नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको सातौं संसद यात्रामा ‘ब्रेक’ लगाउँदै नेकपा एमालेकी भगवती चौधरी सुनसरी-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
मंगलबार साँझ सकिएको मतगणनामा भगवतीले गच्छदारलाई ५ हजार बढी मतान्तरले हराएकी हुन्। अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।
सुनसरी-३ को निर्वाचित जनप्रतिनिधि बनेर सिंहदरबार प्रवेश गर्न निरन्तर प्रयास गरिरहेकी ५१ वर्षीया चौधरी तेस्रो पटकमा लक्ष्य हासिल गर्न सफल भएकी छन्। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढ्दै गर्दा अनेरास्ववियुमा २०४८ सालमा संगठित बनेकी भगवती अहिले एमाले केन्द्रीय सदस्य पनि हुन्।
सुनसरीको दुहबी ३ की बासिन्दा उनले २०५१ सालमा ‘फरवार्ड एनजिओ’ स्थापना गरेर विभिन्न शैक्षिक तथा सामाजिक काममा हात हालेकी थिइन्। त्यही एनजिओलाई २०५९ मा लघुवित्तमा रूपान्तरण गरेकी उनले त्यही सालबाट सक्रिय राजनीतिमा पूरा समय दिन थालेकी थिइन्।
२०६४ को पहिलो संविधान सभामा समानुपातिक सदस्यका रूपमा संविधान सभा प्रवेश गरेकी उनी एकपटक वन राज्यमन्त्री पनि भएकी थिइन्।
२०७० मा पहिलो पटक प्रत्यक्ष चुनावी प्रतिष्पर्धामा ओर्लेकी भगवती त्यसबेला गच्छदारसँगै झिनो अन्तरले पराजित बनेकी थिइन्।
त्यही नियति २०७४ मा पनि दोहोरियो। वाम गठबन्धन भएका बेला पनि उनी उस्तै झिनो मतले पराजित भइन्। यद्यपि दुबै निर्वाचनमा आफूलाई धाँधली गरेर हराइएको आरोप उनले लगाउँदै आएकी छन्।
‘सुनसरी ३ का जनताले परिवर्तनको पक्षमा मतदान गरेर मलाई निर्वाचित गरेका छन्। आज यो क्षेत्रमा तानाशाही ढलेको छ’, उनले भनिन्, ‘यसअघिका दुई वटा चुनावमा मलाई शक्तिको दुरूपयोग गरेर धाँधली गरेर हराइएको थियो। यसपटक जनताले त्यसो हुन दिएनन्। मलाई राम्रो मतान्तरको जित प्राप्त भयो।’
भगवतीले भने जस्तै उनको ‘राम्रो मतान्तरको जित’ को सम्भावनाबारे सेतोपाटीले चुनावअघि नै लेखेको थियो।
पढ्नुस्:
सुनसरी ३ मा यसपालि अघिल्ला दुई पटक जस्तो झिनो मतान्तरले जित-हार हुने सम्भावना नरहेको र गच्छदारको सातौं पटकको संसद यात्रामा भगवतीले ब्रेक लगाउने सम्भावना रहेको सेतोपाटीले चुनाव अघि नै लेखेको थियो।
यो क्षेत्रका अढाई सयभन्दा बढी मतदातालाई प्रत्यक्ष भेटेर कुराकानी गरेपछि हामीले लेखेका थियौं, ‘अघिल्लोचोटि थोरै मतान्तरले विजयी गठबन्धनका उम्मेदवार गच्छदारलाई यसपालि जित हात पार्न मुस्किल देखिन्छ। संसदमा पुग्न सातौं जितको खोजीमा रहेका गच्छदारले यसपालि अघिल्लो निर्वाचनमा आफूले पाएको सबै मत जोगाउन नसक्ने स्थिति देखिन्छ।’
अन्तिम मत परिणाम सार्वजनिक हुँदा त्यो सम्भावना वास्तविकतामा परिणत भएको छ। भगवतीले यहाँ पहिलो जित दर्ता गर्दा प्रदेशमा ‘दोस्रो हुने’ दुई वटा संयोग उनलाई प्राप्त भएको छ।
उनी प्रदेश १ बाट प्रतिनिधि सभामा निर्वाचित हुने एमालेकी एकमात्र उम्मेदवार बनेकी छन्। कांग्रेसकी सीता गुरूङ यसअघि नै तेह्रथुमबाट विजेता बनिसकेकी छन्।
यसपटक प्रदेश १ बाट संसद पुग्ने दोस्रो जनप्रतिनिधि महिला बनेकी भगवती प्रदेशबाट तेस्रो प्रयासमा सफलता पाउने दोस्रो सांसद भएकी छन्। झापा १ बाट विश्वप्रकाश शर्माले पनि योपटक तेस्रो प्रयासमा प्रतिनिधि सभा प्रवेशको अवसर पाएका छन्।
यो चुनावी सफलताका लागि भगवतीले लामो अनि निरन्तर प्रयास गरेकी छन्।
‘निरन्तर प्रयास त कति गरें/गरें नि’, उनले भनिन् ‘मैले पहिल्यै जितेको चुनाव धाँधली गरेर हराइयो। त्यसले मेरो व्यक्तिगत राजनीतिक करिअर धेरै पछि पर्यो। मतदाताले पहिल्यै न्याय गरेका हुन्। तर, यहाँको सिस्टमले मलाई अन्यायमा पारको थियो।’
२०७० मा तत्कालीन फोरम लोकतान्त्रिकबाट उम्मेदवार बनेका गच्छदारले भगवतीलाई पहिलोपटक पराजित गरेका थिए। त्यसबेला गच्छदारले १७ हजार ५ सय २४ मत पाउँदा चौधरीले १७ हजार १ सय ६२ मत पाइन्। जम्मा ३६२ मतको चुनावी हारपछि एमालेले गच्छदारले धाँधली गरेको आरोप लगाएको थियो।
उम्मेदवारले हारपछि लगाउने आरोपकै एउटा हिस्सा सम्झेरै हुनुपर्छ उनको आरोप प्रमाणित भएन। उनले पनि थप पहल केही गरिनन्। तर, २०७४ मा ३२१ मतले मात्रै पराजित भएपछि भने भगवती अदालत नै गइन्। तर, अर्को चुनावको नतिजा आइसक्दासम्म पनि उनको मुद्दा भने अझै विचाराधीन नै छ।
त्यसबेला गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेर जित हात पार्दा भगवतीले ३८ हजार ६ सय ५१ मत पाएकी थिइन्।
यसपटक भने सुरूदेखि नै यो क्षेत्रमा भगवती बलियो देखिएकी थिइन्। यसअघि गच्छदारलाई लगातार छ चोटी जिताइसकेकाले सातौं पटक फेरि उनलाई नै भोट नहाल्ने सोच बनाएको बताउने मतदाताहरू हामीले धेरै भेटेका थियौं। गच्छदार हालसम्म दर्जनौं पटक मन्त्री, उपप्रधानमन्त्री हुँदा पनि यस क्षेत्रका लागि के गरे भन्ने प्रश्न धेरै मतदाताले सोधेका थिए।
यो क्षेत्रमा ०४८ पछिका सबै चुनाव जित्ने रेकर्ड बनाएका गच्छदारले २०४८, २०५१ र २०५६ को निर्वाचन कांग्रेसबाट जितेका थिए। २०६४ मा मधेसी जनअधिकार फोरम र २०७० मा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट विजयी भए। २०७४ मा उनले फेरि कांग्रेसबाट चुनाव जितेका थिए। यसपटक पनि जित्ने उनको लक्ष्य भगवतीले पूरा हुन दिइनन्।
पछिल्लो समयमा नेता गच्छदारमाथि लागेको बालुवाटारको जग्गा प्रकरणको मुद्दा , भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी यसपालि चुनाव जिते पनि संसद छिर्न नपाउने सम्भावनाबारे सुनसरी ३ मा चुनावअघि नै ठूलो चर्चा थियो।
गच्छदारलाई विवादका यी श्रृंखलाले लखेटिरहँदा दुई पटक हारेकी भगवतीप्रति भने सहानुभूति र महिलाको भोट प्रशस्त आकर्षित हुने अवस्था देखिएको थियो। चुनावी परिणामले पनि अन्ततः त्यही देखायो।