मंसिर २७ गते शनिबारका दिन यति एयरलाइन्सद्वारा राखिएको माउन्टेन फ्लाइटका लागि बोलाइएको थियो।
बिहान ६:४५ बजे त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्ष पुगें। म पुग्दा रासस र नेपाल टेलिभिजनका अन्य दुई पत्रकार पनि त्यहाँ पुगिसक्नु भएको रहेछ। हामीलाई निमन्त्रणा दिने सुदर्शन सरलाई कुर्यौं। ७ बजेको उडान भर्ने भनेर हामीलाई जानकारी गराइएको थियो।
हामी केहीबेर बाहिर बसेपछि टिकट लिएर भित्र छिर्यौं। चेक इन गर्दा बायाँतर्फको छुट्टाछुट्टै सिट माग्यौं। हाम्रो लागि ती सिटहरू पहिला नै बुक गराई सक्नुभएको रहेछ सुदर्शन सरले।
उडान ढिला हुने खबर आयो। काठमाडौंको मौसम खुले तापनि, जहाज उड्नका लागि एउटा अल्टरनेटिभ एयरपर्टको मौसम पनि खुल्न पर्ने रहेछ। ताकि जहाजमा केही समस्या आएमा अवतरण गर्न सकियोस्।
करिब ७ बजेर ३५ मिनेटसम्म हामी कुरिरह्यौं। सुदर्शन सरको वाकीटकीमा एक्कासि बोर्डिङ गर्न आउनुहोस् भन्ने कुरा सुनियो। हामी त्यसपछि सरसँगै अगाडि बढ्यौं।
फ्लाइट बोर्डिङका लागि सबै प्रक्रिया सकाएर प्लेनसम्म जाने बसमा चढ्यौं।
केहीबेरमै बस भरियो र प्लेन नजिक पुग्यो।
म एकछिन अलमल्लमा परेँ। बसमा सबै नेपाली थिए। त्यसमाथि पनि प्रायः वृद्धहरू। म यसअघि दुई चोटि माउन्टेन फ्लाइट गइसकेको थिएँ। एक पटक त पूरै प्लेनमा म एक्लै नेपाली। सबै विदेशी पर्यटक। यसपालि भने मैले एक जना विदेशी पर्यटक देखिनँ। हुन त कोभिडका कारण नेपालमा अहिले विदेशी पर्यटक छैनन्, तर म अझै अचम्म कहाँ परे भनी सबै वृद्धवृद्धाहरू।
अहिले एयरलाइन्स हरूले फ्लाइटका टिकटको दर मजाले घटाइदिएका छन्। अझै माउन्टेन फ्ल्याटइमा त एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा।
सबै जनाको मनमा सर्वोच्च ठूलो शिखर सगरमाथा हेर्ने रहर हुन्छ जस्तो लाग्यो। त्यहाँ रहेकाहरूसँग प्रश्न गर्दा सबै जना सगरमाथा एक पटक हेरौं भनेर नै आएको पाइयो।
सबै उत्साहित थिए। हामी बसेको प्लेन दोस्रो फ्लाइट थियो। पहिलो प्लेन उडेर हिमश्रृङ्खलाहरू कतिको क्लियर देखिएको छ भनेर रिपोर्ट पठाएपछि बल्ल यो दोस्रो प्लेन उड्ने रहेछ।
हामी केहीबेर कुर्यौं। सबै जना गुनगुन गर्दै थिए। केही फोटो खिचाउँदै थिए। केही गफ लगाउँदै।
एयरहोस्टेस कुरा गर्न थालेको देखेपछि हामीले सोध्यौं- के निर्णय भयो? अरु हिमालहरू सफा देखिए पनि सगरमाथामा वादल लागिसकेको भन्ने रिपोर्ट पहिलो प्लेनबाट आएको रहेछ। अब यात्रुहरूले सगरमाथा नदेखिए पनि हामी उड्छौं भने प्लेन सबैको सहमतिमा उडाइन्छ। तर, यदि यात्रुहरूले हैन अर्को पल्ट उडान भर्ने भनेको खण्डमा त्यसै गराइन्छ भन्ने जानकारी भयो।
यात्रुहरूलाई पनि सुनाइयो।
सबै जना सहमत भएर अर्कोपल्ट उड्ने निर्णय गरे। हामी पनि त्यसै भनेर प्लेनबाट ओर्लियौं।
फेरि बसमा चढ्न लाग्दा एक जना ६४ वर्षका बुवाले ठट्यौली पारामा भने, ‘पिलेन् चढौंला र सगरमाथा हेरौंला, अनि जन्ती गएर घर फर्क्यौंला भन्ने सोचेको, त्यसका बाजे पिलेन् त उड्नै मानेन त है गाँठे, अझ साँझ घर पुगेर गाई पनि दुहुँला भन्ने सोचेको थिएँ। सायद, गाईले छिटै घर आइज भनेर बोलाएछ क्यारे, तर पिलेनले चाहिँ बोलाएन।’
सबै जना हाँसे।
हामीलाई पनि अर्को पल्टको फ्लाइटमा जाने भन्ने कुरा सुनाइयो। हामी सबै फर्कियौं।
सुदर्शन सरले अर्को पटकको लागि फोन गरेर बोलाउने कुरा गर्नु भएको थियो। म त्यसै फोनको पर्खाइमा थिएँ। अर्को हप्ताको शुक्रबार फोन गरेर आइतबारको फ्लाइटको लागि जानकारी गराउनु भयो। म तयार थिएँ।
पुस ५ गते आइतबार बिहान ७:१५ मा फोन बज्यो।
‘निशा जी तपाईं कहाँ पुग्नुभयो, फ्लाइटको लागि कुरिरहेका छौं हामी।’
म झसङ्ग भए, भुसुक्कै बिर्सेंछु। गहिरो निद्रामा पो रहेछु। फोनको घन्टीले पो बल्ल बिउँझिए। आत्तिएर सरसँग माफी मागेँ।
आउन नभ्याउने जानकारी दिएँ। सरले केही छैन अर्कोचोटि चाहिँ अलार्म राखेर सुत्नुस् भनेर जिस्काउँदै फोन राख्नुभयो। लाज पनि लाग्यो केहीबेर।
त्यसपछि भने बल्ल आइतबार पुस १२ गते साइत जुर्यो।
बिहानै निस्किएर फोन आउनुअघि एयरपोर्ट पुगें।
टिकट लिए, भित्र गएँ। फ्लाइट मौसमकै कारण १० मिनेट ढिला भयो। गाडीमा बस्दा आज पनि वरपरको सिट नियालें। आज पनि
उस्तै, सबै प्राय: वृद्धवृद्धा र उमेर धेरै भएका मानिसहरू। २-३ जना मात्र युवा थिएजस्तो लाग्छ मलाई।
आज भने पहिलो प्लेनमा परेकाले सगरमाथा देखिए पनि नदेखिए पनि उड्ने भइयो।
प्लेन टेक अफ गर्न साथ झ्यालबाट घामका किरण आइहाल्यो र गलामा छोइहाल्यो। बादलमाथि पुग्यौं एकैछिनमा। बायाँतर्फ बसेकाले हिमश्रृङ्खलाहरू पहिला हामीले देख्न पाउने थियौं।
विस्तारै सबै हिमालहरू छर्लङ्ग देखिन थाले। तल काठमाडौं उपत्यकाको मौसम खराब थियो कि जस्तो लागेको थियो। माथि चाहिँ मजाले खुलेको थियो। एक-एक गर्दै परिचालिकाहरूले हिमालहरू कुन-कुन हुन् भन्दै बताउँदै गएकी थिइन्। म फोटो खिच्दै थिएँ।
सगरमाथाको उचाइ .८६ मिटरले बढेको अस्ति भर्खर सार्वजनिक भएको थियो। नयाँ उचाइ घोषणापश्चात् फोटो खिच्न पाइयो भन्दै गफ गरियो। लाङटाङ, चिसपाङमा, चोयु, गौरीशंकर हुँदै केही बेरमा सगरमाथा पनि देखियो।
तर, सगरमाथाको टुप्पो सेतोको साटो कालो देखिएको थियो।
हिउँ पग्लिएर हो कि के हो! सगरमाथा हेर्न मजा आएन यसपालि। पहिलोपल्ट चार वर्षअगाडि र अहिले देख्दा सगरमाथा नै परिवर्तन भएछ कि जस्तो लाग्यो।
एयर होस्टेसलाई सोधें पनि एक पटक। के कारण होला यस्तो देखिएको भनेर। उनले बतास चल्ने भएर हिउँ धेरै बस्दैन क्यारे भन्ने कुरा गरिन्।
तर, के साँच्चै बतासको कारण सगरमाथाको टुप्पो मा हिउँ नभएको हो त? कि ग्लोबल वार्मिङको कारण?
एकछिन सोचमग्न भएँ।
फोटो खिच्दै गएँ।
करिब एक घण्टाको फ्लाइट सकिएर अवतरण गर्ने क्रममा सगरमाथा हेरेको आधार स्वरूप एयरलाइन्सले सर्टिफिकेट प्रदान गर्यो।
प्राय:को जीवनकै पहिलो प्लेन उडान थियो। मनमा अलिकति डर भए पनि कति राम्रो हिमालहरू हेर्न पाएँ भन्दै मुस्कुराए।
फर्किने क्रममा बसमा बसेपछि मैले धेरै वृद्धवृद्धाहरूसँग अनुभव सुन्न खोजें। सबैले एकदम रमाइलो लाग्यो भन्ने कुरा सुनाएँ।