नेकपा एमालेसँगको राजनीतिक साइनो तोडेको ठ्याक्कै एक दशकपछि अशोक राई एमालेकै सहयोगमा प्रतिनिधिसभामा फर्किएका छन्।
प्रतिनिधिसभामा तेस्रोपटक प्रत्यक्ष निर्वाचित हुने क्रममा जनता समाजवादी पार्टीका नेता राईले सुनसरी १ मा १७ हजार ५९ मत प्राप्त गरेका छन्।
यसअघि २०४८ र २०५१ मा खोटाङबाट प्रतिनिधिसभामा एमालेबाट निर्वाचित उनी २०७० को दोस्रो संविधानसभा चुनावमा संघीय समाजवादी पार्टीबाट समानुपातिक सदस्य चुनिएका थिए ।
प्रतिनिधिसभामा तेस्रोपटक प्रत्यक्ष चुनिन उनलाई एमालेकै सहयोग कामयाबी सावित भयो। लामो राजनीतिक जीवनको बहुसंख्यक समय एमालेकै श्रीवृद्धिका लागि खर्चिएका राई २०६९ मंसिर ७ पछि भने आफ्नै पूर्व पार्टीको कठोर आलोचक मात्रै थिएनन्, उसको ठूलो शक्तिसहित पार्टी छाडेका थिए।
खासगरी पहिचानको मुद्दामा एमाले र नेतृत्वले लिएको विचारसँग उनी असन्तुष्ट र आक्रोशित थिए। त्यहीँ आक्रोश र पहिचानको मुद्दा स्थापित गर्ने हुटहुटीले २०६९ मंसिर पहिलो साता एउटा ठूलो समूहले एमालेबाट बाहिरिँदै संघीय समाजवादी पार्टी गठन गरेको थियो।
त्यसबेला राईसँगै एमालेबाट बाहिरिएकामध्ये कतिले उनको साथ छाडे, कतिले अझै पनि साथ दिइरहेकै छन्। यसबीचमा उनको राजनीतिक उतारचढाव बेहिसाब जस्तै रह्यो। कुनैबेला एमालेमा शीर्ष तहको नेता मानिने उनी २०७२ जेठ २२ मा मधेशी जनाधिकार फोरमसँग एकता गरेपछि उपेन्द्र यादवपछिको वरियतामा रहे। पछिल्लो समय बाबुराम भट्टराई पनि पार्टीमा थपिएपछि उनी भूमिकाका हिसाबले छायामै थिए।
भद्र, शालीन र प्रतिबद्ध नेताको पहिचान स्थापित गरेका उनले मुलुकमा पहिचानको मुद्दा स्थापित गराएको जस पाउने गरेका छन्। यो जस पाइरहँदा राजनीतिक उपलब्धिका दृष्टिले भने उनले धेरै चिज गुमाएका छन्। राजनीतिक मुद्दा स्थापित गरेकोमा सन्तोष मान्ने राईले त सार्वजनिक रूपमा कहिल्यै गुनासो गरेका छैनन् तर उनीभन्दा जुनियरहरु मुलुकको सर्वोच्च पदमा आसिन हुनपुग्दा धेरैले ‘अशोक राई छायाँमा परेको’ बताउने गरेका छन्।
व्यक्तिगत उपलब्धिका हिसाबले एमालेसँग विद्रोह गरेपछिको पछिल्लो एक दशक राईका लागि लागि सुखद् रहेन। कतिसम्म भने २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी सुनसरी १ बाट आफ्नै राजनीतिक शिष्य एमालेका जयकुमार राईबाट ठूलो मतान्तरले पराजित भए ।
उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि लगातार खुम्चिँदै गएको उनको राजनीतिक भूमिका संसद सदस्यमा पराजित भएपछि झनै ओझेलमा पर्दै गएको थियो।
यसपटक चुनावको मुखैमा जसपा र एमाले तालमेलको निर्णय भयो। सत्ता गठबन्धनसँगको साथ छाडेर एमालेसँगको चुनावी सहकार्य जसपा अध्यक्ष उपेन्द्र यादवका लागि अफापसिद्ध बन्दा राईका लागि भने संसद् पुग्न सहयोगी सिद्ध भएको छ। उनको जीतले उनलाई र समर्थकलाई दिएको खुसी यतिबेला धरान र आसपासका क्षेत्रमा छल्किरहेको छ।
सामाजिक सञ्जाललमा पनि देखिइरहेको छ। ‘नेपाली राजनितिक दुनियाँमा नयाँ भाष्य निर्माण गर्न हजारौं गोजीको अवसर लत्याएर शुन्यबाट संघर्ष थालनी गर्ने साहसिक योद्दा शालिनताको शिर तपाईँ प्रति इतिहासले पुनः जिम्मेवारी सुम्पेको छ’, झिल खिम्बुले राईले फेसबुकमा अशोक राईको फोटो राखेर लेखेका छन्।
चुनावमा सुनसरी १ को बहुसंख्यक एमाले पंक्तिले उनको काँध हाल्यो। र, उनी विजेता बने। राईको जीतमा एमाले पंक्ति पनि हर्षित बनेको देखिन्छ। ‘केन्द्रीय कमिटीको निर्णयलाई सुनसरी १ का एमाले कार्यकर्ताले शिरोपर गरेर हिँडेका हौं’, एमाले जिल्ला कमिटी सदस्य नवराज राईले भने, ‘पार्टी निर्णय कार्यान्वयनमा सफल भएका छौं। खुसी छौं।’
२०३३ सालमा कोअर्डिनेसन केन्द्रमा उनलाई अमृत बोहोराले संगठित गरेका थिए। निरन्तरको राजनीतिक सक्रियता र प्रतिबद्धताले उनलाई एमालेको सबैभन्दा लोकप्रिय उपाध्यक्षसम्म बनाएको थियो। २०६५ को बुटवल महाधिवेशनमा उनी सर्वाधिक मत ल्याएर उपाध्यक्ष चुनिएका थिए।
अन्तिम चुनावी परिणाम सुखद् आए पनि जसपा नेता राईका लागि यो चुनावी प्रतिष्पर्धा ज्यादै उतारचढावपूर्ण रह्यो। अन्तिम समयमा सत्ता गठबन्धन छाडेर एमालेसँग चुनावी सहकार्य गर्दा उनी कुन क्षेत्रबाट उठ्ने दोधार थियो।
उनले आफ्नो पुरानै क्षेत्र सुनसरी १ ताकेका थिए। तर, त्यहाँबाट एमालेका सांसद रहेका जयकुमार राई एकल दाबेदार थिए। यद्यपि लामो रस्साकस्सीपछि एमाले आफ्नो पुरानो गढ सुनसरी १ उनकै लागि त्याग्न तयार भयो।
बालकोटमा एमाले अध्यक्ष केपी ओली त तयार भए तर एमालेको स्थानीय पंक्ति विद्रोहमा उत्रियो। आफ्नो बलियो उपस्थिति रहेको ठाउँमा हिजो पार्टी छाडेका र एमालेकै कठोर आलोचकलाई टिकट दिनु हुन्न भन्ने मत उनीहरुको थियो। त्यसैले पार्टी नेतृत्वलाई चुनौती दिँदै धरानकै एमाले ेता मनोज मेयाङ्बोले बागी उम्मेदवारी दिए।
धरानका चिनिएका एमाले नेताहरुले खरायो चुनाव चिन्हका मेयाङ्बोलाई खुुला रुपमा मत मागे। तर, धरानका पूर्व मेयर मेयाङ्बोले प्राप्त गरेको ७ हजार ८१२ मत अशोक राईको संसद् यात्रा रोक्न अवरोध बनेन।