अस्थायी राजधानी हेटौंडा तोकिएसँगै प्रदेश ३ का सांसदहरू तामझामसाथ पहिलो दिन शपथ लिन यहाँ आए । रसुवादेखि पूरै एक दिन खर्चेर आएकाहरू मात्र होइन, निकै पर्खाइपछि शपथ लिन पाउँदा सबै दंग देखिन्थे । माघ ७ गते शपथका दिन अधिकांश परिवारै लिएर आएका थिए । रमाइलो गरे, फोटो खिचे ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
उनीहरूलाई त्यस रात होटलहरूले निःशुल्क बास दिए । जिल्ला समन्वय समितिले खाना खुवायो । ‘पाहुना’ बनेर बस्नपाए । कतिपय सांसद आफ्नै समुदायको चिनारी झल्कने पोसाकमा थिए । शपथको अघिल्लो दिन आए, भोलिपल्टै आ–आफ्ना जिल्ला फर्किए ।
दोस्रो पटक प्रदेशसभाको बैठकमा भाग लिन १८ गते आउँदाको दृश्य भने फरक थियो । केही सांसद अघिल्लो दिनै आए । कोही भने त्यही दिन । कोही त बैठक चलिरहँदा हस्याङफस्याङ गर्दै छिरिरहेका देखिन्थे ।
दोस्रो पटकै उनीहरूमा उत्साह सेलाएको देखिन्थ्यो । न सुरु दिनजस्तो कोही जातीय पहिरनमा देखिए, न ध्यान दिएर बैठकमै अडिए । बरु अधिकांशलाई फर्किनै हतारो देखियो । एक घण्टा नबित्दै बैठक सकियो । अधिकांश सांसद बैठक हलबाट सीधै बसपार्कतर्फ हान्निए । निजी सवारीसाधनमा आएकाहरू गाडी लिएर सरासर गन्तव्यतर्फ लागे ।