कर्णाली प्रदेशका २४ वटै प्रदेश निर्वाचन क्षेत्रको नतिजा आएको छ।
कर्णाली प्रदेशमा गठबन्धनभित्र भागबण्डा गर्दा नेपाली कांग्रेसले १२, माओवादीले १० र एकीकृत समाजवादीले २ वटा निर्वाचन क्षेत्र पाएका थिए।
गठबन्धनका क्रममा भाग परेकामध्ये कांग्रेसले ३ सिट गुमाएको छ।
कांग्रेसले गुमाएका सिटमध्ये २ ठाउँमा एमालेले जितेको छ भने एक सिटमा स्वतन्त्र उम्मेदवारले जितेका छन्।
नेकपा माओवादी केन्द्रले पाएका १० सिटमध्ये एक सिट गुमाएको छ।
माओवादीले गुमाएको सिटमा पनि एमालेले नै जितेको छ।
नेकपा (एकीकृत समाजवादी) ले भाग पाएका दुवै सिट गुमाएको छ। ती सिटमा पनि एमालेले नै जित हात पारेको छ।
नेकपा एमालेका उम्मेदवारहरूले कर्णाली प्रदेश सभाअन्तर्गत पाँच ठाउँमा गठबन्धनलाई पछार्दै प्रदेश सभा सदस्य जितेका छन्।
गठबन्धनबाट नेपाली कांग्रेसले गुमाएको सुर्खेत–२ (१) मा नेकपा एमालेका यामलाल कँडेल निर्वाचित भएका छन्। एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेल १८ हजार ५ सय ६१ मतसहित वियजी भएका हुन्।
कँडेलका प्रतिस्पर्धी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्यले १८ हजार ४ सय मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर १ सय ६१ छ।
कांग्रेसले गुमाएको डोल्पा–१ बाट नेकपा एमालेका शेरबहादुर बुढा प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका दीपेन्द्रबहादुर शाही पराजित भएका हुन्।
एमालेका बुढाले ४ हजार ७ सय ४३ मत प्राप्त गर्दा कांग्रेसका शाहीले २ हजार ४६५ मत पाए।
जुम्ला–१ मा पनि कांग्रेसले आफ्नो भागमा परेको सिट गुमाएको छ। यहाँ स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदेश सभापति ललितजंग शाही पराजित गर्दै स्वतन्त्र उम्मेदवार शाही निर्वाचित भएका हुन्। यद्यपि उनी नेपाली कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उठेका थिए।
स्वतन्त्र उम्मेवार शाहीले ९ हजार ६ सय ५४ मत प्राप्त गरेका छन्। गठबन्धनबाट उम्मेदवार कांग्रेसका शाहीले ७ हजार ७ सय ५५ मत पाएका छन्।
नेकपा माओवादी केन्द्रले आफूले भाग पाएका प्रदेश सभा सिटमध्ये दैलेख-२ (२) मा गुमाएको छ।
यो क्षेत्रबाट पनि एमालेका प्रदेश अध्यक्ष विनोदकुमार शाहले प्रदेश सभा सदस्य जितेका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका योगेन्द्र शाहीलाई उनले पराजित गरेका हुन्।
एमालेका शाहले ९ हजार ४ सय ६४ मत प्राप्त गरे भने योगेन्द्रले ९ हजार ३ सय ८१ मत पाएका छन्।
नेकपा (एस) ले भाग पाएको जुम्ला–२ र मुगु–१ गुमाएको छ। यी ठाउँमा पनि नेकपा एमालेले नै जित हात पारेको छ।
जुम्ला–२ मा नेकपा एमालेका टेकराज पछाई ७ हजार ८२७ मत ल्याएर निर्वाचित भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका पदमबहादुर रोकायाले ६ हजार ७१५ मत प्राप्त गरेका छन्। पराजित भएका रोकाया प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री छन्।
मुगु–१ मा नेकपा एमालेका जीतबहादुर मल्ल निर्वाचित भएका छन्। मल्लले ६ हजार ६ सय १८ मत ल्याएर निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार नेकपा (एस) का गोपालबहादुर बमले ५ हजार ४ सय ४५ मत ल्याएका छन्। प्रदेश सभा सदस्यमा निर्वाचित मल्ल नेकपा एमाले मुगु जिल्लाका अध्यक्ष समेत हुन्।
यसबाहेक नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रदेशका ९/९ सिट जितेका छन्।
सल्यान–२ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेश अधिकारी २० हजार ४०८ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार गुलाबजंग शाहले १६ हजार ६ सय २८ मत ल्याएका छन्। शाह यसअघि सल्यान प्रदेश सभा-१ बाट निर्वाचित भएका थिए।
जाजरकोट–१ मा नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंह निर्वाचित भएका छन्। उनले १८ हजार ५ सय ४३ मत प्राप्त गरेका छन्। एमालेका डम्बरबहादुर सिंहले ११ हजार ४ सय ७० मत प्राप्त गरेका छन्।
जाजरकोट–२ मा पनि नेपाली कांग्रेसका राजीवविक्रम शाह निर्वाचित भएका छन्। उनले १६ हजार ४० मत प्राप्त गरेका छन्। शाहका प्रतिद्वन्द्वी नेकपा एमालेका खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत प्राप्त गरेका छन्।
दैलेख–१ (१) मा नेपाली कांग्रेसका पूर्णबहादुर खत्री प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्।
उनले नेकपा एमालेका धर्मराज रेग्मीलाई १ हजार ३९२ मतान्तरले पराजित गरेका हुन्।
खत्रीले ९ हजार ४६४ मत ल्याएर निर्वाचित हुँदा रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका छन्। दैलेख–१ (२) मा पनि नेपाली कांग्रेसका कृष्णकुमार बिसी निर्वाचित भएका छन्। बिसीले १० हजार ५४५ मत ल्याएर प्रदेश सभामा निर्वाचित भएका हुन्। बिसीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमबहादुर थापाले ९ हजार ४७१ मत ल्याएका छन्।
यस्तै, दैलेख–२ (१) नेपाली कांग्रेसका घनश्याम भण्डारी निर्वाचित भएका छन्। भण्डारीले नेकपा एमालेका तिलकप्रसाद रिजाललाई १ हजार ३०५ मतले हराएका हुन्। भण्डारीले १० हजार ८०० मत पाएका छन् भने रिजालले ९ हजार ४९५ मत पाएका छन्।
सुर्खेत–१ (१)मा नेपाली कांग्रेसका जिल्ला सभापति खड्गबहादुर पोखरेल निर्वाचित भएका छन्।
पोखरेलले १८ हजार २६३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका ठम्बरबहादुर विष्टले १५ हजार १८८ मत प्राप्त गरेका छन्।
कालिकोट–२ बाट नेपाली कांग्रेसका हिक्मतबहादुर विष्ट निर्वाचित भएका छन्। विष्ट ७ हजार ९४४ मतान्तरले निर्वाचित भएका छन्।
उनले १३ हजार ७८३ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र बोगटी ५ हजार ८३९ मत प्राप्त गरेका छन्।
हुम्ला–२ बाट कर्णाली प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। उनी ७ हजार ५६ मत ल्याएर निर्वाचित भएका हुन्। शाहीका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार छक्कबहादुर लामाले २ हजार ९ सय ७९ मत ल्याएका हुन्।
नेकपा माओवादीले डोल्पा २, सल्यान १, सुर्खेत–१ (२), सुर्खेत–२ (२), कालीकोट–१, हुम्ला १, रूकुम पश्चिम १, २ र मुगु २ बाट प्रदेश सभा सदस्य जितेको छ।
डोल्पा–२ बाट कर्णाली प्रदेश सरकारका वहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। शाहीले बाट ५ हजार २९५ मत पाएका छन्।
उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे। एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन्।
प्रदेशसभा–१ मा नेकपा माओवादी केन्द्रका भीमप्रकाश शर्मा २२ हजार २४३ मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार कुलबहादुर गिरीले १४ हजार २२५ मत पाएका छन्। प्रदेश सभा सदस्यमा निर्वाचित शर्मा महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा राजनीतिक सल्लाहकार थिए।
सुर्खेत–१ (२) मा माओवादी केन्द्रका कृष्ण जिसी निर्वाचित भएका छन्। एमालेका डण्डीप्रसाद शर्मालाई ४ हजार १९६ मतान्तरले पराजित गर्दै जिसी निर्वाचित भएका हुन्। जिसीले २० हजार ४५५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी शर्माले १६ हजार ३ सय १६ मत प्राप्त गरे।
सुर्खेत–२ (२) मा पनि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट प्रदेश सभा सदसयमा निर्वाचित भएका छन्। उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५ सय ७५ मतान्तरले पराजित गरेका हुन्।
विष्टले १३ हजार ९०९ मत पाएका छन् भने एमालेका गौतमले ९ हजार ३३४ मत प्राप्त गरेका छन्। विष्ट यसअघि २०७४ मा पनि प्रदेश सभा सदस्य बनेका थिए। उनी कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन्।
कालिकोट–१ नेकपा माओवादी केन्द्रका दुर्गबहादुर रावत निर्वाचित भएका छन्। रावतले १ हजार ५९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन्। रावतले ९ हजार ११ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका कुर्मराज शाहीको पक्षमा ७ हजार ९५२ आएको छ।
हुम्ला–१ मा नेकपा माओवादी केन्द्रका रणसिंह परियार निर्वाचित भएका छन्। प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाही थिए। परियार ६ हजार ४८१ मतसहित विजयी हुँदा शाहीले ४ हजार ६३० मत प्राप्त गरे। नेकपा एमालेका उम्मेदवार दल फडेराले २ हजार ९९ मत प्राप्त गरे।
रूकुम पश्चिम–१ मा माओवादीका महेन्द्र केसी निर्वाचित भएका छन्। केसी १९ हजार ३३ मतसहित प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नारायणकुमार शाहले ८ हजार ८१ मत ल्याएका छन्।
रूकुम पश्चिम–२ मा पनि माओवादीका राजकुमार शर्मा प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। शर्माले २० हजार १६० मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका कर्णबहादुर घर्ती मगरले ८ हजार ७८ मत पाएका छन्।
मुगु–२ मा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज मंगलबहादुर शाही ८ हजार ४ सय २९ मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर मल्लले ४ हजार ८ सय ८४ मत प्राप्त गरेका छन्।
कर्णाली प्रदेश सभा सदस्य जित्ने दल र उम्मेदवारः
नेकपा माओवादी केन्द्र
हुम्ला (१): रणसिंह परियार
डोल्पा (२): वीरबहादुर शाही
कालीकोट (१): दुर्गाबहादुर रावत
सल्यान (१): भीमप्रकाश शर्मा
रूकुम पश्चिम (१): महेन्द्र केसी
रूकुम पश्चिम (२) : राजकुमार शर्मा
सुर्खेत–१ (२) कृष्ण जिसी
सुर्खेत–२ (२) विन्दमान विष्ट
मुगु (२) मंगलबहादुर शाही
नेपाली कांग्रेस
सुर्खेत (१) खड्ग पोखरेल
जाजरकोट (१) वेदराज सिंह
जाजरकोट (२) राजिवविक्रम शाह
सल्यान (२) सुरेश अधिकारी
दैलेख–१ (१) पुर्णबहादुर खत्री
दैलेख–१ (२) कृष्ण विसी
दैलेख–२ (१) घनश्याम भण्डारी
कालीकोट (२) हिक्मतबहादुर विष्ट
हुम्ला (२) जीवनबहादुर शाही
नेकपा एमाले
सुर्खेत–२ (१) यामलाल कँडेल
दैलेख–२ (२) विनोदकुमार शाह
जुम्ला (२) टेकराज पछाई
डोल्पा (१) शेरबहादुर बुढा
मुगु (१) जीतबहादुर मल्ल
स्वतन्त्र
जुम्ला (१) देवेन्द्रबहादुर शाही