मौसम खुलेसँगै विभिन्न पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ।
पर्यटकीय गन्तव्यहरुमा भ्रमण गर्ने र परिवार तथा साथीभाइबीच रामाइलो गर्ने नेपालीमा प्रचलन बढेको छ । यसले मुलुकको आन्तरिक पर्यटन प्रवद्र्धनमा विशेष टेवा पुगेको छ ।
विगतका वर्ष झैँ यो वर्ष पनि प्रमुख पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चाप बढेको छ । त्यहाँका होटल शतप्रतिशत पूर्ण रहेका छन् । पर्यटनका लागि वसन्त ऋतु उपयुक्त मानिन्छ । योसँगै नयाँ वर्षको रौनकताले खासगरी आन्तरिक पर्यटकको चहलपहल बाक्लिएको हो ।
यो सयममा वर्षको अन्तिम बिदा मनाउने, परीक्षा सकेर बसेका विद्यार्थीलगायत नेपालका प्रमुख पर्यटकीय गन्तव्यको भ्रमणमा निस्कन्छन् । राजधानी आसपासका पर्यटकीय क्षेत्रमा यतिखेर आन्तरिक तथा विदेशी पर्यटकको भीड लागेको छ। काठमाडौँ नजिकका गन्तव्य नगरकोट, धुलिखेल, चितवन, पोखरालगायत पर्यटकीय क्षेत्रमा अहिले पर्यटक खचाखच भरिएका छन् । ती गन्तव्यका पर्यटकस्तरीय होटल शतप्रतिशत पूर्ण रहेका व्यवसायीले बताएका छन् ।
यस्तै केही गन्तब्यहरू
रारातालकर्णाली अञ्चलको मुगुमा पर्ने राराताल (२९९० मिटर) मुलुककै ठूलो ताल हो । ताल १ सय ६७ मिटर गहिरो, ५.१ किमि लम्बाइ र ३ किमि चौडा छ । ताल किनारको लम्बाइ १४.६ किमि छ, हिँडेर फन्को मार्न ४ घन्टा लाग्छ ।
सरकारले विसं २०३२ सालमा बनाएको रारा राष्ट्रिय निकुञ्जको क्षेत्रफल १०६ वर्ग किमि छ । जुम्लाबाट पदयात्रा गर्दा घुच्चिको लेक(३,४४६ मिटर) र चुच्चेमारा (३,८०२ मिटर) पार गर्नु पर्छ । ताल किनारमा डाँफे र हेरिटेज नाउँका दुई होटल छन् । तालको पुरा छवी खिच्न मुर्माटप चढ्नु पर्छ ।
कसरी पुग्नेकाठमाडौं–जुम्ला ८२५ किमि । बसमा दुई दिन । काठमाडौं–नेपालगञ्ज–जुम्ला हवाई यात्रा एक घन्टा ३५ मिनेट । जुम्लाबाट ३ दिन हिँडे राराताल । अथवा नेपालगञ्जबाट मुगुको ताल्चासम्म ३५ मिनेट हवाई यात्रा । ताल्चाबाट दुई घन्टा पदयात्रामा ताल । बाँकेको कोहलपुरबाट सुर्खेत, कालिकोट हुँदै गमगढी ३७९ किमि । गमगढीबाट ३ घन्टा पदयात्रामा ताल । जुम्ला–गमगढी मोटर बाटो १२८ किमि ।
सम्पर्करारा राष्ट्रिय निकुञ्ज
मोहन बहादुर विश्वकर्मा, वार्डेन
फोनः ९९४८७००३७, ९८५१२२२८९९
डाँफे गेस्ट हाउस
गोपाल बम–९९४८७००३८
***
खप्तड सुन्दर सुदूरपश्चिमको आध्यात्मिक भुगोल–खप्तड । स्कन्द पुराणमा यसलाई खेचराद्री भनिएको छ । खप्तड हुँदै युधिष्ठिर स्वर्ग गएको विश्वास गरिन्छ । खप्तड बाबा आधा शताब्दीसम्म खप्तडमा बसेका थिए ।
खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक मन्दिर छन् । त्रिबेणीधाममा गंगा दशहराका बेला मेला लाग्छ । त्रिबेणीमा नुहाएमा पापबाट मुक्ति मिल्ने जनविश्वास छ ।
खप्तड (३२७६ मिटर) सुन्दर फूलबारी हो । त्यहाँ २२ वटा पाटन छन् । थरिथरिका चरा, वनस्पति र जडीबुटी पाइन्छ । सरकारले ०४३ असार ९ गते घोषणा गरेको खप्तड राष्ट्रिय निकुञ्ज २२५ वर्ग किमिमा फैलिएको छ । यसमा बाजुरा, डोटी, बझाङ र अछामको भूमि पर्छ ।
निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने घुम्न कम्तिमा दुई दिन छुट्याउनु पर्छ ।
खप्तडमा सेनाको एउटा गुल्म छ । निकुञ्ज कार्यालयले बीचपानी र मुख्यालयमा गेस्ट हाउस चलाएको छ । पहिल्यै खबर गरेर जाँदा मात्र त्यहाँ खाना र बास पाइन्छ । त्यहाँ अरु होटल छैनन् ।
कसरी पुग्नेःकाठमाडौं–धनगढी ६५० किमि । बसमा करिब १४ घन्टा । धनगढी–सिलगढी २०० किमि । बसमा आठ घन्टा । अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा । डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा झिग्रानामा बास । झिग्रानाबाट ८ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ ।
सम्पर्कखप्तड राष्ट्रिय निकुञ्ज
वार्डेन, चन्द्रबहादुर चन्द–९८५८४६२२५५
होटल सञ्चालक, लोकबहादुर खड्का –९८६८५८७०७५
मोहित ट्राभल्स, महेन्द्रनगर
सञ्चालक, परमानन्द भण्डारी–९८५८७५००७०
***
मुक्तिनाथ मुक्तिनाथ (३८०० मिटर) मन्दिर हिन्दु र बौद्धमार्गिको साझा तिर्थ मानिन्छ । मन्दिर दर्शन पछि मन्दिर हाताको १०८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ । मूल मन्दिर भित्रको एउटै मूर्तिलाई हिन्दू र बौद्धमार्गी फरक फरक रुपमा पूज्छन् । मुल मूर्तिलाई हिन्दूहरु बिष्णु मान्छन् भने बौद्धमार्गी लुवाङ ग्याल्बो (नागराजा)का रुपमा पूज्छन् ।
मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन् । मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन् ।
मुक्तिनाथ यात्रामा एक रात ठिनी गाउँमा बास बसे राम्रो हुन्छ । ठिनीको थकाली सामुदायिक होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ । जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा रमणिय छ । निलगिरि हिमालको फेदीमा अबस्थित गाउँ ।
मुक्तिनाथ दर्शन गरेर फर्किंदा स्याउको सुकुटी, जिम्बु, शालीग्राम, स्याउको ब्राण्डी, सिमी आदि कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्नेःकाठमाडौं–बेनी २८२ किमि । बेनी–जोमसोम ७५ किमि । अथवा पोखरा–जोमसोम उडान १८ मिनेट । जोमसोम–मुक्तिनाथ २२ किमि । जोमसोम–मुक्तिनाथ जीप र बस चल्छन् । जोमसोम–ठिनी २ किमि । ठिनीसम्मै जिप र मोटरसाइकल पुग्छन् ।
सम्पर्कजनप्रिय युवा क्लब
पूर्व अध्यक्ष, सुरज गुरुङ–९८४१४३७३७१
थकाली सामुदायिक होमस्टे, ठिनी
अध्यक्ष, सनप्रसाद थकाली–९८४७६३७९०१
***
कालिञ्चोक दोलखाको कालिञ्चोक (३,७०० मिटर) एउटा शक्ति पिठ हो । त्यहाँ भगवती, गणेशका मूर्ति र शिवपार्वती कुण्ड छन् । कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ । त्यहाँ नयाँ वर्ष, जनै पूर्णिमा र मंसिरे पूर्णिमामा मेला लाग्छ ।
कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा ३२ वटा होटल छन् । जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ । सादा खानाको दुई सय रुपैयाँ पर्छ ।
कुरी बजारदेखि मन्दिरसम्म कालिञ्चोक दर्शन लिमिटेडले केवलकार चलाउने तयारी गरेको छ । कुरीबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ । कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ । त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ ।
कालिञ्चोक यात्रा गर्दा चरिकोट मुन्तिर दोलखा बजारको भीमेश्वर दर्शनको पनि योजना बनाउनु पर्छ । यात्राबाट फर्कंदा छुर्पी, चिज, चौंरीको घ्यु, काष्ठकला, खरिढुँगा कला कोसेली ल्याउन सकिन्छ ।
कसरी पुग्नेःकाठमाडौं–चरिकोट १३३ किमि । चरिकोट–कालिञ्चोक १७ किमि । काठमाडौंको पुरानो बसपार्कबाट ६ घन्टा बसमा चरिकोट । चरिकोट–कुरी जीपमा दुई घन्टा । चरिकोट–कुरी पदयात्रा समय करिब ५ घन्टा ।
सम्पर्क होटल संघ कालिञ्चोक
अध्यक्ष, सोनाम शेर्पा–९८४४०६१२८८
दोलखा उद्योग वाणिज्य संघ
अध्यक्ष, सुन्दर कार्की–९८५१०५०५४२