विगत १७ बर्षदेखि पर्यटन क्षेत्रमा क्रियाशिल युवा पर्यटन व्यवसायी कृष्ण सुवेदीले भिटोफमा कुरा मात्र बढी भएको भन्दै काम गरेर देखाउन आफूले महासचिवमा उम्मेद्वारी दिएको बताएका छन्।
करिब साढे तीन वर्ष पर्यटकको भारी बोकेरै व्यवसाय सुरू गरेका सुवेदीले ग्रामिण पर्यटन विकासका लागि संस्थालाई गतिलो नेतृत्व चाहिएको अवस्थामा आफूले उम्मेद्वारी दिएको बताएका हुन्।
लामो समय ट्रेकिङ गाईडको रुपमा काम गरेका सुवेदीले नेपालका थुप्रै पहाड, पर्वत र गाउँलेसँग भलाकुसारी गरेका छन्।
चार बर्ष अघि भिटोफ नेपालको कार्यसमिति सदस्यको रुपमा जिम्मेवारी सम्हालेका सुवेदी हाल संस्थाको सह कोषाध्यक्षसमेत हुन्।
अहिले पाइरहेको जिम्मेवारीले आफूलाई चाहेको काम गर्न नदिने र चाहेर पनि भिटोफ र ग्रामिण पर्यटनको क्षेत्रमा केही गर्न निमलेकाले अधिकार र कार्यक्षेत्रको हिसावमा नेतृत्वमा बस्न चाहेको बताए।
सहकोषाध्यक्षको रुपमा काम गर्दा होमष्टे ट्रेकिङ ट्रेल निर्माणको संयोजन गर्ने जीम्मा पाएका उनले एउटा होमष्टेलाई अर्को होमष्टेसँग जोडेर दुई, तीन दिनको प्याकेज निर्माण गर्ने र पर्यटकको बसाई लम्ब्याउने कामको सुरूवात गरेका छन्।
कास्कीको ताङ्तिङदेखि याङ्जाकोटसम्म ट्रेल निर्माण भइसेकको भन्दै मुलुकमा यस्ता प्रसस्त ठाउँहरूमा सम्भावना भएकाले यदि आफू निर्वाचित भए त्यो गरेर देखाउने प्रण गरे।
करिब आधा दर्जन प्रतिश्पर्धीमाझ आफूलाई योग्यता, दक्षता र क्षमताले विजयी बनाउने दाबी गरे।
‘म हार्नु पर्ने कुनै कारण छैन। मसँग योग्यता क्षमता र अनुभव भएकाले महासचिवका लागि योग्य छु।’
यद्यपी उनले सकेसम्म सहमतिमै कार्यसमितिको टुङ्गो लाग्ने बताए।
‘सकेसम्म सहमतिमा कार्यसमिति टुंगिन्छ, यदि त्यस्तो नभए पनि चुनावबाट सहजै जित्छु,’ उनले भने।
विगतमा जुन कामहरु हामीले गरेका छौँ र कतीपय कामहरु मेरै संयोजकत्वमा पनि भएका छन्, तिनिहरुको निरन्तरता र थप विकासका लागि आफूले महासचिवमा उम्मेद्वारी दिएको उनले प्रष्ट पारे।
‘जुन कामको सुरुवात हामीले गरेका छौं र जे जे कामहरु अपुरा छन, ती कामहरु अरु कोहिबाट सम्भव हुन सक्दैनन । अरु साथीहरु आउनुभयो भने उहाँहरुले आफ्नै छुट्टै कार्यक्रम ल्याउनुहुन्छ र हामीले सुरु गरेका कामहरु अलपत्र पर्न सक्छन्,’ उनले भने।
यदि महासचिवमा आफू विजयी भए विभिन्न गाउँहरूलाई क्रमशः गन्तव्य गाउँको रूपमा घोषणा गरेर तिनीहरूको प्रवर्धन र थप विकास गर्ने उनले बताए।
देशभरीका होमष्टेहरुलाई अझ व्यवस्थित र गुणस्तरीय बनाउन आवश्यक तालिम प्रदान गर्नुका साथै तिनको प्रवर्दन र प्रचार प्रसार गरिने उनले बताए।
यही साउन १५ गते हुने (भिटोफको साधारणसभाको लागि उनले उम्मेद्वारी दिने घोषणा गरेका हुन् । हुन त महासचिव पदमा उम्मेद्वारी घोषणा गर्ने उनि मात्र एक्ला होइनन् ।
सुवेदीसहित पूर्व कार्यवाहक कोषाध्यक्ष दिपक खनाल, पूर्वसदस्य आशुतोस प्रधान र कार्यसमिति सदस्य केपी सुवेदीले पनि महासचिव पदमा दावी प्रस्तुत गरेका छन् । तर सुवेदी भने बलिया प्रतिस्पर्धीको रुपमा अघि आएका छन् ।
मञ्चको आगामी नेतृत्वका लागि १ महिला सहित ६ जनाले अध्यक्षमा, ४ जनाले महासचिवमा र एक जनाले कोषाध्यक्षमा आफ्नो दावी प्रस्तुत गरिसकेका छन् ।
पूर्व महासचिव राजकुमार थापासहित पूर्व प्रथम उपाध्यक्ष ध्रुव सिंखडा, वर्तमान प्रथम उपाध्यक्ष राम घले, द्वितिय उपाध्यक्ष दीपक दाहाल, वर्तमान महासचिव बासु पाण्डे र सचिव जस्पा पाण्डेले अध्यक्षमा दावी प्रस्तुत गरेका छन्।
भिटोफ नेपालको साधारणसभा साउन १५ गते हुँदैछ । जसले आगामी तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व छान्ने छ ।