दसैं-तिहार हाम्रा लागि घुम्ने पर्व पनि हो। यसपालि कोरोनाले गर्दा घुम्ने ठाउँ आफैं थला परेका छन्। प्रसिद्ध पदमार्ग सबभन्दा बढी प्रभावित छन्।
कोरोनाले सुरूमै बसन्तयामको महत्वपूर्ण एक सिजन धरासायी भयो। अब केही समय विदेशी पर्यटक आउने सम्भावना न्यून छ। यस क्षेत्रका व्यवसायी अब शरदयामको अर्को उपयुक्त सिजनमा आन्तरिक पर्यटन चल्छ कि भन्ने प्रतीक्षामा छन्।
दोस्रो चरणको लकडाउन केही खुकुलो भएको मौका छोपी अक्टोबर पहिलो साता हामी सुन्दर पदयात्रा गन्तव्य लाङटाङ उपत्यका घुम्न गयौं। गत मार्चमा लकडाउन सुरू भएयता लाङटाङ क्षेत्रको पदयात्रा गर्ने सम्भवतः हामी नै पहिलो पर्यटक टोली थियौं।
भर्खरै बर्षायाम सकिएकाले पदमार्गमा जताततै झार भरिएको र कतिपय ठाउँमा पहिरो गएको थियो। बाटोमा पर्ने होटल तथा टि-हाउस खण्डहरजस्ता देखिन्थे। कतिपय होटलका झ्याल-ढोका भत्किएका र घाँस उम्रिएका आँगनको विरक्त लाग्ने दृष्य थियो।
राष्ट्रिय निकुञ्ज भएकाले यो पदयात्राको ठूलो खण्ड जंगलैजंगल भएर हिँड्नुपर्छ। सधैं पर्यटकको चहलपहल भइरहने ठाउँ सात महिनादेखि सुनसान हुँदा भालु लगायत जंगली जनावरको क्रिडास्थल बनेको रहेछ।
यो पर्यटन क्षेत्रका मानिस अहिले अन्यौलमा छन्। लगातार दुई ठूला धक्का सहनु परेको छ। लाङटाङ क्षेत्रमा पाँच वर्षअघि भूकम्पले अपुरणीय क्षति गरेको थियो। त्यसबाट फटाफट तंग्रिदै गरेको यहाँ फेरि कोरोनाले निम्त्याएको प्रहार गम्भीर छ। भूकम्पलगत्तै केही समयभित्र यहाँ सहयोग आउन थाल्यो, मानिस आउन थाले, व्यापार चल्न थाल्यो। भूकम्पले बाँचेकामा नयाँ आशा संचार भइसकेको थियो।
तर अहिले महिनौं सुनसान भइसक्यो र अझै कति यस्तै रहने हो कसैले केही भन्न सक्दैनन्। यसपालि अन्यौल र निराशा व्याप्त छ।
यात्राभर भेटिने होटल व्यवसायीको प्रायः उही प्रश्न हुन्थ्यो, 'फरेन टुरिस्ट कहिलेसम्म आउलान्?'
हामी भन्थ्यौं, 'अब यो सिजनमा त खै? स्प्रिङतिर केही बढ्छ होला। तर अबको केही वर्ष विदेशी होइन। नेपाली टुरिस्टलाई स्वागत गर्ने तयारी गर्नुस्।'
सरकारको पर्यटन मन्त्रालयले धरासायी पर्यटन क्षेत्र उकास्ने गरी अझै कुनै प्याकेज वा उपाय ल्याइसकेको छैन। मिडियामा आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरिनुपर्ने विचार आइरहेका छन्। तर कसरी गरिन्छ भन्ने कुनै ठोस योजना छैन। पर्यटन क्षेत्रका स्थानीयभन्दा त सरकार झन् अन्यौलमा जस्तो देखिन्छ।
अब केहीबेर हाम्रो लाङटाङ यात्रामा मसँगै यात्रा गरेर उतातिरको आन्तरिक पर्यटनको सम्भावना अवलोकन गरौं।
लकडाउन केही खुकुलो बनेपछि साथीहरूले ट्रेकिङ जाऊँ भने। सुरूमा रोल्बालिङ उपत्यका घुम्दै छोरोल्पा तालसम्म पुग्ने योजना बन्यो।
भ्रमणस्थलको चाँजोपाँजो मिलाउने साथीले पर्यटनमार्गका होटल र स्थानीय सरकारसँग सम्पर्क गरे। होटलवालाले गाउँलेलाई सोध्न लगाए। स्थानीयले वडाअध्यक्षलाई सोधे। उनले गाउँपालिका अध्यक्षसँग सोध्नपर्ने भने। अध्यक्षले लामागुरुसँग बुझे।
काठमाडौंमा भएका लामागुरुले दुईपटक आन्तरिक छलफल गरेर तत्काल नभई दसैंपछि आउन भने। कोरोनासहित बाटो, पहिरो, भूकम्प आदिको डर भयो।
यता लाङटाङ उपत्यकातिर सम्पर्क गर्दा भने आउन मिल्छ भने। तर यता पनि भर्खरै बर्षा सकिएकाले बाटोको जटिलता कायमै रहेको खबर थियो। हामीले अभ्यासका लागि काठमाडौं उपत्यककाको चन्द्रागिरि आसपासको पदयात्रा गर्दा जुका, जंगल, पहिरो सामना गरेका थियौं।
हामी यात्रामा कोरोनाबाट बच्न र बचाउन सिफारिस गरिएका उपायसहित यात्रा गर्न तत्पर थियौं।
काठमाडौं, माछापोखरीबाट सुमो-गाडीहरू रसुवाको स्याँफ्रुबेसीसम्म जान्छन्। अरूबेला नौ जनासम्म बोक्ने गाडीमा अहिले पाँच जना मात्र बोक्ने रहेछ। हामी पाँचै जना थियौं। त्यसैले गाडी रिजर्भ गरेजस्तो भयो। गाडी चालक नुवाकोटका भाइलाई हामी घुम्न जान लागेका भनेपछि उत्साही बनाएको थियो। सायद उनलाई अब यो रुटमा धेरै यात्री भेटिन थाल्ने छन् भन्ने लाग्यो होला।
नुवाकोट बट्टारबजार पुग्नुअगावै बाटोमा एउटा रेस्टुरेन्टमा बसेर आफैंले बोकेको खाना खायौं। धेरैपछि आज मात्र खुलेको यो रेस्टुरेन्टमा चियाबाहेक अरू खानेकुरा बनाउने तयारी भइसकेको थिएन।
हामीले स्याँफ्रुबेसी (१४६० मी.) पुगेर केहीबेर चियापान र आराम गरी पदयात्रा सुरू गर्यौं। पुल तरेर पूर्वतर्फ लाग्दै गर्दा स्थानीयले त्यताबाट नहिँड्न सुझाए। त्यो बाटो विगत सात महिनादेखि बन्द छ। बाटोका होटल बन्द छन्।
तर, हाम्रा सहयात्री राजारामजीले स्थानीय सरकारका मानिसको समन्वयमा पदमार्गमा पर्ने होटलवालासँग सम्पर्क गरी आज बास बस्ने बम्बु भन्ने ठाउँमा मान्छे बोलाइसकेका रहेछन्। त्यसैले हामी फटाफट लाङटाङ नदीको दाँयातर्फ किनारैकिनार अगाडि बढ्यौं।
बाटो निकै रमणीय छ। बाटोमा जंगल, खोला, झरना, पूलहरू छन्। चराचुरुंगीको चिरबिर र नदीको सुसाहट अनवरत सुनिन्छ। केही ठाउँमा भाङको घारी भेटिन्छ। फोटो खिच्दै अलमल हुन्छ।
दोभान हुँदै पहिरो भन्ने ठाउँसम्म पुग्दै गर्दा अँध्यारो भयो। मोबाइल र टर्चको उज्यालोमा सानो जंगली ट्रेलमा करिब डेढ घण्टा एकोहोरो हिँडेर बम्बुसम्म पुग्दा पसिनाले निथ्रुक्कै भयौं। बाटोभर सिस्नुको झार पन्छाउँदै हिँड्दा हात पोलिरहेको थियो भने त्यसमाथि खुट्टातिर जताततै जुका झुण्डिरहेका थिए। रगत बगिरहेको थियो।
बम्बु (१९७० मी.) मा इटी तामाङ र उनका श्रीमान भेटिए। पहिलो काम नुन छर्केर जीउ, जुत्ता र मोजामा टाँसिएका जुका झार्यौं। फोनमा नेटवर्क थिएन। सोलारमा चार्ज नमिलेर बत्ती झ्यापझ्याप गरिरहेको थियो। बाहिर सफा आकाशमा चहकिलो जून लागिरहेको थियो।
आज हामी आउने भएर ठूलो स्याँफ्रुदेखि चार घण्टा हिँडेर महिनौंदेखि बन्द होटल खोल्न आएका थिए। कोठाहरूमा ढुसी गन्हाइरहेको थियो। होटलका ढोका फुटेका थिए। कोही जँड्याहाको हर्कत हुन सक्ने अनुमान गरिन्। त्यस ठाउँमा भएका अरू दुई होटलका सिसा पनि चर्केका, फुटेका थिए। भालुले पनि उपद्रो गरिरहेको छ रे।
अर्कोदिन बिहानै हिँडेर रिम्चे (२४५० मी.) हुँदै लामा होटल (२५०० मी.) भन्ने ठाउँ पुगेर खाना खायौं। बाटोमा निगालोका टूसा टिपेर लगेका थियौं। त्यो पनि मिसाएर बनाएको तरकारी स्वादिष्ट भयो।
रिम्चेदेखि बाटो सजिलो छ। शेपागाउँबाट यही बाटो हुँदै खच्चर आइरहेको भेटियो। रिम्चे पुग्ने उकालोमा भने गम्भीर पहिरो छ। पखेरोमा अड्केका ढुंगा छिसिक्क हच्के पनि झरेर सिधै खोलामा मिसिने। कोही मान्छे बिहानपख हिँडेजस्तो संकेत भेटेर त्यसलाई पछ्याउँदै पार गर्यो।
बाटोमा रिभरसाइड, उडल्यान्ड, घोडा तबेला भन्ने ठाउँ आए तर सबै लगभग बन्द थिए। सबै होटलको आँगनभरी घाँस उम्रिएको थियो।
हामी बेलैमा थांगसाप (३१२० मी.) पुग्यौं। अघि बढ्ने समय भए पनि हिजोको जस्तो राती हिँड्ने जोखिम नलिने भयौं। यतै बास बस्यौं। यहीबाट लगभग लाङटाङ उपत्यका सुरू भएको मान्न सकिन्छ।
फिन्जो र उनकी हँसिली श्रीमतीले चलाएको होटल एकदम सफा र सुन्दर छ। यहाँ मोबाइलमा थ्रिजी टिप्छ र धारामा तातोपानी व्यवस्था छ। धेरैपछि होटलमा पाहुना आउँदा उनीहरू खुसी देखिन्थे। फिन्जोसँग दिउँसो कतै बाटोमा हामीले भेटेका थियौं। बात पनि गरेका थियौं। उनी एक हुल खच्चरमा सामान लिएर आइरहेका थिए। अहिले यहाँ भेटिए।
उनी क्योन्जिन गुम्बा गाउँमा होटल बनाउँदै रहेछन्। हाम्रो गन्तव्य विन्दु पनि त्यही गाउँ हो।
हामी अर्को दिन बिहानै लाङटाङ गाउँ (३५०० मि) पुग्यौं। २०७२ को भूकम्पपछि आएको हिमपहिरोले पुरानो गाउँ सम्पूर्ण लग्यो। पहिरोले स्थानीयबासी र पर्यटक गरी १७५ भन्दा बढीको ज्यान गयो। अब यहाँ केबल पहिरोको बगर भेटिन्छ।
बाँचेकाहरूले केहीपर पूर्वतिरको चौरमा नयाँ बस्ती बसालेका छन्। अबका घर नयाँ डिजाइनका रंगीचंगी देखिन्छन्। सबै घर एकप्रकारले होटल हुन्।
स्थानीय एक युवासँग कुरा भयो। उनी पर्यटक आफ्नो गाउँ घुम्न आउने दिनको प्रतीक्षामा छन्।
गाउँको केही पूर्व निकुञ्ज सुरक्षा आर्मी पोष्ट छ। हामीलाई नाम इन्ट्री गर्न बोलाए। निकुञ्ज कर्मचारी पनि उतै रहेछन्। प्रतिव्यक्ति सय रुपैयाँ शुल्क लिएर रसिद दिए। खासमा यो काम उतै घोडा तबेलामा गर्नुपर्ने रहेछ। तर भालु लाग्ने र पर्यटक नआउने भएकाले उता कोही नबस्ने रहेछ। त्यहाँ सुनेअनुसार केही काममा आएका कर्मचारी पछि पर्यटक त हामी नै पहिलो रहेछौं।
मुन्डु र सिन्धुम गाउँ हुँदै क्यान्जिन गुम्बागाउँ पुग्ने बाटो समथर छ। फोटो खिच्दै हिँड्दा दुई घण्टा जति लाग्छ। बाटोमा हिमाल, खोला, माने, स्तुपा, घट्ट, पताका, चौंरीगोठ, याक, घोडा भेटिन्छन्।
क्यान्जिन गुम्बागाउँ उपत्यका (३८०० मि)को आसपासको दृष्यले वास्तवमै मन लोभ्याउँछ। पूर्वदेखि दक्षिणतिर हेर्दा गान्जोला हिमालको लाइन देखिन्छ। उत्तरपश्चिममा नजिकै देखिने लाङटाङ हिमाल, हिमपहिरो, हिमतालले हेरिरहुँ बनाउँछ। पारिपट्टी जंगल, त्यसको फेदमा चौंरी चरिरहेका घाँसेचौर, चौरमा ससाना पाँचवटा पोखरी, छेउमा खोला र बगरले सुन्दर दृष्य श्रृंखला तयार हुन्छ।
गाउँमा भेटिने युवा सबै हँसमुख र सहृदयी लाग्यो। लगभग सबैजसो भाग्यले बाँचेकाहरू। उनीहरूलाई यो जीवनको दोस्रो अध्याय बाँचे झैं लागिरहेको हुन्छ।
चौंरीगोठमा वांग्दी तामाङ भेटिए। हामीलाई ताजा दूध तताएर खान दिए। चालीसवटा जति चौरीं पालेका उनले दैनिक बीस लिटर दूध जम्मा गर्ने रहेछन्। तर लकडाउनले गर्दा दूध चीज फ्रयाक्ट्रीले किन्न छाडेछ। उनी आफैंले घीउ, छुर्पी, दुर्खा बनाएर राख्न थालेका छन्। उनका बुबाआमा सन् ५० दशकमा तिब्बतबाट यता छिरेपछि यतै बसोबास भएको रहेछ।
जंगलबाट दाउरा ल्याउँदै गरेका दुई युवासँग भेट भयो। तीमध्ये एक जना ग्याल्बु तामाङ थिए। केहीबेर सँगसँगै हिँड्यौं। बसेर बातचित गर्यौं। उनको कथाले मन छोयो। उनी ट्रेकिङ गाइडको काम गर्ने रहेछन्।
२०७२ को भूकम्पमा चोट लागेर कैयौं महिनाको कोमाबाट बचेका रहेछन्। त्यसले उनको स्मृतिमा पनि केही असर गरेको रहेछ। म जुम्लाको हुँ भन्ने थाहा पाएपछि उनी आफूले गरेको डोल्पा-हुम्लाको ट्रेकबारे सुनाए।
उनले सम्झन नसकेका केही महत्वपूर्ण स्थानका नाम मैले सम्झाइदिँदा उनी खुसी हुन्थे। उनीसँगै खुम्बु क्षेत्रबाट यतै बिहाबारी गरेर बसेका शेर्पा पनि थिए। दुवै जना चाँडै ट्रेकिङ खुल्ने अभिलाषा लिएर बसेका छन्।
हामी बसेको हाइअरल्याण्ड होटलको साहुजीले चारपटक जति जुम्ला रारा, डोल्पा जुम्ला ट्रेक गरिसकेका रहेछन्। स्थानीयसँगको गफगाफले म आफू पूर्वपरिचित ठाउँमा यात्रा गरिरहेको जस्तो महसुस हुन्थ्यो।
अर्काेदिन साथीहरू सविना, पुष्पा, राजाराम र किरणलाई छोडेर म फर्किनु पर्ने भयो। उनीहरू भनेमाथि डाँडाको टुप्पोबाट री भ्याली हेर्न जाने भए।
सबैले एक्लै फर्किने भए अस्ति हिँडेको बाटो नभइ शेर्पा गाउँको बाटो जाने सल्लाह दिए। तर त्यो बाटो लामो थियो मलाई स्याँफ्रुबेसी पुग्नु छ।
म बिहानै हिमताल हेर्न गएँ। त्यहाँबाट चौंरीगोठको बाटो हुँदै तल मूलबाटोमा झरेँ र करिब साढे सात बजेतिर क्यान्जिन छाडेँ।
लाङटाङ गाउँको बगरमा ढुंगाको कापमा परेर मैले समातेको लठ्ठी भाँचियो। केहीबेर हिँडेपछि हिजो डालेचुकको सर्बत खाएको होटलको साहुजीले निगालोको मोटो बलियो अर्को लठ्ठी जोहो गरिदिए।
थांगसापमा हिजो बास बसेका होटल आइपुग्दा पाँच केटाहरू भेटिए। उनीहरू धुन्चेमा रसुवा जिल्लास्तरी फुटबलमा भाग लिन जाने लाङटाङ टिमका सदस्य रहेछन्। एकजना त हिजो म बसेको होटलको छोरा। साहुनीले तिब्बती रोटी र चना खाएर जान सुझाइन्। म त्यो टोलीसँगै हिँडे।
टिम म्यानेजर छिरिङ फिन्जो र म गफ गर्दै हिँड्यौं। उनी पनि एक ट्रेकिङ गाइड हुन्। सात महिनादेखि गाउँमै थिए। आज पहिलोचोटी झर्दैछन्। ट्रेकिङ गतिविधि नहुँदा निकै बाहिरी संसारबाटै टाढिएजस्तो अनुभूति सुनाए। एउटा खोल्सामा पानी खान बस्यौं। मेरो झोलामा अझै दुई दाना जुम्ली स्याउ बाँकी थिए। उनीहरूलाई बाँडेँ।
करिब दुई घन्टापछिको रफ्तारपूर्ण ओरालो हिँडाइले मेरो खुट्टा थाक्यो। त्यो टोली अगाडि गयो। मैले बाँकी बाटो एक्लै आफ्नै रफ्तारमा तय गरेँ।
रिम्चे पुगेपछि एकछिन कुन बाटो जाने भन्ने दुविधा भयो। तर बाटो हेर्दा अस्तिभन्दा केही चहलपहल भए झैं लाग्यो। अनि छोटो बाटो अर्थात बम्बु, पहिरो, दोभानको बाटो हिडेँ।
बाटोमा गाउँबाट फर्किँदै गरेकी इटी दिदी र अरु होटलवालाहरू भेटेँ। बाटोका धेरैजसो होटल खुल्न थालेका रहेछन्। साढेचार बजे म स्याँफ्रुबेसी पुग्दा केही स्थानीयले पत्याएनन्।
एउटा सुमो गाडीले राती अबेरसम्म काठमाडौं पुर्याइदिन्छु भन्यो। अनि, सोझै गाडी चढेँ।
(लेखक चौलागाईं कर्णाली प्रदेश तातोपानी गाउँपालिका जुम्लाका बासिन्दा हुन्।)