पार्टी र संसदमा लामो समययता किनारामा धकेलिएका नेकपा एमालेका पुराना नेता भीम आचार्य फेरि एकपटक प्रतिनिधिसभामा फर्केका छन्।
सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेस नेता सीताराम महतोलाई पछि पार्दै केन्द्रको संसदीय भूमिकामा उनलाई मतदाताले फर्काएका छन्।
आचार्यले ३२ हजार ८ मत प्राप्त गर्दै विजेता बन्दा कांग्रेसका महतोले २६ हजार ५८ मत पाएका छन्।
निर्वाचनअघि आचार्यले टिकट पाउने–नपाउने टुंगो थिएन। उनले टिकटका लागि नै पार्टीभित्र ठूलो संघर्ष गर्नुपरेको कार्यकर्ताहरू बताउँछन्। लामो समयदेखि एमालेभित्र माधव नेपाल टिममा रहेका आचार्य ओलीका आलोचक थिए। ओली शक्तिमा आएपछि उनी बारम्बार अवसर विमुख बने।
दसबुँदे सहमतिपछि एमालेमै रहेका उनलाई पार्टी अध्यक्ष ओलीले दलभित्र पनि भूमिका दिन चाहेनन्। त्यसैले एमालेको सौराहा महाधिवेशनमा संस्थापन पक्षले ‘भोट नदिने सूची’ बाँड्दा आचार्यको नाम पनि थियो। परिणामतः उनी एमाले सचिव हुनबाट रोकिए।
कुनै बेला एमालेमा राम्रो ‘होल्ड’ गर्ने नेताका रूपमा परिचित आचार्य २०७४ को आमनिर्वाचनपछि लामो समय किनारामै रहे। एमाले विभाजनलगत्तै दुई महिनाभन्दा केही दिन बढी प्रदेश १ को मुख्यमन्त्री बनेबाहेक पछिल्लो पाँच वर्ष उनका लागि बिर्सनलायक रह्यो।
पार्टीभित्र लगातार किनारामा धकेलिएका उनलाई पुराना सहयोगीहरूले पनि साथ छाडे। त्यही भएर विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पद त्याग्नुपर्यो।
प्रदेश १ को संस्थापक मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभा निर्वाचन लडेका उनले चुनाव त जिते तर संसदीय दलमा जित्न सकेनन्। दलको निर्वाचनमा आफ्नै समूहका केही नेताको ‘धोका’ पछि आचार्य जुनियर नेता शेरधन राईसँग दुई मतको अन्तरले पराजित भए।
आफ्नै कार्यकर्ताले संसदीय दलमा हराएपछि आचार्यका लागि विराटनगरस्थित प्रदेशसभा बिरानोजस्तै बन्यो। अधिकांश समय उनले सुनसरीको इनरूवास्थित निवासबाट आउने र हाजिर गरेर फर्किने क्रममै बिताए। यसपटक बल्लतल्ल टिकट पाएका उनलाई मतदाताले फेरि एकपटक संसद पठाएका छन्।