अमेरिका डायरी–३
जेएफकेको टर्मिनल आठमा बिहानै आठ बजे ओर्लिए पनि न्युयोर्क मेरो गन्तव्य थिएन। मलाई त त्यहाँबाट अझै तीन घन्टा उड्नु थियो– दक्षिण पश्चिम। अर्थात् फ्लोरिडाको मायामी।
जहाजबाट निस्केर भित्रतिर फटाफट हिँडेँ। यति बेला भने मलाई हतार थियो। किनकि साढे दस बजे मेरो कनेक्टिङ फ्लाइट थियो। तर म जति छिटो हिँडे पनि के गर्नु वार्षिक साढे ६ करोड यात्रु आवतजावत गर्ने विमानस्थलमा भीड नहुने कुरै भएन।
न्युयोर्कको जेएफके नै अमेरिका छिर्ने मेरो पहिलो 'पोर्ट अफ इन्ट्री' थियो। यद्यपी अध्यागमन प्रक्रिया त्यहीँ पूरा गर्नुपर्नेबारे मलाई कसैले केही भनेको थिएन। न त आफैंले यसबारे केही खोजी गरेको थिएँ।
'परेको बेहोरूँला' शैलीमा थियो मेरो यात्रा।
सरासर अघि बढेर तल्लो तलामा पुगेपछि लाइन चार-पाँच ठाउँमा बटारिएर घुमेको थियो। सेक्युरिटी लेखेको युनिफर्म लगाएकाले 'नागरिक यता, आगन्तुक उता' भन्दै बाटो देखाइरहेका थिए।
उसैले देखाएको लाइनमा बस्दाबस्दै एक घन्टा बित्यो तर पाइला बढेन। बरू मेरो 'पारो' बढ्यो। सुरक्षा दस्ताका एक जना सदस्यलाई मैले मेरो कनेक्टिङ फ्लाइटबारे बताएँ। अनि अलि छिटो अघि पठाउन पनि अनुरोध गरेँ। तै पनि उनले लाइनमै बसिरहन भनिन्।
त्यति बेला मलाई नियम मान्न पनि अप्ठ्यारो लागेको थियो। नियम मिच्न छुट हुने त कुरै भएन। कसैले मलाई पहिल्यै सुनाएको थियो– अमेरिकामा गैरकानुनी काम गर्न हुँदैन अरू जे गरे पनि डराउनु पर्दैन। त्यसो त सरासर गर्नेलाई कहाँ पो केरकार हुन्छ र?
म यसै विलखबन्दमा थिएँ।
म छट्पटिएको देखेरै होला सायद अमेरिकी पासपोर्टधारी एक जनाले नेपालीमै भने, 'अगाडि जानु भए हुन्छ। आफ्नो कुरा राम्रोसँग राख्नुहोला।'
तिनको कुराले म धन्य भएँ।
तब मात्रै सम्झिएँ कि म यस्तो देशमा छु जहाँ नागरिक स्वतन्त्रता अर्थात् लिबर्टी सबैभन्दा महत्वपूर्ण कुरा हो। म आफैं पनि लिबर्टी फोरममा भाग लिन हिँडेको मान्छे। बरू कुरा राखेर मात्रै भए पनि आउँछु भन्दै अघि बढेँ।
म सरासर खाली भएको एउटा काउन्टर गएँ। अनि डरको भारी बिसाएर आफ्नो कुरा राखेँ। अध्यागमन अधिकारीले पासपोर्ट मागे। मैले दिएँ। क्यामराको सामुन्ने उभिएर अनुहार देखाउनु भने। मैले मुखको मास्क घाँटीमा पुर्याएँ।
उनले मलाई कहाँ जाने, किन जाने, अनि अमेरिका कति बस्ने भनेर सोधे।
मैले सरासर सुनाएँ– मायामीमा हुने दुई दिनको कार्यक्रम सकेर वासिङटन डिसी जान्छु। पारिवारिक भेटघाटपछि त्यहीँबाट नेपाल फर्किन्छु। रिटर्न टिकट नै डिसेम्बर २२ को थियो।
त्यसपछि उनले 'पैसा कति बोक्नुभएको छ त' भनी सोधे।
मैले भनेँ– फिफ्टिन हन्ड्रेड डलर।
पैसाले हेउ आउँछ भनेको हो रहेछ। मलाई पनि त्यस्तै भयो।
भिसा लागेपछिको छोटो भेटमा रोशन दाइ र राजीव भाइले काठमाडौंमै मलाई पैसा टन्न बोक्न सुझाएका थिए। हुन पनि हामीलाई समृद्ध बनाउने पैसा नै त हो।
अन्तिममा तिनले भने– आफ्नो ब्यागेज पनि यहीँ 'क्लेम' गर्नुहोस्। अनि त्यसलाई पुनः सुरक्षा जाँच गरेर गन्तव्यतिर लाग्नुहोस्। शुभयात्रा।
त्यसपछि म झन् अल्मलिएँ। कतार एयरवेजका मान्छेलाई मैले काठमाडौंमै भनेको थिएँ, 'मेरो सामान सोझै अन्तिम गन्तव्यमा पठाइदिनु होला।'
त्यहाँ पनि मैले यही कुरा सुनाएँ। उनले भने– यो हजुरको पहिलो पोर्ट अफ इन्ट्री हो। र, नियम पनि यही हो।
म झनै रनाहा परेँ। किनभने अब उताको जहाज छुट्न धेरै समय छैन। ब्यागेज कहाँ क्लेम गर्ने? त्यहाँबाट अर्को टर्मिनल कसरी जाने? सामान कहाँ जाँच गराउने? बोर्डिङ पास कहाँ लिने? जहाज कहाँबाट चढ्ने?
मलाई अन्दाजी आठ हजार बिघामा फैलिएको, छ वटा छुट्टाछुट्टै टर्मिनल र कुल मिलाएर एक सय ३१ ढोका भएको विमानस्थल छिचोल्नभन्दा कोलम्बसलाई अमेरिका पत्ता लगाउन सजिलो थियो होलाजस्तो भयो। बाँकी कामको सूची सम्झेर भाउन्न भयो। तै पनि भनेँ– ओके, थ्यांक यु।
त्यहाँबाट निस्केर म फेरि फटाफट हिँडे। जति बाधा-व्यवधान आए पनि जीवन त अघि बढ्छ नै। यात्रा यत्तिकै कहाँ रोकिन्छ र? उड्नुभन्दा पाँच मिनेटअघि टर्मिनल पाँचमा पुगे पनि जहाज चढ्छु-चढ्छु भन्ने सोचेँ। मनलाई दृढ पारेँ। अनि अगाडिको बाटो हिडेँ।
हेर्दै, हिँड्दै, सोध्दै, खोज्दै झोला पत्ता लगाएँ। झोला लतारेर एयर ट्रेनसम्म पुर्याएँ। ट्रेनबाट झरेर लिफ्ट चढेँ। माथि जानुपर्ने लिफ्ट तलतिर जाँदा मन झनै आत्तियो। 'बाटो उल्टो परोस्' भन्ने कसको कामना हुन्छ र? तै पनि उल्टो हिँडिहालेमा धैर्य चाहिँदो रहेछ– फर्किन। एकैछिनमा लिफ्ट माथितिर गयो।
त्यहाँबाट निस्केर म आकाशेपुलको बाटो हुदै टर्मिनल पाँचतिर सरासर पाँच मिनेट हिँडेँ। पैदलै हिँड्दा पनि मेरो गति ख्याल गरेर अघिल्तिरकाले सरी भन्दै बाटो छोडिदिँदा जति हर्न लगाए पनि साइड नदिने हाम्रो सडक यातायात सम्झेँ। त्यसबीचमै मैले धेरैपटक भनेँ– नो वरिज।
टर्मिनल भवनमा पुग्नासाथ मैले मेसिनबाटै बोर्डिङ पास र ब्यागेज लेबल प्रिन्ट गर्न खोजेँ। मेसिनले मानेन। मैले नजानेर हो कि भनेर अर्को एक जनासँग सहयोग मागेँ। मेसिनले मरिगए मानेन।
म सरासर हेल्प डेस्कतिर गएँ। यति बेलासम्म दसभन्दा धेरै बजिसकेको थियो। तै पनि काउन्टरसम्मै पुगिसकेपछि अब चाहिँ जहाज भेट्छु भन्ने भयो। जसै मैले आफ्नो कुरा राख्न सुरू गरेँ काउन्टरकी कर्मचारीले सोधिन्– के तपाईं लाइनबाट आउनुभयो? त्यति बेला भने मलाई आउँ आउलाजस्तो भयो।
होइन भनौं भने लाइनबाट घुमेर आउँदा आफ्नो जहाज पनि घुमेर गइसक्छ भन्ने पक्का थियो। हो भनौं भने सिसिटिभी क्यामरामा कैद होला। किन ढाँटेको भनी केरकारमा परिएला। हैन भनेर लाइन बस्न गएँ।
हेल्प डेस्कमा मेरो पालो त आयो तर त्यति बेलासम्म म 'हेल्पलेस' भइसकेको थिएँ। अब जहाज उड्न १५ मिनेटजति बाँकी थियो। तर काउन्टरकी कर्मचारीले भनिन्– 'डोर क्लोज भो। सरी।'
मैले जितेरै उनलाई भनेँ– यसमा मेरो के दोष? अघिदेखि यही लाइनमा छु। मिल्छ भने राखिदिनुस्। आखिर जहाज उडिसकेको त छैन नि।
उनले जाने भए साढे एकको जहाजमा जानुस् भनिन्। म निरीह भएर हुन्छ भनेँ। कनेक्टिङ भएकाले धन्न मैले पैसा तिर्नुपरेन। नत्र ७५ डलर अर्थात् नौ हजार रूपैयाँ थप्नुपर्ने थियो। उनले त्यसै अनुसारको बोर्डिङ पास दिइन्। मैले खल्तीमा हालेँ। ब्यागेज जाँच गरेर भित्र पठाएपछि मलाई ढुक्क भयो।
अब भने न्युयोर्क विमानस्थलमा पनि मसँग पर्याप्त समय भयो। जहाज उड्न तीन घन्टा बाँकी थियो। अबको जहाज नछुटाउन कम्तीमा एक घन्टा अगावै भित्र पस्दा हुन्थ्यो।
अघि आकाशे रेलमा आउँदै गर्दा मोबाइलमा म्याप हेरेको थिएँ। त्यसमा चढेर सबै टर्मिनल घुम्न सकिन्थ्यो। त्यो पनि निःशुल्क।
त्यति बेला मलाई न्युयोर्कमा बस्ने सुशील दाइको यादै आएन। फोन गरेको भए भेट्न आउँथे कि नाइँ त्यो पनि थाहा भएन। मान्छे आत्तिएका बेला धेरै उपाय पनि आउँदैन क्यार। रेलमा चढेर घुम्नुको विकल्प नै भेट्टाइनँ।
अनि वासरूम छिरेर मज्जाले मुख धोएँ। फ्रेस भएँ। त्यसपछि भिर्ने झोला बोकेर बल्ल फकिर शैलीमा निस्किएँ।
अब भने पैदल हिँड्दा सरी भन्ने पालो मेरो थियो। हतारिँदै आएका धेरैलाई बाटो छोडिदिएँ। आफू भने ढलक ढलक गर्दै हिडेँ।
अलमलिएका कतिपयलाई टर्मिनल पाँचतिर जाने बाटो देखाइदिएँ। अनि ढुक्कले एयर ट्रेन चढेँ। यति बेला चाहिँ रेल उल्टो बाटो जाला कि भन्ने पीर मलाई थिएन। जताबाट जाँदा पनि मलाई सुल्टै हुन्थ्यो। किनकी मलाई कतै पुग्नु नै थिएन। लाग्यो तोकिएको ढाँचाले मात्रै हामीलाई सही र गलत बनाउने रहेछ।
रेलमा एक फन्को लगाएर सबैतिर हेरेँ। विकासको के कुरा गर्नु र? मनमनै सोचेँ हाम्रा नीति निर्माता वा विकासकर्ता पनि न्युयोर्क घुमेकै होलान्। न्युयोर्कमात्रै नभएर अरु थुप्रै विकसित ठाउँ घुमेका होलान् होइन?
ट्रेन टर्मिनल पाँचमा रोकियो। दोहोर्याएर त्यही बाटो घुम्न मन लागेन। अनि ओर्लिएर भित्रतिर लागेँ। समय अझै धेरै बाँकी थियो। त्यति बेलासम्म भोक पनि छिप्पिसकेको थियो।
छेवैमा एउटा क्याफे थियो। मैले कफी अर्डर गरेँ। कफी मेकरले दुईमध्ये एक रोज्न लगायो। मैले एस्प्रेसो भनेँ। रोज्न नजान्दा मनै नलाएको चिज मेरो हातमा पर्यो। सानो कागजी गिलासमा एक घुड्की तितेपातीको झोल। वैद्यको एक मात्रा आयुर्वेदिक दबाईजस्तो।
नखाऊँ भने त्यतिका लागि पाँच सय रूपैयाँ तिरिसकिएको छ। आफूलाई भने ठूलो गिलासको एक गिलास पानी नहालेको दूधमा बनाएको चट्ट चिनी लागेको कफी खाऊँ खाऊँ लागेको हो। सोचेको थिएँ– अलिअलि भोक पनि मरोस्। तर त्यसले झन् तलतल मात्रै बढायो।
सिसाको पर्खाल बाहिर गाडीको चहलपहल थियो। न्युयोर्कको तापक्रम १२ डिग्री सेल्सियस भए पनि घाम लागेर घमाइलो देखिएको थियो। जहाज चढ्न अझै दुई घन्टा बाँकी नै थियो। काठमाडौंबाट हिँडेदेखि ताजा हावा लिन पाएको थिइनँ। कफीको सानो कप बोकेर म बाहिर निस्केँ।
बाहिर निस्किसकेपछि भित्र पस्न मिल्ने हो वा हैन विचार गर्न भित्र गएँ। अनि २४ सै घन्टा घुमिरहने ढोकाबाट फेरि बाहिर निस्केँ।
बाहिरतिर बरालिँदा छेवैमा 'डेजिग्नेटेड स्मोकिङ एरिया' थियो। कुराकानी सुरू गर्ने बहानामा मैले एउटालाई भनेँ– 'क्यान आइ बरो अ सिगरेट?'
धन्न उसले 'ह्वेन यु गना बरो ब्याक?' भनेन। बरू बुङ्ङ चुरोटको धुवाँ उडाउँदै उसले भन्यो–'आइ ह्याभ नो मोर।'
कुराकानी लामो हुनै पाएन।
हाम्रो छोटो वार्तालाप सुनिरहेकी एउटी अधबैंसेले लगत्तै मलाई सिगरेट अफर गरिन्। मैले उनको बट्टाबाट एउटा 'मार्लब्रो' झिकेँ। लगत्तै उनले लाइटर बालिन्। मैले ओठले चुरोट च्यापेर आगोको नजिकै पुर्याएँ। सेतो सिगरेटबाट निलो धुँवा निस्क्यो। मैले फुस्स फुकेँ।
अनि सोधेँ– 'हजुरको घर कहाँ होला?'
उत्तर आयो– 'जमैका।'
बब मार्लीको जस्तै 'ड्रेडलक' भएकी उनलाई सुनाएँ– 'म पनि बब मार्लीको फ्यान हुँ नि।'
हामीले केही मिनेट थप कुराकानी गर्यौं। जाने बेला चुरोटको तीन खिल्ली र एउटा लाइटर सर्प्राइज दिँदै उनले भनिन्– इन्जोय अमेरिका।
पढ्नुहोस् अमेरिका डायरी भाग १- दुई दिनका लागि अमेरिका जान ५ वर्षको भिसा!
भाग २- आकाशमा उड्दै बिहानको ३ बजे 'डिनर'
(कमलराज लम्सालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्।)
ट्विटरः @prakritipurush