यस वर्ष अनुकूल मौसम र उपयुक्त बीउ प्रयोगका कारण बझाङमा धान उत्पादनमा वृद्धि हुने भएको छ । धानको उत्पादन १५ देखि २० प्रतिशत बढ्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।अाजकाे कान्तिपुरमा खबर छापिएकाे छ ।
यस वर्ष जिल्लामा ८ हजार हेक्टरमा गरिएको धान खेतीबाट २८ हजार टनभन्दा बढी उत्पादन हुने कार्यालयले प्रारम्भिक अनुमान गरेको छ । यो गत वर्षभन्दा करिब ५ हजार टन बढी हो ।
गत वर्ष २३ हजार ५ सय टन धान उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत राजेशकुमार केसीले बताए । ०७२ मा २१ हजार ७ सय ९० टन धान उत्पादन भएको थियो । त्यस बेला प्रतिकूल मौसम र रोग किराको संक्रमणका कारण उत्पादनमा ठूलो गिरावट आएको थियो ।
यस वर्ष समयमै रोपाइँ सकिएको र स्थानीय जातको तुलनामा मूल बीउ र उन्नत जातको बीउ बढी प्रयोग भएका कारण समग्र उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।