दुई पहाड वा दुई चुचुरा बीचको भञ्जाङलाई 'पास' भनिन्छ। साहसिक यात्रामा रमाउनेहरू हिमाली क्षेत्रका कठिन भञ्ज्याङ पार गरेर रेकर्ड राख्दा गर्व महसुस गर्छन्।
सुनिल तण्डुकार त्यसरी नै गर्व गर्ने साइकल यात्री हुन्।
विगतमा हिमाल आरोही वा पदयात्रीले मात्र पार गर्ने जोखिमपूर्ण पासहरूमा केही समययता प्रोफेसनल साइक्लिस्टहरू साइकल हाँकेरै पुग्ने गरेका छन्। तिनैमध्ये सुनिल तण्डुकारले करिब साढे दुई महिनाअघि सगरमाथा क्षेत्रका तीनवटा पास साइकलमा नाघेर रेकर्ड राखे।
उनले २०७८ कात्तिक १९ गते 'एभरेष्ट-थ्री पासेस' अर्थात् रेन्जोला (५,३६० मिटर), चोला (५,४२० मिटर) र कोङ्माला (५,५५० मिटर) पास साइकलमा पार गरेका थिए भने कालापत्थर (५६४४ मिटर) र सगरमाथा आधारशिविर (५३६४ मिटर) पनि साइकलमै पुगे।
यी पाँचमध्ये एभरेष्ट-थ्री पास र आधारशिवरमा उनीसँगै अर्का साइकल यात्री दीपक श्रेष्ठ पनि थिए।
सुनिल र दीपकको १६ दिने साइकल यात्रा लुक्लाबाट सुरू भएको थियो। उनीहरूले सँगसँगै एभरेस्ट थ्री पासेस पार गरे। त्यसपछि सुनिल एक्लै कालापत्थर पुगे।
'पैदल यात्रा गर्न पनि कठिन हिमाली भेगमा साइकल यात्रा त झनै गाह्रो,' सुनिलले आफ्नो अनुभव सुनाउँदै सेतोपाटीसँग भने, 'त्यति उचाइमा पुगेर आफ्नो सपना पूरा गरेपछि चाहिँ कुनै पनि कठिनाइ याद रहँदैन।'
५२ वर्षीय सुनिल पेसाले ट्रेकिङ गाइड हुन्। उनी सन् १९९८ देखि यो पेसामा लागेका हुन्। साइकल अभियन्तासमेत रहेका उनी बाल्यकालदेखि नै साइकल यात्रा आफ्नो जीवनको अभिन्न हिस्सा रहेको बताउँछन्।
उनले आफ्ना बुबा र हजुरबुबालाई दिनहुँ साइकलमै घरदेखि कार्यालय आउजाउ गरेको देखे। यसले उनलाई सानैबाट साइकल चलाउने रहर जाग्यो।
'मलाई मेरो बुबा र हजुरबुबाले साइकलमा अगाडि राखेर काठमाडौं सहर घुमाउनुहुन्थ्यो,' बबरमहलका रैथाने सुनिल सम्झन्छन्, 'त्यसैले सानै उमेरबाट मैले साइकल चलाउन थालेँ र यो क्रम आजसम्म जारी छ।'
उमेर बढ्दै गएपछि उनलाई पहाड-पखेराहरूमा साइकल चलाउने रहर जाग्यो। पर्यटन क्षेत्रलाई नै पेसा बनाएपछि उनी साहसिक साइकल यात्रातिर बढी आकर्षित भए।
यसैबीच जनकपुरका ३२ वर्षीय रञ्जित साहले सगरमाथा आधारशिविरसम्म साइकल यात्रा गरेको देखेपछि उनले त्योभन्दा एक कदम अघि बढेर सगरमाथा आधारशिवरदेखि त्यहाँका तीनैवटा भञ्जाङ र कालापत्थरसम्म साइकलमै पुग्ने अठोट गरे।
विदेशी पर्यटकलाई लिएर दर्जनौंचोटि सगरमाथा आधारशिविर पुगिसकेकाले उनको निम्ति त्यहाँका बाटाघाटा र वातावरण नौला थिएनन्। त्यस क्षेत्रका हरेक कन्दरा, डाँडाकाँडा र ढुंगाहरूसँग उनी परिचित थिए। पैदल गइरहेका ती ठाउँमा साइकलका पाइडल मारेर पुग्नु मात्र थियो।
उनलाई यो योजनामा साथ दिन तयार भए दीपक श्रेष्ठ। उनीहरू काठमाडौंबाट लुक्लासम्म जहाजमा गए। माउन्टेन बाइक आफूसँगै लगेका थिए।
'सगरमाथा पदयात्रामा निस्केका यात्रीहरूले नाम्चे पुगेपछि आफ्नो बाटो रोज्न सक्छन्। सिधै तेङ्बोचे भएर सगरमाथाको फन्को लगाउने कि गोक्यो हिमताल हुँदै आधारशिविर जाने या रेन्जोला पास, गोक्यो चोला पास हुँदै आधारशिविर जाने। हाम्रो गन्तव्य एभरेष्ट-थ्री पासेज भएकाले हामी थामेतिर उकालो लाग्यौं,' सुनिलले भने।
उनीहरू लुक्लाबाट चार घन्टा साइकल यात्रा गरेर २६५० सय मिटर उचाइको फाक्दिङ पुगे।
'हिमाली बाटोमा साइकल चलाउनु आफैंमा चुनौती हो। कतै चिप्लो, कतै अप्ठ्यारो। कतिपय ठाउँमा हिमतालको माथिबाट जोखिम मोलेर साइकल यात्रा गर्नुपर्यो,' उनले भने, 'बाटो बाटोमा राखेका माने घुमाउँदै, गुम्बालाई दाहिने पार्दै, झोलुंगे पुल तर्दै, भरिया दाजुभाइ र पर्यटकसँगै बाटोमा बाटो मिलाउँदै हामी दूधकोशीको किनारै किनार साइकलमा अगाडि बढ्यौं।'
चार घन्टाको यात्रामा उनीहरूले दुई घन्टा साइकल हाँके भने दुई घन्टा बोकेरै फाक्दिङ पुगे।
भोलिपल्ट त्यहाँबाट नाम्चे बजारतिर बढे। बिहान ८ बजे यात्रा थालेका उनीहरू साँझ ६ बजे ३४४० मिटर उचाइको नाम्चे बजार पुगे। यसबीच केही ठाउँमा साइकल चलाए भने कतै घचेट्न त कतै बोक्नुपर्ने नौबत आएको उनी बताउँछन्।
पहिलो दिनको तुलनामा दोस्रो दिन उनीहरूलाई केही गाह्रो भयो।
'लुक्लाबाट नाम्चेसम्म साइकल चलाएर जान गाह्रै छ। कतै बोक्नुपर्छ, कतै डोर्याउनुपर्छ,' सुनिलले भने, 'नाम्चेबाट पश्चिमतिर जाँदा भने ९० प्रतिशत ठाउँमा चलाउन सकिने बाटो छ।'
तेस्रो दिन उनीहरू खुम्जुङसम्म साइकल चलाएरै गए। यो ३८०० मिटर उचाइको शेर्पा गाउँ हो। यहाँ पुरानो मनास्लु, बौद्ध गुम्बा घुम्न पाइन्छ। एड्मन्ड हिलारीले बनाइदिएको स्कुल र अस्पताल पनि छ।
त्यो दिन खुम्जुङ पुगेपछि उनीहरू फेरि नाम्चे नै फर्किए। चौथो दिन मात्र नाम्चेबाट पश्चिम थामेतिर लागे।
करिब ४२०० मिटर उचाइको थामे कीर्तिमानी आरोहीहरू तेन्जिङ नोर्गे शेर्पा, आप्पा शेर्पा, आङरिता शेर्पाको गाउँ हो, उनले भने, 'त्यहाँ तेन्जिङ शेर्पाको जन्मघर छ। हामी नाङपाला गाउँ पनि गयौं। त्यो ठाउँ तिब्बत निस्कने नाका हो।'
थामे पुगेको दिन उनीहरू त्यहीँ बास बसे। भोलिपल्ट ४–५ घन्टा साइकल चलाएर करिब ४५०० मिटर उचाइको लुङ्देन पुगे। बिहान ८ बजे हिँडेका उनीहरू त्यहाँ पुग्दा ३ बजेको थियो। बाटोमा स्थानीयहरूले प्रेमपूर्वक स्वागत गरेको र आत्मीय व्यवहार देखाएको उनी बताउँछन्। स्थानीयको आत्मीयताले यात्रामा ऊर्जा थपेको उनको भनाइ छ।
छैठौं दिन बिहान ७ बजे उनीहरू रेन्जोला पास (५३६० मिटर) पुग्ने भनेर हिँडे। बाटोभरि बेस्सरी हिउँ थियो। लगातार तीन दिन हिमपात भएर बाटो बिग्रिएको थियो। दायाँबायाँ दुवैतिर हिउँ नै हिउँ भएकाले उनीहरूले मान्छेका पाइलाको डोब पछ्याउँदै यात्रा गरे।
'बाटोभरि साइकल डोर्याउन नसक्ने स्थिति थियो। हामीले साइकल बोकेरै बाटो पार गर्यौं,' उनले भने, 'हिमपात नभएको बेला भने यहाँ सहजै साइकल चलाएर जान सकिन्छ।'
अत्यधिक हिमपातले त्यस दिन रेन्जोला पास काट्ने योजना असफल भयो। दिउँसो १ बजेतिर बादल लागेर चिसो बढेपछि उनीहरू साइकल लिएर हिँडिरहन सकेनन्। उनीहरूले नजिकै एउटा ओडार फेला पारे र साइकल त्यहीँ राखेर अघिल्लो रात बास बसेकै होटलमा फर्किए। भोलिपल्ट बिहान नास्ता खाएर पैदल ओडारसम्म पुगे र त्यहाँबाट ठाडो उकालो रेन्जोला पास पार गरे।
'रेन्जोला पासको टुप्पोमा घुँडाघुँडासम्म हिउँ थियो। बाटो चाहिँ प्रस्टै देखिन्थ्यो,' उनले भने, 'साइकल र ब्याकप्याक बोकेर त्यो उकालो पार गर्न निकै गाह्रो भयो।'
टुप्पोमा पुग्ने बेला एक जना स्थानीय शेर्पाले तण्डुकारलाई चिनेका रहेछन्। उनीहरूलाई तिनै शेर्पाले सहयोग गरे र साइकल बोकेर टुप्पोसम्म पुर्याइदिए।
'पासको टुप्पोमा पुग्दा छुट्टै आनन्द हुन्छ। चारैतिर हिमाल र हिउँका दृश्यले हाम्रो सबै थकान एक झमटमै बिर्साइदियो। हामीले टाकुरामा आधा घन्टाजति बितायौं। फोटोहरू खिच्यौं। सगरमाथा, लोत्से, मकालु, कञ्चनजंघा र चोयूलाई नजिकबाट नियाल्यौं,' उनले भने।
त्यहाँबाट चार घन्टा हिँडेपछि उनीहरू गोक्यो ताल पुगे। घुँडासम्म हिउँ भएकाले साइकल चलाउने अवस्था थिएन। उक्त यात्राभरि साइकल बोकेरै पार लगाए। बेलुका गोक्योमै बास बसे।
गोक्यो सगरमाथा पदयात्राको आकर्षक गन्तव्य हो। धेरै पर्यटक गोक्यो र गोक्यो रिसम्म मात्र पदयात्रा गर्न जान्छन्। केही चाहिँ चोला पास तरेर सगरमाथा आधारशिविरसम्मै पुग्छन्। ५३५७ मिटर अग्लो गोक्यो रि गोक्यो उपत्यकाको एउटा टाकुरा हो जहाँबाट गोक्यो तालको मनोरम दृश्य देखिन्छ।
बिहान उठेर फोटो/भिडिओ खिचेपछि उनीहरूले थाङ्नाकतर्फ बाटो तताए। दुई घन्टा हिँडेपछि चोयु हिमालको हिमनदी कटेर थाङ्नाक पुगे। यहाँ पनि बाटोभरि साइकल बोकेरै हिँडे।
थाङ्नाकबाट भोलिपल्ट बिहान ७ बजे नै खतरनाक चोला पास (५४२० मिटर) तर्फ लागे।
चोला पासलाई सगरमाथाका तीन पासमध्ये सबभन्दा गाह्रो मानिन्छ। उनीहरूलाई फेदसम्म पुग्न तीन घन्टा लाग्यो। चढ्न उति नै समय लाग्यो। धेरै ठाडो र हिमपात भएकाले बाटो एकदमै चिप्लो थियो।
उक्त बाटोमा फलामको डोरी राखिएको थियो। एक हातले साइकल समाते र अर्को हातले फलामे डोरी समाउँदै अगाडि बढे, उनले भने, 'चोला पासबाट झर्दा पनि एउटा हातले साइकल समाउँदै अर्को हातले डोरी समाउँदै करिब दुई सय मिटर झर्नुपर्ने स्थिति थियो। झर्दाखेरि अलिकति गल्ती भयो भने नजिकै रहेको हिमपोखरीमा परिने डर थियो।'
हिउँको बाटो सकिएपछि साइक्लिङ गर्न सहज भयो। तण्डुकार र श्रेष्ठ साइकल चलाएरै जोङ्ला पुगे र त्यहीँ बास बसे।
बिहान उनीहरू लोबुचेतर्फ लागे। हिमतालको किनारै किनार लोबुचे पुग्दा साइकल चलाउन गाह्रो भएन। त्यहाँबाट फेरि ५२०० मिटर उचाइको हिमताल छिचोल्दै गोरेकशेप पुगे। माथि हिमताल, तल पानी बगिरहेको ठाउँमा हिँड्दा कताकता डर लागेको सुनिल बताउँछन्।
गोरेकशेप सगरमाथा आधारशिविर र कालापत्थर जाने विन्दु हो। पर्यटकहरू सूर्योदय हेर्न कालापत्थर जान्छन्।
साइकल चलाएर झन्डै १ बजेतिर आफू गोरकशेप पुगिसक्दा पनि साथी दिपक नआइपुगेपछि साइकल बोकेर एक्लै कालापत्थर गएको उनले बताए।
'कालापत्थर गएर सूर्यास्तसँगै सगरमाथा, नुप्त्से, पुमोरी, आमाडब्लम, मेरापिक, थामासेर्कु लगायत शिखरहरूको दृश्यावलोकन गरेर गोरकशेप झरेँ। ५५५० मिटर अग्लो कालापत्थर सगरमाथा आधारशिविर पदमार्गको सबभन्दा उच्चतम विन्दु हो। यहाँबाट ३६० डिग्रीमा हिमालहरू देख्न सकिन्छ,' तण्डुकारले यात्राबारे बेलिबिस्तार लगाए, 'असाध्यै चिसो भएकाले म धेरै बेर बसिरहन सकिनँ। गोरकशेपको होटल पुग्दा झमक्क साँझ परिसकेको थियो। साथी केही बेरअघि मात्र आइपुगेका रहेछन्।'
भोलिपल्ट करिब डेढ घन्टामा उनीहरू आधारशिविर पुगे। त्यहाँबाट सगरमाथा पूरा देखिँदैन, टुप्पो मात्र देखिन्छ। उनीहरू पुग्दा पर्यटकको घुइँचो थियो।
'त्यहाँ रहेका एक अस्ट्रेलियन नागरिकले मेरो साइकलसँग फोटो खिचे। मसँगै अन्य तीन जना भाइ पनि पुगेका थिए। उनीहरूले त्यहाँ नेपालको झन्डासँग फोटो खिचे,' उनले भने।
त्यो रात लोबुचेमा बास बस्दा साइकल लिएर गएका उनीहरूलाई स्थानीयले भव्य स्वागत गरे। होटलका साहुजीले खानाको पैसासमेत नलिएको सुनिल बताउँछन्।
त्यसपछि उनीहरूले खुम्बु हिमताल तरेर अन्तिम कोङ्माला पास (५५३५) काटे। यात्रामा सबभन्दा सहज पास यही थियो। यो पास पुग्न उनीहरूलाई दुई घन्टा मात्र लाग्यो।
कोङ्माला पास नाघेपछि उनीहरू ४५ सय मिटर उचाइको छुकुङ पुगे। छुकुङ गाउँ आमादब्लम हिमालको काखमा छ। सामान्यतया यहाँ आइल्यान्ड पिक चढ्न जानेको बाक्लो भिड हुन्छ।
'त्यहाँबाट हामी सोङ्मरे आयौं। यो बाटो करिब करिब ९० प्रतिशत साइकल चढेरै आयौं,' उनले भने, 'छुकुङबाट दिङ्बोचेसम्म ठूल्ठूला ढुंगा छन्। यसलाई मिलाउन पाए नाम्चेसम्मै साइकल चढेर आउन सकिन्छ।'
यसरी साइकलमा सगरमाथा चक्कर मारेका सुनिल आफ्नो जिन्दगीको ठूलो धोको पूरा भएको सुनाउँदा भावविभोर भएका थिए।
'अरूले पनि पहिला साइकल यात्रा नगरेका होइनन्। तर 'एभरेष्ट-थ्री पासेस' पार गर्नु चानचुने कुरा होइन,' सुनिलले भने, 'संसारै जितेजस्तो लाग्यो।'
साहसिक पदयात्रामा संसारकै उत्कृष्ट मानिएको सगरमाथा आधारशिविर र थ्री-पास पुग्न जोकोही लालायित हुन्छन्। हरेक वर्ष हजारौं पर्यटकको लावालस्कर सगरमाथा आधारशिविरतर्फ गएको पाइन्छ। कोरोना महामारीले करिब दुई वर्ष यो क्षेत्रमा पर्यटकीय गतिविधि ठप्प भयो। फेरि जुर्मुराउन थालेको पर्यटन क्षेत्र र सगरमाथा यात्रामा अब साहसिक पर्यटकहरूले साइकल यात्राको पनि आनन्द उठाउन पाउने उनी बताउँछन्।
'सगरमाथा म्याराथन, स्काइ डाइभिङसँगै अब पर्यटकले सगरमाथामा माउन्टेन बाइकिङको मजासमेत लिन पाउने छन्,' उनले भने।