जीवनमा यात्रा गर्ने स्थानको सूचीमा ५ नम्बर माथि नै थियो- तिलिचो ताल। कोरोनाले सुस्ताएको कामले फुर्सदिलो हुदाँ नयाँ वर्ष २०७८ मा कहीँ न कहीँ यात्रा गर्ने योजना बनाउँदै थिएँ।
'त आँट म पुर्याउँछुु' भन्छ रे समयले।
समयले चाहेपछि हुने नै रहेछ। मेरो मित्र सहकारीका अभियान्ता तथा नेफस्कुनका अध्यक्ष परितोष पौडेलको आग्रहलाई विनम्र स्वीकार गर्दै परितोषजीको परिवार र मेरी पत्नी गीतासहित १२ जनाको टोली २०७७ चैत ३१ गते काठमाडौंबाट तिलिचो यात्रामा निस्कियौं।
यात्राकै क्रममा तिलिचो तालबारेमा केही अध्ययन गरियो। विदेशी पर्यटकबीच धेरै आकर्षित यो तालको यात्रा हिजोआज नेपालीबीच पनि अति नै लोकप्रिय भएको रहेछ।
मनाङ जिल्लामा अवस्थित यो ताल विश्वकै सबभन्दा बढी उचाइमा रहेका तालमध्ये एक हो। पदयात्राको लागि विश्वविख्यात अन्नपूर्ण पदयात्राभित्र पर्ने यो ताल ४ हजार ९१९ मिटर उचाइमा अवस्थित छ।
४ किलोमिटर लम्बाइ, १.२ किलोमिटर चौडाइ र २ सय मिटर गहिराइ रहेको यो ताल तिलिचो, निलगिरि, खंग्सार र मुक्तिनाथ हिमालको काखमा सुतेको छ।
प्राकृतिकको यो अद्भूत सिर्जना तिलिचो ताल, तिलिचो हिमाल र निलगिरि हिमालको ग्लेसियरबाट बनेको विश्वास गरिन्छ।
भगवान शिवले तपस्या गर्न मन पराउने, कागबेसिनी ऋषिले तपस्या गरी ज्ञान प्राप्त गरेको किंवदन्ती समेत रहेको यो ताललाई पौराणिक कालमा 'काग भुसुण्डे' नामले समेत चिनिँदो रहेछ।
विश्वकै अल्लो उचाइमा रहेको यो तालमा नेपाली फिल्म 'झुमा'समेत सुटिङ भएको थियो।
मेरो र मेरो श्रीमतीको यो उचाइको यात्रा पहिलो थियो। मलाई थाहा थियो यो यात्रामा म जति उत्साही थिएँ त्यतिकै सजक पनि।
हुन त पानी पधेंरोजस्तै शैलुङ डाँडामा कुदेको मेरो लागि यो यात्रा बढी रोमान्चक नै थियो।
लमजुङको बेंशीसहरबाट यस तालको यात्रा सुरू हुन्छ। बेंशीसहरबाट बढीमा १० दिनको पदयात्रा गर्ने अथवा खंग्सारसम्म सडकयात्रापछि पदयात्रा सुरू गर्ने दुई विकल्प हामीसँग थियो।
यो रोमान्चित यात्रामा हामीले भने खंग्सार पछिमात्र पदयात्रा गर्ने निर्णय गर्यौं र नयाँ वर्ष २०७८ को पहिलो दिन बेंशीसहरबाट खंग्सारको यात्रामा निस्कियौं।
हामी सबैको लागि यो उचाइको यात्रा पहिलो भएकाले पनि लेक लाग्न सक्ने सम्भावनालाई ध्यानमा राखेर यात्रालाई सहज र सरल बनाउन पहिलो दिन मनाङको सदरमुकाम चामे बस्ने निर्णय गर्यौं। झन्डै ५ घन्टाको रोमान्चित सडक यात्रासँगै हामी चामे पुग्यौं।
चामे बजार पोखराको तालमा अवस्थित पुरानो डुङ्गाजस्तो स्थिर लाग्यो मलाई। चामे मात्र हाइन बेंशीसहर पछि झेटिएका बाहुनडाँडा, घ्यार्मु, स्याँगे, च्याम्चे हुँदै मनाङको पहिलो गाउँ तालगाँउदेखि ताल गाउँबाट अगाडि भेटिने धारापानी, दानाक्यू, बगरछाप, तिमाङ, थानचोक, कातो सबै गाँउ डुङ्गामा बेहुली जस्ती सर्माएकी भान हुन्थ्यो।
दुई तिरबाट अग्ला, मनमोहक सेता पहाडबीचको बस्ती, त्यही पहाडबाट निस्किएको झरनाहरूको छङछङ सुसेली र मर्स्याङ्दी नदीको माधुर्य स्वरले गुन्जाइरहेका ती गाँउहरूको सुन्दरताको आनन्द लिनलाई स्पर्श गर्न पुग्नैपर्छ।
चामेबाट मौसम खुलेका समयमा लमजुङ, मानस्लु र अन्नपुर्ण दोस्रो हिमालको समेत दृश्यावलोकन गर्ने सकिने रहेछ तर खराब मौसमको कारण हामी फापरको रोटी, गुन्द्रुकको अचारको स्वाद लिँदै खंग्सारको यात्रामा बिहान ७ बजे निस्कियौं।
चामेबाट खंग्सारको सडकयात्रा झण्डै ४ घन्टाको थियो। यो सडकयात्रामा हामीले ढुकुरपोखरी, पिसाङ, ग्रिनताल, घ्यारु, ङावल, झाक्रा, मनाङ गाउ, गंगापूर्ण ताल छोङ्करहरूलाई आँखामा कैद गर्न प्रयास त गरियो तर पैदलयात्रीले जस्तो यसको सुन्दरता पिउन भने सकेनौं।
धेरै विदेशी पर्यटकहरू भने मनाङ गाउँमा २ दिन जति बस्ने र भ्राका गाउँबाट ४६०० मिटरको उचाइमा रहेको आइस लेक, मिलेरेपा केभहरूको अवलोकन गर्ने र यहाँको खाना, संस्कृति, धार्मिक स्थलहरूको अध्ययन समेत गर्ने गर्दछन्।
अति विकट पहाडहरूलाई खोपेर बनाएको यो सडकयात्रा अत्यन्त साहसिक र रोमान्चिक यात्रा थियो।
नेपाली सेनाले निर्माण गरेको यो सडक निमार्णको क्रममा ९ जना जवानहरूले समेत ज्यान अर्पण गरेका रहेछन्।
यो ४ घन्टा दोहोरो सवारी चल्न कठिन जिउ नै सिरिंग हुने यो भिरको यात्रा जति रोमान्चित थियो त्योभन्दा बढी साहसिक पनि रह्यो।
जिउनै सिरिंग हुने यात्रासँगै जब बुङ्ग छहराको अवलोकन गर्यौं।
भयानक देखिने दुईतिरको पहाड, प्रकृतिको कोखबाट सुसाएर बगेकी झरना, मर्स्याङ्दी नदीको भंकार, हिमालबाट छछल्किएर बगेकी सिरसिरे हावाले शरीरमा गरेकोको सम्मोहक स्पर्शको अनुभवसँगै आफूलाई प्रकृतिको त्यो मोहकता भित्र रमाउने, प्रकृतिलाई बुझ्ने र प्रकृतिलाई आफ्नो आत्मामा समाहित गर्ने मौका समेत मिल्यो।
दोस्रो दिन १२ बजे खंग्सार पुग्यौं। सडकयात्रा यही खंग्सारमा टुंगिने रहेछ। दिउँसोको खानापश्चात् १ बजे केही हलुका र अति आवश्यक सामानमात्र लिएर तिलिचोको बेस क्याम्पको पदयात्रा सुरू भयो।
हुनत हामी जस्तो नयाँ पदयात्रीहरूले एक दिन खंग्सारमा बसेर यहाँको वातावरणसँग भिज्ने गर्दा लेक लाग्ने सम्भावना कम हुने रहेछ।
खंग्सारबाट श्रीखर्क हुँदै बेसक्याम्पको यात्रा ३ घन्टाको रहेछ तर हाम्रो समूहलाई ६ घन्टा लाग्यो। कोभिडको असरले होला यात्रामा नगन्य विदेशी पदयात्री भेटिए भने स्वदेशीहरू पनि धेरै कम भएको व्यवसाय संचालन गरेका स्थानीयले बताए।
नाक नै छुने उकालो, शरीरलाई थेग्न नसक्ने ओरालो र टेकेको जमिन नै बग्ने पहिरोमाथिको ६ घन्टाको यात्राको अन्तमा हामीलाई हिउँले स्वागत गर्यो। मानिस नै उडाउँलाजस्तो बगेको हावा र एक्कासि परेको हिउँले केही समय हामीलाई तर्सायो पनि।
हामी भाग्यमानी नै रहेछौं केही दिनदेखि नपरेको हिउँले हामीलाई साँझमा स्वागत गरेका थियो र झण्डै ५ इन्चको बाग्लो हिउँ छिचोल्दै तिलिचो बेसक्याम्पसँग हात मिलाउन सकियो।
यो अनुभव विरलै यात्रीहरूले पाउने स्थानीयहरूको कथन थियो।
साथीहरू थकित देखिन्थे, केही साथीहरूलाई उचाइको असरले होला शरीरमा केही अप्ठ्यारो महसुस भए पनि समग्रमा सबै साथीहरू सकुशल नै थियौं।
बेलुकाको खानासँगै केही रसियाली र अन्य नेपाली पदमार्गीहरूसँग नेपाली गीत र नाचको माहोल बनाएर दिउँसोको त्यो कठिन यात्रालाई रोमान्चित यात्रामा परिवर्तन गरियो।
हिउँ पर्न रोकिएको थिएन। यही क्रममा हिउँ नरोकिने हो भने तिलिचोको भोलिको यात्रा हुने/नहुनेमा सबै पदयात्रीहरू सशंकित थिए र हामीले पनि भोलिको तिलिचो यात्रा गर्ने/नगर्ने भोलि नै निर्णय गर्ने अठोटका साथ ठिक ५ बजे बिहान भेट्ने वाचा गर्दै निद्रा देवीको शरणमा जाने निर्णय गर्यौं।
बिहान हिउँ झर्नेक्रम त रोकिएको थियो तर रातभरि नै परेको हिउँको कारण बाटो पूरै बन्द थियो।
५ इन्चभन्दा मोटो हिउँले पुरिएको बाटो छिचोलेर जानुपर्ने र बिहान १० बजेभित्र नै पुग्नुपर्ने नत्र डरलाग्दो हावा चल्ने हुँदा बेसक्याम्प फर्किन कठिन हुन सक्ने विश्लेषणबीच झण्डै बेसक्याम्पमा रहेका २५ प्रतिशत पदयात्रीहरूले तिलिचो नउक्लने निर्णय गरिसकेका थिए।
मेरो समूहले पनि तिलिचो नउक्लने र खंग्सार नै फर्किने निर्णय गर्यो। तर मेरो मनले मानेन। बेसक्याम्पबाट झण्डै ३ घन्टाको यो उकालोले मलाई हेरिरहेको थियो भने तिलिचो लेकले मलाई डाकिरहेको थियो।
मैले एक्लै भए पनि जाने निर्णय गरें। सबै साथीहरूले नजान आग्रह गरिरहेका थिए। तर अन्तत साथीहरूलाई ग्रुप फोटो खिच्न र मलाई यात्राको सफलताको शुभकामना दिन आग्रह गरें र ग्रुप फोटोपश्चात् तिलिचो तालको यात्रामा लम्किएँ।
स्थानीय तिलिचो तालमा २ घन्टामा पुग्ने र १ घन्टामा फर्किंदा रहेछन्। स्थानीयको भनाइ अनुुसार सामान्यत नयाँ पदयात्रीहरूको लागि यो यात्रा उक्लिन ४ देखि ५ घन्टा र फर्किंदा ३ देखि ४ घन्टा लाग्ने रहेछ।
मैले ३ घन्टामा उक्लने र १ घन्टा आधामा फर्कने अठोट लिएँ।
झण्डै उकालोको एक राउण्ड पछि ३ जना पदयात्री भाइहरू नेपाली झण्डाका साथ फर्केको भेटे। उहाँहरू नसक्ने निर्णयका साथ फर्कनु भएको रहेछ। मैले उहाँहरूसँग उहाँहरूले लिएको नेपालको झण्डासँगै सेल्फी खिच्न आग्रह गरें र सेल्फी खिचेर म उकालो लागें, उहाँहरू ओरोलो लाग्नुभयो।
हिउँले छपक्कै ढाकिएको बाटो अगाडि हिँडेका यात्रीहरूले छोडेको पाइतालाको डोबको सहारामा उक्लिनु पर्दथ्यो। माथि हेर्दा ठाडो उकालो, तल हेर्दा भयानक भिर, एक्लै सासको गतिसँगै अगाडि बढिरहें।
चारैतिर मनमोहक सेतै फुलेको हिमालबीच जब चिसो हावा चल्थ्यो। लाग्थ्यो म स्वर्गको यात्रामा छु। आफ्नै गति र सुरमा अगाडि-पछाडि पदयात्रीहरू लाम लागेर स्वर्गीय आनन्द लिइरहेका थिए।
मनमोहक यी दृश्य समय-समयमा क्यामेरामा कैद गर्दै आफू र आफ्नो देशप्रति गौरवान्वित हुँदै ठिक ९ बजे तिलिचो तालमा पाइला टेकें।
गर्वले छाती ढक्क फुल्यो। तालको छेउमा पुगे एक मुठ्ठी हिउँ समाएँ नमन गरे र तिलिचो तालमा चढाएँ। मेरो भौतिक शरीरलाई हिउँको डल्ला बनाएर समपर्ण गरेको थिएँ मैले।
जम्माजम्मी १५ जना यात्री मात्र थिए जब मैले तिलिचोमा पाइला राखें। मेरा क्यामेरा छटपटाउन थाले। चारैतिर देखिएको त्यो स्वर्गीय आनन्दलाई क्यामेरामा कैद गरें।
भगवान गौतम बुद्ध र देवादी देव शिवको मूर्तिले तिलिचो ताललाई धार्मिकस्थल बनाइएको रहेछ। पौराणिक कालमा शिवले विचरण गर्न मन पराउने यो ताल स्वर्गबाट झरेको स्वर्गको एक टुक्रा नै थियो।
१५ मिनेट ध्यान गर्न मन लाग्यो। मोबाइलमा १५ मिनेटको अर्लाम राखें र आँखा चिम्लेर बसें। नजिकै रहेका बुद्धलाई सम्झें, शिवलाई मनमा समाएँ र मेरो जीवनमा साथ दिने सबैलाई धन्यवाद दिएँ।
तिलिचो ताल समाधिस्त छ जस्तो लाग्यो। ती सुन्दर चाँदीजस्तै टल्केका हिम श्रृंखलाहरूले बीच हिउँले छपक्कै ढाकेको तिलिचो ताल सेतो पछ्यौरी ओढेर गहिरो निद्रामा निदाएकी थिइन्। जब मैले आँखा बन्द गरें र तिलिचोको दर्शन खोजें मैले यस्तै देखें।
जिन्दगीमा मैले बिताएको यो १५ मिनेट मेरो स्वर्गीय आनन्दको अनुभूति थियो।
रसियन पदयात्री टोलीलाई गाइड गरिरहेका भाइलाई मेरो १/२ वटा फोटोको लागि आग्रह गरें र उनीसँगका एक सेल्फीसँगै अन्तिम पटक हिउँले भरिएको भुइँलाई छोए नमन गरे र बेसक्याम्पतिर फर्कें।
१ घन्टा ३० मिनेट मै मैले त्यो ओरालो छिचोलें। बेस क्याम्पको रिसेप्सनमा साथीहरूले मेरो १५ किलोको झोला छोडी दिनुभएको रहेछ। केही ग्लास तातोपानी पिएँ। भोक नै लागेन। सायद खुसीले अथवा उचाइको कारण पनि हुन सक्छ।
साथीहरूलाई खंग्सारमा भेट्न हतार थियो। बीचमा फोन लाग्यो। कुरा गरे उहाँहरू १ बजे खंग्सार पुगेर बेंशीसहरको सडक यात्राको तयारी गर्दैगर्दा ३ बजे नै उहाँहरूलाई भेट्न पुगें।
सबै साथीहरूले गौरवका साथ ताली बजाएर स्वागत गर्नुभयो। मेरो तिलिचो तालको यो यात्रा मेरा लागिमात्र होइन मेरी धर्मपत्नी र ११ जना मेरो समूहको लागि पनि गौरवको विषय रह्यो। ३.३० बजे हामी मनाङको पहिलो गाउँ तालमा बस्ने निर्णयका साथ हुइँकियौं।