भारत विहारस्थित फारबिसगन्ज-जोगवनी सडकखण्डनजिकै बाढीले क्षति पुर्याएको रेलमार्ग मर्मत गर्न त्यहाँको सरकारले दैनिक एक हजार मजदुर परिचालन गरेको छ । तर, नेपालतर्फ मालवाहक गाडी आउने त्यही सडकमा भासिएको पुल मर्मतमा भने उसले चासो दिएको छैन । पुल मर्मत नहुँदा एक सातादेखि मालवाहक गाडी नेपालतर्फ आउन सकेका छैनन् ।
यसबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुलीमा गिरावट आएको छ । यस्तै अवस्था रहने हो भने भदौमा लक्ष्यअनुसार राजस्व असुली नभई सरकारलाई ठूलो आर्थिक नोक्सानी हुने विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए । ‘असार २८ गते आएको बाढी र त्यसपछिका चार दिनसम्म भन्सारको राजस्व असुली ठप्प भयो', उनले भने, ‘त्यसपछि बथनाहामा भारतीय पुल भासिएपछि आठ दिनदेखि राजस्व असुली प्रभावित भएको छ । लक्ष्यअनुसार राजस्व नउठ्ने देखिएको छ ।'अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ ।
भदौमा साढे दुई अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएकोमा हालसम्म ४४ करोड रुपैयाँमा मात्र संकलन भएको छ । पुल भासिएपछि दैनिक आठ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य पूरा हुन सकेको छैन । भारतीय भूमिमै अलपत्र परेका सयौं संख्याका कन्टेनर तथा मालवाहक गाडी भीमनगर-भन्टाबारी छोटी भन्सारको बाटोबाट सानो संख्यामा मात्र नेपाल आएका छन् । यसले राजस्व असुलीमा ठूलो असर पुगेको छ । उद्योगी तथा व्यवसायीले यो बाटोबाट मालसामान तथा औद्योगिक कच्चापदार्थ आयात गर्दा अतिरिक्त डिटेन्सन चार्ज र थप ढुवानी खर्च बेहोर्नुपरेको बताएका छन् ।
‘हामीले सरकार, नेपालस्थित भारतीय दूतावास, भन्सार विभाग तथा अन्य निकायलाई पुल मर्मत गर्ने विषयमा ध्यानाकर्षण गराए पनि यसमा चासो दिइएको छैन', मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष सुशील जोशीले भने । भारततर्फ भत्किएको रेलवे लिक मर्मत गर्न त्यहाँको सरकारले दु्रत गतिमा काम अघि बढाए पनि पुलमा भने फलामे बार लगाएर नेपालतर्फ आउने मालवाहक गाडी तथा कन्टेनरलाई रोकेको उनले बताए । दुई साताअघि आएको बाढीले भारत तथा तेस्रो मुलुकको आयातनिर्यातका लागि मेरुदण्ड मानिने फारबिसगन्ज-जोगवनी सडकमा पर्ने परमान नदीको मिरगन्ज पुल भासिएको छ ।