अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्व चुहावट नियन्त्रणलाई पहिलो प्राथमिकता दिएका छन्। सोमबार अर्थमन्त्रीको पद सम्हालेपछि मन्त्री खतिवडाले राजस्व संकलन बढाउने काममा जोड दिँदै आएका छन्।
भन्सार विभागका निमित्त महानिर्देशक श्रीकृष्ण नेपाललाई मंगलबार बोलाएर भन्सारबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न निर्देशन दिएका थिए। मन्त्रीको मौखिक निर्देशन भन्सार विभागले तत्कालै भन्सार कार्यालयका प्रमुखहरूलाई जानकारी गराएको थियो। मौखिक निर्देशनलाई बुधबार लिखित रूपमै भन्सार विभाग पठाइएको छ। विभागका सूचना अधिकारी शिव भण्डारीले अर्थ मन्त्रालयबाट पत्र आएको बताए। उनले भने, ‘भन्सार राजस्व संकलन बढाउन अर्थमन्त्रीले दिनुभएको मौखिक निर्देशन मन्त्रालयले लिखित रूपमा पठाएको छ।’ बुधबार सवा पाँच बजे मात्र उक्त पत्र भन्सार विभाग पुगेको थियो।
होलीका कारण बिहीबार पहाडमा र शुक्रबार तराईमा बिदा भएकाले आइतबार मात्र उक्त निर्देशन सबै भन्सार कार्यालयले पाउनेछन्। विभागले बुधबार दिएको निर्देशनपछि सबैजसो भन्सार नाकाबाट सामान जाँचपासमा सजगता अपनाइएको छ। ‘राम्ररी सामान जाँच गरेर मात्र भन्सार पास गर्नू भन्ने सामान्य निर्देशन हो’, विभागका सूचना अधिकारीले भने, ‘राजस्व छल्न पल्केकाले बढी हल्ला गरे। राजस्व संकलन बढाउन खोज्दा कसलाई असर पर्छ भन्ने विषय हाम्रो सरोकारमा पर्दैन।’