घुमफिर गर्दा सबैको मन पक्कै पनि रमाउँछ। म पनि त्यस्तै छु, साथीसँग घुमफिर गर्ने भनेपछि खुट्टा उचालिहाल्ने। प्राकृतिक मनोरम दृष्यपान गर्दै प्रकृतिसँगै हराउनुको छुट्टै अनुभूति हुन्छ।
यसपाली मेरो गन्तब्य सौराहा थियो।
पुस १० गते मंगलबार साँझ ४ बजे कलंकीबाट सौराहाका लागि गाडी चढेँ। काठमाडौंबाट करिब १७५ किमी यात्रापछि एउटा छुट्टै हरियाली र मनमोहक संसारमा पुगियो।
म सौराहा जानु र सौराहामा हात्ती महोत्सवको संयोग एकै पटक पर्यो।
पुस ११ गते देखि भएको १५ औं चितवन हात्ती महोत्सवकै अवसरमा म सौराहा पुगेँ। हाती महोत्सवमा जाने मेरो धेरै पहिलेदेखिको रहर यसपाला पुरा भयो।
तराईको चिसो छिचोल्न बाक्लो ज्याकेट लगाएकाले कसै कसैले मलाई हिमाल चढ्न लागेको हो समेत भनेर जिस्क्याउने गर्थे।
सौराहामा मेरो दिदी भिनाजु होटल व्यवसाय चलाएर बस्नु भएकाले मलाई त्यहाँ खाना र बस्नको कुनै समस्या थिएन।
सौराहा पुगेँ। हल्का सञ्चो विसन्चोको कुरा भयो।
भिनाजुले साली नानी आफैं हात्ती जस्ती छिन्, किन हात्ती हेर्न आ’को होला भन्दै जिस्क्याउन थाल्नुभयो।
बेलुका गाडीको थकानले होला चाडै निदाइएछ। भोलिपल्ट बिहानै निन्द्रा खुल्यो। कोठाबाट एसो बाहिर हेरेको बिहानी हुस्सुले निकै परसम्म केही देखिएको थिएन।
धाराबाट तातो पनि आए पनि मुख धुन मनै लागेन। क्यामेरा बोकेर तल झरेँ।
भिनाजु मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो। दिदीले चिया बनाएर दिनुभयो।
भिनाजुले होटलमा काम गर्ने स्टाफलाई भनेर मलाई हात्ती चढ्ने ठाउँसम्म पुर्याइदिन लगाउनुभयो। भाइले मलाई हात्ती चढ्ने ठाउँमा पुर्याइदियो।
हातीका माउतेहरू मुखबाट बाफ निकाल्दै चिया पिउँदै थिए। म फोटो खिच्न थालेँ।
यत्तिकैमा एक जना माउते दाइले मलाई हेरेर ‘हाती हो?’ भनेर सोधे। मलाई जिस्काएको ठानेर मैले पनि ‘हैन दाइ देख्नु भएन मान्छे हो’, भनेर जवाफ दिएँ।
त्यसपछि म आफ्नो काम तिर लागेँ।
त्यसपछि राप्ती किनारमा अगाडि बढेँ। राप्ति नदिबाट आएको तातो बाफ अनि चिसो वातावणमा केही बेर रूमल्लिँदा फ्रेस भएँ। हिजोको सबै थकान यहाँको प्राकृतिक सुन्दरताले गायब भयो।
राप्ति किनारमा राखिएका डुंगाहरू हल्लिइरहेका थिए। परबाट हातीका एक हुल आए। मनै फुरूङ्ग भयो।
हात्तीले यात्रु बोकेर राप्ती नदि तर्न लागेको मनमोहक दृश्यलाई क्यामेरामा कैद गर्न थालेँ।
त्यसपछि अघिकै बाटो फर्किएँ। अघि मलाई हाती हो, भन्ने दाइले मलाई भने, ‘बहिनी तपाईँ रिसाउनुभएछ, मैले त हाती चढ्न आउनु भएको हो भनेर पो सोधेको त, तपाईँले गलत बुझ्नुभयो, सरि है।’
मैले पनि होइन दाइ मैले त त्यतिकै जिस्किएर भनेर भनेर भने।
निकुन्जका गाइडसमेत रहेका उनी होटेल पार्क सफारीका लागि काम गर्दा रहेछन्।
केही समयको चिया गफ पछि उनले २ जना सिंगापुरका गेष्टलाई कनोइङमा लैजाने भनेपछि खोला पारी जान पाइन्छ भनेर म पनि उनीहरूकै पछि लागेँ।
पारी जान हिँडे म राप्तीको बिचै बीच डुंगामा सयर गर्दा अर्कै आनन्द भयो। करिब १० जना चढेको डुंगाले ४५ मिनेटमा चितवन राष्ट्रिय निकुञ्ज भित्र पाइने अधिकांश जलचर प्राणिहरू देख्न पाइँदो रहेछ।
साइबेरियादेखि बसोबास तथा प्रजननका लागि आउने थुप्रै चराहरु बिहानी सूर्यका किरण पर्खदै थिए। रंगी बिरंगी किङ्गफिसर, चखेवालगायत थुप्रै जल हाँस आदि देख्न पाए, फोटो खिच्न पाएँ।
बिहानको हुस्सुले गर्दा बाहिरि दृश्यावलोकन गर्न नपाएपछि डुंगाको नजिकबाट धेरै प्रकारका चराचुरङ्गी र किनार किनारमा हरिया रुख जस्ता देखिने गोहीसमेत देखियो।
कनोइङ्ग सकाएर ती दाइसँग फेरि भेट्ने भन्दै बिदा भएँ।
आज हात्ती महोत्वसको दिन। राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन हुने ठाउँ जान मलाई हतार भइसकेको थियो।
करिब आधा घन्टा पछि बागमारा पुगेँ। त्यहाँ विभिन्न बाजा गाजा र स्थानीय झाँकिसहित थारू युवा र युवतीहरू राष्ट्रपतिको स्वागतका लागि तयार भएर बसेका थिए।
केही समयपछि राष्ट्रपति आउनु भयो। कार्यक्रमको औपचारिक सुरूवात भयो।
कार्यक्रम हुने ठाउँ नजिकै ७-८ वटा हात्ति लस्कर लागेर फुटबल मैदानमा छिरे। म पनि हात्तिको फुटबल हेर्न पुगेँ।
मेरो लागि हातीले फुटबल खेलेको हेर्नु नै अनौठो प्रतियोगिता थियो। फुटबल सुरू भयो।
खेलमा सबैभन्दा कान्छी ५ वर्षकी रिमझिमकली डेब्यू खेलमै उत्कृष्ट प्रदर्शन गर्दै गोल गर्न सफल भइन्।
राष्ट्रपतिलाई देखाउन मात्र खेलाइएको उक्त खेल पाहुनाहरू हिँडेसँगै सकियो।
त्यतिबेलासम्म मैले चिने जानेको मिडियाका साथीहरू देखेको थिइनँ। त्यसैले त्यो भीडमा एक्लो महसुस गर्दै थिएँ। त्यतिकैमा सिन्ह्वाकी सृष्टि काफ्लेलाई देखेँ। उनी सहकर्मी सुनिल दाइ र कृष्ण दाइसँगै आएकी रहछिन्। उनलाई देखेर खुसी लाग्यो।
एकछिन यता उता आँखा डुलाउँदा बाह्रखरीकी सरिता खड्का र नेपालखबरका प्रविन कोइरालालाई पनि भेटेँ। त्यसपछि खुसीको सीमा नै रहेन।
त्यसपछि चितवनमा रमाइलो गर्नुपर्छ भन्दै बेलुकाको सूर्यास्त खिच्न जाने प्लान बन्यो।
उनीहरू होटल नगई सिधै कार्यक्रममा आएकाले पहिले होटेल गएर राप्ती किनारमा भेट्ने निधो भयो।
म सिधै राप्ती तिर गएँ। किनारमा गएर पकौडा खाँदै उनीहरूलाई कुरेर बसेँ।
सूर्यास्त हुन सुरू भयो। तर, उनीहरू आइपुगेनन्। त्यसै बेला एकजना माउतेले आफ्नो हात्ती लिएर खोला तर्न लागे।
मैले तस्बिर खिच्न भ्याएँ। उनीहरू ढिला हुने भए यो दृश्य खिच्न पाउँदैनन् भनेर जिस्काउन पाइन्छ भन्दै मन मनै दंग भएँ।
हाम्रो काममा कसैले एक्लैले राम्रो फोटो हात पार्यो भने स्कुप भेट्यो भनेर जिस्काइन्छ। त्यस्तै मैले त्यो दिन स्कुप भेटाएँ।
एकछिनसम्म कुरे। फोन ट्राइ गरेँ। तर, कसैको लागेन।
मलाई सबैभन्दा अल्छी लाग्ने भनेको अरूलाई कुर्नु हो।
घाम डिबिसक्दा पनि उनीहरू आएनन्। त्यसपछि म पनि होटल फर्किएँ। दिनभरीका तस्बिरहरू अफिसमा पठाएँ। त्यसपछि दिदीसँग गफिन थालेँ।
केही समय पछि कृष्ण दाइले आयोजकले मिडियाका लागि दिएका पार्टीमा तिमीलाई देखिनँ नि भन्दा पो थाहा भयो। साथीहरू त पार्टीमा झुमेका रहेछन्।
अर्को दिन बिहान उठ्न एकदमै गाह्रो भयो। चिसोले आँखै खुलेन। म पनि बिहान ८ बजेसम्मै सुतिदिएँ।
महोत्वको दोस्रो दिन १२ बजे तिर कार्यक्रमस्थल पुग्दा पनि केही सुरसार थिएन। केही छिनको कुराई पछि हात्ती फुटबल सुरू भयो। बडो मजा लाग्यो। राजधानीमा लिग फुटबलमा मात्र फोटो खिचेको मैले संसारकै सबैभन्दा ठूलो प्राणीहरूले खेलेको फुटबलको दृश्य खिच्न पाउनु मेरो लागि भाग्यको कुरा थियो।
मान्छेभन्दा १०० गुणा बडी वजन भएको जनावरले मान्छेले जसरी अगाडि, पछाडि, दायाँ, बायाँ गरि भकुण्डो खेलाउँदै विपक्षीको पोष्टमा गोल गर्दै थिएँ। साच्चीकै रमाइलो थियो त्यो पल।
त्यसपछि हातीपोलो सुरू भयो।
हातीपोलो पनि मैले पहिलो पटक देखेको थिएँ। त्यसमा माउतेसँग पोलो खेल्ने खेलाडी पछाडि बसेका हुँदा रहेछन् र पोलो स्टिकले बल खेल्दा रहेछन्। त्यो पनि रमाइलो लाग्यो।
त्यसपछि हाती फास्ट वाक भयो। पहिले पहिले हात्ती दौड भनिन्थ्यो रे पछि जनावर अधिकारकर्मीहरूले त्यसलाई हात्ती फास्ट वाक भन्न लागाएर यस्तो नाम भएको रे।
त्यसपछि हात्ती सुन्दरी प्रतियोगिता हुने रहेछ। मलाई एकदमै उत्सुक भयो। कति खेर हात्तीका सुन्दरीहरू आउनेहुन् भनेर। तर भोलि पल्ट मात्र भनेपछि भोलिको प्रतिक्षामा रह्यौ।
त्यो साँझ हामी सबै जना एकै ठाउँमा जमघट भयौ। राप्ती किनार नजिकको एउटा रेस्टुराँमा गएर आगो ताप्दै रमाइलो गर्यौ।
काठमाडौंमा हुँदा यी रमाइला पल हुन मुश्किल थियो। त्यसैले पुरै आनन्द लियौ।
करिब रातको १ बजेसम्म त्यहाँ रमाइलो गरेपछि सिन्ह्वाको समूहसँग रहेको गाडीले सबैलाई आ-आफ्नो होटलसम्म पुर्याइदियो।
महोत्सवको तेस्रो दिन बिहान त्यहाँको वातावरण र थारू बस्ती डुल्दै हिडेँ।
आज हात्ती सुन्दरी प्रत्योगिता हुने दिन पक्कै कतैतिर हात्ती सिँगारीरहेका होलान् भनेर त्यो खोज्न थालेँ।
त्यही बेला पुनमकलीको माउतेसँग भेट भयो। उनले मलाई आफ्नो हात्ती सिंगार्न लागेको जानकारी दिएपछि म उनकै पछि लागेँ।
हात्तीलाई सरसफाई उनका भाइले गर्दै थिए। पुनमकलीको शरीरमा भिजेका कपडाले पुछ्दै गर्दा एउटा फोन आयो। उनकी सुन्दरीले यसपाली भाग लिएको छैन रे। उनी पनि खिन्न भए। म पनि।
त्यसपछि नजिकै रहेको चम्पाकलीले भाग लिएको छ रे भन्दै उनले मलाई चम्पाकली भएको ठाउँमा पुर्याइदिए।
नारायणघाटमा यी २९ वर्षे बृजेश महतो कामको खोजीमा सौराहा आएका रहेछन्। उनको काम हात्तीको रेखदेख गर्नु रहेछ।
चम्पाकली भएको ठाउँमा पुग्दा उनलाई श्रृंगार गर्ने तयारी गरिरहेको रहेछ। मैले त्यहाँ चम्पाकलीको तस्बिरहरू खिचेँ।
चम्पाकलीलाई पुरै सजाइयो। जिउ भरी फूल बुट्टा भरे पाउसम्म सजाइएको थियो। मैले पनि हात्तीलाई सजाउन सहयोगसमेत गरेँ।
त्यसपछि पुनः कार्यक्रमस्थलमै आएँ।
सुन्दरी प्रतियोगिताका लागि ४ ओटा हात्ती बोलाइयो।
अलिशाकली, बिजुलीकली, चम्पाकली र सेल्फीकली
आयोजकले मलाई पनि जज राखेँ।
अहिलेसम्म आफ्नो कुराको समेत निर्णय गर्न नसकेकी मैले कसरी निर्णायक बन्न सकौला र?, त्यो पनि हात्तीको बारेमा मलाई केही थाहा थिएन।
हात्तीको सजावट, चालढाल, जिउमा घाउ बनाइएको छ कि छैन, माउतेको आदेश कतिको मान्छ, माउतेसँगको लगाव, यो हेरेर अंक दिने सजिलै छ भनेपछि मैले टाउको हल्लाएँ।
सँगै रहेका प्रविन र सरिता मुसुमुसु हाँसे।
‘हात्ती जस्तै छस हात्तीकै जज बनाइदिए,’ उनीहरूले भने। मलाई पनि हाँसो लाग्यो।
त्यसपछि सुरू भयो हात्ती सुन्दरी प्रतियोगिता। हात्तीहरू र्याम्म्प वाकमा निस्किए।
मान्छेको र्याम्म्प वाकमा अहिलेसम्म त्यति मजा लागिकको थिएन जति हात्तीको र्याम्म्प वाकमा देखेँ।
त्यसबाट बिजुलीकली हात्ती सुन्दरी भइन्। चम्पाकली फस्ट रनरअप र अलिशाकली दोस्रो रनरअप भइन्।
त्यसपछि त्यो दिन को कार्यक्रम सकाएर बेलुका दिदीलाई आफू जज बनेको सुनाउँदा ‘मान्छे हेरेरै छानेछन्’, भनेर सबै हासेँ। साच्चीकै रमाइलो थियो त्यो पल।
भोलिपल्ट काठमाडौं फर्कने तयारी गर्न थाले।
चितवन भ्रमण मेरो दोस्रो थियो। आजभन्दा ५ वर्षअघि गएको सौराहा र आजको सौराहामा धेरै फरक पाएँ।
पहिले यहाँ खरले छाएका स–साना ‘छाप्रा–होटल’ हरू थिए । पछिल्लो समय चेतना र प्रविधिको विकाससँगै यहाँ हाल टिपिकल नेपाली ‘होमस्टे’ देखि सुविधासम्पन्न आधुनिक होटल तथा रिसोर्टहरू खुलेका छन् र यो क्रमले तीव्रता पाएको छ। व्यवसायीहरू पर्यटकलाई सेवा र मनोरञ्जन दिन प्रतिस्पर्धात्मक रूपमै लागिपरेका छन् ।
सौराहामा वर्षैभरि घुम्न सकिन्छ । नेपालमा घुम्नका लागि धेरै रमणीय स्थानहरू छन्। साहसिक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङका लागि नेपाल विश्वमै प्रशिद्ध छ।
करिव ३५ प्रतिशत बनजंगलले ढाकेको नेपाल वाइल्डलाइफ पर्यटनका लागि विश्वकै उत्कृष्ट देश मानिन्छ। नेपालको वाइल्डलाइफमा रमाउनकै लागि वर्षेनी लाखौं पर्यटक नेपाल भित्रिने गर्छन्। यो सँगै दोब्बर मात्रामा आन्तरिक पर्यटक पुगेकै हुन्छन्।
नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तब्य हो।
चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेश द्वार सौराहा हो। यहाँ सुरु सुरुमा विदेशी मात्र देखिन्थे। वदलिँदो समयसँगै सौराहा आन्तारिक पर्यटन गन्तव्य बन्दैछ।
सौराहा आउनुको मुख्य उदेश्य भनेको निकुञ्ज भ्रमण गर्नु हो। त्यस माथि गैंडा हेर्ने धोको सबैको हुन्छ। निकुञ्ज भ्रमण विभिन्न माध्यमबाट गर्न सकिन्छ। सबै भन्दा लोकप्रिय माध्यम हात्ती सफारी हो। एउटा हात्तीमा चार जनासम्म बस्न सकिन्छ। हात्तीबाट जनवार राम्रो र सुरक्षितसँग देख्न सकिन्छ।
अर्को सफारी जीपमा। सौराहाको राप्ती किनारबाट सुरु हुने यो यात्रा निकुञ्जको मुख्यालय कसरासम्म पुग्छ। यात्रा लगभग ३६ किमि दुरी करिब साढे ४ घण्टामा पार गर्न सकिन्छ। कसरामा रहेको गोही प्रजनन केन्द्र पनि यात्रामा देख्न सकिन्छ। यि दुई बाहेक साहसिक पर्यटकका लागि निकुञ्ज हेर्ने अर्को उपाय पदयात्रा हो। जंगल वाकमा जान पथ प्रर्दशक अनिर्वाय छ। सौराहामा छन् नेचर गाइडहरु।
निकुञ्जमा ५०३ गैंडा, लगभग १५० बाघ छन्। जंगल सफारीमा जरायो, बँदेल, चितुवा, बाँदर, मयुर पनि अनगिन्ति देखिन्छन्। बर्ड वाचिङ मात्रै गर्न पनि विदेसी आउँछन्।
हात्ती तथा जिप सफारी गर्दा जंगलमा चरिरहेको मृग, विभिन्न प्रजातीका चराचुरुङ्गी, बँदेल, बाघ, गैंडा, गोही, बाँदर, सर्पलगायतका पशुपन्छीहरु हेर्न पाइन्छ।
सौराहामा अर्को छुटाउन नहुने कुरा डुंगा यात्रा हो। राप्तीमा ४५ मिनेट डुँगा चढ्न पाइन्छ। डुँगामा बसेर नदी किनारमा सुस्ताईरहेका गोही हेर्दा आनन्द आउँछ। जाडो याममा साइबेरियादेखिका चरा नदीमा आउँछन्। वर्षाको बेला पानी धमिलो हुन्छ। आफ्नो सीमा नापन नगरी उर्लने खोलामा जल यात्रा गर्दा आउने आनन्द बेग्लै हुन्छ। जल यात्रा गर्दा लाईफ ज्याकेट लाउनु पर्छ।
जल यात्रा सकिनेवित्तिकै १० मिनेटको हिँडाईमा हात्ती प्रजनन केन्द्र पुगिन्छ। त्यहाँ विभिन्न उमेरका हात्तीको छावा देख्न पाईन्छ, अझ त्यस माथि जुम्ल्याहा पनि।
सौराहाको आकर्षण भनेको हात्तीसँग नुहाउनु पनि हो। गर्मी महिनामा मानिसलाई मात्र होइन, हात्तीलाई पनि पानीमा खेल्न मन पर्छ। यसरी खोलामा नुहाउन गएका हात्तीसँग नुहाउनु, हात्तीको सुँडले फ्याकेको पानीमा सावर लिनु र हात्तीलाई नुहाइदिनु अविष्मरणिय क्षण बन्छ।
साँझ राप्ती किनारमा बसेर सूर्यास्त हेर्दा आनन्द हुन्छ। जुस वा मदिराको चुश्कि लिँदै डुब्दै गरेको सूर्य हेरिरहन मन लाग्छ। दिउँसो चर्को घाम पछि चिसिँदै गएको सन्ध्याकालिन मौसमा छुट्टै आनन्द लिन सकिन्छ। बगरबाट निकुञ्जलाई नजिकबाट पनि हेर्न सकिन्छ। कहिलेकाहीँ त पानी पिउन आएका जनवार पनि देख्न पाइन्छ। रातमा सौराहाको मुख्य चोकमा रहेको थारु नाँच घरमा थारु नृत्य चम्किन्छ। नृत्य हेर्न टिकट काट्नु पर्छ।
त्यसैले सौराहा घुम्न कम्तिमा दुई रात छुट्टयाउनु पर्छ। मनसुनको हरियालीमा जंगलमा धेरै जनावर देख्न सकिन्छ। हामी नेपाली पर्यटक आउँदा खुशी हुन्छौं। सौराहासम्म देशका धेरै भूभागबाट यातायात साधनमा जान सकिन्छ।
काठमाडौंको कान्तिपथबाट हरेक बिहान ७ बजे टुरिष्ट बस जान्छ। त्यसमा जाँदा यात्रा आरामदायी हुन्छ। अरु बस, मिनिबस र निजी सवारी साधनमा जादा पनि हुन्छ।