मुगुमा पनि नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन्। प्रतिस्पर्धी एमालेका राजबहादुर कार्कीलाई ३ हजार ९९४ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन्।
शाहीको पक्षमा १४ हजार ७०२ आएको छ भने कार्कीको पक्षमा १० हजार ७०८ मत आएको छ।
कर्णालीमा नेकपा (एकीकृत समाजवादी) ले पनि आफूले भाग पाएका सबै निर्वाच क्षेत्रमा जितेको छ।
सल्यानमा समाजवादीका उपमहासचिव प्रकाश ज्वाला निर्वाचित भएका छन्। ज्वालाले ३५ हजार ७०० मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धीमध्ये स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याए भने एमालेका राजेन्द्रवीर रायले १३ हजार २९ मत प्राप्त गरे।
डोल्पामा समाजवादीका धनबहादुर बुढा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। बुढा ११ हजार २२५ मतसहित निर्वाचित भएका हुन्।
नेकपा एमालेका उम्मेदवार गणेशबहादुर शाहीले ५ हजार ४९८ मत पाएका छन्।
नेकपा (एस) ले दैलेख १ मा पनि जितेको छ। त्यहाँ समाजवादीका कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याएर निर्वाचित भएका हुन्।
एमालेका उम्मेदवार रविन्द्रराज शर्माले १७ हजार ४०७ मत पाएका छन्।