एमाले अध्यक्ष केपी ओली र संघीय फोरम अध्यक्ष उपेन्द्र यादवबीच मंसिर अन्तिम साताबाट सुरु भएको सत्ता बाँडफाँटको छलफलले आइतबारसम्म निकास पाउने भएको छ । प्रधानमन्त्री ओली दुई पार्टीबीच बाँडफाँटको टुंगो लागेपछि आइतबारै सरकारलाई पूर्णता दिने तयारीमा छन् ।आजको अन्नपुर्णमा खबर छापिएको छ ।
फोरमले मन्त्रिपरिषद्मा दोस्रो वरीयतासहित तीन मन्त्री र एक राज्यमन्त्री अथवा दुई मन्त्री, एक राज्यमन्त्री र उपसभामुख मागेपछि वार्ता लम्बिएको हो । यादवले मन्त्रिपरिषद्मा आफ्नो मर्यादाक्रमबारे विगतकै बैठकमा दाबी राख्दै आए पनि प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्पष्ट जवाफ नदिएको फोरम नेताहरूले बताएका छन् । ‘म दुई–दुईपटक उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री भइसकेकाले प्रधानमन्त्रीपछिको मर्यादाक्रम हुनुपर्छ’, मर्यादाक्रममा आफू अगाडि हुनुपर्ने कारण राख्दै यादवले भनेका छन् ।
एमाले सचिव प्रदीप ज्ञवालीले १५, १६ र १७ गते तीन दिन फोरमसँग तीव्र रूपमा परामर्श भएको र शनिबारसमेत हुने भएकाले आइतबारसम्म सरकारले पूर्णता पाउन सक्ने बताए । उनले भने,‘‘संविधान संशोधनमा एमाले ओपन छ ।’ फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विकास–निर्माण र जनतासँग सरोकार राख्ने मन्त्रालयबारे कार्यदलस्तरमा छलफल भएको जानकारी दिए । ‘कुन मन्त्रालय भन्ने निश्चित भइसकेको छैन’, उनले भने, ‘पहिचानका मुद्दा मिलाउनुपर्छ । त्यसलाई व्यवस्थापन गर्न अलिकति समय त लागिहाल्छ । फेरि कसैले कसैमाथि धोका दिने काम गर्नु हुँदैन भन्नेमा ठोस प्रतिबद्धता खोजिएको छ ।’
फोरम र राजपाले १३ महिने मधेस आन्दोलन र सातमहिने नाकाबन्दीका समयमा पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल मुद्दा उठाएका थिए । तर, अहिले जनमत आफ्नो पक्षमा नआएको र एमालेको विगतको व्यवहारका कारण संविधान संशोधन हुनेमा शंका उब्जिएको फोरम महासचिव रामसहाय यादव बताउँछन् ।