आमा याङग्रीको आधार सिविर झुमाथाङमा पुग्दा घामले डाँडो काट्दै थिए। काठमाडौंबाट हुँइकिएको गाडी झुमाथाङ रिसोर्ट भन्दा आधा किलोमिटर अघि रोकियो।
बाटोमा केही दिन पहिले परेको हिउँका ढिक्को (आइस) खोंचतीर डल्लै थिए। बाटो हिलो थियो। हामी भन्दा पहिला भक्तपुर च्यामासिंहका एक हुल यात्रीहरु गाडी रोकेर बसेका थिए। हिउँका डल्ला र चिप्लो माटो देखेर हाम्रा गुरुजी पनि गाडी भाँसिएला भनेर डराए।
हामी भने झोला झ्याम्प्टा झिकेर बास बस्ने थलोतर्फ लम्कियौं। बाटो आइस जमेर र पग्लेर हिलो र चिप्लो दुबै थियो। हामी बिस्तारै बास बस्ने होटलतर्फ लाग्यौं। त्यो भक्तपुरे टोली पनि पछि पछि आए। हाम्रो गाडीलाई केही नहोला है भनेर अघि सोध्दै थिए। बाटोमै पार्क गरेर बास बस्न हिँडे। तपाईँहरूको मोटरमा राती बाघ र चितुवा सुत्न आउँला। एकैछिन रमाइलो हाँसो चल्यो। उनीहरु पनि बाटोमै गाडी पार्क गरेर आए। आखिर होटल जाने अन्तिम बाटो थियो,त्यो। अरूलाई बाटो छेक्ला भन्ने तनाबै थिएन। मौसम धुम्मिएको छ र हल्का सिरेटो चलेको छ।
आमा याङग्री आधार शिबिर पुग्दा झ्याउँकिरी बास्ने बेला भएको थियो। चार वटा पहेंँला रंगका टेण्टले नै झुमाथाङ रिसोर्टको आकार दिएको थियो। लेक पुगेपछि न्यानो खोज्दै अँगेनको छेउमा बसेर आगो ताप्नुको मज्जा बेग्लै हुन्छ। हामी पनि बलिरहेको आगोको डिलमा बसेर न्यानो हुन थाल्यौ। एकैछिनमा मोबाइलको नेटवर्क खोज्दै रूख चढ्न थाले, सिन्धुपाचोक बाह्रबिसेका अनिश तिवारी। म पनि टावर खोज्दै अग्लो ढुंगाको टुप्पोमा चढेँ फोन गर्नलाई। नेटवर्कको लुकामारी भइरहयो। एकैछिनमा झम्के साँझ पर्यो। फेरि उही अँगेनो वरीपरी झुमिन थाल्यौं।
बिस्तारै आगोको न्यानोले हामीलाई तताउँदै लग्यो। एकैछिनमा ज्यान तातेपछि मिलन लामाले हामीलाई नाच्नलाई अफर गरे। अगेनोलाई छेकारो मारेर हामी नाच्न थाल्यौं। भक्तपुरे टोली पनि बिस्तारै मिसिए। चिसो सिरेटोले हान्दै थियो,एकैछिन अघि बाहिर। भित्र नाच्न थालेपछि खलखली पसिना चुँहिन थाल्यो।
हामीले कोदाको भित्रीकोट पनि ओढेका थियौं। त्यसले झनै जीउ तात्यो। हाम्रो गन्तब्य आमा याङग्री हो। बिहान कति बजे उकालो लाग्ने भनेर मिलन लामालाई सोधे र उनले भने सबेरै। च्यामासिंङका विश्व लाल फैजुले सात बजेतीर उकालो चढ्ने भने। हिमालको आफ्नै नियम हुन्छ। चार बजे नै उठेर आमा याङग्रीको उकालो लाग्ने मैलें भने। त्यसमा सबैको सहमति बन्यो। केही बेर नाचेपछि हामी रात्री भोज खाएर गुँडमा सुत्न गयौं। चुमाथाङको चिसोलाई कोदोको सिरकले भगायो।
बिहान झिसमिसै उठेर हामी आमा याङग्रीको उकालो लाग्यौं। जुनकिरीको जस्तो टाउकोमा टर्च बालेर जंगलको बाटोहुँदै उकालो उक्लिन थाल्यौं। रिम रिम बिहानी छ। एकैछिन उकालो उक्लदै गर्दा मनोज शाही ,अनिश तिवारी र सुनिता साखाकर्मीले आमा याङग्रीको उकालो देखेर हात उठाएर नजाने निर्णय गरे। मिलन लामाले सुस्तरी हिड्न सुझाएर कछुवा गतिमा पुनः उकालो लागे। म भने बिस्तारै पाइला अगाडी लम्काइरहेको थिए। सुनसान एकान्तमा अनबरत उकालो लागिरहेका छौं। कहिले म अघि र कहिले मिलन अघि अनि तीन जना निकै पछि परेका छन्।
बेला बेलामा सुसेली र आवाज दिदैं पाइला चाल्दै गर्यौं। मलाई अग्लो डाँडाबाट सूर्य उदाएको र अस्ताएको हेर्न पाउँदा मनै पुल्कित हुन्छ। आमा याङग्रीको टुप्पोबाट सूर्यको पहिलो किरण हेर्ने धोको छुटला भनेर पाइला बढाइरहेका छौं। घनघस्याको उकालो भन्दा कम छैन , आमा याङग्रीको उकालो। टोपी खस्ने चट्टानमय ठाडो उकालोमा पाइला सार्नलाई निकै मुश्किल परेको छ। मिरर्मिरे बिहानी छरिदैछ। आकाशमा ताराहरु टील्पिलाईरहेका छन्। खुला आकाशलाई धर्तीको उकालोबाट माथि हेर्दा लाग्छ, क्षितीज आमा याङग्रीको थाप्लोमा छ। भेटन पाइन्छ। रोमाञ्चकारी आमा याङग्रीको उकालो मैलें नेपालको १२ बर्षीय माओबादी द्धन्द्धमा सकृय पत्रकारिता गर्दा सोलुखुम्बुको जिरी भएर लामाजुरा पासको उकालो जस्तै लागिरहेको छ। त्यस बेला जिरीबाट हिडेर सगरमाथा आधार शिबिर २१ दिनमा पुगेको थिएँ।
यहाँ सुस्तरी पाइला चाले तीन घण्टामा आमा याङग्री पुग्छौं। आमा याङग्रीको टाकुरो नपुग्दै तलैबाट पहिलो घामको झुल्को देखियो। मनै फुरुङ भयो र पृथ्बीलाई उज्यालो फैलाउने सूर्यलाई क्यामेरामा कैद गर्दै हामी आमा याङग्रीतर्फ लम्किदै छौं। घडीको सूईले बिहानको सात बजेको संकेत गरेको छ। मिलन लामा र म एकैछिनको फरकमा आमा याङग्रीको शिखरमा पुग्यौं। भक्तपुरे टोली एक घण्टा पहिले पुगेका थिए। थकाइ मारेर चुरोटको सर्को तान्दै आरोलो झर्ने सुरसारमा थिए। आमा याङग्री ३ हजार ७ सय ७१ मिटर अग्लो टाकुरो हो। जहाँबाट आँखै नझिम्काई दोर्जे लाक्पा,गणेश हिमाल, लाङटाङ हिमाल रेन्ज,गौरीशंकर रेन्ज, भैरब टाकुरा,ग्याल्जेन पिक, याङग्री हिमाल,किमसुङ,भेमडाङ हिमाल उर्कुमा हिमाल,यान्सा छेन्जि हिमाल लगायतका दुई दर्जन भन्दा बढी हिमालहरु एकै थलोबाट देखिन्छन्।
आमा याङग्रीबाट देखिने हिमश्रृखांहरु कौशिबाट बारीका फाँटहरु हेरे जस्तै देखिन्छन हिमाली दृष्यहरु। मनमोहक हिमालहरु आँखै नझिम्काई हेर्नलाई राजधानीबाट नजिकको गन्तब्य हो, आमा याङग्री। कुनै हिमालको शिखरमा चढ्नु भन्दा शिखरमा टिक्नु महत्वपूर्ण मानिन्छ। हामी पनि एकैछिन टुप्पोमा टिकेर ओरालो झर्ने तरखर गर्दै छौं। बिहान हिमालहरु छयाङ खुलेका थिए। हामी एक घण्टा जति आमा याङग्री टुप्पोमा बस्दा खुलेको मौषम एकैछिनमा बादलुको घुम्टोले ढाक्यो। धित मरुन्जेल तस्बिर खिच्न पनि मुश्किल पर्यो, मौषमले साथ दिएन्। आमा याङग्रीमा पदम सम्भब (गुरु रिन्पोच) र मिले रेप्पालले पाइला राखी भोटतर्फ लागेको भन्ने सामाजिक जन बिश्वास छ।
उनीहरुले तपश्या गरेको यस तपोभूमिमा पाइला राख्दा बौद्ध धर्मालम्बीहरु र हिन्दूहरु मोक्ष मिल्छ भन्ने आत्मा बिश्वास छ। हाम्रो हिमालय पर्बतहरुमा भगवानले बास गरेर ध्यान गरेको श्रुतीहरु प्रशस्त छन्। आमा याङग्री हिमालहरुको बगाल देखिने थलो हो भन्दा फरक नपर्ला। यस पबित्र थलोमा सिमेन्टको अग्लो थुप्रो बन्दै छ। मौलिकता भन्दा पनि हाम्रा मठ मन्दिर,चैत ,गुम्बाहरु सिमेन्टका कुरुप बनेर ठडिएका छन्। सिमेन्टले पोतेर आकाश छुने आधुनिकताले गाउँदेखि सिंहदरबार र बालुवाटारसम्म गाँजेको छ।
आमा याङग्रीको उकालो घोडेपानीबाट पुनहिल चढ्े जस्तो भान हुन्छ। उचाइँ पनि लगभग उस्तै छ। फरक पुनहिलमा पर्यटहरुको घुइँचो लाग्छन्। आमा याङग्री भर्जिन पिक हो। लगभग एक घण्टाको शिखर बसाइँपछि हामी ओरालो ओर्लर्ने सुरसार गर्दै छौं। टीमका तीन जना सदस्य भने भर्खरै झुल्किदै छन्। एकैछिन टीम भेला भएर फोटो सेसन गरेर ओरालो झर्यौं। त्यसपछि आकाशमा बादहरुको पनि भेला हुन थाल्यो। बादलुको घुम्टोले हिमालहरु सपक्कै ढाक्यो। बिस्तारै हामी आमा याङग्रीबाट ओझेल पर्दै ओरालो लाग्यौं। अघि टोपी खस्ने उकालो अब ओरालो झर्दा बाँदर लड्ने भिर जस्तो देखिन थाल्यो। तीन घण्टा लागेर शिखर पुगेका हामी ढेड घण्टामा फेदी झर्यौं। हामी ओरालो झर्दै गर्दा मनाङका एक हुल सत्र जनाको टोली आमा याङग्रीतर्फ चढ्दै थिए। पदम सम्भाबले पाइला राखेको पबित्र थलोमा पुग्न पाउँदा मोक्ष मिल्छ भनेर यो उमेरमा उकालो लाग्दै छु, मनाङबाट आएका एक ७२ बर्षीय तीर्थालुले हुलबाट भने।
हामी आमा याङग्रीको फेदी चुमाथाङ झरेर बिहानको खाना खाएर ११ बजे सेर्माथाङतर्फ अर्का पाँच घण्टाको पदयात्रा थाल्यौं। चुमाथाङमा भर्खर बन्दै गरेको रिसोर्टले पनि एक रातको बास धान्यो। सानु शेर्पाको सत्कार र स्थानीय स्वादिलो खानाले शक्ति प्रदान गर्यो। हाम्रो पाइलाहरु बलिया भएर अगाडी बढ्यौं।
डोजरे बिकासले देश निलेको बेला चुमाथाङबाट सेर्माथाङसम्म नागी र जंगलको बाटो हुँदै पदयात्राका पाइलाहरु लम्किएका छन्। मनै पुल्कित हुने जंगलको बाटो अनि चराहरुको संगीतले हाम्रो यात्रा रोमाञ्चकारी बनेको छ। मिलन र म अघि अघि छौं। बाँकी तीन जना दुई घण्टा नागीमा सुतेर थकाइ मारेर ब्युँझिदा पनि आइ पुगेका छैनन्। पाँच घण्टा तेस्रो जंगलको बाटो छिचोलेपछि सेर्माथाङ पुग्यौं। सिमसिम पानी पर्दै छ। बेला बेला जंगलबाट सुन्दर हेलम्बु गाउँ झ्यालबाट च्याँए झैं देखिन्छ। नेपालका पहाड र पखेरा प्रकृतिका अनुपम छटाहरु हुन्।
पाखा भित्तामा पदयात्रा गर्न सूदुर क्षितीजबाट बिदेशी पर्यटकहरु आउँछन्। हामी भने आफ्नै घर मास्तिरका कान्लाहरु उक्लन महाभारत ठान्छौं। हेलम्बुको सेर्माथाङमा स्थानीय हेलमु समुदायको लोसारको छेको पारेर छेच्यु पूजा गरिदै थियो। स्थानीय समुदाय र राजधानी बस्ने हेल्मु समुदायका मानिसहरु बर्षमा एक पटक हेलम्बु पुग्छन्। छेच्यु पूजा हेलमु समुदायको प्रमुख चाड हो। बर्षेनी हुने छेच्यु पूजा सेर्माथाङस्थित साङ्ग फिन्चोक उर्गेन छयोङि गुम्बामा भएको थियो। हेलम्बु देबताको बासस्थान हो भन्ने सामाजिक मान्यता रहेको छ।
दुई दिनसम्म हामी छेच्यु चाडमा मस्त भयौं र स्थानीयको आतिथ्य स्वागत र सत्कारमा रम्यौं। हेलम्बुमा होमस्टेको शुरुवात गरिएको छ। प्रत्येक घर होमस्टेका हुन्। पाहुना स्वागत,सत्कारमा स्थानीयको दक्षता त्यति देखिएन। जहाँ सफा, सुग्घर र कोठाहरु पनि चिटिक थिएनन्। पर्यटकहरु आएनन भन्दा पनि किन आएनन् भनेर सोच्नु पर्छ। हामीले के पस्कने र के देखाउने भन्ने स्थानीयको ज्ञान र स्थानीय सरकारको सहयोग अभाब हेलम्बुमा देखिन्छ। हेलम्बुसम्म पुग्ने मोटर बाटो भरपर्दो छैन। हेलम्बुको स्थानीय सरकार भने चीनको ग्रेटवाल बाउने ध्याउन्नमा छ। त्यो पनि ६० किलोमिटर चाइनाकै गे्रटवाल बनाएर पर्यटक घुम्न ल्याउने सोच। बाटोको बिजोग र स्थानीयहरुको आतिथ्य सत्कारमा अज्ञानतालाई चिरेपछि मात्रै स्वदेशी बिदेशी पर्यटकहरु ह्ेलम्बु आउँछन्। स्थानीय टासी लामा हेल्मु हेलम्बुमा कसरी पर्यटकहरु ल्याउने भनेर बहसमा जुटेका छन्।
हेलम्बुलाई हयापेनिङ बनाउने हो भने रिब्राण्डिङ गर्नु पर्छ। होटलहरु र होमस्टेलाई स्तर उन्नती गरेर गुणस्तरीय पर्यटकीय सेवा सुबिधातर्फ ध्यान दिनु जरुर छ। भूकम्पले थिलथिलो पारेको सिन्धुपाल्चोकको हेलम्बु,पाँचपोखरी राजधानीबाट नजिकका पर्यटकीय गन्तब्य हुन। पाँचपोखरी भएर रसुवाको लामटाङ पदयात्रा जोडिएको छ। गोन्जोला पास,टिल म्यान पास साहसिक पदयात्राका लागि अब्बल छन्। सिन्धुपाल्चोकको पर्यटनलाई उकास्नलाई तल्लीन आरोही माया गुरुङ र स्थानीय मिलन लामाले गत बर्ष टिल म्यान पास गर्दाको साहसिक कथा कम रोचक छैन। काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य भए पनि हेलम्बु र पाँच पोखरी ओझेलमा परेको गुनासो छ, आरोही माया गुरुङको।
आन्तरिक पर्यटकहरुले चलेका नगरकोट,बन्दीपुर,पोखरा,चितवन जस्तै गन्तब्य बन्न सक्छ , हेलम्बु। स्थानीय सरकार र पर्यटन सम्बद्ध स्टेक होल्डरहरुले हेलम्बु, आमा याङग्री, पाँच पोखरी र जुगल आधार शिबिर लगायतका गन्तब्यहरुमा पर्यटकीय स्तरीय होटलहरु,शौचालय,चिया पसल संचालनमा उचित ब्यबस्थापन गर्नु पर्छ। प्रमोशन गर्न सक्यो भने हेलम्बुको पर्यटन लयमा फर्कन्छ , आरोही माया गुरुङले भनिन्।
काठमाडौं खाल्डोबाट धेरै दूर छैन, हेलम्बु। लामो समय एकै थलोमा बसेर काम गर्दा होस वा शहरको भागदौड जीवन शैलीबाट एकैछिन थकान मेटाउने र फ्रेस हुने योजना छ भने हेलम्बु ट्रेक छान्नुस्। मानिसहरु स्वभाबैले यायाबर गर्न रुचाउँछ। एकै थलोमा बलेंटी कसेर बस्ने मानिसहरुको स्वभाब पक्कै होइन्। कोलाहल र धकामुक्कीको जीवन शैलीले थकित भएको बेला हामी शान्त र एकान्त खोज्छौं। प्रकृतिको काखमा रम्ने र स्थानीय भाषा,संस्कृति,परंपरा पस्कने तरिकालाई नजिकबाट हेर्ने हो भने हेलम्बु गहकिलो गन्तब्य हो। हेलम्बु राजधानीबाट ९० किलोमिटरको दूरीमा छ। चार दिन समय भए आमा याङग्री र हेलम्बु घुमेर आउन सकिन्छ। स्थानीय भाषा,संस्कृति,रहनसहन,रीतिरिवाज,स्थानिय परिकारहरुको स्वाद लिन भए बढी समय छुट्टाउनुस्।
हेलम्बु लुकाएर राखेको रत्न हो। यहाँ ह्याल्मो सम्पदा र संस्कृतिको झल्को दिन्छ। हेलम्बुलाई पर्यटकीय भरपर्दो गन्तब्य बनाउन स्थानीय सरकार योजनाका साथ लागेको छ ,हामीले चार अर्बौको महत्वकाक्षी ग्रेट ट्रेल निर्माणधिन कार्य थालेका छौ,हेलम्बु गाउँ पालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले भने। हेलम्बु पदमार्ग धार्मिक र साहसिक दुबै हिसाबले आर्कषक छ। हेलम्बु पुरानो गन्तब्य हो र बिस्तारै लयमा फर्कन्छ’ ,उनले भने।
हेलम्बुमा रेड पाण्डा पाइन्छ। बन्य जन्तु , बनस्पति, बिनिन्न प्रजातिका फूलहरु हेलम्बु पदमार्गमा पाइन्छ। लामटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने हेलम्बु पदमार्गले गोसाइँकुण्ड जोड्छ। हेलम्बु मेलम्चि खानी पानीको स्रोत भएकाले राजधानीबासीहरु यस गन्तब्य हेर्नलाई आउँछन् भन्ने बिश्वास छ , गाउँपालिकाका अध्यक्ष शेर्पाले आशातीत हुँदै भने। हेलम्बु मल्टि प्रबेशद्धार र मल्टि बहिर्गम गन्तब्य थलो हो। हेलम्बु पदयात्रा र आमा याङग्री पिक चढ्नलाई एकै समय छुट्टाएर निस्कदा उचित हुन्छ।