पेरिस एयर शोमा आयोजित स्काइट्र्याक्स वर्ल्ड एयरलाइन्स अवार्ड २०१७ मा कतार एयरवेजलाई ‘एयरलाइन अफ द इयर’ उपाधिद्वारा सम्मानित गरिएको छ। विश्वकै उत्कृष्ट एयरलाइनको उपाधी कतार एयरवेजलाई प्रदान गरिएको यो चौथो पटक हो।
विश्वभरका हवाई यात्रीद्वारा प्रदान गरिएको भोटका आधारमा उत्कृष्ट एयरलाइनको उपाधिका साथै कतार एयरवेजले ‘बेष्ट एयरलाइन इन द मिडल इष्ट’ ‘वर्ल्ड्स बेष्ट बिजनेश क्लास र बेष्ट फर्स्ट क्लास एयरलाइन लाउन्ज’ लगायत प्रमुख उपाधि पनि हात पार्न सफल भएको छ ।
कतार एयरवेजको ‘होम एण्ड हब’ हमाद ईन्टरनेशनल एयरपोर्टलाई यस वर्ष पनि स्काइट्र्याक्सद्वारा पाँच तारेको उपाधि प्रदान गरिएको छ । यो उपाधि हमाद ईन्टरनेशनल एयरपोर्ट लगायत विश्वका अन्य ४ विमान स्थललाई मात्र प्रदान गरिएको छ ।
कतार एयरवेजलाई प्रदान गरिएको विश्वकै उत्कृष्ट विमान कम्पनीको यो उपाधि आफ्ना यात्रीहरुको विश्वासको प्रमाण भएको कतार एयरवेजका ग्रुप चिफ एक्जिक्यूटिभ महामहिम अकबर अल बाकरले बताएका छन्।
‘यात्रीलाई पूर्ण सन्तुष्टि प्रदान गर्ने हाम्रो निरन्तर प्रयासको सम्मानका रुपमा हामीले यसलाई लिएका छौँ’ उनले भने ‘यात्रीहरुको प्रत्यक्ष भोटका आधारमा प्रदान गरिएको यो उपाधिले हाम्रा लागि अहम महत्व राख्छ । यसका लागि हामी उहाँहरुलाई धन्यवाद ज्ञापन गर्दै थप सेवा गर्ने मौका प्रदान गर्नेमा आशावादी छु ।’
अवार्डका बारेमा बोल्दै अनधिकृत रुपमा लगाइएको फ्लाइट बन्देजको समयमा प्राप्त यो अवार्ड आफू वा एयरलाइनको लागि नभइ समग्र देशका लागि भएको बाकरले बताए ।