प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको अन्तिम नामावली टुङ्गो लगाउन काँग्रेस संसदीय समितिले गृहकार्य थालेको छ ।
समानुपातिक उम्मेदवारीको तीन दिन अघिसम्म पनि पार्टीका जिल्ला निकायबाट अझै उम्मेदवारी सिफारिस आउने क्रम जारी नै रहेको छ । प्राप्त जानकारीअनुसार अझै चारवटा जिल्लाबाट सिफारिस आइपुगेको छैन ।
७७ जिल्लामध्ये बिहीबारसम्ममा ७३ जिल्लाबाट उम्मेदवारको नाम सिफारिस भएर आए पनि धनुषा, सप्तरी, महोत्तरी र मुस्ताङबाट सिफारिस आउन बाँकी रहेको काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिए। पार्टीको हालै बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले शुक्रबारसम्म उम्मेदवारको नामावली टुङ्गो लगाउने निर्णय गरिसकेको छ । अाजकाे गाेरखापत्रमा खबर छापिएकाे छ ।
निर्वाचनका लागि पार्टीका अधिकांश शीर्ष नेताको नाम सिफारिस भएर आएको छ । पार्टी सभापति शेरबहादुर देउवाको नाम डडेलधुरा १ बाट वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम तनहुँ १ र २ बाट सिफारिस भएको छ । महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी–१ बाट, कोषाध्यक्ष सीतादेवी यादव सिरहा–३ बाट सिफारिस भएका ५न् । पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ–१ बाट, अर्का नेता कृष्णप्रसाद सिटौलाको नाम झापा–३ बाट सिफारिस भएर आएको छ । गोपालमान श्रेष्ठ स्याङ्जा–२ बाट सिफारिस भएका छन् भने धनुषाले उम्मेदवारको टुङ्गो लगाइनसकेकाले नेता विमलेन्द्र निधिको नाम आइसकेको छैन ।
पाका नेता कुलबहादुर गुरुङको नाम इलामबाट समानुपातिकमा सिफारिस भएको छ । त्यस्तै खुमबहादुर खड्काको नाम दाङ–१ बाट सिफारिस भए पनि कानुनी रूपमा उनी उम्मेदवार बन्न पाउने छैनन् । चित्रलेखा यादवको नाम सिराह–२ बाट, सुर्खेत–१ बाट पूर्णबहादुर खड्काको नाम सिफारिस भएर आएको छ ।