धुरन मिस्त्री कता पुगे थाहा छैन। यो लेख उनैमा समर्पित।
वीरगन्ज घरको ठीक सामुन्ने थियो, हरेन्द्र मिस्त्रीको साइकल दुकान। त्यहाँ एक कारिन्दा थिए धुरन दाइ। मधेसी समुदायका आम मानिसभन्दा बेग्लै धुरन दाइ विदेशीजस्ता देखिन्थे। खैरो कपाल, खैरो आँखा र रंग पनि अलिक गोरो।
त्यो पसलमा जताततै लेदोजस्तो मट्टितेल, ग्रिज र सुलेसनका गन्ध फैलिरहेको हुन्थ्यो। जता छोए पनि दाग लाग्ने। हरसमय ‘ठाक् ठाक् ठुक् ठुक्’ आवाज आइरहेकै हुने। जतिसुकै प्रतिकूल भए पनि हामीलाई त्यहाँ पुगिरहन रमाइलो लाग्थ्यो।
मालिक अर्थात् हरेन्द्र अंकलका अनेक धन्दा थिए। त्यसैले पसलमा सदैव उपस्थिति उनै धुरन दाइको हुन्थ्यो। कुनामा राखिएको एउटा पुरानो फलामे भाँडोमा जहिल्यै गन्हाउने पानी भरिएको हुन्थ्यो। त्यसै भाँडोमा ट्युब डुबाउँदै पंचर टालिरहेका बेला उनको मुखको कुनामा प्रायः बिँडी सल्किरहेको देखिन्थ्यो। धेरैपछि क्लिन्ट इस्टवुडको पुरानो सिनेमा हेर्दा मलाई तिनै धुरन दाइको झझल्को आएको थियो।
त्यो दुकानमा हामी चकचक गर्दै पुगिरहन्थ्यौं। उनी काम गर्दागर्दै बिँडी च्यापिरहेको अनुहारबाट छड्के नजर लगाएरै हाम्रा गतिविधि नियालिरहेका हुन्थे।
‘आज स्कुल लागेन?’ धुरन दाइ सोध्थे।
‘आज विदा छ दाइ,’ म भन्थेँ।
‘केलाइ यति छुट्टि दिन्छ?’ उनी भुनभुनाउँदै बिँडीको टुप्पा समात्थे र तितो धुवाँ ओकल्थे।
एक दिन हिम्मत जुटाएरै साइकलप्रतिको त्यो मोह बुबासमक्ष राख्यौं। बुबाले म र दिदीलाई मेनरोडमै रहेको हाथी सिंह अंकलको साइकल पसल लैजानु भयो। ‘हिरो’, ‘एटलस’, ‘एवन’– त्यहाँ गजब गजबका साइकल थिए।
हामी पालैपालो चढ्यौं। एउटा रातो साइकल सबैलाई मनपर्यो। बुबाले दाम सोध्नुभयो।
‘आठ सय।’
बुवाको अनुहारको रंग उड्यो।
हामी दिदी–भाइलाई बुबाले तत्कालै साइकलबाट उत्रिन लगाउनुभयो र घर फर्काउनुभयो।
त्यसको केही दिनमा धुरन दाइले सोधे, ‘किन उदास छस्?’
‘महँगो साइकल देखाएकोले किनिदिनुभएन,’ मैले भनेँ।
‘तब सस्तो किनिले,’ धुरन दाइले भने।
‘कसरी?’ मैले सोधेँ।
‘म नाम भन्छु लिखेर लैजा, कबाडीमा गएर जे जे पाइन्छ लिएर आ, त्यसलाई कसेर म बनाइदिन्छु, बस् कुरा खतम्,’ धुरन दाइले भने।
कबाडी पसल दक्षिण एसियाली सहरहरुको एउटा गजब आकर्षण लाग्छ मलाई। अचकल्टोका बाँचेका सहरवासीले कम बजेटमा गर्नुपर्ने धेरै काम यसले सस्तैमा फत्ते गरिदिन्छ। मेरो मकसद पनि फत्ते गरिदिएको थियो, गीतामन्दिर रोडस्थित कबाडी पसलले।
केही दिनमै मेरो मझौला कदको साइकल धमाधम उभिन थाल्यो।
अरु त सबै ठीक थियो। ह्याण्डल चाहिँ मनपरेन।
‘ह्याण्डल सोझो चाहिन्छ,’ मैले भनेँ।
‘सोझो ह्याण्डल कहाँबाट ल्याउने रे?’ धुरन दाइले झिँझो माने, ‘त्यस्तो ह्याण्डल लगाउने हो भने ब्रेक पनि तारवाला चाहिन्छ।’
तारवाला ब्रेकको लागि त अलिकता पैसा थपे पुग्थ्यो। तर, सोझो ह्याण्डल कताबाट ल्याउने?
दिमागमा प्रश्न खेलिरहेकै बेला एकदिन भान्छामा आमाले फुक्ने गर्नुभएको फलामको ढुँग्रोमा आखा गयो।
ढुँग्रो ‘हरायो’, मेरो साइकल तयार भयो।
यसरी तीन दसकभन्दा पहिले मेरो ‘माउन्टेन बाइक’ आकृतिको रातो साइकल तयार भएको थियो। तीन सय रुपैयाँमा तयार भएको त्यो साइकल हाँकेरै म त्रिजुद्ध हाइस्कुल पुग्थेँ। स्टोरबाट नयाँ साइकल किनेका साथीहरु पनि एकफेर मेरो अनौठो साइकल हाँक्न माग्थे। म दंग परेर दिन्थेँ।
त्यो साइकल दुईपटक नधोएको दिन हुँदैन थियो। प्रायः उल्टो पारेर राख्थेँ र केही न केही कस्ने अनि फुकाल्ने गरिराख्थेँ। पेन्ट किन्ने पैसा हुने बित्तिकै त्यसलाई अर्को रंगमा ढालेर ‘नयाँ नवेली प्यार’ गर्नुको मजा बेग्लै हुन्थ्यो।
त्यही साइकल हाँकेरै एकपटक बाल्यकालमै म घरबाट भागेको थिएँ। त्यो साइकलमा भागेर सिमरौनगढ पुग्दाको अनुभव मैले सेतोपाटीमै केही वर्षअघि लेखिसकेको छु। पहिलो रात कलैया र दोश्रो दिन सिमरौनगढ। त्यो मेरो सबभन्दा लामो साइकल यात्रा थियो।
त्यही रेकर्डलाई मैले गएको महिना तोडेँ, काठमाडौंदेखि साइकल हाँकेरै वीरगन्ज।
यो साइकलको सुरुआत चाहिँ छोराबाट भएको थियो।
एक जना आफन्तका तन्नेरी छोरा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि म आत्तिएर छोरा नजिक पुगेँ। हरेक बिहान उसले कलेज जान मोटरसाइकल स्टार्ट गर्ने बित्तिकै म तनावमा डुब्थेँ। कलेजबाट फर्केपछि मात्र ढुक्क हुन्थेँ। छोरालाई मेरो मनोदशा सुनाएँ।
‘राम्रो खालको साइकल किनिदिने हो भने म मोटरसाइकल हाँक्दिनँ,’ छोराले बचन दियो।
साइकलका बारेमा ऊ गतिलो जानकारी राख्थ्यो। ३४ हजार रुपैयाँमा राम्रो सेकेन्ड ह्याण्ड साइकल खोज्यो पनि। पैसा हाल्नुअघि एक जना परिचित साइकल पसलेसँग कुराकानी गर्न गएँ।
‘छोराको निम्ति हो भने त यो साइकल लिनुस्,’ उनले औंला तेर्स्याउँदै भने, ‘कार्बन बडीको यति राम्रो साइकल एकदमै कम पैसामा उपलब्ध छ।’
चिनेजानेका पसलेले ७५ हजार मूल्य राखिएको त्यो साइकल मलाई ६२ हजारमा दिन तयार भए। सुरुमा त साइकलको मूल्य यति महँगो पनि हुन्छ भनेर म आश्चर्यमा परेँ।
‘यो त सस्तो हो,’ साइकल पसले भनिरहेका थिए, ‘पाँच लाखसम्मका साइकल हुन्छन्।’
म झनै चकित परेँ।
[caption id="attachment_142117" align="alignnone" width="825"] हुमानेको दृश्य।[/caption]
दुई वर्षअघि नाकाबन्दी बेला भित्रिएका थुप्रै साइकल बिक्री नभइदिएकाले यतिबेला अन्यत्र कतैभन्दा सस्तो साइकल नेपालमै पाइने दाबी पनि ती पसलेले गरे।
त्यसमाथि साइकल किन्नु हामी नेपालीको लागि वरदान थियो। केही हजार रुपैयाँमा भारतीयहरुले चढ्ने मोटरसाइकल हामीकहाँ लाख तिर्नुपर्छ, एक लाखमा उनीहरुले चढ्ने कार हामीकहाँ लाखौं पर्छ। यस्तो बेला साइकल यस्तो जिनिस हो, जसलाई हामीले नेपाली भएकैले ठगीमा परेको अनुभूत गर्नुपर्दैन।
त्यो पसलमा छोराको आँखा साइकल हेरेर चम्किरहेको थियो। मैले त्यो महँगो मूल्य तिरेर साइकल किनेँ।
गियर भएको माउन्टेन बाइक त पहिले पनि थियो। तर, यो हाँक्दाको आनन्दै बेग्लै आइरहेको थियो। उकालो लाग्दा पनि सकस नहुने, जस्तै ओह्रालोमा पनि यसका हाइड्रोलिक ब्रेक थिच्नेबित्तिकै आरामले रोकिने। यसको ‘रक सक’ स्प्रिङले खाल्डाखुल्डीमा परे पनि उत्ति तकलिफ नहुने।
हाँकुन्जेल पनि ‘साइकल हाँक्नु त यस्तो’ भनेजस्तो महशुस भइरहने।
केही दिनमै मलाई वीरगन्ज पुग्नुपर्ने थियो। मैले साइकल हाँकेरै पुग्ने निधो गरेँ।
बिहान सबेरै घरबाट निस्कँदा श्रीमती चिन्तामा थिइन्। ‘हरेकचोटि रोक्दा फोन गर्नुहोला,’ उनले कबुल गराइन्।
घरबाट निस्केपछि बाटोमा दिदीकहाँ पसेँ।
‘के भन्छ?’ दिदी झस्किनुभयो, ‘साइकल हाँकेर कसरी वीरगन्ज पुगिन्छ?’
दिदीलाई सम्झाएँ। हतार हतार चिया पिउँदै नौ बज्न थालिसकेको थियो। मैले साइकल कुदाएँ।
बल्खुबाट अलिक परसम्म पनि मच्चिएकै थिएँ। पहिलो झस्का नै चोभारको उकालोले दियो। त्यो ठाडो उकालोमा ओर्लेर ठेलौं कि जस्तो पनि भयो। तर, यहीँनिर साइकलबाट ओर्लिएँ भने अगाडि के होला भन्ने भयो र हाकिरहेँ।
चोभारको सिमेन्ट कारखाना कटेपछि ध्वस्त बाटोको समस्या थपियो। जताततै धूलोको संसार थियो। अनेक उकाला आए। अघिभन्दा पनि अप्ठेरा थिए। तर, समस्या उकालोमा साइकल पेल्नुभन्दा धूलो र जथाभावी हाँकिएका सवारीसाधन झेल्नुमा थियो। विशेषगरी टिपर अनि टाटा सुमो।
जसोतसो फर्पिङ पुग्दा साढे दस बजिसकेको थियो।
एकछिन आराम गर्ने विचार गरेँ।
बौद्ध धर्मावलम्बीका कारण फर्पिङ बेग्लै संसार बन्दै गइरहेको छ। अझ म मोडिएको हुमानेतर्फको बाटोमा अनेक गुम्बा पर्थे। त्यता बौद्ध भिक्षुलगायत रंग-रंगका विदेशी पनि देखिन्थे।
पश्चिमा मुलुकतिर पुगेर निखारिएका तिब्बती मूलका झैं प्रतित हुने केही युवती देखापरे। एकछिन कुराकानी गर्यौं। त्यतै एक जना भिक्षु पनि आइपुगे। रसुवातिरका ती भिक्षु लामो समय भारततिर बसेर आएको सुनाइरहेका थिए। त्यतै कतै गुफामा ध्यान गर्ने र विदेशीलाई पनि ध्यान गराउने काम गर्दै आइरहेको उनले बताए।
फर्पिङ आएर केही दिन बस्ने हो भने काठमाडौंले पढ्न नपाएको धेरै विषय फेलापर्छ भन्ने महशुस भयो। तर, मलाई त निकै पर पो पुग्नु थियो। उनीहरुसँग विदा भएँ।
[caption id="attachment_142121" align="alignnone" width="1644"] फर्पिङ।[/caption]
त्यसपछिको बाटो हुमाने भन्ज्याङसम्मै उकालो वा तेर्सो थियो।
त्यो बाटो समातेपछिको सबभन्दा आनन्द भनेकै त्यहाँ असाध्यै थोरै सवारीसाधन चल्नु थियो।
‘अस्ति मात्रै यहीँको एक जना छोरी मानिसलाई टाटा सुमोले कुल्चेर मारिदिएपछि यो बाटोबाट उनीहरुलाई हिँड्न दिइएको छैन,’ एक गाउँले सुनाइरहेका थिए, ‘त्यसैले अहिले यता सुनसान छ।’
अमेरिकामा डाक्टरी पढेर फर्किएकी मृतक यतैका कुनै स्थानीय धनीमानीकी छोरी रहिछन्। टाटा सुमो सञ्चालकहरुले उनलाई क्षतिपूर्ति पनि दिन खोजेछन्। तर, आफन्तको बिहेका निम्ति छुट्टिमा आएकी ती छोरीको क्षतिपूर्ति पिताले चर्को तोकेछन्। त्यो क्षतिपूर्तिमा अमेरिका पढ्न पठाउँदा लागेको खर्च पनि जोडिएको रहेछ। त्यति पैसा तिर्नुभन्दा त्यो बाटो हिँड्नै बन्द गर्नु उचित मान्दै टाटा सुमोवालाहरु फेरि निर्माण हुँदै गरेको सिस्नेरी (दक्षिणकाली) कै बाटोतिर कुद्न थालेका रहेछन्।
जे होस्, टाटा सुमो आतंकबाट मुक्त मेरो यो बाटोको यात्रा असाध्यै रमणीय बन्दै थियो। धूलोधुवाँ मुक्त र चराहरुको पर परसम्मका चिर्बिर पनि सुन्दै। साइकल चलाइरहेको बेला गाउँलेहरु परै बसेर कुरा गरिरहेको पनि स्पष्ट सुनिन्थ्यो।
‘हेलो, नमस्ते, बाइबाइ।’
हेलमेट लगाएर साइकल हाँक्ने मानिस पक्कै विदेशी हुनुपर्छ भन्ने गाउँलेहरुको ठम्याइ थियो।
‘आरामै हुनुहुन्छ दाइ?’ मैले यसो भन्नेबित्तिकै झस्किन्थे।
‘अनि नेपालीले साइकल हाँकेर यस्तो बाटो किन हिँडेको?’ एक जनाले सोधे।
मानौं यस किसिमको यात्रा गरेर रमाउने छुट हामीकहाँ विदेशीलाई मात्र छ।
यता मेरो चाहिँ आफू गुज्रेको भूमि र वरपरका माहोलको सम्पूर्ण आनन्द लिएर यात्रा अघि बढिरहेको थियो। माटोको स्वाद लिँदै–हावाको बास्ना सुँघ्दै।
हुमाने पुगेपछि काठमाडौं उपत्यका अन्तिमपटक देखियो। पर चापागाउँको आकाश माथिबाट ओर्लदैँ गरेका विमान अर्को किनाराको त्रिभुवन विमानस्थलमा ओर्लँदासम्मको दृश्य हेर्न पाइनेगरी। घमाइलो दिन भए पनि हिमाल चाहिँ सफासँग खुलेको थिएन।
हुमानेकै एक होटलमा घरबाट लगेको बिस्कुट र उसिनेका अण्डा खाएपछि अब कुलेखानीसम्मै ओह्रालो होला भन्ठानेको थिएँ। तर, के हुनु?
लामो ओह्रालो पछि फेरि उकालो आयो। त्यसपछिको ओह्रालोले फाखेल पुर्यायो।
असाध्यै रमाइलो फाँटमा बसेको यो गाउँ भएर टाटा सुमो वा मोटरसाइकलमा गुज्रँदा जहिले पनि आनन्द लाग्थ्यो। विशेषगरी दसैंतिहार ताका त जताततै सयपत्री फुलेर पहेँलपुर हुन्छ। गाउँको बीचैमा स्तुप छ, जुन संयोगले बाटैमा पर्छ। सुन्दर ठाउँमा वास्तु मिलेको गाउँ जस्तो लाग्छ फाखेल।
एक त खासै भोक लागेको थिएन। त्यसमाथि अझै एक डेढ घन्टा तान्न सक्ने हो भने कलंकीस्थित बाँध छेउका होटल भ्याइन्थ्यो जहाँ कुलेखानीका ताजा माछा पाक्ने गर्छन्। मैले दोश्रो विकल्प छानेँ।
बाटो फेरि पनि उकालो र ओह्रालो हुँदै कुलेखानी पुग्यो।
तालकै माथि बसेर दृश्य हेर्दै खाना खाइसक्दा साढे दुई बजिसकेको थियो। त्यसपछि देउरालीको फेदसम्मै असाध्यै रमाइलो ओह्रालो बाटो थियो। कुलेखानीको बाँध माथिबाट साइकल हाँक्नु जत्तिको मजा त अरु के मा होला? सेनाले फोटो खिच्न चाहिँ दिँदैन रहेछन्।
अब सुरु भयो देउरालीको उकालो। झण्डै पाँच–छ किलोमिटर लगातार ठाडो बाटो।
कहीँकहीँ कतिसम्म उकालो भने हाँक्दै गरेको साइकलको अघिल्लो चक्का जिमन्यास्टिक गरेजस्तो उल्टो फर्किन खोज्ने। त्यसैले पाइडल थिच्दै गर्दा पनि ब्यालेन्स मिलाउनु पर्ने।
यो यात्राकै सबभन्दा जटिल खण्ड थियो। त्यसमाथि यहाँ आएपछि टाटा सुमो पनि भेटिने भएकाले तिनको आतंक थपिएको थियो।
अलि माथि गएपछि कतिपय ठाउँमा त साइकल डोर्याउन खोज्यो ‘बरु हाँक्दै सजिलो थियो’ जस्तो। हाँक्न खोज्यो ‘बरु डोर्याउँदै सजिलो थियो’ जस्तो भइरहेको थियो। जाबो पाँच छ किलोमिटरको यो दूरी पार गर्न झण्डै दुई घन्टा लाग्यो।
अझै माथि पुगेपछि परको हिमाल, थोरैमात्र परको कुलेखानी जलाशय र जताततै ढपक्कै ढाकेका लालीगुराँसका रुखले धेरै साहस दियो। दृश्य देख्दा जतिसुकै राम्रो भए पनि मोबाइल क्यामराको सीमितताले त्यो रौनक घटाइदिन्थ्यो। त्यसैले खिचिरहनुभन्दा हेर्नुमै रमाइलो भयो।
देउराली भन्ज्याङ पुग्दा घाम लागिरहेकै थियो। हेटौंडासम्म पुग्न मुश्किल हुन्थेन। तर, त्यो दिनलाई त्यहीँ थकाइ मारेर उकालोको आनन्द लिउँ भन्ने भयो।
पहिले पनि एकपटक गाडी बिग्रेकोले देउरालीमा बास बसेको थिएँ। त्यही होटल खोज्दै गएँ। त्यसलाई त भुइँचालोले भत्काइदिएको रहेछ। मालिकले छेउमै अर्को भब्य होटल तयार पार्दै रहेछन्।
‘अर्कोपटक आउँदा यो नयाँ तयार हुन्छ,’ होटल मालिक सुमनले भने, ‘अहिलेलाई तलको अर्को होटलमा बस्नुपर्ला।’
तलको सुनगाभा होटल जसोतसो कामचलाउ थियो। कार्पेट पनि नओछ्याइएको। चुरोटका ठूटा पनि नउठाइएका एट्याच बाथरुम। दाम चाहिँ एक रात बसेको आठ सय रुपैयाँ।
खाना र पेय अचाक्ली महँगा।
एकथरि बियर मगाउँदा अर्कैथरि ल्याइदिए। त्यो गोर्खा बियरकै पनि तीन सय ८० रुपैयाँ मूल्य थियो।
‘यति महँगो किन?’
जवाफमा होटल साहुले भने, ‘स्ट्याण्डर मेन्टेन गर्न।’
जबकि त्यहाँ न सरसफाइ थियो, न लगानी, न कुनै अतिरिक्त मूल्य तोकिनुपर्ने ‘हस्पिटालिटी’।
राजमार्गमा खुलेका यस्ता होटलमा अनुगमन किन हुँदैन? यो प्रश्नको उत्तर कहिलेसम्म नमिल्ने हो थाहा छैन।
[caption id="attachment_142112" align="alignnone" width="825"] देउराली।[/caption]
होटलको बसाइले मेरो एकाध हजार मूल्य चुक्ता नगरे पनि बिहान सबेरैको दृश्य भने लाखौं रुपैयाँको थियो। उठ्ने बित्तिकै झ्यालबाट देखिएको रातो आकाश र त्यसको लालीमा रंगिएको तल्लो भेगका दृश्य हेर्न म तन्ना र कम्बल बेरेरै बाहिर निस्केँ। त्यसो नगरेर पर्खेको भए छुट्ने थियो।
केही बेरमै आकाश सामान्य भइदियो।
देउराली भन्ज्याङबाट विदा हुनै लाग्दा चिया पिउँदै गरेको टेबलको अर्कोतिर वीरगन्जका परिचित भगवान दाइ भेटिए। एकाबिहानै मोटरमा काठमाडौंतिर हिँडेका रहेछन्। हामीभन्दा केही ब्याच सिनियर भगवान दाइसँग जोडिएको अर्को चिनारी छ, उनका लेखक पिता। स्वर्गीय जयविक्रम शाहले पनि वीरगन्ज सहरबारे मभन्दा अघि एउटा किताब लेख्नुभएको थियो। हामी एकैछिन भलाकुसारी गर्यौं र दुई जना दुईतिर लाग्यौं।
यहाँनिर एउटा कुरा भनिहालौं। देउरालीबाट ओर्लन सुरु गरेपछि तल भिमफेदीसम्मै झण्डै आठ–नौ किलोमिटर यात्रामा पाइडल पेल्नु पर्दैन। ओरालोले गुडाएरै लैजान्छ। त्यसका निम्ति साइकलको ब्रेक र स्प्रिङ चाहिँ बलियो हुनैपर्ने अनिवार्य शर्त हो। ठाडो ओरालो, त्यसमाथि बारम्बार टाटा सुमो भेटिने यो बाटोमा झ्याप्प रोक्न मिल्ने खालको साइकल छैन भने यात्रा गर्नु बेकार छ। अत्यन्त खतरनाक हुन्छ। मेरो साइकलको ‘रक सक’ र ‘हाइड्रोलिक ब्रेक’को सर्वाधिक उपयोग यहीँ भएको थियो।
देउरालीबाट ओर्लनेबित्तिकै आइपुग्छ चिसापानी गढी। एउटा पुरानो प्रशासनिक केन्द्र। पृथ्वीनारायण शाहको पालामा स्थापित यो गढीमा नेपालकै सबैभन्दा ठूलो तोप छ। त्यसबाहेक यहाँ एउटा राणाकालीन भत्किँदै गरेको घर पनि छ। पहिले वीरगन्जबाट हिँडेर काठमाडौं जाने बेला यसै घरमा राहदानी देखाएर मात्र अगाडि बढ्न पाइने नियम थियो।
यो ठाउँ पुग्दा मलाई जहिले पनि मेरो काठमाडौं–हेटौंडा पैदलयात्रा सम्झना हुन्छ। २०५९ सालको नयाँ वर्ष विदा उपयोग गर्दै हामी कान्तिपुर दैनिकका साथीहरु चन्द्रागिरिको डाँडा नाघेर यता आएका थियौं। चित्लाङ हुँदै। त्यतिबेला यो बाटो सार्वजनिक प्रचलनमा थिएन। फाट्टफुट्ट कुलेखानी आवतजावत गर्ने विद्युत प्राधिकरणका मोटर मात्र भेटिन्थे।
त्यो पैदलयात्रामा यस्तो अनकन्टारको यति महत्वका पुराना संरचना देखेर म उत्साहित भएको थिएँ। हिजोआज सार्वजनिक यातायात चल्न थालेपछि व्यापारिक प्रयोजनका संरचना र चहलपहलले यस्ता कुरा छोप्दै लगेको छ।
मैले एकैछिन साइकल रोकेँ, पृथ्वीनारायणलाई सम्झेँ, पैदल हिँड्दै आएका पुर्खा सम्झेँ, पैदलै हिँडेर आउँदाका साथीहरुसँगका क्षण सम्झेँ र तत्कालसँग पनि तुलना गरेँ।
साइकल फेरि अघि बढाएँ।
यो खण्डमा यात्रा गर्दा भिमफेदी पुग्नुअघि बाटै छेउमा गाँजरको जुस अर्को आकर्षण हो।
यो भेगमा स्थानीय किसानले गाँजर राम्रो उत्पादन गर्दै आएका छन्। भर्खर खेतबाट निकालिएका ताजा गाँजर होस् वा त्यसको रस निचोरेर, उनीहरुले एउटा स्वास्थ्यवर्धक खान्की उचित मूल्यमा बटुवाहरुलाई पेश गर्दै आइरहेका छन्।
भिमफेदी पुगियो। म जन्मे हुर्केको वीरगन्ज सहरको समेत राणाकालीन केन्द्र। मेरो साइकलको सिट थोरै हल्लिरहेको थियो। त्यसको उपचार पनि भिमफेदीमै सम्पन्न भयो।
अबको बाटो थियो यो यात्राकै सबभन्दा रमणीय र आरामको।
साइकल हाँकेर वीरगन्ज जानेका निम्ति कतै-कतै थोरै मात्र पाइडल थिचे पुग्ने अनि बदलामा गजबको रमाइलो यात्रा गराउने रुट यही हो। यो अर्थात् भीमफेदीदेखि झण्डै २२ किलोमिटर लामो हेटौंडासम्मको यात्रा।
तामाङ बहुल यो रमणीय बस्ती नेपालकै पुरानो सवारी रुट हो। अमलेखगञ्जसम्म रेलमा आउने यात्री त्यहाँबाट ट्रकमा भीमफेदी पुग्थे। त्यसपछि उकालो सुरु हुन्थ्यो। यो त्रिभुवन राजपथ नबन्दैको कुरा।
सजिलो बाटोमा मेरो साइकल गुड्दै गयो। घोर्सिङ आसपास पुग्दानपुग्दै बसहानीपखका रमाइला गाउँमा स्कुल जाने केटाकेटीले अर्को आकर्षण थपिदिएका थिए। बस्ती पूरै चलमलाइरहेको देखिन्थ्यो। स्कुल ड्रेस लगाएर समूह समूहमा एकोहोरो हिँडिरहेका केटाकेटी साइकल हाँक्दै पुगेको मलाई देखेर रमाए। म उनीहरुले धान्ने भोलिका दिन सम्झेर रमाएँ। त्यो सम्पूर्ण क्षण नै उज्यालो बनेको थियो। साइकल पाइडल नै नचलाएर अघि बढिरहेको थियो।
त्यतिबेलै एउटा घर अगाडि उभिएका दुई बच्चीले ‘यो मेरो साइकल’–‘होइन मेरो’ भन्दै हानाथाप गरेर मलाई समात्न आए। म रोकिएँ।
एउटाको नाम स्नेहा लामा, अर्कीको नाम स्निका लामा। गाउँभन्दा करिब पाँच किलोमिटर पर निमाटारस्थित स्कुल जान बस पर्खिरहेका। स्कुल किन जाने भनेर सोध्दा ‘त्यहाँ म्याम हुनुहुन्छ’ भनेर सुनाए। उनीहरुको स्कुलकी ‘सुसु म्याम’ले ‘इंग्लिस’ पढाउने रहिछन्। मैले ‘ए अंग्रेजी?’ भनेर सोध्दा दुवैले ‘होइन इंग्लिस’ भनेर चिच्याए।
[caption id="attachment_142118" align="alignnone" width="825"] स्नेहा लामा र स्निका लामा।[/caption]
करिब पाँच-छ वर्षका ती बच्चीहरु मेरा बारेमा जिज्ञासु बने। काठमाडौंबाट वीरगन्ज साइकल हाँकेर जान लागेको भन्दा सुरुमा पत्याएनन्। त्यसपछि आफूहरु पनि यसैगरी साइकल हाँकेरै जाने इच्छा राखे।
मैले स्कुल जान नछाड्ने हो भने भोलिपर्सि यसैगरी साइकल हाँकेर पर पुग्न सकिन्छ भनेँ। उनीहरुले मेरो कुरा बुझेनन्। कसरी बुझाउने भन्ने अलमलकै बीच बस आइपुग्यो। दुवै ‘बाइबाइ’ गर्दै बसतिर कुदे।
त्यहाँबाट हिँडेको एकैछिनमा भैंसे आइपुग्यो।
बाल्यकालभर बाइरोडको बाटो भएर काठमाडौं हिँड्दा भैंसे विचित्रको रमाइलो ठाउँ लाग्थ्यो। वरिपरि रमाइलो पहाड र सधैं सफा पानी बग्ने नदी। छेवैका होटलमा वीरगन्जदेखि ल्याउने बसले हामीलाई खाना खुवाउँथ्यो।
बिहान छाडेको मधेसभन्दा असाध्यै बेग्लै लाग्ने यो दुनियाँमा कुनै दिन यसरी साइकल हाँकेरै आइपुग्छु भन्ने मैले चिताएको पनि थिइनँ।
त्यो समयका अनेक सम्झना खोतल्दै र रमाउँदै मेरो यात्रा अघि बढ्यो।
अब आइपुग्यो त्रिखण्डी।
वीरगन्जको निम्ति सर्वाधिक लोकप्रिय पिकनिक थलो। सडक वारि, पारि र नदीको पारि गरेर तीनवटा खण्डमा बाँडिएको मन्दिर असाध्यै प्रसिद्ध छ। यो भेगमा पुग्दा बाटोमा फूलका रुखले उत्तिकै रमाइलो पारिदिन्छ।
साइकल हाँक्दा हाँक्दै मैले एक जना बाबा देखेँ। उनी सडक किनार उभिएर एकोहोरो नदी हेरिरहेका थिए। ख्वै किन हो, अलिक परै पुगिसकेपछि मलाई उनीप्रति रुचि जाग्यो। साइकल घुमाएँ।
‘बाबा कहाँबाट आउनुभएको हो?’ सोधेँ।
‘पुरानो कुरा खोतल्नुको यहाँ के काम छ?’ त्यसपछि बाबाले अंग्रेजीमा भने, ‘डन्ट लुक ब्याक, मुभ फर्वार्ड (पछाडि नहेर, अगाडि बढ)।’
यस्तो अनकन्टारमा यसरी अंग्रेजी बोल्ने बाबा भेटेपछि मैले साइकल किनारा लगाएँ। बाबाले पनि सोधिहाले, ‘को हौ? कता आयौ?’
मैले आफ्नो परिचय दिएँ।
‘पत्रकार हौ भने फलानोलाई चिन्छौ?’ बाबाले मेरा एक प्रख्यात पूर्व सम्पादकको नाम लिए। मैले उहाँसँग कामै गरेको जवाफ दिएँ। त्यसपछि बाबा अलि सहज भए।
आफूलाई खप्पर बाबा भनेर चिनाउने उनी धेरैअघि भारतको नैनीतालबाट यता आएका रहेछन्। भारतमै स्नातकसम्म अध्ययन गरेपछि सन्न्यास लिएकै साढे तीन दसक हुन लागेको उनले बताए। उनले साथमा बोकेको मानव खप्पर पनि देखाए जसमा आफूले खाना राखेर खाने गरेको बताए।
‘कुन पत्रिकामा काम गर्छौ?’ बाबाले सोधे।
‘अनलाइन पत्रिका हो बाबा’ भनेँ।
‘भेरी गुड,’ बाबाको भनाइ थियो, ‘ठूलो पत्रिकाको खर्च ज्यादा हुन्छ। त्यसैले त्यसमा सच कुरा लेख्न सम्भव हुँदैन।’
यस्तो ठाउँमा यी नपत्याउँदा मानिसको पत्रकारितासम्बन्धी यसप्रकारको ज्ञान देखेर म चकित भएँ।
मैले ‘बाबा यहाँ बसेर के गरिरहनुभएको छ?’ भनेर सोधेँ।
‘केहि गर्दिनँ। बस् खान्छु र सुत्छु,’ बाबाले भने, ‘यो दुनियाँमा अरु पनि कसैले खासै केही गरिरहेका छैनन्।’
मैले खानाको लागि पत्रिकामा काम गरेजस्तै आफूले पनि खानाकै बन्दोबस्त निम्ति पूजा गरिरहेको बाबाले सुनाए।
मैले खप्परमा खाना खानुको कारणबारे जान्न खोजेँ।
‘यो अर्कै साधना हो,’ उनले भने, ‘अहिले बुझाउन सम्भव छैन।’
[caption id="attachment_142114" align="alignnone" width="825"] बाबा।[/caption]
यति कुरा गरिसकेपछि म बाबासँग विदा भएँ।
लगत्तै सुपारेटार ब्यारेक आइपुग्यो। नेपाली सेनाको मध्यपृतना। त्यसलगत्तै हेटौंडा।
हेटौंडामा खाना खाएर निस्केपछि अब उकालो चढ्नुपर्ला भन्ने सोचेको थिइनँ। सयौंपटक मोटरसाइकलमा ओहोरदोहोर गरेको यो बाटोबारे कस्तो भ्रम रहेछ! वास्तवमा कता उकालो छ र कता ओह्रालो भनेर थाहा पाउन पनि साइकलै हाँक्नुपर्ने रहेछ।
हेटौंडाबाट चुरेतर्फ उक्लिँदै गर्दा एक ठाउँमा घाँस काटेर फर्केका मानिस थकाइ मारिरहेका थिए। मैले पनि साइकल त्यतै छेउ लगाएँ। उनीहरु राजमार्ग छेवैको सैफुटमा बसोबास गर्दै आएका चेपाङ रहेछन्। शुक्र प्रजा, माइलीमाया प्रजा, रामशरण प्रजा, दिलमाया प्रजा, सुनिल प्रजा, विपना प्रजा।
तीमध्ये बुढेसकालको पनि उत्तरार्द्धतिर पुगेकाजस्ता शुक्र र माइलीमायाको उमेर सोधेँ। उनीहरुले दिएको जवाफले झसंग भएँ। मेरै उमेरका पो रहेछन्। घाँस काट्न आएका १७ वर्षीय सुनिल र १४ वर्षीया विपनाले बीचैमा पढाइ छाडेका रहेछन्। यसरी जंगल आएर घाँस काट्ने र तल खोलामा बालुवा चाल्ने गरेरै आफूहरुको जीविकोपार्जन भइरहेको उनीहरुले बताए। घाँसको कमाइबाहेक तीन दिनमा एक ट्रिप बालुवा चालेपछि प्रत्येक ट्रिपको १२ सय रुपैयाँ पाउने रहेछन्।
यो बाटोमा यतिका वर्षसम्म अनेक सवारीसाधन भएर ओहोरदोहोर गर्दा राजमार्ग छेवैमा यस्ता मानिस पनि बसोबास गर्छन् भन्ने मैले कहिल्यै भेउ पाएको थिइनँ।
[caption id="attachment_142116" align="alignnone" width="825"] सैफुटमा बसोबास गर्दैआएका चेपाङ परिवार ।[/caption]
उनीहरुसँग विदा हुनेबित्तिकै चुरियामाइ मन्दिर आइपुग्यो। त्यसपछि भने कतै उकालो थिएन। राजमार्गमा परिचितहरुलाई भेट्दै र कुराकानी गर्दै पनि बेलुकी नहुँदै वीरगन्ज पुगिसकेको थिएँ।
‘अ जर्नी अफ अ थाउजेन्ड माइल्स विगिन्स विथ अ सिंगल स्टेप।’
यो लाइन कतै पढेको थिएँ। अर्थात् हजारौं माइलको यात्रा एउटा पाइलाबाट सुरु हुन्छ। हो रहेछ।
साइकलमा काठमाडौंबाट वीरगन्ज मात्र होइन, धेरै लामो यात्रा पनि सम्भव छ।
के तपाईं हिम्मतका साथ पहिलो पाइडल थिच्न तयार हुनुहुन्छ?
[caption id="attachment_142122" align="alignnone" width="2212"] स्कुल हिँडेका केटाकेटी।[/caption]
[caption id="attachment_142123" align="alignnone" width="3264"] भिमफेदीभन्दा तल घाँसको भारी बोकेर हिँड्दै स्थानीय महिला।[/caption]
[caption id="attachment_142119" align="alignnone" width="825"] भैंसेमा।[/caption]