दाङमा ६४ जना उम्मेदवारको जमानत जफत भएको छ। तीन संघीय निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ८९ जना उम्मेदवार मैदानमा उत्रिएका थिए।
प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ सिटका उम्मेदवार मध्य २५ जनाले मात्रै जमानत जोगाउन सके। बाँकी ६४ उम्मेदवारको जमानत जफत भएको छ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि १० हजार र प्रदेशसभा सदस्य पदका उम्मेदवारका लागि ५ हजार धरौटी लिइएको थियो । त्यसमा महिला, दलित र अल्पसंख्यकलाई ५० प्रतिशत छुटको ब्यवस्था थियो ।
जिल्लामा गठबन्धनबाट प्रतिनिधि तथा प्रदेशसभातर्फ निर्वाचित ९ जना, नेकपा एमालेका प्रतिनिधिसभा र प्रदेशसभाका ९ जना, राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिनिधिसभा तर्फका ३ उम्मेदवार, नागरिक उन्मुक्ति पार्टीबाट क्षेत्र नं. १ प्रतिनिधिसभाका उम्मेदवार १ जना र १ (१) र १(२)बाट प्रदेशसभामा उम्मेदवार बनेका उम्मेदवारसहित राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दाङ निर्वाचन क्षेत्र नं. २ (१) मा उम्मेदवार बनेका एक जना उम्मेदवारले मात्र जमानत बचाउन सफल भएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा ७१ मा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।
जमानत जफत हुनेमा प्रतिनिधिसभाका २८ जना र प्रदेशसभातर्फ ३१ जना उम्मेदवार छन । जसअन्तर्गत क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार हाम्रो नेपाली पार्टीका उम्मेदवार पूर्व सांसद गंगा सत्गौवा थारू पनि एक छिन्।
एमालेबाट टिकट नपाएपछि उनी अन्त्यमा पार्टी परित्याग गरि हाम्रो नेपाली पार्टीबाट उम्मेदवार बनेकी थिइन्। यहाँ एमालेले शान्ता चौधरीलाई उम्मेदवार बनाएको थियो।
त्यस्तै संघीय लोकतान्त्रिक थरूहट मञ्चका उम्मेदवार पूर्व सांसद रुक्मिना चौधरी,राष्ट्रिय प्रजातन्त्र पार्टीका लिली बुढाथोकी, मंगल नेशनल अर्गनाइजेशनका शोभाराम बुढा, नेपाली कांग्रेस बिपीका अशोक खड्का, लोकतान्त्रिक समाजवादी पार्टीका प्रतिभा बुढामगर, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्वुजा र स्वतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेसहित ८ जना उम्मेदवार रहेका छन्।
दाङ क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भोलानाथ योगी, मंगोल नेशनल अर्गनाइजेशनका खड्गबहादुर बुढामगर, नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, हाम्रो नेपाली पार्टीका शशिराम चौधरी, नेपाल आमा पार्टीका गीता रावत, नेपाली कांग्रेस विपीका गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीका रामचन्द्र खड्का, नेपाल मजदुर किसान पार्टीका आशाराम वैद्यको जमानत जफत भएको छ। त्यस्तै स्वतन्त्र उम्मेदार कृष्णबहादुर डाँगी, यमलाल जिसी र भुपनाथ अर्जेजगरी १२ को जमानत जफत भएको छ ।
क्षेत्र नं. ३ मा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ओजबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेलिनवादी) का शालिकराम चौधरी, नागरिक उन्मुक्ति पार्टीका कुमार चौधरी, मंगल नेशनल पार्टीका घनश्याम चौधरी, जनता समाजवादी पार्टी नेपालका देवीलाल डाँगी, राष्ट्रिय जनमुक्ति पार्टीका कृष्णविर नेपाली, नेपाल मजदुर किसान पार्टीका वीरबहादुर चौधरीको जमानत जफत भएको छ।
स्वतन्त्र उम्मेदवार हेमन्तबहादुर मल्ल, भुपबहादुर भण्डारी, तिलक खड्का, लिलाधर न्यौपाने, घनश्याम डाँगी र टोपेन्द्र बस्नेत गरी १३ जनाको जमानत जफत भएको छ।
त्यस्तै प्रदेश सभातर्फ ३१ जना जमानत गुमाउने मध्ये क्षेत्र नं. १ मा ४ महिला र १३ पुरूष गरी १७ जना, प्रदेशसभासहित क्षेत्र नं. २ मा २ महिला र १८ जना पुरुष गरी २० जना र क्षेत्र नं. २ मा १ महिला र २६ पुरुष गरी २७ जना उम्मेदवारको जमानत जफत भएको छ।
निर्वाचन क्षेत्र–१ मा प्रतिनिधिसभा तर्फका ४ महिला र ४ जना पुरुष गरी ८ जना, क्षेत्र नं. २ मा १ महिला र ११ पुरुष गरी १२ जना र क्षेत्र नं. ३ मा १३ जना पुरुष गरी ३३ जना उम्मेदवारको जमानत जफत भएको छ ।
दाङमा २६ हजार बढी मत बदर
दाङमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा अन्तर्गत प्रत्यक्ष निर्वाचनतर्फ २६ हजार ५ हजार ५ सय ४२ मत बदर भएको छ।
दाङमा कुल ४ लाख १४ हजार ९ सय ५६ जना मतदाता रहेकामा २ लाख ४८ हजार ९ सय ९ मत खसेको थियो। यस बाहेक तुलसीपुर कारागारका १ सय ३६ र घोराही कारागारका १ सय ११ जनाले मतदान गरेका थिए। जसमध्ये १४ हजार ७ सय ९ प्रतिनिधिसभातर्फ र ११ हजार आठ सय ३३ मत प्रदेशसभातर्फ बदर भएको पाइएको छ।
यहाँ समानुपातिकतर्फ २० हजार २ सय ३५ मत बदर भएको छ। समानुपातिक प्रतिनिधिसभातर्फ १३ हजार छ सय ३५ र प्रदेशसभातर्फ ६ हजार तीन सय मत बदर भएको छ।
निर्वाचन क्षेत्र नं. १ मा ६ हजार ७ सय ४६, क्षेत्र नं. २ मा ६ हजार ४ सय २५ र क्षेत्र नं. ३ मा ७ हजार ६४ मत बदर भएको छ।
त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं. १ मा एक लाख ३४ हजार सात सय ३३ मतदाता मध्य ७८ हजार दुई सय ६७ मत खसेको थियो। जसमध्ये ४ हजार ५ सय ८० मत बदर भएको छ।
निर्वाचन क्षेत्र नं. २ मा १ लाख ३३ हजार ७ सय ४८ मतदाता मध्य ७९ हजार ३ सय ३७ मत खसेकोमा ४ हजार ७ सय छ मत बदर भएको छ ।
निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ४६ हजार ४ सय ७५ मतदाता मध्ये ९० हजार ५ सय ३५ मत खसेको थियो। यहाँ ५ हजार ४ सय ३२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयका सूचनाअधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं. १ (१) मा ७० हजार २ सय ६७ मतदाता रहेकोमा ३९ हजार ८ सय ४४ मत खसेको थियो । जसमध्ये २ हजार ४ सय १० मत बदर भएको छ ।
क्षेत्र नं. १ (२) मा ६४ हजार चार सय ६६ मतदाता थिए भने यहाँ ३८ हजार ४ सय ५४ मत खसेको थियो । त्यसमध्य १ हजार ७ सय ६३ मत बदर भएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ (१) मा ६३ हजार ३ सय २२ मतदाता थिए भने ३६ हजार हजार ९ सय ९३ मत खसेको थियो । यहाँ १ हजार ४ सय ८५ मत बदर भएको छ ।
क्षेत्र नं. २ (१) मा ७० हजार ४ सय २६ मतदाता रहेकोमा ४२ हजार १ सय ५२ मत खसेको थियो । यहाँ २ हजार ३९ मत बदर भएको छ ।
निर्वाचन क्षेत्र नं. ३ (१) मा ६६ हजार ४ सय ६८ मतदाता रहेकोमा ४० हजार ४ सय ७४ मत खसेको थियो । यहाँ १ हजार ८ सय ७८ मत बदर भएको छ ।
क्षेत्र नं. ३ (२) मा ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ३३ मत खसेको थियो । यहाँ २ हजार दुई सय ५८ मत बदर भएको छ ।
दाङमा प्रतिनिधिसभातर्फ कुल मतदाताको ६७ दशमलव ६४ प्रतिशत मत खसेकोमा १३ हजार ७ सय २६ अर्थात ५ दशमलव ९८ प्रतिशत मत बदर भएको छ ।
त्यस्तै प्रदेशसभातर्फ कुल मतदाताको ६७ दशमलव ६७ प्रतिशत मत खसेकोमा ११ हजार ९ सय ६९ अर्थात ५ दशमलव २२ प्रतिशत मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।